सम्पत्ति शुद्धीकरणमा नेपालमाथि कालोसूचीको जोखिम

सम्पत्ति शुद्धीकरणमा नेपालमाथि कालोसूचीको जोखिम

[ad_1]

१५ भदौ, काठमाडौं । स्रोत नखुलेको सम्पत्तिलाई कानूनी दायरामा ल्याउने र त्यस्ता घटना निगरानी गर्ने निकाय कमजोर हुँदा नेपाल सम्पत्ति शुद्धीकरणमा कालोसूचीमा पर्ने जोखिम बढेको छ ।

सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वभरका मुलुकलाई निगरानी राख्ने वित्तीय कारवाही कार्यदल अर्थात फाइनान्सियल एक्सट टास्क फोर्स (एफएटीएफ) र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूह (एपीजी) ले सम्पत्ति शुद्धीकरणको मामिलाबारे नेपालको अडिट र मूल्यांकन गर्न थालेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका विज्ञ तथा नेपाल राष्ट्र बैंकका नायब निर्देशक डा. हरिप्रसाद नेपालका अनुसार एपीजीले नेपालमाथिको मूल्यांकन गत असारदेखि नै सुरु गरेको छ । मूल्यांकनको यो चक्र पूरा हुन १८ महिना लाग्छ ।

सोही क्रममा एपीजीको टोली नेपालको स्थलगत अनुगमनमा २६ असोजबाट २९ असोजसम्म काठमाडौंमा आउने भएको उनले बताए । त्यस अगाडि एपीजीले मागेका कागजात र प्रतिवेदनहरु पठाउने र त्यहाँबाट थप प्रश्नहरु आउने क्रम रहेको विभागका विज्ञ डा. नेपाल बताउँछन् ।

पहिलो चरणको स्थलगत भ्रमणपछि एपीजीले कात्तिकमा नेपाललाई प्रतिवेदनको एक मस्यौदा दिनेछ । त्यसपछि अन्तिम चरणको मूल्यांकन गर्न अर्को टोली नेपाल आउने छ । यस्तो टोली आउने समय १९ मंसिरबाट १ पुसको समय तोकिएको छ । त्यसपछि विभिन्न चरणमा मूल्यांकनको काम हुने विभागले जनाएको छ । नेपालले अन्तिम रिपोर्ट भने २०८० वैशाखमा प्राप्त गर्नेछ ।

एफएटीएफले सम्पत्ति शुद्धीकरणमा ४० वटा भन्दा बढी मानक बनाएको छ । मूल्यांकनका क्रममा ती मानकको परिपालना भएको वा नभएको विषय हेर्ने गर्छ ।

त्यस क्रममा चित्तबुझ्दो जवाफ र मागेका कागजात उपलब्ध गराउन नसके देश कालोसूचीमा पर्नसक्छ । यस्तो अनुसन्धानमा विगतमा नेपालको कमजोर अवस्था देखिएको थियो ।

सम्पत्ति शुद्धीकरण नियमनसम्बन्धी कमजोर कानुन र भएका कानुनको पनि कमजोर पालनाका कारण नेपाल कालोसूचीको जोखिममा रहेको सरोकारवालाले स्वीकार गरेका छन् । बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित छलफलमा कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले सम्पत्ति शुद्धीकरणसम्बन्धी सोचाइमा परिवर्तन ल्याउन नसक्दा नेपाल जोखिममा रहेको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव धनराज ज्ञवालीले सम्पत्ति शुद्धीकरणको नियमनको पाटोमा नेपाल कमजोर रहेको बताए ।

समितिमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरणका गतिविधिले मुलुकबाहिर समेत देशको छवि धुमिल हुन जान्छ । नेपाल सन् २००९ देखि सन् २०१४ सम्म कालोसूचीमा परेको थियो । त्यसबेला अमेरिकामा नेपालको बैंक खाता रोक्का भएको पनि उनले स्मरण गरे ।सम्पत्ति शुद्धीकरणमा नेपालमाथि कालोसूचीको जोखिम

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार सन् २००५ मा कुल ४९ वटा क्षेत्रमा गरिएको मूल्यांकनमा पूर्ण कार्यान्वयन भएको क्षेत्र एउटा पनि थिएन । सोही कारण नेपाल सन् २००९ बाट कालोसूचीमा परेको थियो । सन् २०१० मा भएको मूल्यांकनमा मात्र एउटा क्षेत्रमा मात्र नेपालले पूर्ण कार्यान्वयन गरेको देखिएको थियो ।

