किन आन्दोलित छ शंखरापुरको बोझनी ? – Online Khabar

किन आन्दोलित छ शंखरापुरको बोझनी ? – Online Khabar

[ad_1]

२३ पुस, काठमाडौं । ७० वर्षे विष्णुमाया तामाङ पुसको ठण्डीमा छ दिनदेखि विद्युत सबस्टेशन बनाउने ठाउँमा नाराबाजी गरिरहेकी छिन् ।

उनी हरेक दिन बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म सशस्त्र प्रहरी बलले सुरक्षा दिइरहेको यो ठाउँमा उभिएर नारा लगाउँछिन् । ‘मर्ने एकचोटी हो’, सुरक्षाकर्मीतिर धारे हात सोझ्याउँदै उनी भन्छिन्, ‘मैले मेरो जिमिन जग्गा जोगाउँदा मार्छन् भने मारुन् ।’

काठमाडौंको शंखरापुर नगरपालिका–३ का पाँच वटा बस्ती बोझनी, पाख्रिन टोल, सोझे, ढोक्साङ, नारायण थान हप्ता दिनदेखि आन्दोलित छन् । काठमाडौं उपत्यकाको उत्तर पूर्वी कुना साँखुबाट आधा घण्टा यात्रा गरेपछि पुगिने यी बस्तीमाथि ०७३ देखि नै यो संकट आइलागेको हो ।

माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित विजुली काठमाडौं उपत्यका र नेपालका अन्यत्र पठाउन विद्युत प्राधिकरणले सबस्टेशन बनाउन बोझनी छान्यो । आफ्नो ठाउँमा सब स्टेशन बनाउन लागिएको कुरा स्थानीय आशमान बाइवाले ०७३ को पुसमा थाहा पाए । ‘कुखुरा फार्म चलाउँ भनेर जग्गा धितो राख्न गएपछि मात्र मैले जग्गा रोक्का भएको थाहा पाएँ’, नाराबाजी गरिरहेका वाइवा आक्रोशित सुनिए ।

किन आन्दोलित छ शंखरापुरको बोझनी ? – Online Khabar

०७३ वैशाख र असारमा दुई पटक सूचना निकालेर सरकारले सब स्टेशन निर्माण गर्ने भनिएको क्षेत्रको जग्गाको किनबेच रोक्का गर्‍यो । तामाङ समुदायको बाहुल्य रहेको यो क्षेत्रका वासिन्दाले सब स्टेशनका लागि जग्गा नदिने अडान राखे । ‘हामीले जग्गा दिँदै दिदैंनौ भन्याथ्यौं’, ७० वर्षे विष्णुमाया सुनाउँछिन्, ‘जग्गा दिने भए देऊ नभए पुलिस लगाएर, डोजर लगाएर जग्गा लिन्छौं भने ।’

सब स्टेशनका लागि सरकारले करिब २ सय रोपनी जग्गा अधिग्रहण गर्‍यो । सब स्टेशनमा विष्णुमायाको २ रोपनी जग्गा परेको छ । बाँकी रहेको पाखो बारी पनि प्रसारण लाइनका लागि आवश्यक टावर बनाउँदा गुम्ने भएपछि विष्णुमाया आन्दोलित भएकी हुन् । ‘मेरा साना नाती नातिना छन्’, उनी भन्छिन्, ‘मेरो खेतबारी सबै सरकारले लिएपछि म बुढी कहाँ गएर मर्नु ?’

