खेलकुदको कमजोर संरचनाले धान्न नसकेको राष्ट्रिय खेलकुद

खेलकुदको कमजोर संरचनाले धान्न नसकेको राष्ट्रिय खेलकुद

[ad_1]

८ कात्तिक, काठमाडौं । नयाँ खेलाडी उत्पादन र पूर्वाधार विकासको उद्देश्यबाट सुरु भएको बृहत राष्ट्रिय खेलकुदको अवधारणाले चार दशकमा ९ संस्करण पूरा गरेको छ । अनियमित आयोजनाको आलोचनाबाट माथि उठ्न नसकेको राष्ट्रिय खेलकुद परिषद (राखेप) नेतृत्वप्रति हरेकपल्ट अर्को आरोप पनि लाग्ने गर्छ– त्यो हो झूर व्यवस्थापन ।

राष्ट्रिय खेलकुदका हरेक संस्करणलाई झन् बृहत र ऐतिहासिक बनाउने भन्दै खेल संस्था थप्ने प्रतिस्पर्धाजस्तो हुन थालेको छ । नेतृत्व फेरिएपिच्छे खेल संख्या बढाउने र त्यसलाई गर्व ठान्ने राखेप नेतृत्व चुस्त व्यवस्थापनमा भने लगातार चुकिरहेको छ । नेपालको कुनै पनि ठाउँमा एकैपल्ट ३६ खेलका स्पर्धा आयोजना गर्दा पूर्वाधार पर्याप्त हुँदैन । राजधानीमै आयोजना गर्दा पनि खेलस्थलको समस्या परेर टुँडिखेलमा पाल टाँगेर प्रतियोगिता सञ्चालन गरिएको पाँचौं राष्ट्रिय खेलकुदमै देखिएको हो ।

चौथो राष्ट्रिय खेलकुदमा खेलाडीका रुपमा प्रतिस्पर्धा गरेर स्वर्ण जितेका दीपक श्रेष्ठ त्यसयता प्रशिक्षकहुँदै नवौं संस्करणमा प्रतियोगिता संयोजकसम्मको अनुभव लिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका सागका दोहोरो स्वर्ण विजेता उनी खेलकुद नेतृत्व पूर्वाधार निर्माण र जनशक्ति परिचालनभन्दा बढी व्यवस्थापनमा चुकिरहेको महसुस गर्छन् ।

असारदेखि असोजसम्मको अवधिलाई नेपाली खेलकुदमा अघोषित ‘अफ सिजन’ मानिन्छ । बर्खा मौसम र परम्परागत ठूला चाडपर्वको समयमै राष्ट्रिय खेलकुदको आयोजना मिति घोषणा हुनु खेल नेतृत्वको प्रारम्भिक कमजोरी थियो । जेठमा मिति तोकेर सुरक्षाको कारण देखाउँदै दशैं र तिहारको बीचमा सारिनुमा आसन्न संघीय निर्वाचन नै मुख्य कारक थियो । आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद गरेर जस लिने हतारो नेतृत्वमा देखियो ।

पोखरामा केन्द्रित गरी गण्डकीका आठ जिल्लामा प्रतियोगिता सञ्चालन भयो । प्रतियोगिता आयोजना गृहकार्यका लागि राखेपले पर्याप्त (पाँच महिना)को समय पाएको थियो । आवश्यक समन्वयन र प्रक्रिया पूरा नगरी खेलस्थल निर्धारण हुने र विरोधपछि परिवर्तन हुँदा केहि स्थलमा स्तरोन्नत्तिको समय नपाएको स्वीकारोक्ति स्वयम् सदस्यसचिव टंकलाल घिसिङले नै गरेका हुन् ।

खेलकुदको कमजोर संरचनाले धान्न नसकेको राष्ट्रिय खेलकुद

पाल टाँगेर वा खुला स्थानमा राष्ट्रिय खेलकुद गरिँदैन भन्ने राखेप सदस्यसचिवको दावी त्यतिबेला हावा खायो जतिबेला पोखरा रंगशाला परिसरमै जिम्न्यास्टिक प्रतियोगिता खुला आकाशमुनि चर्को घाममा आयोजना गरियो । इण्डोर खेलहरु बास्केटबल, भलिबल र खो–खो पनि खुला आकाशमुनि नै भए । प्रदर्शनी केन्द्रमा जुडो र उद्योग बाणिज्य संघको हलमा भारोत्तोलन गरियो । स्कुलको पोखरीमा पौडी प्रतियोगिता सञ्चालन भयो ।

