भन्ने गठबन्धन, भोट माग्ने आफ्नैलाई – Online Khabar

भन्ने गठबन्धन, भोट माग्ने आफ्नैलाई – Online Khabar

[ad_1]

२९ कात्तिक, बाँके । छेउमै जनता समाजवादी पार्टीको सम्पर्क कार्यालयमा उसको चुनावी नारा घन्किरहेको थियो । नजिकै एउटा सूर्य र एउटा हलोको झन्डासहित चारजना कार्यकर्ताको साथ लिएर नेकपा एमालेका प्रदेशसभा उम्मेदवार निरक गुरुङ स्थानीयसँग भोट मागिरहेका थिए ।

उनी एमालेको तर्फबाट बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ ‘२’ बाट प्रदेशसभा उम्मेदवार हुन् । यो त्यही क्षेत्र हो, जहाँ नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेल छ । राप्रपाका महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व मेयर धवलशमशेर राणा बाँके–२ बाट उनीहरुका साझा उम्मेदवार हुन् ।

धवल पनि आफ्ना पार्टीमै रहेका केही कार्यकर्ता बोकेर एक्लै प्रचारमा हिँड्छन् । नेकपा एमालेका नेता कार्यकर्ताहरू धवलका लागि भोट माग्न खासै हिँडेका छैनन् । धवल लगभग एक्लै आफ्नो चुनावी अभियान सम्हालिरहेका छन् । एमालेसँग संयुक्त चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका उनी त्यसपछिका चुनावी अभियानमा राप्रपाका कार्यकर्तासंग मात्रै देखिएका छन् ।

यही क्षेत्रबाट प्रतिनिधिसभामा सत्तारुढ गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका नेता सुदीप नरसिंह राणा उम्मेदवार छन् । तर प्रदेशसभा (२) मा भने माओवादीले पूर्वलडाकु अक्कलबहादुर बमलाई कांग्रेसका सुरेन्द्र हमालसँग प्रतिस्पर्धामा उतारेको छ । त्यसैले सत्ता गठबन्धनले प्रदेशसभामा यहाँ ‘मित्रवत’ प्रतिस्पर्धा भनेको छ । २०७४ सालमा पनि प्रदेशसभा सदस्य चुनिएका हमाल लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री छन् ।

प्रदेशसभा अन्तर्गत ‘२’ निर्वाचन क्षेत्र त्यस्तो क्षेत्र हो जो प्रतिनिधिसभा क्षेत्र नं २ का लागि निर्णायक मानिन्छ । सबैभन्दा धेरै जनघनत्व भएको र धेरै मतदाताले भरिएको नेपालगञ्ज उपमहानगरको मुख्य सहरी क्षेत्र यसै निर्वाचन क्षेत्रमा पर्छ । तर गठबन्धन गरेका दलहरू यही क्षेत्रमा धेरै विभाजित छन् । केन्द्रबाट ‘तालमेल’ वा गठबन्धन जे भनेपनि यहाँ फरक पार्टीका नेता कार्यकर्ताले एक अर्का बीच मन मिलाउन सकेका छैनन् ।

सत्ता गठबन्धनका उम्मेदवार पनि ‘एक्लै’

यो क्षेत्रबाट पूर्वसांसद जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राई पनि उम्मेदवार छन् । उनी यसै क्षेत्रबाट २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

भन्ने गठबन्धन, भोट माग्ने आफ्नैलाई – Online Khabar
चुनाव प्रचारमा जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राई

यसअघि नेपालगञ्जका चिया पसलहरूमा राजनीतिक गफमा भेटिने सुदीप नरसिंहलाई आजभोलि बिहानैदेखि आफ्ना कार्यकर्ताको लस्कर लिएर मतदाताका घरघर पुग्न भ्याइ नभ्याइ छ । तर उनको यो चुनावी अभियानमा गठबन्धनका अरू दलहरू भने मिसिएका छैनन् । नेपाली कांग्रेसका पुराना र पाका नेता भनेर चिनिएका राणाले एक्लै चुनावी मोर्चा सम्हालिरहेका छन् ।

बाँके–२ को प्रदेशसभाको ‘१’मा नेपाली कांग्रेसका राजकुमार कुर्मी र गठबन्धनभित्रकै एकीकृत समाजवादीका समसुद्दिन सिद्दिकी उम्मेदवार छन् । प्रदेशसभाका उम्मेदवारहरूको प्रचार गर्र्नुपर्ने भन्दै गठबन्धन दलका कार्यकर्ताहरू आआफै प्रचारमा छन्, संयुक्त रुपमा हिँडेका छैनन् ।

