चुनाव जित्न एकअर्काको सहारा – Online Khabar

चुनाव जित्न एकअर्काको सहारा – Online Khabar

[ad_1]

३० साउन, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन तीन महिनाभन्दा बढी समय बाँकी छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने निर्वाचन क्षेत्रकाे दाैडधुप गर्नेपर्ने स्थिति आइलाग्याे ।

झापा–५ का मतदातासँग चार दिन बसेर ओली १४ साउनमा काठमाडौं फर्किएका थिए । यसको पाँच दिनपछि (१९ साउनमा) सरकारले चुनावको मिति घोषणा गर्‍याे । चुनाव घोषणा भएलगत्तै ओलीले पार्टीको सचिवालय बैठक राखेर निर्वाचन परिचालन र घोषणापत्र मस्यौदा कमिटी गठन गरेका छन् ।

‘उहाँ (केपी ओली) फेरि झापा आउने कार्यक्रम तय भइसकेको छ, केही पार्टी कार्यक्रम र बाँकी समय मतदातासँग भेटघाट हुनेछ’, एमाले झापा जिल्ला सचिव शिव ढुंगेल भन्छन् । उनका अनुसार, आउने २–४ भदौसम्म ओली झापामा रहनेछन् । त्यो तीनदिने बसाइमा ओलीले इन्जिनियर र महिला संगठनको औपचारिक कार्यक्रमबाहेक मतदातासँग भेटघाट गर्नेछन् ।

काठमाडौंमै बस्दा पनि ओलीले आफ्नै निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक भेटवार्ता गरेका छन् । २४ साउनमा राप्रपाका महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापासँग छलफल गरेका ओलीले यसको तीन दिनपछि (२७ साउनमा) अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरे । लिङ्देन, शाही र थापासँगको भेटमा ओलीले चुनावी तालमेलको प्रस्ताव गरेको नेताहरू बताउँछन् ।

नेताहरूका अनुसार, राप्रपा र एमालेबीच संस्थागत रुपमै चुनावी तालमेल गर्ने प्रयत्न भइरहेको छ । राप्रपा अध्यक्ष लिङ्देनले पनि सोमबार बसेको केन्द्रीय समितिको बैठकमा संसदमा उपस्थितिका लागि एमालेसँग तालमेल गरेर जानुपर्ने बताएका छन् ।

झापामा सुरक्षित रहन पनि ओली र लिङ्देन दुबैलाई तालमेल चाहिएको दुबै दलका नेताहरु बताउँछन् ।

०७४ को चुनावमा पनि राप्रपाले संस्थागत रुपमा कांग्रेससँग गठबन्धन गर्दा झापामा लिङ्देन भने एमालेसँग मिलेका थिए । त्यो बेला एमाले र माओवादी केन्द्रको वाम गठबन्धन थियो । तर एमालेकै जोडबलमा गठबन्धनले झापा–३ मा उम्मेदवार उठाएन र वाम गठबन्धनकै समर्थनमा लिङ्देन निर्वाचित भएका थिए ।

एमाले अध्यक्ष ओलीले पनि राप्रपाकै समर्थनमा झापा–५ मा आफ्नो जितलाई फराकिलो बनाएका थिए । त्यसबेला ओलीले ५७ हजार १३९ मत पाउँदा कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २५७ मत मात्रै पाए ।

तर यसपटक परिस्थिति पहिले जस्तो छैन । एमाले विभाजित भएर बनेको एकीकृत समाजवादी र माओवादी केन्द्रले आगामी चुनावमा गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग मिलेर लड्न छलफल गरिरहेका छन् ।

यसर्थ राप्रपासँग तालमेल ओलीको बाँकी विकल्प हो । त्यस्तो वातावरण बनाउन ओली आफैं सक्रिय छन् । एक स्थायी कमिटी सदस्य भन्छन्, ‘तालमेल ओलीकै लागि जरुरी होइन, तर राष्ट्रिय राजनीतिमा एमाले एक्लै परेको नदेखियोस् भन्न पनि बाँकी रहेका जो जो छन्, तिनीहरुलाई टिपेर हिँड्नुपर्ने भयो ।’

राप्रपा झापाका नेता रञ्जु प्याकुरेल भने तालमेलबारे स्थानीय स्तरमा छलफल नभएको बताउँछिन् । उनले अनलाइनखबरसँग भनिन्, ‘तालमेलको कुरा समाचारबाटै सुनेको हो, अहिलेसम्म यहाँ (झापामा) त्यस्तो केही भएको छैन ।’ ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा एकअर्का हराउन लागेकाले पनि एमाले र राप्रपाबीच झापामा प्रतिस्पर्धी सोंच कायमै देखिन्छ ।