संघीयता कार्यान्वयनसँगै मुलुकमा तीन तहको कार्यकारी सरकार छ । २०७७ मा राष्ट्रिय खेलकुद विकास ऐनले खेलकुदमा संघीयता कार्यान्वयन गरेपछि पहिलोपल्ट राष्ट्रिय खेलकुदको आयोजना भएको हो । प्रदेश आफैंले खेलाडी छनोट गर्नेबाहेक राखेपले यसपल्ट प्रदेश र स्थानीय तहसँग कुनै समन्वयन नगरेको गुनासो सबैभन्दा धेरै रह्यो । आयोजक प्रदेश गण्डकीले नै अपनत्व लिन नसक्नु र प्रतियोगिता उद्घाटन र समापनमा समारोहलाई पोखरेलीको ‘अघोषित बहिस्कार’ खेलकुदका केन्द्रीय नेतृत्वका लागि लाजमर्दो कुरा हो ।

राष्ट्रिय खेलकुदको कमजोर व्यवस्थापनमा राखेप एकल जिम्मेवार होइन । तर, केन्द्रीय निकाय र मूल आयोजक संस्थाको हैसियतमा अन्य निकायलाई जिम्मेवार र अधिकारसम्म बनाउने जिम्मेवारी मुख्यतः उसैको हो । अधिकतम स्थानीय सहभागिता गराएर प्रतियोगिता सञ्चालन गर्ने रणनीति लिएको भए सायद राष्ट्रिय खेलकुद सफल बनाउन पोखरेलीले मन फुकाएर सहयोग गर्ने थिए । पोखरा यसै पनि खेलकुदकै शहरका रुपमा स्थापित छ । एकमात्र खेलको राष्ट्रिय प्रतियोगिता हुँदा पनि पोखराको माहोल खेलमय बन्नेगर्छ ।

राष्ट्रिय खेलकुद परिषद– क्षेत्रीय खेलकुद विकास समिति– जिल्ला खेलकुद विकास समिति । यो राखेपको पुरानो र परम्परागत संरचना हो । नयाँ ऐनले राखेपलाई केन्द्रीय निकायको मान्यता दिँदा प्रदेश खेलकुदलाई जिल्लाको नेतृत्व गर्ने अधिकार दिएको छ । साढे दुई वर्षसम्म नियमावली जारी हुन नसक्दा देशभर रहेका राखेप मातहतको संरचनाको प्रयोगको अधिकार प्रदेशलाई दिन सकिएको छैन । यहाँनेर राखेपले गण्डकी प्रदेशलाई सम्पूर्ण आयोजना अधिकार दिएर प्रदेश संरचनालाई अधिकतम प्रयोग गरी आफू सुपरिवेक्षणको भूमिकामा रहेको भए प्रतियोगितामा गुनासो कम हुनसक्थ्यो ।

राष्ट्रिय खेलकुदमा व्यवस्थापनको गुनासो नयाँ होइन । अघिल्ला संस्करणहरुमा पनि यो समस्या नै प्रमुखताका साथ उठ्ने गरेकै हो । पोखरा रंगशालामा समापनको दिनसम्म पनि राखेपको भण्डार कक्षबाट खेलाडीले खेलपोशाक र किटब्याग ग्रहण गरिरहेकै थिए । धेरैजसो स्थानमा खेलपोशाक समयमै पुगेको थिएन । राखेपले प्रतियोगिताको एक साताअघि मात्र खेल पोशाक, किट र खेल सामग्रीको टेण्डर खोलेको थियो ।