बाँके क्षेत्र नं ३ मा गठबन्धन बीचको तालमेल झन् रोचक छ । सुरूमा यो क्षेत्र कसले पाउने भन्नेमा नै अन्योल थियो । अन्तिम समयमा आएर नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले टिकट पाए ।

प्रतिनिधिसभाका लागि कांग्रेसले उम्मेदवारी पाएपछि प्रदेशसभा सदस्यमा गठबन्धनका अरू दलको माग थियो । यहाँ नेकपा माओवादी र एकीकृत समाजवादी दुवैले दाबी गरेका थिए । यसअघि पनि प्रदेशसभामा सांसद भइसकेका इन्द्रप्रसाद (आईपी) खरेलले नेकपा माओवादीबाट प्रदेशसभा ‘१’ बाट टिकट दाबी गरिरहेका थिए । अनि एकीकृत समाजवादीका दलबहादुर सुनारले पनि यही क्षेत्रको दाबी छोडेका थिएनन् ।

अन्तिम समयमा प्रतिनिधिसभामा राठौरले र प्रदेश सभामा आईपीले सत्ता गठबन्धनबाट टिकट पाए । तर आफूले टिकट नपाएपछि एकीकृत समाजवादीका सुनारले भने ‘स्वतन्त्र’ उम्मेदवारी दिए । गठबन्धनले सुनारको उम्मेदवारी फिर्ता गराउन अन्तिम समयसम्म पनि प्रयास गरेको थियो । तर, सुनारले नाम फिर्ता लिन मानेनन् ।

त्यसपछि स्थानीय माओवादी नेताहरूले सुनारलाई माओवादीमा प्रवेश गराएर उनलाई नै समर्थन दिए । गठबन्धनका साझा उम्मेदवारका रूपमा अहिले किशोरसिंह राठौरसँग सँगै भोट माग्न हिँडिरहेका छन्, आइपि खरेल । तर खरेलकै पार्टी माओवादीका अरू नेताहरू भने सुनारका लागि भोट मागिरहेका छन् । त्यसलाई पनि उनीहरूले ‘मित्रवत प्रतिस्पर्धा’ भनेका छन् ।

यही क्षेत्रमा नेपाली कांग्रेसबाट प्रदेशसभाका लागि टिकट दाबी गरिरहेका चन्तराम थारू पनि अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी) मा प्रवेश गरे । अनि ‘ढकिया’ लिएर अहिले उनि पनि चुनावी मैदानमा छन् ।

अघिल्लो (२०७४) को निर्वाचनमा पनि बाँके–२ मा नेकपा एमालेका आफ्नै उम्मेदवार थिएनन् । मधेस आन्दोलनमा निकै आलोचना खेपेका र पछि हृदयेश त्रिपाठीहरूको समूहमा लागेका यहाँका व्यापारी पशुपति दयाल मिश्रलाई नेकपा एमालेले ‘सूर्य’ चिह्न दिएको थियो ।

त्यो बेला पनि चुनावी अभियान सम्हाल्न पशुपतिलाई लगभग उस्तै मुश्किल परेको थियो । साथ दिएजस्तो गरे पनि एमालेका कार्यकर्ताहरू त्यो बेला नै पशुपतिका लागि खुलेर भोट माग्न हिच्किचाउँथे । अहिले पनि ठ्याक्कै त्यस्तै छ । अझ अर्को संयोग के छ भने, अहिले एमालेले समर्थन दिएका उम्मेदवार धवलशमशेर २०५४ सालको स्थानीय निर्वाचनमा पनि एमालेबाटै नेपालगञ्जको मेयर भएका थिए । तर त्यतिबेला उनले एमालेको सदस्यता लिइसकेका थिए ।

२०६३ सालको परिवर्तनपछि फेरि राप्रपामा फर्किएका उनले २०७४ को स्थानीय निर्वाचनमा भने एक्लै लडेर मेयर जितेका थिए । उनी यसपालि फेरि एमालेकै सहयोगमा प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन् ।

‘हामी अहिले एक्लै खटिएको जस्तो देखिए पनि एमालेका साथीहरूको साथ र सहयोग छ । हामीले केन्द्रदेखि नै तालमेल गरेका छौं’ राप्रपाका एक जिल्ला नेता भन्छन्, ‘फरक पार्टी हो । फरक सिद्धान्त छ । अलिअलि अलमल र अप्ठ्यारो त हुन्छ नै ।’

