जहाँबाट परिचय दिए, त्यहीँ अस्ताए – Online Khabar

जहाँबाट परिचय दिए, त्यहीँ अस्ताए – Online Khabar

[ad_1]

१५ असोज, पोखरा । माछापुच्छ्रेलाई नेपथ्यमा राखेर मर्दी हिमालको काखमा पुगेर उफ्रनु । हातका पंख फिँजाएर चिच्याउनू । मर्दी, माछापुच्छ्रे, अन्नपूर्ण, हिमचुली लगायतलाई नजिकैबाट महसुस गर्नु र निस्फिक्री हराउनू । पोखरादेखि सिदिङ हुँदै ठाडै उकालो चढेर मर्दी हिमाल पुग्दा दुखेका खुट्टाका गाँठागुँठी बिर्सेर जिउलाई हिमालले हम्किरहेको चिसो हावामा स्पर्श गराउनू ।

जंगल, खोलाखोल्सी, डाँडाकाँडा र हिमालको मजा लिँदै मर्दी हिमाल ट्रेकको हाइ क्याम्प, भ्यू प्वइन्ट वा बेसक्याम्प पुग्ने जो कोही भन्छन्, ‘स्वर्ग हुन्छ भने त्यो यस्तै हुन्छ होला ।’

यसरी नै लोभ्याउँछ मर्दी हिमालले घुमन्ते र ट्रेकिङको मजा लिने सौखिनहरुलाई । यसरी नै मर्दीलाई चुम्न लालायित छन् र लम्किरहन्छन् मानिसहरुका पैंताला त्यतैतिर । केही वर्षदेखि यही क्रम चलिरहेको छ, मर्दी हिमाल ट्रेकमा ।

सहरदेखि उस्तै परे उही दिन नत्र भोलिपल्टै हिमालमै पुग्न सकिने यो मर्दी हिमाल ट्रेक त्यसै बनेको भने होइन । एउटा अभियान्ताको हुटहुटीले कति फरक पार्दछ भन्ने उदाहरण भने यसले दिएको छ । उनी अभियान्ता सुदीप गौतमको निधन भएको छ ।

मार्दीसँग सुदीपको साइनो

२०६३/०६४ तिर विश्वकै प्रशिद्ध अन्नपूर्ण बेस क्याम्पमा पर्यटकको ओइरो लाग्दा मर्दी हिमाल बेसक्याम्पतिर अगन्यमात्र पर्यटक आउँथे । अहिले मर्दी हिमाल ट्रेकिङ रुट रहेको सेरोफेरो भेंडा, चौंरी, भैंसीको चरन थियो । ट्रेकमा पर्नेलो क्याम्प , बादल डाँडा, मिडल क्याम्प र हाइ क्याम्प रहेको ठाउँतिर सिदिङ, घलेल लगायत गाउँलेका भेंडीगोठहरु थिए । सुदीपका बा काकाहरु पनि भेंडीगोठतिरै थिए ।

भेंडीगोठहरुमा ओत लिँदै गरेका त कतै ओडारतिर आस्रय लिएका त कहिलेकाहीँ टेन्ट टाँगेर पर्यटकहरु बसेका देखिरहेका किशोर अवस्थाका सुदीपले निधो गरे,  हाइ क्याम्पमा टिहाउस खोल्ने । किनकी उनलाई लाग्यो, मर्दी हिमाल ट्रेक र हिमाललाई प्रचार गर्न सकियो भने टि–हाउस पनि चकाचक चल्छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ सिदीङका उनले हाइ क्याम्पसमा ऋण नै काडेर टि–हाउस खोले । राम्रो नतिजा ल्याएर कक्षा १२ पास गरेका युवाले भेंडीगोठमा चिया बेच्छुभन्दा धेरैले पागलपन भने । उनी भन्थे, ‘हो मभित्र मर्दी हिमालमा पर्यटक कसरी लोभ्याउन सकिन्छ भन्ने पालगपनै थियो । त्यसका लागि मैले कसको ढोका ढक्ढक्याइनँ, कसलाई भनिनँ ।’

जहाँबाट परिचय दिए, त्यहीँ अस्ताए – Online Khabarटिहाउस भनिए पनि २०६४ सालमा उनले केही कोठासहित खाले, त्यसलाई नाम दिए, ट्रेकर्स प्याराडाइज होटल ।  सोही साल उनीसँगै अर्को होटल पनि खुल्यो । होटल खोलेरमात्र पर्यटक आउने होइनन् । उनले पर्यटक भित्राउन पर्यटन बोर्डदेखि मन्त्रालयसम्म धाए । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाभित्र पर्ने यो रुटलाई व्यवस्थित गर्न झक्झक्याए । प्रवद्र्धनका कार्यक्रम लिएर नेताका ढोकाहरु प्नि चाहारे ।