यसपल्ट पोखराजस्तो पूर्वाधारले सम्पन्न भनिएको ठाउँमा पनि पुरानै समस्यालाई समाधान गर्न नसक्नुलाई नेतृत्वकै व्यवस्थापकीय कमजोरी मान्न सकिन्छ । नवौं खेलकुद आयोजनाका लागि निर्माण गरिएका उपसमितिमा स्थानीय व्यक्तिहरुलाई निकै कम समावेश गरियो । प्रचार प्रसार र समारोह समितिमा पोखरा बाहिरका र अनुभवहीन संयोजक थिए । उद्घाटन र समापन परम्परागत र कर्मकाण्डी कार्यक्रमको निरन्तरतामात्र देखियो ।

यसपल्ट राष्ट्रिय खेलकुदको आयोजनाका लागि पूर्व तयारी र कागजी गृहकार्य निकै कम भएको राखेपकै अधिकारीहरु स्वीकार्छन् । त्यसो हुँदा प्रक्रियागत रुपमा भन्दा पनि नेतृत्वको निर्देशनका आधारमा कार्यसम्पादन हुने परिपाटी देखियो । प्रतियोगिता आयोजना तयारीको सुरुवातदेखि नै खेलकुदमन्त्री, राखेप उपाध्यक्ष र सदस्यसचिवको सौहार्द सम्बन्ध थिएन ।

राखेपले नवौं राष्ट्रिय खेलकुदमा सबैभन्दा धेरै खेल समावेश, डिजिटल प्रणालीबाट खेलाडी दर्ता, मोबाइल एप निर्माण र रनिङ ट्रफीलाई यसपल्ट आफ्नो मुख्य सफलता मानेको छ । तर, आफैंले निर्धारण गरेको मापदण्डमा भने उसको अडान देखिएन ।

प्रतियोगिता आयोजनाको तयारीका क्रममा हुनुपर्ने प्रशासनिक कार्यसम्पादन, खेलाडी छनोट, नाम दर्ता र आवश्यक टेण्डर प्रक्रियालगायतका कुनै पनि काम समयमा हुन सकेनन् । यसा हुनुमा उनीहरु प्रमुख चाडको मौसम र अपेक्षाभन्दा लम्बिएको बर्खालाई कारक मानेर बसेका छन् । राखेपले भदौ १५ गतेसम्म खेलाडीको संख्या दर्ता गर्नुपर्ने र २५ गतेसम्म सहभागी खेलाडीको नाम दर्ता हुनुपर्ने मापदण्ड बनाएको थियो ।

एक महिनाअघि नै खेलाडी दर्ता हुँदा उनीहरुका लागि आवश्यक सामान शारीरिक नापअनुसार उपलब्ध हुने राखेपको दावी थियो । तर, राखेप आफैंले खेलाडीको नाम दर्ता गर्ने समय असोज १० गतेसम्म लम्ब्यायो । प्रतियोगिताको समापन समारोहमा सदस्यसचिवबाट ६ हजार १२७ जना खेलाडीले प्रतिस्पर्धा गरेको घोषणा भएपछि मात्र सबैले एकिन संख्या थाहा पाए ।

कर्णालीमा दशौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ र त्यसका लागि मिति निर्धारण गरिसकिएको छ । प्रतियोगिता आउन २ वर्ष र केहि दिन बाँकी छ । अहिलेसम्म मुख्य पूर्वाधार सुर्खेत रंगशालाको निर्माण सुरु भएको छ ।

रंगशाला निर्माण सकिन ठेकेदार कम्पनीले २०८१ जेठसम्मको समय पाएको छ । नेपालको भौतिक पूर्वाधार निर्माणको कार्यप्रगतिअनुसार जेठमा रंगशाला हस्तान्तरण भएर मंसिरमा प्रतियोगिता आयोजना हुन्छ भनेर अहिले नै विश्वास गर्न सकिने अवस्था छैन ।

वृहत खेलकुदको नाममा ऐतिहासिक बनाउन भन्दै खेलसंख्या थप्दै जाने हो भने कर्णालीमा राष्ट्रिय खेलकुद सफल बनाउन व्यवस्थापकीय चुस्तता नै सबैभन्दा अहम् हुनेछ । त्यसका लागि राखेपको संयन्त्रको मात्र भर पर्नुभन्दा तत् तत् क्षेत्रमा व्यवसायिक व्यक्तिहरुलाई अधिकारसहित परिचालन गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्