पछिल्लो समय विद्युत प्राधिकरणले यस क्षेत्रमा सब स्टेशन र प्रसारण लाइन बनाउन सर्वेक्षण गर्न थालेपछि स्थानीयबासी एक हप्तादेखि आन्दोलन गरिरहेका छन् । शंखरापुर– ३ का पाँच वटा बस्तीका सबैजसो घरमा दिनभर ताल्चा लागेको हुन्छ । घरका बालबच्चा, बुढा, युवा सबै सब स्टेशन निर्माण स्थलमा आएर नाराबाजी गरिरहेका छन् । यो आन्दोलनमा अधिकांश महिला छन् ।

६४ वर्ष पुगिन् सुवित्रा तिवारी । उमेरको ख्यालै नगरी उनी आन्दोलनको अग्रपंक्तिमा उभिन्छिन् । ‘हातगोडाका नंग्रा खियाएर साँचेको जमिन यीनले (सरकार) लिन थालेपछि आएकी हुँ,’ सुवित्रा सुनाउँछिन् । पाँच जनाको परिवार छ सुवित्राको । उनको घरको ठीक माथिबाटै ४ सय केभीको प्रसारण लाइन जानेछ ।

भूकम्म अगाडि उनको घर बोझनी बस्तीको फेदमा थियो । ‘भूकम्पपछि यो घर बनायौं । अहिले यही घर पनि यो तारले खाने भयो’, उनी सुस्केरा हाल्छिन्, ‘यही घर बनाउँदा थला परेको बुढा अहिलेसम्म उठ्न सक्दैनन् ।’

नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधानका अनुसार बोझनी क्षेत्रमा सब स्टेशन र प्रशारण लाइनका लािग पाँच वटा टावर बनाउनुपर्नेछ ।

सब स्टेशनका लागि जग्गा अधिग्रहण गरिसकेको भएपनि स्थानीयको विरोधका कारण काम सुरु हुन नसकेको प्रधानले बताए । ‘तामाकोशीदेखि शंखरापुरसम्म ९० किलोमिटर लाइनमा सबै ठाउँमा काम पुरा भइसक्यो,’ प्रधान भन्छन्, ‘त्यस क्षेत्रमा निर्माण हुनुपर्ने ५ वटा टावर निर्माण हुन सकेका छैनन् ।’

यो आयोजनालाई प्राधिकरणले अति महत्वपूर्ण आयोजनाका रुपमा लिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो आयोजना तयार नभएमा काठमाडौं उपत्यकामा २ वर्षपछि लोड सेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ ।

उनी भन्छन्, ‘कुनै एक ठाउँको पावर कट भयो भने अर्को ठाउँबाट तुरुन्तै सप्लाई गर्नेगरी यो आयोजना तयार गर्न खोजिएको हो । काठमाडौंमा विद्युतको माग बढिरहेको छ, यो आयोजना तयार भएन भने २ वर्षपछि काठमाडौंमा फोर्स लोडसेडिङ गर्नुपर्ने बाध्यता हुन सक्छ ।’

यही बाध्यता नआओस् भनेर प्राधिकरणले प्रहरी नै खटाएर आयोजना निर्माण गर्ने काम गरिरहेको छ ।

प्राधिकरणको बाध्यताबीच बोझनकी सञ्चमाया लामालाई भने बस्ने ठाउँको पिरलो छ । ‘२ रोपनी यो सब स्टेशनले लियो’ सञ्चमाया सुनाउँछिन्, ‘अहिले तार, खम्बाले पनि मेरो जग्गा लिएर मलाई सुकुमबासी बनाउने भयो ।’ ६ जनाको परिवार भोकै पर्ने भयो भन्ने पीरले प्रहरीसंग हप्ता दिनदेखि पौंठेजोरी गरिरहेकी छिन् ५७ वर्षे सञ्चमाया ।

प्रहरीको सुरक्षाघेरामा बसेर काम गरिरहेका प्राधिकरणसंग स्थानीय कतिसम्म डराएका छन् भने उनीहरु राती पनि बिउँझै बस्छन् । ‘यिनीहरु त हामीलाई मारेर भएपनि काम गर्छन्’, इन्द्रकुमारी वाइवा भन्छिन्, ‘रात निद छैन हाम्रो, दिन भोक छैन ।’

स्थानीयबासीले विदुत सव स्टेशन निर्माणको कुरा सुनेदेखि नै विरोध गरिरहेका कारण शंखरापुर नगरपालिकाले आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रममै सब स्टेशन र विद्युत प्रसारण लाइन स्थानान्तरण गर्ने योजना सामेल गरेको छ ।

आइतबार स्थानीयसंगै विरोध प्रर्दशनमा उत्रिएका शंखरापुर ३ का वडा अध्यक्ष सूर्य तामाङलाई समेत प्रहरीले दिनभर नियन्त्रणमा लियो । स्थानीयबासी तथा स्थानीय सरकारको विरोधकाबीच आयोजना बनाउँदा प्रहरी र स्थानीयबीच मुठभेडको अवस्था आएको बताउँदै उनी प्रश्न गर्छन्, ‘जनता नै विरोधमा उत्रिएका छन् भने विकास कसका लागि गर्न खोजेको हो ?’

विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय र उर्जा मन्त्रालयलाई नगरपालिकाले बारम्बार आयोजना स्थानान्तरण गर्न माग गरेको वडा अध्यक्ष तामाङ बताउँछन् । ‘तर, हाम्रा कुरा कसैले सुनेनन् । त्यही भएर अहिले जनता आन्दोलित भएका हुन्’, उनले भने ।

यस अगाडि सब स्टेशन निर्माणको जिम्मा पाएको चिनियाँ र भारतीय कम्पनी स्थानीयको विरोधका कारण काम गर्न नसकेर फर्किएको थियो । यो घटनापछि प्राधिरणका निर्देशक कुलमान घिसिङ, राजनीतिक दलका स्थानीय नेता र प्रमुख जिल्ला अधिकारी नै आयोजना निर्माण स्थलमा पुगेका थिए ।

‘ती छलफलमा पनि हाम्रो कुराको सुनुवाई नै भएन’, वडाअध्यक्ष तामाङले भने, ‘जमिन हामीले गुमाउनुपर्ने, उठीबास हाम्रो लाग्ने तर, सबैचिज उहाँहरुले भने अनुसार मात्र हुने त कसरी हुन्छ ?’

सब स्टेशन र विद्युत प्रशारण लाइनको चपेटमा पर्न लागेको यी बस्तीबाट उत्तरपूर्वी कुनादेखि उत्तरपश्चिमी कुनासम्म लमतन्न परेकोे हिमशृङ्खला देखिन्छ । पर्यटकीय नगरी नगरकोट जाने बैकल्पिक बाटो पनि यहीँबाट जान्छ । साइकल यात्रा र उपत्यकाको पिकनिक स्पटका रूपमा समेत परिचित यो क्षेत्र यतिखेर संघर्षरत छ ।

प्राधिकरण भने स्थानीयको विरोधका कारण योजनामा ढिलाइ भएको भन्दै हतारो गर्दैछ । ‘यसका लागि आवश्यक सबै उपकरण खरिपाटीमा छन् । विरोधका कारण ठेकदारले काम गर्न सकिरहेको छैन’, प्राधिकरण निर्देशक घिसिङ भन्छन्, ‘यो आयोजना जसरी पनि बनाउनुपर्छ ।’

प्राधिकरणको यही अडानका कारण प्रहरी पनि स्थानीयमाथि बल प्रयोगमा उत्रिएको छ । आइतबार प्रहरीले लाठीचार्ज गर्दै दुई जना पक्राउ गरेको थियो । बिहीबार १२ वर्षे दोर्जे तामाङ र तीन जना महिला घाइते भएका थिए । प्रहरीले बल प्रयोग गर्न सुरु गरेपछि स्थानीयले राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी पनि दिएका छन् ।

आयोजना नबनाई नछाड्ने प्राधिकरण र एक इञ्च जमिन नछाड्ने स्थानीयको अडानबीच आयोजना मात्र होइन स्थानीयको जनजीवन पनि प्रभावित भइरहेको छ । खेतबारीको काम छाडेर आफ्नो भूमि जोगाउन आन्दोलित भइरहेका स्थानीय पनि पछि हट्ने मुडमा छैनन् । ‘हम्लाई बरु गोली ठोकेर मारुन् हामी सुकुमबासी हुँदैनौ,’ प्राधिकरण विरुद्ध नारा लगाइरहेकी विष्णुमाया मुठी उचाल्छिन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्