पोखराका पर्यटन व्यवसायीलाई मर्दी हिमाल ट्रेकमा पठाउन अनुरोध गर्दै हिँडे । रुट बनाउन आफैं कस्सिए । हातले लेखेरै पदमार्गमा पर्यटकहरुको सुविधाका लागि संकेतहरु बनाए । ‘मर्दी हिमाल र त्यहाँसम्म ट्रेकलाई चिनाउन उसले के गरेन होला ? धेरै ठाउँमा भौंतारियो, मान्छेहरुले पागलै पनि भने तर उनी कुनै दिन हरेस खाएनन्,’ उनीसँग त्यो बेलादेखि नै संगत गरेका माछापुच्छ्रे–८ का वडाध्यक्ष राम गुरुङले भने, ‘नभन्दै उसको मिहिनेत खेरा गएन, मर्दी हिमाल ट्रेक चक्कियो ।’

२०७२ सालको भूकम्पपछि बिस्तारै मर्दी हिमाल चम्किँदै गयो । पछिल्ला केही वर्षहरुमा त पर्यटकको थामी नसक्नु भीड नै लाग्न थाल्यो । बिस्तारै मर्दी हिमालमात्रै चक्किएन, त्यहाँ जाने पदमार्ग आसपासका मानिसहरुको जीवनयापन पनि चक्किँदै गयो । भेंडीगोठबाट सुरु भएको मर्दी हिमाल ट्रेकिङ रुटका व्यवसाय अहिले स्तरीय होटलहरु छन् । अहिले ७० भन्दा धेरै होटल खुलिसकेका छन् ।

माछापुच्छ्रेकै काख सिदिङमा जन्मिएका सदीपको नेतृत्वमा मर्दी हिमाल असपासको क्षेत्रले प्रशिद्धी कमायो । हिमालकै फेदमा हुर्किएका सुदीपले मर्दीलाई चिनाए, मर्दीले सुदीपलाई प्रशिद्धी दियो । उनको परिचय नै ‘मर्दी सुदीप’ बन्यो । मर्दी ट्रेक र हिमालसँग आफ्नो प्रशिद्धीलाई अझै फराकिलो बनाउँदै लगे । होटल व्यवसायलाई बिस्तार गर्दै लगे । ट्रेकिङ कम्पनी पनि खोले । जहाँ पुगे, त्यहाँ मर्दी हिमाल पर्यटन व्यवद्र्धनको कुरा गर्दा छाड्दैनथे ।

नेपाली पर्यटनको मुख्य मेरुदण्ड नै हिमाल र पदमार्ग भएकाले यसलाई व्यवस्थित गराउनुपर्ने आवाज उठाइरहे । त्यही अभियानमा उनी पर्वतारोहण संघमा जोडिए र सचिव भए । मर्दी हिमालबाट सुदीपको क्रियाशिलता गण्डकी प्रदेशभरि थियो ।

तर जुन ठाउँलाई सुदीपले चिनाए, त्यही ठाउँमा लडेर उनले ज्यान गुमाएका छन् । शुक्रबार साँझ हाइक्याम्पमै खानेपानीको पाइप मिलाउन जाँदा उनी चिप्लिएर लडेका थिए । हिमालय फाउण्डेसन खोलेर अरुको जीवन बचाउन गाउँमा स्वास्थ्य चौकी बनाउने अभियान चलाइरहेका सुदीप आफू भने समयमै उद्धार र उपचार पाएनन् र ज्यान गुमाए । शनिबार बिहान उनको शव पोस्टमार्टमका लागि हेलिकप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो ।

उनको निधनको खबरले सिंगो पोखरेली पर्यटनका अभियान्ताहरु स्तब्ध बनेका छन् । ‘सुदीपजीकै कारणले मर्दीले त्यो उचाइ चुम्यो, तर उनलाई भने अकालमै चुँडेर लग्यो,’ पर्वतारोहण संघका अध्यक्ष शेषकान्त शर्मा भन्छन्, ‘उनीजस्तो भर्सटायल मान्छे पर्यटनका कर्ममात्र छन् । पर्यटनको क्षेत्रमा केही गर्ने नयाँ योजना र हुटहुटी छातिभित्र बोकेर हिँड्थे ।’

