‘साढे २ महिना तयारीको मापन भारतसँगको खेल’ – Online Khabar

‘साढे २ महिना तयारीको मापन भारतसँगको खेल’ – Online Khabar

[ad_1]

९ जेठ, काठमाडौं । दोस्रो खेलमा बंगलादेशमाथि सोझो सेटमा जित हासिल गरेसँगै नेपाल समूहको एक खेल अगावै काभा वुमन्स च्यालेन्ज कप भलिबलको सेमिफाइनलमा पुगेको छ ।

समूहको सबैभन्दा कठिन प्रतिस्पर्धी भारतसँगको खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेको नेपालले दबावबाट हल्का महशुस गर्न सक्छ ।

आधिकारिक अन्तर्राष्ट्रिय खेलमा नेपाल टिम भारतसँग जितविहीन छ । बुधबार समूहको अन्तिम खेलमा नेपाल र भारत आमने सामने हुँदा दुवै टिम तुलनात्मक रुपमा कम दबावमा हुनेछन् ।

यद्यपि समूहको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा जानु टिमको आत्मविश्वासका लागि महत्वपूर्ण रहने दुवै टिमले बुझेका छन् ।

बेल्जियमका अनुभवी प्रशिक्षक जान डी ब्रान्ट यही प्रतियोगिताका लागि साढे दुई महिनादेखि नेपाल टिमसँग छन् । ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताअघि आफूलाई परीक्षण गर्न नपाएको नेपाल टिमले सुरुवाती दुई खेलमा विपक्षीको दबाव सामना गर्नै परेन ।

तुलनात्मक रुपमा उपल्लो स्तरको भारतसँग आफ्नो मिहिनेतको वास्तविक परीक्षा हुने प्रशिक्षक ब्रान्टले पत्रकार सम्मेलनमा बताए । ‘नतिजा प्रतियोगिताको अर्को चरणका लागि खास महत्वपूर्ण नहोला । तर, भारतसँग भोलि हुने खेल साढे २ महिनाको हाम्रो तयारीपछि आफ्नो स्तर जान्ने मौका हुनेछ,’ ब्रान्टले भने ।

प्रशिक्षकले बुधबारको खेलमा दबाव नलिने बरु भारतसँग उत्कृष्ट भलिबल खेल्ने रणनीतिसमेत खुलाए । भारतीय टिम नेपालभन्दा शारीरिक रुपमा बलियो भएको यथार्थलाई आत्मसाथ गरी नेपालले प्राविधिक चुस्ततालाई ध्यान दिने प्रशिक्षक बताउँछन् ।

पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा मंगलबार बंगलादेशसँगको गल्तीहरु औल्याउँदै प्रशिक्षक ब्रान्ट भन्छन्, ‘आज हाम्रो सेटिङमा समस्या थियो । किर्गिस्तानविरुद्ध सामान्य गल्तीहरु धेरै भएका थिए । हामीले त्यसरी नै खेल्यौं भने भारतसँग टिक्न सक्दैनौं । त्यसैले प्राविधिक रुपमा चातूर्र्य प्रदर्शन गरेको अवस्थामा भारतलाई गाह्रो बनाउन सक्छौं ।’

‘साढे २ महिना तयारीको मापन भारतसँगको खेल’ – Online Khabar

महिला भलिबलमा नेपाल भारत दुई दशकदेखि परिचित छन् । तर, अहिलेसम्म नेपालले जित्न सकेको छैन । पछिल्लोपल्ट सन् २०१९ मा १३औं दक्षिण एसियाली खेलकुदको फाइनलमा सुरुवाती दुई सेटको अग्रता बनाएर पनि नेपाल पाँचौं सेटमा पराजित हुन पुगेको थियो । अनुभव र एक्स्पोजर त्यतिबेलाको तुलनामा यो टिममा अझै कम छ । यद्यपि प्रशिक्षक विश्वस्त छन् ।

‘नेपालले भारतसँग हार्‍यो होला, तर मैले हारेको छैन । बितेको कुरा गइसक्यो भारतको पनि टिम परिवर्तन भएको होला, हाम्रो पनि टिम परिवर्तन भएको छ । त्यसैले भोलि नयाँ खेल हुनेछ,’ ब्रान्ट भन्छन्, ‘सेमिफाइनलको दबाव कम गर्न भारतसँगको प्रतिस्पर्धात्मक खेलले धेरै फाइदा हुनेछ ।’

प्रशिक्षक ब्रान्टले भारतसँगको खेललाई प्रतियोगिताको फाइनलजसरी लिनु आवश्यक नरहेकोसमेत बताए । ‘भारतसँगको जितपछि हामीप्रति उपाधिमा धेरै अपेक्षा गरिनेछ । तर, त्यस्तो हुँदैन । सेमिफाइनल झन् कठिन हुन्छ,’ उनले भने, ‘मैले यसबीचमा आफ्नो खेलाडीलाई जति चिनेको छु त्यसका आधारमा सबैलाई अवसर दिएको छु, उनीहरुले आफूलाई प्रमाणित गर्न सक्नुपर्छ ।’