उनी भन्छन्, ‘हामी एउटै मिसनका लागि चुनावमा आएकाहरू खुलेर नलाग्दा मतदाताहरूमा फरक सन्देश त जान्छ । तर हाम्रा उम्मेदवार यहाँ पार्टी राजनीति भन्दा पनि व्यक्तिगत हिसावले अगाडि हुनुहुन्छ । हामी जित्नेमा ढुक्क छौं ।’

एमालेसँगको तालमेलमा प्रतिनिधिसभातर्फ राप्रपाले पाएको छ भने प्रदेशसभाका दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरू छन् । प्रदेशसभा क्षेत्र तर्फ ‘२’ बाट निरक गुरूङ र ‘१’ बाट विजयबहादुर यादव एमाले उम्मेदवार हुन् । त्यसले पनि धवलको चुनावी अभियानमा एमालेको सहभागिता छैन । एमालेका धेरैजसो कार्यकर्ताहरू यो क्षेत्रका दुई प्रदेशसभा उम्मेवारहरूका लागि खटिएका देखिन्छन् ।

गठबन्धन र तालमेलभित्र देखिएका यो अलमल र असमझदारीहरूले चुनावी परिणाममा कस्तो प्रभाव पार्ला ? नेकपा एमालेका नेता अशोक कर्माचार्य भन्छन् ‘खासै फरक पर्दैन । प्रदेशसभाहरूमा हाम्रा पनि उम्मेदवारहरू भएका कारण एमालेका धेरै साथीहरू त्यतातिर केन्द्रित हुनुभएको हो । तर हाम्रा साझा उम्मेदवार धवल शमशेर राणालाई जिताउने सवालमा हामी एक छौं ।’

‘सधैं सबै अभियानहरूमा सँगै हुनुपर्छ भन्ने छैन । उहाँहरू(राप्रपा) को पनि संगठन छ । कार्यकर्ताहरू छन् । फेरि धवल आफैमा प्रभावशाली व्यक्ति हुनुहुन्छ र उहाँ पूर्वएमाले पनि हो’, उनी भन्छन् ‘त्यसैले पनि खासै त्यस्तो असजिलो भन्ने छैन ।’

उता सत्ता गठबन्धनका उम्मेदवार सुदीप नरसिंह राणाको प्रचारमा माओवादी कार्यकर्ताहरू सुरुवातदेखि नै सँगै छैनन् ।

अहिलेसम्म गठबन्धन दलहरूको संयुक्त बैठक वा सभाहरू पनि भएका छैनन् । प्रदेशसभाहरूमा गठबन्धन भित्रका सबैजसो दलहरूका उम्मेदवार भएका कारण पनि ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने अव्यक्त समझदारी हो ।

‘त्यसैले पनि होला माओवादी, समाजवादी वा अरू दल हाम्रो चुनावी अभियानमा आउनुभएको छैन’ कांग्रेसका एकजना जिल्ला नेता भन्छन् ‘गठबन्धनका साझा उम्मेवार भएपनि उहाँ (सुदीप) कांग्रेसका एक्ला उम्मेवार जस्तै देखिनुहुन्छ । माओवादीले आफ्नो उम्मेदवारी दिएन त्यही नै हाम्रो लागि सहयोग हो भनेर चित्त बुझाएका छौं ।’

प्रतिनिधिसभा नेपाली कांग्रेसको भागमा परेपछि यो क्षेत्रमा प्रदेशसभा माओवादी केन्द्रले दाबी गरेको थियो । तर कांग्रेसले पनि आफ्नो अडान नछोडेपछि दुवै सिटमा कांग्रेसका उम्मेदवारले टिकट पाए । त्यसपछि ‘मित्रवत’ प्रतिस्पर्धा भन्दै माओवादीले पनि प्रदेशसभाका दुवै क्षेत्रमा आफ्ना उम्मेदवारहरू उठाएको थियो ।

गठबन्धन र तालमेल भने पनि नबन्दै फुस्किएका यी गाँठाहरू फेरि बाँधिएनन् भने त्यसको फाइदा सिधै जसपाका उम्मेदवार मोहम्मद इश्तियाक राईलाई नै हुनेछ । तर अहिल्यै केही भन्न सकिन्न ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्