राष्ट्रिय मूल्यांकनमै कमजोर

सम्पत्ति शुद्धीकरणबारे नेपालले सन् २०२० मा राष्ट्रिय मूल्यांकन गरेको थियो । जसमा भ्रष्टाचार, कर (राजस्व छली), वित्तीय अपराध (बैंकिङ) र हुण्डी कारोबार उच्च देखिएको थियो ।

लागूऔषध ओसारपसार, संगठित अपराध, आपराधिक लाभ, हातहतियारसम्बन्धी अपराध, आन्तरिक आतंकवाद, ठगी, नक्कली मुद्राको कारोबार, वातावरण सम्बन्धी अपराध, चोरी, तस्करी मध्यम खालको जोखिममा देखिएको थियो ।

नक्कली वस्तुको उत्पादन, पाइरेसी, शरीर बन्धक तथा अपहरण, अन्तर्राष्ट्रिय आतंकवाद, चोरी भएका वस्तुको ओसारपसार र भित्रि कारोबारमा भने नेपालको न्यून अवस्था देखिएको थियो ।

नेपालमा सम्पत्ति शुद्धीकरणमा बढी जोखिम बैंक, बीमा, सहकारी, हुण्डी, क्यासिनो, घरजग्गा कारोबारसहितमा बढी निगरानीको आवश्यकता राष्ट्रिय मूल्यांकनबाट देखिएको थियो ।

नेपालको तयारी के छ ?

सम्पत्ति शुद्धीकरण विभागका अनुसार यस मूल्यांकनको प्रयोजनका लागि भएका कानून र त्यसको परिपालनाबारे अन्तर्राष्ट्रिय नियामक निकायलाई जानकारी गराउने काम जारी छ ।

जसमा ५७ वटा सरकारी निकाय र निजी क्षेत्रका प्रतिनिधिसँग समन्वय र ३० भन्दा बढी क्षमता अभिवृद्धिका कार्यक्रम सम्पन्न भइसकेका छन् । यसमा स्वयं एपीजीले समेत नेपाललाई सहयोग गरिरहेको छ ।

विभागले प्राविधिक परिपालना र प्रभावकारिताको मूल्यांकन सम्बन्धी प्रतिवेदन समेत एपीजीलाई बुझाइसकेको छ ।

नेपाली अधिकारीहरुका अनुसार प्राविधिक परिपालनामा कानुनी प्रबन्धका विषय पर्छन् । नेपालले सम्पत्ति शुद्धिकरणसम्बन्धी कानुन बनाएकाले यसमा नेपाल उतीर्ण हुन सक्ने अवस्था छ । तर प्रभावकारिताको मूल्यांकन अर्थात् कानुन कार्यान्वयनमा भने नेपाल कमजोर छ । यसबीचमा नेपालले ४ सय भन्दा बढी कानुनका कागजात बुझाउने काम गरिसकेको छ ।

विभागका अनुसार अन्तर्राष्ट्रिय रुपमा छिटोछिटो परिवर्तन हुने कानून नेपालमा त्यही गतिमा संशोधन हुन सकेको छैन । वित्तीय अपराधको सूचना संकलन, विश्लेषण, प्रवाह र अनुसन्धानमा नेपालको प्रगति कमजोर छ ।

सम्पत्ति शुद्धीकरण निवारण प्रणालीप्रतिको फरक सोच र अफवाहले समेत नेपाललाई कालोसूचीमा पर्ने जोखिम बढाएको विभागले जनाएको छ । कानून र प्रणालीमा सुधार नगरे नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्नेछ । जसलाई कालोसूची परेको भनिन्छ ।

नेपालमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी १५० भन्दा बढी कानुन र कानुनी व्यवस्थाहरु छन् । प्रत्यक्ष रूपमा ९ वटा नीतिगत र समन्वयकारी निकायले सम्पत्ति शुद्धीकरण निवारणमा काम गर्छन् । ८५ हजार वटा रिपोर्टिङको दायित्व बोकेका संस्थाहरु छन् । तर, सम्पत्ति शुद्धीकरण निवारणको मूल्यांकनमा नेपालको अवस्था कमजोर देखिंदै आएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्