कप्तान अरुणा शाहीले पनि विगतको नतिजाका आधारमा भावी खेलहरुमा परिणामको अनुमान गर्न नहुने बताउँछिन् । दबाव नभए पनि भारतविरुद्ध जितकै लागि खेल्ने उनले बताइन् । सुरुवाती दुई खेलमा देखिएका संरचनात्मक कमजोरीहरुलाई सुधारेर इतिहास कोर्ने लक्ष्य लिने उनको भनाइ छ ।

‘हामी सागमा पाँच सेटमा हारेका थियौं । अब यो एउटा मौका हो । हामी सकेसम्म इतिहास रच्न सक्दो प्रयास गर्नेछौं’, अरुणाले बंगलादेशसँगको खेलपछि पत्रकारसम्मेलनमा भनिन् ।

आउने खेलहरु फरक स्तरमा खेल्नुपर्छ

नेपालले सुरुवाती दुई खेललाई खासै प्रतिस्पर्धाका रुपमा लिएको थिएन । टिममा रहेका १४ जना खेलाडीलाई पालैपालो अवसर दिने नीतिने डेब्यूटेन्ट ६ खेलाडीले पनि अनुभव र एक्स्पोजर पाएका छन् । नेपालले सहज जित पनि निकालेको छ ।

प्रशिक्षक ब्रान्टले पनि अबको खेलहरुमा नेपालले फरक स्तर देखाउनुपर्ने बताए । ‘आजसम्म खेलेको भलिबल खासै गाह्रो होइन तर, अबका खेलहरु हाम्रो लागि प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण हुनेछ,’ प्रशिक्षक ब्रान्टले बंगलादेशसँगको खेल आफ्नो प्रशिक्षणमा खेलेको सबैभन्दा कमजोर र सहज खेलको संज्ञा दिए ।

बंगलादेशसँग मंगलबारको खेलमा नेपालका लागि ४ खेलाडीले डेब्यू गरे । मिडलब्लकरमा कविता भट्ट, सेटरमा प्रगति नाथ, अपोजिट स्पाइकमा पुजा थारु र लिबेरोमा शान्तिकला तामाङले नेपालका लागि पहिलो अनुभव लिए ।

आजको खेलमा प्रशिक्षक ब्रान्टले कमजोर प्रतिस्पर्धी बंगलादेशका लागि थ्री सीे फर्मुला प्रयोग गरेका थिए । चेञ्ज (परिवर्तन), चान्स(मौका) र कन्ट्रोल (नियन्त्रण) को अवधारणा प्रभावशाली नै देखियो ।

‘भारतसँगको खेल हेरेपछि बंगलादेश निकै सहज टिम हुने अनुमान गरिसकेको थिएँ । हामीले सेमिफाइनल पुग्न किर्गिस्तानलाई जित्नै पर्ने थियो । त्यसैले थ्री सी फर्मुलामा खेल खेलाएको हो,’ जान्टले भने ।

सेमिफाइनलमा नेपालले उज्वेकिस्तान र काजाकस्तानमध्ये एउटा टिमसँग खेल्नुपर्ने हुनसक्छ । ८ टिम सम्मिलिन प्रतियोगितामा दुई समूहमा शीर्ष दुई सेमिफाइनल पुग्नेछन् । समूह ए बाट नेपाल र भारत सेमिफाइनलमा पुग्दा समूह बीबाट लगातार दुई जितसँगै काजाकस्तान र उज्वेकिस्तान सेमिफाइनलमा पुगेको छ । काजाकस्तानले मंगलबार श्रीलंकामाथि ३–१ को सेटमा रोमाञ्चक जित हासिल गरेको थियो । उज्वेकिस्तानले माल्दिभ्सलाई हराएको थियो ।

टिमको प्रदर्शनबाट खुसी छु : बंगलादेशी प्रशिक्षक

पहिलो खेलमा भारत र दोस्रो खेलमा मंगलबार नेपालसँग पराजित भएसँगै बंगलादेश एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । उसले समूहको अन्तिम खेल बुधबार किर्गिस्तानसँग खेल्नेछ ।

इद उल फितर र रमदानका कारण बंगलादेशले जम्माजम्मी २० दिनको तयारीमा नेपाल भ्रमण गरेको थियो । तयारीअनुसार आफ्नो नयाँ टिमको प्रदर्शनबाट बंगलादेशी प्रशिक्षक मसुदुल हकले सन्तुष्ट छन् ।

‘हामीले हाम्रो महान पर्व रमादान र इदुलफ्रितका कारण तयारी गर्न पाएनौं । हामी नयाँ टिम हौं । हामी हाम्रो महिला भलिबल टिम तयार गर्दैछौं । हामी हाम्रो महिला टिम बलियो बनाउने तयारीमा छौं,’ पत्रकार सम्मेलनमा प्रशिक्षक हकले भने ।

बंगलादेशी कप्तान सविना खातुनले आउने प्रतियोगितामा राम्रो तयारीसहित सहभागी हुनुपर्ने बताउँछिन् । ‘२ वर्षपछि प्रतियोगिता खेलेका हौं । नयाँ खेलाडीहरु धेरै छन् त्यसैले पनि हामी कमजोर भयौं । राम्रो प्रदर्शनका लागि धेरै अनुभव लिनुपर्नेछ,’ उनले थपिन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्