गौतम केही महिनाभित्रै हुन लागेको पर्वतारोहण संघ गण्डकीको अध्यक्ष हुने पक्का भइसकेको थियो । तर अब त्यो सपना पूरा हुनै नपाउने गरी गौतम यो संसारबाट बिदा भएका छन् ।

आफ्नो काममा मिहिनेती, हरेक कामलाई नयाँ ढंगले हेर्ने र गर्ने, समयानुकुल आफूलाई विकास गर्ने अभियान्ताका रुपमा चिन्छन् । ‘उनी व्यवसायीमात्र थिएनन् । पर्यटक आइसकेपछि भात खुवाएर पैसा कमाउने थुप्रै छन् तर उनी पर्यटक नै भित्राउन लागि पर्थे । सिंगो पर्यटन क्षेत्रकै चिन्ता गर्थे,’ नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य वासुदेव त्रिपाठी भन्छन्, ‘क्षमता र काम गर्ने तरिकाले उनका सामू अझै थुप्रै सम्भावनाका ढोकाहरु खुला थिए, तर उनी नै रहेनन् ।’

गौतमकै पहलमा गत सालमात्र मर्दी हिमाल बेसक्याम्पमै पहिलो पटक स्वी महोत्सव भएको थियो । दीगो हिमालयन कोष नामक संस्थाले गरेको स्कीले धेरैको ध्यान खिचेको थियो र यसपटक पनि त्यसको तयारी भइरहेको थियो । मुसुक्क हाँसेर सरल र सुरिलो लयमा बोल्ने सुदीपलाई पदमार्गहरुलाई कसरी जोगाउने भन्ने नै चिन्ता हुन्थ्यो । दीगो पर्यटन विकासका लागि गण्डकीका हिमाललाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनु पर्ने बताउँथे । मर्दीको काखमा रहेको बराह मन्दिरलाई धार्मिक पर्यटनसँग जोडेर पर्यटक भित्राउने योजना बुनिरहेका थिए । हस्पिटालिटी म्यानेजमेन्ट पढ्न स्विट्जरल्याण्ड जाने सपना मारेर मर्दी हिमालतिर रमाएका गौतम अहिले फेरि इन्नोभेसन एन्ड टुरिज्ममा स्नातकोत्तर गरिरहेका छन् । पर्यटन र पर्वतारोहणको प्रयोगात्मक शिक्षा मर्दी हिमालमा दिन चाहान्थे उनी ।

‘सुदीप पर्यटन क्षेत्रलाई व्यवस्थित गराउनुपर्छ भनेर लागिरहन्थे । पोखराका कार्यक्रमहरुमा भेटिन्थे, कहिले आफैं हिमाल चढ्न भ्याउँथे । राजनीतितिर पनि लागिरहेकै थिए’ पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘एउटै व्यक्तिमा यति धेरै हुटहुटी मैले कमै मान्छेमा मात्र देखेको छु ।’ गएको अधिवेशनमा गौतम अत्याधिक मत ल्याएर नेपाली कांग्रेस कास्कीको सदस्यमा निर्वाचित भएका थिए ।

उनी माछापुच्छ्रे गाउँपालिकामा हरदक विकासका निम्ति खटिइरहने व्यक्तिका रुपमा स्थानीयले स्मरण गरे । ‘सुदीप माछापुच्छ्रेकै विकासको अभियान्ता थिए । हर क्षेत्रमा उनले दख्खल राख्थे । मामाछापुच्छ्रे गाउँपालिकाले पर्यटनबाटै काँचुली फर्ने भन्दै पालिकालाई योजना बनाउन सघाइरहेका थिए,’ गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले उनको स्मरण गरे, ‘यो क्षेत्रले एक होनाहार युवा अभियान्ता गुमाएको छ ।’

सिदिङको सामान्य परिवारमा २०४४ कात्तिममा जन्मिएका गौतमले पितापूर्खाले बिताएको भेंडीगोठलाई नै नयाँ तरिकाले चक्काए तर आफू भने अकालमै ज्यान गुमाए । त्यही मर्दी हिमालदेखि बग्दै आउने मर्दी खोला र सेतीको दोभानमा शनिबार गौतमको अन्त्येष्टि गरिएको छ । उनका श्रीमती, साना २ सन्तान र वृद्ध बुबाआमा छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गौतमको शवमा फूलमाला चढाएर अन्त्येष्टि गरिएको थियो । गौतमको अन्तेष्टि हुँदा मर्दी खोला सुसाइरह्यो, सहभागीका आँखा रसाइरह्यो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्