[ad_1]
१ असार, काठमाडौं । जिल्ला अदालत, काठमाडौंमा शुक्रबार ११ बजे पुग्नुपर्ने सरकारी वकिलहरु केहीबेर ढिला गरी दलबलसहित इजलासमा पुगे ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेले संकेत गर्नासाथ उपन्यायाधिवक्ता लक्ष्मण घिमिरेले शरणार्थी प्रकरण कसरी संगठित अपराध हो भन्नेमा आफ्नो बहस ‘फ्रेमिङ’ गरे, अनि राजनीतिक संरक्षणमा कसरी यस्ता घटना दवाइन्छ भन्ने दलिल पेश गरे ।
त्यसपछि एकपछि अर्को गर्दै सरकारी वकिलहरुले बहस गरे, जाहेरीकर्ताहरुका तर्फबाट पनि ‘नेताहरुलाई थुन्नैपर्छ’ भन्ने शैलीमा बहस भयो ।
२ नबज्दै न्यायाधीश न्यौपाने इजलासबाट उठे र इजलास अधिकृतहरुलाई संकेत गरेर भित्र चेम्बरमा बोलाए । इजलासमा बस्ने न्यायाधीशहरु मुद्दाको आदेश/फैसला लेख्न भित्र रहेको कार्यकक्ष(चेम्बर)मा जाने गर्छन् ।
न्यायाधीश र अदालतका कर्मचारीहरु इजलासबाट भित्र छिरेपछि इजलासमा गुनगुन बढ्यो । आरोपितहरु, सादा पोशाकका प्रहरीहरु, कानून व्यवसायी र पत्रकारहरु गफ गर्न स्वतन्त्र भए । त्यो क्रम अपराह्न इजलासमा न्यायाधीश नआउदासम्म जारी भयो ।
आरोपितहरुमध्ये बालकृष्ण खाँण खासै बोलेनन् । कानून व्यवसायीहरुको कानेखुसीमा पनि संक्षिप्त जवाफ फर्काए । टोपबहादुर रायमाझी अनि निस्फिक्री नै थिए, उनी प्रायःको अनुहारमा हेरेर मुसुक्क हाँस्थे ।
सधैजसो इजलासको देब्रेतिर बस्ने शम्सेर मिया निजामती कर्मचारीको जस्तै पोशाकमा हुन्थे । गाढा निलो पाइन्ट, सेतो सर्टमाथि कालो इष्टकोट लगाउने उनी सरकारी कर्मचारी हुन् कि भन्ने दुविधा गराउथ्यो ।
शुक्रबार सरकारी वकिलहरुले ‘सबै आरोपितहरुलाई थुन्नुपर्छ’ भनेपछि जवाफमा मियाले ‘तिमीहरुलाई नै थुन्नुपर्छ’ भन्दै चिच्याएका थिए ।
छेवैमा रहेका कानून व्यवसायीहरुले उनीहरुलाई थुम्थुम्याए । इजलास उठेपछि उनी अझ आक्रोशित देखिए ।
‘पत्रकारहरुले कुरा मात्रै गर्छन, लेख भनेको लेख्दैनन, नचाहिने मात्रै लेख्छन्’ उनी जंगिए ।
छेवैको कुर्सीमा बालकृष्ण खाँणको साथमा रहेका सचिव टेकनारायण पाण्डे शुक्रबार ठट्यौलो शैलीमा प्रस्तुत भएका थिए ।
पाण्डेले जंगिएका मियातिर फर्केर भने, ‘अध्यक्षज्यू, पत्रकारहरुलाई पनि एकपटक हज गर्न लैजानुस्, अनि खुसी हुन्छन् ।’
त्यहाँ उपस्थितहरुमाझ हाँसोको फोहोरा छुट्यो ।
अपराह्न बढ्दै गर्दा अरु इजलासको भिड पातलिन थाल्यो, होहल्ला घट्न थाल्यो ।
१० नम्बर ठूलो इजलासको कक्षमा २५ नम्बर टाँसेर १३ दिनदेखि सुनुवाइ भइरहेको जिल्ला अदालतको तेस्रो तलामा प्रहरीको उपस्थिति बढ्दै गयो ।
केहीबेरमा एक कर्मचारी इजलासमा आइन । दराजबाट नेपाली कागजको बण्डल झिकिन् र चेम्बरमै फर्किइन् । त्यसको पनि करिब आधा/पौने घण्टामा न्यायाधीश न्यौपाने इजलासमा आए र, संक्षिप्त रुपमा भने, ‘लक्ष्मी महर्जनको हकमा ५ लाख, टंककुमार गुरुङको हकमा १० लाख धरौटी माग्ने आदेश भएको छ, बाँकीको हकमा पुर्पक्ष………..उच्चमा जाने बाटो छँदैछ ।’
त्यति भनेर न्यायाधीश न्यौपाने चेम्बरभित्र पसे । इजलासमा निकै सन्नाटा छायो ।
अर्को बेञ्चमा बसेका सचिव टेकनारायण पाण्डेले बरर आँसु झारे । औंला आँखामा छुवाइरहे । पछि कागजले नै आँखा पुछ्न थाले ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँणले पनि आँसु झारे ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी मलिन थिए, तर उनले आँखाबाट आँसु झारेनन् । अरु आरोपितहरु पनि मलिन र निरास थिए । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सदाझैं उस्तै मुद्रामा थिए ।
इजालसले तयार गरेको आदेश दुई तलामाथि २५ नम्बर इजलासको फाँटमा पुग्यो । कर्मचारीहरु आदेश बमोजिम पत्र तयार गर्न थाले । जगन्नाथ देवल कारागारको नाममा तयार पारिएको एउटै व्यहोराको पत्र सबै आरोपितहरुका नाममा बनाइएको थियो । धरौटीमा छुट्नेहरुको पत्र पनि तयार भयो । फाँटमा धरौटीमा छुट्नेहरुको खोजी हुन थाल्यो ।

आदेश र सबै १६ जनाको पत्र फेरि इजलासमा पुग्यो । इजलासले थुनामा पठाउने आदेश गरेपछि प्रहरीहरुको संख्या बढाइएको थियो र हरेक आरोपितहरुलाई हेर्ने प्रहरीको छुट्टाछुट्टै टोली तयारी अवस्थामा बस्यो ।
आदेश इजलासमा पुगेपछि कर्मचारीहरुले नाम बोलाए र आरोपितहरु जाँदै ल्याप्चे लगाउँदै गरे । सबै काम सकिएपछि इजलासबाट प्रहरीले उनीहरुलाई बाहिर निकाल्न थाले ।
भ¥याङमा ओर्लिनेक्रममा आदेशको प्रति पर्खिएका पत्रकारहरुसँग बालकृष्ण खाँणको भेट भयो ।
‘घटनामा मेरो संलग्नता छैन, म निर्दोष छु’ उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘पूर्ण आदेश नआउँदै थप के भन्नु ? म उच्च अदालत जान्छु ।’
[ad_2]
Source link