ओलीको गृहनगर दमकमा एमाले हराउन राप्रपा र सत्ता गठबन्धन एक ठाउँ उभिएको थियो । गठबन्धनको साथ पाएरै दमकको मेयरमा राप्रपाका राम थापाले एमालेका गीता पौडेललाई पराजित गरे । यता लिङ्देनको निर्वाचन क्षेत्र झापा–३ मा पर्ने कचनकवल गाउँपालिकामा राप्रपा हराउन एमालेले कांग्रेसलाई साथ दिएको थियो ।

एमालेकै मत पाएर कांग्रेसका कालेन्द्र राजवंशीले राप्रपाका अञ्जरा आलमलाई पराजित गरे । ‘स्वस्थ्य प्रतिस्पर्धा भए झापा–३ मा सजिलै जित्छौं, तर हाम्रो विरुद्ध अरु मिलिहाल्नेरहेछ’, राप्रपा नेता प्याकुरेल भन्छिन्, ‘उता (झापा–५) केपी ओलीले पनि एक्लै जित्ने अवस्था छैन । तालमेल आवश्यकता हो ।’

ओलीलाई राप्रपाको आश

प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध बहुमत ल्याउने ओलीकै जस्तो दाबी झापाका एमाले नेताहरू पनि गर्छन् । ‘विकास निर्माण र राष्ट्रिय स्वाधीनताका निम्ति केपी ओलीले लिएको अडान जनताले देखेका छन्, अध्यक्षलाई चुनाव जित्न गाह्रो छैन’, झापा जिल्ला सचिव ढुंगेल भन्छन् ।

३० वैशाखको स्थानीय चुनावको नतिजालाई आधार मान्ने हो भने झापा–५ बाट ओलीले जित्न एमालेको दाबीजस्तो सजिलो छैन । यो निर्वाचन क्षेत्रको चारमध्ये तीन पालिका प्रमुखमा एमाले हारेको छ ।

पालिका प्रमुखले पाएको मत जोड्दा एमालेसँग ४२,७८९ र गठबन्धनसँग ४७,५६६ मत हुन्छ । यसमा राप्रपाले पाएको मत (५,३७९) थप्ने हो भने गठबन्धनसँग मत संख्या ५३,२४५ पुग्छ ।

गठबन्धनको समर्थनमा राप्रपाका थापाले दमक नगरपालिकामा १७,५२५ मतसहित जित्दा एमालेकी गीताकुमारी पौडेल १६,९६६ मत ल्याएकी थिइन् । कमल गाउँपालिकामा एमालेका भीमप्रसाद राईले ९,६५३ मत पाएर जित्दा कांग्रेसका हुकुमसिंह राईले १२,८६८ मत ल्याएर जिते । राप्रपाका बिक्रम अधिकारीले ७८२ मत पाएका थिए ।

गौरादह नगरपालिकामा चाहिँ एमालेले जितेको छ । एमालेका छत्रपति सुवेदी १२,८४९ मत पाउँदा कांग्रेसका रोहितकुमार साह ११,४८४ र राप्रपाका गोपालप्रसाद पौडेलले १,५९० मत ल्याएका थिए ।

चुनाव जित्न एकअर्काको सहारा – Online Khabar

गौरीगञ्ज गाउँपालिकामा एमाले फराकिलो अन्तरले पराजित भएको छ । गठबन्धनबाट कांग्रेसकी फुलवती राजवंशीले ५,६८९ मत पाएर अध्यक्ष जित्दा एमालेले भने राप्रपाकै हाराहारी मत पाएको छ । एमालेका विजय अग्रवालले ३,३३० र राप्रपाका बाबुराजा श्रेष्ठले ३,३०७ मत पाएका थिए ।

तर झापा–५ मा गौरादहको वडा नम्बर ९ र गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर १ र २ पर्दैन । त्यसो हुँदा वडाध्यक्षहरुले पाएको मतका आधार विश्लेषण गर्ने अर्को आधार हो । त्यो मत आधारमा भने एमाले अगाडि छ ।

यो निर्वाचन क्षेत्रमा एमालेका वडाध्यक्ष उम्मेदवारहरुले ४१,६०९ मत पाउँदा गठबन्धनले ३८,१०२ मत पाएको छ । तर निर्णायक मत भने राप्रपासँग हुनेछ । राप्रपाका वडाध्यक्ष उम्मेदवारहरुले पाएको मत ४,८५१ जता जान्छ, उतै बहुमत पुग्छ ।

‘सबै मिले पनि कसरी जित्ने भन्ने तयारी भइरहेको छ’, एमाले नेता ढुंगेल भन्छन्, ‘समग्र जिल्ला जित्ने हो, अध्यक्षको निर्वाचन क्षेत्रबारे चिन्ता लिन आवश्यक छैन ।’ तर सत्ता गठबन्धन भने ओलीलाई जसरी पनि हराउने रणनीतिमा लागेको छ ।

