[ad_1]
कृष्णपुर मावि मतदान केन्द्रमा एमाले उम्मेदवार रामप्रसाद न्याैपाने ।
१० वैशाख, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतदान जारी छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् ।
तर रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने त्यहाँ मतदान गर्न पाउने छैनन् ।
रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो ।
किरियापुत्री, ज्येष्ठ नागरिक लगायत पनि उत्साहपूर्ण ढंगले मतदानमा सहभागी भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवन २ मा ४३ स्थलका १३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका छन् । दिउँसो गर्मी हुने भएकाले बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् ।
भरतपुरको नारायणी माविमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले मतदान गरेका छन् । यसैगरी पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष विष्णु छिमेकीले आमाको किरिया बसेकै अवस्थामा भरतपुर १२ स्थित मोहन माविबाट मतदान गरेका छन् ।


उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गरी पश्चिमतर्फबाट चितवन आउने सवारी साधनलाई नवलपुरको गैंडाकोटमा नै रोकिएका छन् ।

[ad_2]
Source link








