३७ वर्षपछि अमेरिकाबाट फर्किइन् सालभाञ्जिका – Online Khabar

३७ वर्षपछि अमेरिकाबाट फर्किइन् सालभाञ्जिका – Online Khabar

[ad_1]

२९ साउन, काठमाडौं । काठमाडौं इटुम्बहालको भाष्करदेव संकारित केशचन्द्रकृत परावत महाविहारबाट २०४२ सालतिरबाट हराएको काठको कलात्मक सालभाञ्जिका टूँडाल नेपाल फिर्ता भएको छ । आइतार पुरातत्व विभागले अमेरिकाबाट फिर्ता भएको सालभाञ्जिका (यक्षिणी) टूँडाल सार्वजनिक गरेको छ ।

विहारमा अहिले पनि सालभाञ्जिकाको पाउमुनिको भाग (भाँचिएको काठको प्राचीन यक्ष) मूर्ति छ । यो टुटेको मूर्तिमाथि उभिएकी यक्षिणी (सालभाञ्जिका)को मूर्ति भाँचेर चोरिएको थियो ।

त्यसबेला तीन यक्षिणीका काष्ठ मूर्ति चोरिएका थिए । मूर्ति चोरीको अपराध मौलाएको त्यो समयमा प्रहरीले सामान्य अनुसन्धान गरे पनि ती अमूल्य नेपाली कलाकृति कोबाट चोरिएर कता पुगे पत्ता लागेको थिएन ।

३६–३७ वर्षअघि हराएकी ती यक्षिणीमध्येका एकलाई ‘युनिभर्सिटी अफ हाइल्यान्ड्स एन्ड आइल्यान्ड्स’मा अध्ययरत नेपाली विद्यार्थी विवेक सिटौलाले अमेरिकाको न्यूयोर्कस्थित ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट’मा फेला पारेका थिए । सालभाञ्जिका मूर्ति संग्राहलयको भण्डारमा राखिएको थियो ।

सालभाञ्किासँगै प्रस्तरबाट बनेको दुई साधु बीचमा उभिएको शिवको मूर्ति पनि नेपाल आइपुगेको छ । काठमाडौं–१९ कंकेश्वरी मन्दिरको पर्खालबाट सन् १९९५ मा चोरी भएको थियो ।

३७ वर्षपछि अमेरिकाबाट फर्किइन् सालभाञ्जिका – Online Khabar
अमेरिकाबाट फर्काइएको शिवको मूर्ति ।

यी दुवै मूर्ति विभिन्न माध्यम हुँदै ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट’मा पुगेका थिए । पुरातत्व विभागले यी मूर्तिहरुको उत्पतिस्थल नेपाल भएको प्रमाण पठाएपछि म्युजियमले मूर्ति फिर्ता गर्न सहमित दिएको थियो ।

म्युजियमको दक्षिण तथा दक्षिण एसिया वरिष्ठ कला विशेषज्ञ जोनगाइ शुक्रबार नेपाल मूर्ति लिएर नेपाल आएका छन् । दुवै मूर्तिको बीमा तथा ढुवानी खर्च पनि सोही म्युजियमले ब्यहोरेको थियो ।

अमेरिकाबाट फिर्ता ल्याइएको सालभाञ्जिका पुरातात्विक विभागलाई हस्तान्तरण हुँदै ।

कसरी आइपुग्यो नेपाल ?

अमेरिकाबाट फर्किएकी सालभाञ्जिकालाई पुरात्व विभागले१३–१४औं शताब्दीतिर निर्माण गरिएको अनुमान गरिएको उल्लेख गरेको छ । अध्येता सिटौलाका अनुसार, संकलक इभिलिन क्रेनस कोसाकले सन् १९९१ मा यो म्युजियमलाई उपहार दिएका नेपालका प्राचीन कलामध्ये सबभन्दा महत्वपूर्ण काष्ठमूर्ति थियोे, सालभञ्जिका ।

कला अध्ययनका क्रममा मेट्रोपोलिटन म्युजियमको ‘इन्भेन्ट्री’ खोतल्दै गर्दा यो मूर्तिले सिटौलाको ध्यानाकर्षण गरेको थियो । मूर्तिको बनोट हेर्दा नै नेपालबाट हराएकामध्येको एक हुनसक्ने लागेर उनले सोधखोज थालेका थिए । उनले यो मूर्ति इटुम्बहालबाट चोरिएको भाँचेर आधा भाग नेपालकै रहेको काठको प्राचीन यक्षलाई आधार बनाएर दावी गर्न सकिने लबिइङ गरेका थिए ।

स्किकले २९ असोज २०४० मा खिचेको सालभाञ्जिकाको तस्वीर ।

युर्गेन स्किकको ‘द गड्स आर लिभिङ द कन्ट्रीः आर्ट थेप्ट फ्रम नेपाल’ लगायत कला–संस्कृति सम्बन्धी चर्चित किताबहरुमा नेपालबाट हराएका धेरै मूर्तिको फोटोसहित विवरण पाइन्छन् ।