‘परीक्षण भइसकेको मान्छे होइन, अब युवा अघि बढ्नुपर्छ भनेर लागेको छु’, माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ भन्छन् । तामाङ आफैं पनि ओलीविरुद्ध गठबन्धनबाट उम्मेदवारका आकांक्षी छन् ।

स्थानीय चुनावको गणितलाई आधार मान्ने हो भने राप्रपाको साथ लिनु एमालेको बाध्यता हो । राप्रपाको त्यो निर्णायक मत साथमा लिएर जित सुनिश्चित गर्ने दाउसहित तालमेलप्रति एमाले अध्यक्ष ओलीले रुची राखेको बुझ्न सकिन्छ ।

लिङ्देनलाई एमालेकै भर

झापा–५ मा ओलीलाई राप्रपाको साथ जति जरुरी छ, त्योभन्दा बढी झापा–३ मा लिङदेनलाई एमालेको समर्थन खाँचो छ ।

०७४ को चुनावमा पनि एमाले र माओवादी केन्द्रकै समर्थनमा लिङ्देनले कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई हराए । त्यसबेला लिङ्देनले ४४,६१४ मत ल्याएर जित्दा सिटौलाले ३१,१५९ मत पाएका थिए ।

पाँच वर्षपछि फेरि लिङदेन र सिटौला आमने–सामने हुँदैछन् । ‘उहाँको (कृष्णप्रसाद सिटौला) झापा–२ मा पनि राम्रै छ, तर यहीँबाट लड्छु भनेपछि प्रतिस्पर्धा हुने नै भयो’, राप्रपा नेता प्याकुरेल भन्छिन् । ०७४ मा पनि सिटौला र लिङ्देन दुवैले झापा–३ छोड्न नमानेपछि देशभर कांग्रेस–राप्रपा गठबन्धन हुँदा पनि झापामा हुन सकेको थिएन ।

अहिले सत्ता गठबन्धनका कारणले यो क्षेत्रमा सिटौलाको दाबेदारी अझ बलियो बनेको छ । यो क्षेत्रमा कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, बिर्तामोड नगरपालिकाको वडा नम्बर १० र भद्रपुर नगरपालिकाको १ देखि ८ नम्बर वडा पर्छ ।

त्यसमध्ये कांग्रेसले दुई, एमालेले दुई र राप्रपाले एक पालिका जितेको छ । कांग्रेसले भद्रपुर र कचनकवल, एमालेले बिर्तामोड र बाह्रदशी जित्दा राप्रपाले लिङ्देनकै गृह पालिका हल्दीबारी मात्रै जितेको छ ।

०७४ को चुनावमा पालिका अध्यक्ष जितेको कचनकवल यसपटक राप्रपाले गुमायो । राप्रपाका उम्मेदवार अञ्जर आलमले ६,६६७ मत ल्याउँदा एमालेको साथ पाएकैले ११,४५७ मत सहित कांग्रेसका कालेन्द्र राजवंशीले अध्यक्ष जिते । तर निर्वाचन क्षेत्रको हिसाब गर्न भने वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्न आवश्यक हुन्छ । किनकि बिर्तामोड र भद्रपुर नगरपालिकाको सबै वडा झापा–३ मा पर्दैन ।

वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा २८ वडा रहेको यो निर्वाचन क्षेत्रमा कांग्रेस, राप्रपा र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । वडाध्यक्षका उम्मेदवारहरुले ल्याएको मत जोड्दा कांग्रेससँग २५,१७९, राप्रपासँग २१,४६६ र एमालेसँग २०,९९४ हुन्छ ।

तर अहिले माओवादी केन्द्र सत्ता गठबन्धनमा छ । माओवादी केन्द्रका उम्मेदवारले पाएको मत (६,१५०) जोड्दा कांग्रेस गठबन्धनसँग यो निर्वाचन क्षेत्रमा ३१,३३९ मत हुन्छ । यसले सिटौलाको दाबेदारी थप बलियो बनेको छ । एमालेले विवादित व्यवसायी दुर्गा प्रसाइँलाई झापा–३ बाट अगाडि बढाउने संकेत दिएर लिङ्देनमाथि दबाव बढाएको छ ।

‘दुवै अध्यक्ष (केपी ओली र राजेन्द्र लिङ्देन) जित्नलाई अहिले एमाले र राप्रपाको गठबन्धन नै झापाका लागि उपयुक्त हुन्छ, तर त्यो कुरा नेतृत्वले सोच्ने हो’, एमालेका एक जिल्ला नेता भन्छन् । यी दुई शक्ति मिलेमा राप्रपाको निर्णायक मतले झापा–५ मा ओली र एमालेको प्रतिस्पर्धी मतले झापा–३ मा लिङ्देनलाई सहज हुने देखिन्छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्