गणतन्त्रका आलोचक, गगन थापाका प्रतिस्पर्धी – Online Khabar

गणतन्त्रका आलोचक, गगन थापाका प्रतिस्पर्धी – Online Khabar

[ad_1]

२८ भदौ, काठमाडौं । कतिपय युवा उम्मेदवारभन्दा भिन्न छन्, सन्तोष प्रधान चौधरी । समाजवाद मान्छु भन्छन्, तर गणतन्त्रमा पटक्कै रुचि छैन उनको । बरु नर्वेको शैलीमा नेपालको राजतन्त्र अघि बढ्नुपर्ने उनको मत छ ।

काठमाडौंमा जन्मी हुर्की यहीँ पढेका चौधरी एक दशकदेखि काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता गगन थापाका प्रतिस्पर्धी मध्ये एक हुन् ।

नेकपा एमाले समर्थक परिवारबाट उदाएका चौधरीले एमालेसँग नजिक हुने बाटो लिएनन् । अनि राप्रपाजस्तो हिजोआज आफ्नो विचार मिल्ने दलबाट समेत उठ्न तयार देखिएनन् ।

गणतन्त्र ल्याउन शान्तिपूर्ण मोर्चाबाट सशक्त आन्दोलनको अगुवाइ गरेका थापासँगै किन भिड्न चाहन्छन् त चौधरी ?

अनलाइनखबरको आम चुनाव केन्द्रित स्तम्भ ‘नयाँ अनुहार’ का लागि संक्षिप्त कुरा गर्दै चौधरीले गणतन्त्रले ल्याएका बेथितिहरुमा थापा समेत जिम्मेवार रहेको आरोप लगाए । अर्थात्, उनी राजतन्त्रका समर्थक हुन् ।

उनी पछिल्लो परिवर्तनका चार खम्बा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक प्रणालीका विपक्षमा छन् । उनी राजसंस्थालाई संवैधानिक मर्यादामा राख्नुपर्ने, अनि हिन्दु राज्य हुनुपर्ने माग राख्छन् ।

‘हाम्रो वैदिक धर्म–संस्कार–संस्कृतिमाथि परिवर्तनको नाममा असर पार्ने काम भएको छ,’ चौधरीले भने, ‘म हाम्रो साँस्कृतिक मौलिकता कायम राख्दै विकासको बाटोमा हिँड्नुपर्छ भन्ठान्छु ।’

उनले आफ्नो प्रतिस्पर्धीका रुपमा यसपल्ट थापालाई होइन, एमालेका राजन भट्टराईलाई किटान गर्न खोजेका छन् ।

थापालाई कांग्रेसले सिफारिसमात्रै गरेको, गठबन्धनको टुंगो नभइसकेको भन्दै उनले एमालेले भने स्पष्ट रुपमा भट्टराईलाई अघि सारेको अवस्थामा आफ्नो प्रतिस्पर्धी, अझ बलियो प्रतिस्पर्धीका रुपमा एमाले उम्मेदवार नै रहने दाबी गरे । उनले ३० हजार मत पाउने दाबी समेत गरे ।

गणतन्त्रका आलोचक, गगन थापाका प्रतिस्पर्धी – Online Khabar

विवेकशील नेपाली दलले उज्वल थापाको नेतृत्वमा कुकुर चुनाव चिह्न लिएर चुनाव लड्दा चौधरी समेत यही पार्टीको सदस्य थिए । उनी पहिलोपटक चुनावमा उठ्दा विवेकशील दलकै उम्मेदवार थिए । थापाको निधनसँगै विवेकशील दल, अनि यससँग जोडिएको साझा पार्टीसमेत छिन्नभिन्न अवस्थामा छ ।

अर्कातिर काठमाडौं महानगरपालिकाका मेयरमा बालेन शाह लगायत कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारको आफ्नै किसिमको लहर छ । यसै परिप्रेक्ष्यमा आफ्नो समेत स्वतन्त्र उम्मेदवारी परेको सन्तोष बताउँछन् । ‘मलाई थाहा छ, यसपल्ट मैले काठमाडौं ४ का मतदाताको माया अवश्य पाउनेछु,’ उनी भन्छन् ।

आफूले केवल चर्चामा आउनका लागि कांग्रेस महामन्त्री थापाविरुद्ध उम्मेदवारी नदिएको, बरु आफ्नो घर नै सोही क्षेत्रमा पर्ने भएकाले काठमाडौं ४ को संघीय सांसद उम्मेदवार भएको उनले दाबी गरे । व्यक्तिगत रुपमा आफूले थापालाई सम्मान गर्ने भन्न छुटाएनन् उनले । राजनीतिमा व्यक्तिगत सम्बन्ध र प्रतिस्पर्धालाई अलग ढंगले हेर्न उनको आग्रह छ ।

काठमाडौं ४ बाट ०७० मा चुनाव लड्दा थापा र आफू संयोगवश एउटै क्षेत्रका उम्मेदवार बन्न पुगेको उनको भनाइ छ । ‘कपन बुढानीलकण्ठ जस्ता ठाउँमा १५ वर्षदेखि समस्या ज्यूँका त्यूँ छन्, तर थापाजीले स्थानीय तहमा एमाले सरकारले काम नगरेको आरोप लगाएर पन्छिने काम गरिराख्नुभएको छ’, उनी आरोप लगाउँछन्, ‘यो शैली गलत छ । म यसविरुद्ध समेत मत मागेर अघि बढ्ने छु ।’

कमोडिटी मार्केट, आईटी क्षेत्र हुँदै व्यवसायमा लागेका चौधरीले प्रोपर्टी ३६० नामक कम्पनी सञ्चालन गरेका छन् । उनले आफू नेतृत्वमा चुनिएको खण्डमा राष्ट्रियता, जनजीविकाजस्ता मुद्दा अघि सार्ने बताए ।

‘अबका युवाहरुलाई कोरा भाषणको भरमा मात्रै भुलाउन सम्भव छैन, आफ्नो सामाजिक मौलिकताका धरोहरको ज्ञान दिलाउने, अनि पेशा व्यवसाय र सीपमा आत्मनिर्भर हुने खालका क्रियाकलापमा हिँडाउनुपर्छ,’ उनले भने, ‘मेरो उम्मेदवारीको ध्येय यसैका लागि हो ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्