सन् १९८९ प्रकाशित स्किकको किताबमा समेटिएका नेपालका प्राचीन मूर्तिहरुमध्ये सालभाञ्जिका पनि हो । फोटोमा निहुरिएका यक्षको दायाँ पाखुरामाथि बायाँ खुट्टाले टेकेर सालभाञ्जिका उभिएको देखिन्छ । सालभाञ्जिकाको दायाँ खुट्टा यक्षको बाँया काँधमा छ ।

स्किकले २९ असोज २०४० मा खिचेको फोटो किताबको पृष्ठ १०७ मा राखिएको छ । त्यस्तै, म्यारी सेर्फड स्लसर, केभिन आर. मार्श र पल जेटको किताव ‘द एन्टिक्युटी अफ नेप्लिज उडकार्भिङ : अ रि-असेसमेन्ट’ मा समेटिएका काठमाडौं उपत्यकका विलक्षण काष्ठकलाका तस्वीरमध्ये सालभाञ्जिकाको पनि छ ।

सन् १९६९ देखि १९७० सम्म तस्वीर खिचिएका यी मूर्तिहरु १९८४–१९८५ बीचमा चोरी भएको अनुमान छ ।

सालभाञ्जिकाको यो मूर्ति सन् ७७०–९७० बीचमा बनेको हुन सक्ने अनुमान छ । यसको तस्वीर भने १९६९/१९७०, १९८३ र पछि म्युजियममा २००४ मा खिचिएको थियो ।

फ्लोरिडाको बेटा एनालिटिकल रेडियो कार्बन डेटिङ ल्याबरेटरीले गरेको परीक्षणले सालभाञ्जिका यक्षणीको काष्ठमूर्ति लिच्छवीकाल पछिको संक्रमणकालमा बनेको देखाएको छ । कार्बन डेटिङलाई मान्ने हो भने नेपालको सबभन्दा पुरानो र लामो समय अस्तित्वमा रहेको काष्ठकलामध्ये एक हो, सालभन्जिका ।

अमेरिकाको संग्राहलयबाट नेपाल फर्किएको सालभन्जिकाको मूर्तिको उचाइ ‘१३१.५×२१ सेन्टिमिटर’ छ । त्यसमा अब इटुम्बाहालमा रहेको यक्षसहितको बाँकी भाग जोड्दा मूर्तिको वास्तविक उचाइ थाहा हुनेछ ।

यो मूर्ति सौन्दर्य र काष्ठकलाको कारण पनि निकै महत्वपूर्ण छ । मूर्तिमा यक्षिणी परम्परागत आसन त्रिभङ्गामा बसेको देखिन्छ । खुट्टा ‘क्रस’ गरेकी सालभञ्जिका यक्षमाथि उभिएकी छन् । इटुम्बाहलमा अलपत्र रहेका यक्ष चट्टानमा घुँडा टेकेर निहुरिएका छन् ।

यक्षिणीले आफूभन्दा माथिको वनस्पति हातले सम्हालेकी छिन् । यस्तो विशेष आसनलाई नै ‘सालभाञ्जिका’ भनिन्छ । यसको अर्थ ‘सालको रुख भाँच्ने सुन्दरी’ भन्ने हुन्छ ।

नेपाल फर्काइएको सालभाञ्जिका ।

सिटौलाले नै वासिङ्टन डिसी र बेलायतस्थित नेपाली दूतावाससहित पुरातत्व विभागलाई यसबारे जानकारी गराएका थिए ।

सन् १९७० मा भएको ‘सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात, निर्यात र स्थानान्तरणको निषेध र रोकथाम सम्बन्धी महासन्धि’ले चोरी निकासी भएर विदेश पुगेका मूर्तिको हकमा विना क्षतिपूर्ति फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।

महासन्धिको दफा ७ मा गैरकानूनी रूपमा अर्को मुलुकमा निर्यात गरिएका सांस्कृतिक सम्पत्ति प्राप्त गर्नेबारे मूल राज्यलाई अर्को राज्यले सूचना दिनुपर्ने उल्लेख छ । अर्थात् उक्त महासन्धिको पक्ष राष्ट्र नेपालको मूर्ति वा अन्य सांस्कृतिक वस्तु निकासी भएको जानकारी भए सम्बन्धित देशले सो बारे जानकारी गराउनुपर्ने व्यवस्था छ ।

त्यस्तै, दफा ७ को बी (आई) मा मूर्तिको स्रोत राज्यको कुनै पनि सांस्कृतिक सम्पत्ति पुनःप्राप्ति र फिर्ता लिन उचित कदम चाल्ने सम्बन्धमा व्यवस्था गरिएको छ । यो दफामा कुनै पनि मुलुकबाट चोरी निकासी गरिएको मूर्ति भए क्षतिपूर्ति दिनु नपर्ने तर कुनै कारणले खरीद गरेर लगेको प्रमाण भेटिए क्षतिपूर्ति तिरेर मूर्ति एवं सांस्कृतिक वस्तु फिर्ता ल्याउन सक्ने व्यवस्था पनि छ ।

त्यसअनुसार नेपालमा सालभाञ्जिका र शिवमूर्ति नपाल फर्किएका हुन् ।

तस्वीरः आर्यन धिमाल

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्