एसिया कपको अवसरले उत्साहित नेपाल टिम – Online Khabar

एसिया कपको अवसरले उत्साहित नेपाल टिम – Online Khabar

[ad_1]

४ वैशाख, काठमाडौं । भारत, पाकिस्तानजस्ता देशसँग खेल्ने लक्ष्यसहित नेपाल क्रिकेट टिमले एसीसी प्रिमियर कपको तयारीलाई अन्तिम रुप दिएको छ । भोलि (मंगलबार) त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मलेसियासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।

एसियाका शीर्ष १० एशोसिएट टिमबीच कीर्तिपुर र मूलपानी मैदानमा अबको १५ दिन प्रतिस्पर्धा चल्नेछ । सहभागी टिमलाई दुई समूहमा बाँडिदा नेपाल समूह ए मा छ । नेपालले मलेसियासँगै ओमान, साउदी अरव र कतारसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । समूह बी मा यूएई, हङकङ, सिंगापुर, बहराइन र कुवेत छन् ।

गत फागुन–चैतमा आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम तीन शृंखलामा अभूतपूर्व प्रदर्शन गरी एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा स्थान बनाएको नेपाली टोली प्रतियोगितालाई लिएर निकै उत्साहित छ ।

‘टिम राम्रो अवस्थामा छ । हामी एसिया कप छनोट हुने सम्भावना पनि बलियो छ,’ सोमबार बिहान अन्तिम प्रशिक्षण सत्रपछि कप्तान रोहितकुमार पौडेलले भने, ‘हामीले भारत, पाकिस्तानजस्ता ठूला टेष्ट टिमसँग खेलेका छैनौं, यसपालि उनीहरुसँग खेल्न पाउने राम्रो चान्स छ ।’ सेप्टेम्बरमा पाकिस्तान/यूएईमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहबाट खेल्न यो प्रतियोगिताको उपाधि जित्नुपर्छ । कप्तान रोहित एक्स्पोजर र अनुभवका लागि पनि नेपाल एसिया कपमा पुग्नुपर्ने दाबी गर्छन् ।

लिग टूको अन्तिम तीन शृंखलाअघि नेपाल टिमको प्रमुख प्रशिक्षक बनेका मोन्टी देशाईले यसपल्ट टिमको कमजोरीमा पनि विशेष ध्यान दिने समय पाएका छन् । यो प्रतियोगिताका लागि आइतबार घोषित नेपाल टिममा लिग टूकै खेलाडीले निरन्तरता पाएका छन् ।

डेथ ओभर बलिङमा सुधारको अपेक्षा

नेपालले प्रमुखतः डेथ ओभरमा बलिङको समस्यालाई हल गर्न प्रशिक्षण क्याम्पमा धेरै समय खर्चिएको छ । ‘हामीले हाम्रो कमजोर पक्षहरु पत्ता लगाएर काम गरेका छौं । अब मैदानमा शतप्रतिशत दिएर खेल्नुपर्छ,’ घरेलु समर्थकको अपेक्षा ठूलो भएको स्मरण गराउँदै प्रशिक्षक देशाईले सोमबार भने, ‘घरेलु मैदानमा खेल्दैछौं, समर्थकहरु आउनेछन् । हामीले अपेक्षालाई मध्यनजर गर्दै तयारी गरेका छौं । जसमा हरेक खेलाडीले आफ्नो पोजिसनलाई स्पष्ट तरिकाले बुझेका छन् ।’

लिग २ अन्तर्गत पछिल्लो तीन शृंखलाका १२ खेलमा नेपालको डेथ ओभर बलिङ कमजोर थियो । त्यसअघि स्कटल्याण्ड र नामिबिया शृंखलामा पनि सोही कमजोरी थियो । २ चैतमा खेलिएको यूएईसँगको खेलमा नेपालले पहिला बलिङ गर्दा अन्तिम ६ ओभर १०२ रन खर्चिएको थियो ।

एसिया कपको अवसरले उत्साहित नेपाल टिम – Online Khabar

कप्तान र प्रशिक्षक दुबैले यो कमजोरी सुधारका लागि क्याम्पमा विशेष तयारी गरिएको बताए । ‘डेथ ओभर बलिङ हामीले काम गर्नुपर्ने एउटा विधा थियो । हाम्रो खेलाडीहरु डेथ ओभर बलिङका लागि आवश्यक ठाउँहरुमा सुधार गरेका छन्’, प्रशिक्षक देशाईले भने, ‘अन्तिम ओभरमा योर्कर फालेर हुन्छ कि स्लो बाउन्सर फालेर हुन्छ, हामीले त्यसमा काम गरेका छौं ।’

यस प्रतियोगितामा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय टिमसँग छन् । नेपाल र ओमान एकै समूहमा छन् । यूएई समूह बी मा छ । नेपाल टिमका ओपनर ब्याटर आसिफ शेख नेपाल टिम मानसिक र शारीरिक रुपमा सवल रहनु र लिग टूको लयलाई निरन्तरता दिन सके एसिया कप छनोटको सपना धेरै टाढा नभएको बताउँछन् । ‘हामीलाई राम्रो अवसर छ । त्यसका लागि सबैले शतप्रतिशत योगदान गर्नुपर्छ,’ उनले भने, ‘टेलिभिजनमा हेरिरहेको भारत र पाकिस्तान टिमसँग खेल्ने मौका छ । त्यसैले ‘प्रोसेस’मा विश्वास गर्दै खेलिरहेका हुन्छौं ।’

मूलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल

नेपालले एसिसी प्रिमियर कप लागि दुईवटा मैदानमा खेलाउँदैछ । कीर्तिपुर मैदानमा नियमित अन्तर्राष्ट्रिय खेल भइरहेका छन् ।

मूलपानी मैदानलाई पहिलोपल्ट अन्तर्राष्ट्रिय खेलका लागि तयार पारिएको छ । मंगलबार हङकङ र सिंगापुरबीचको खेलबाट मूलपानीले अन्तर्राष्ट्रिय डेब्यू गर्नेछ ।

विगतमा मूलपानीको पीच र आउटफिल्ड (घाँसे मैदान)को स्तरमा प्रश्न उठ्ने गरेको थियो । यो प्रतियोगिता आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले मूलपानीलाई विशेष ध्यान दिएको छ । एउटा अभ्यास सत्र मूलपानी मैदानमा गरेका नेपालका कप्तान रोहितले पिचको समस्या हाल केहीसुधार भएको अनुभुति गरे । ‘मुलपानीमा विकेट पहिलेभन्दा राम्रो भएछ । पहिलो इनिङ्स टर्निङ नै भए पनि दोस्रो इनिङ्समा केहि सहज हुन्छ,’ उनले भने ।

विकेटकिपर ओपनर ब्याटर आसिफले पनि नेपालको दोस्रो मैदान स्तरीय बनेको देखेर खुसी लागेको प्रतिक्रिया दिए ।

उनले थपे, ‘मुलपानीको विकेट राम्रो भएको छ । पहिले भन्दा कम छ बाउन्स छ । पीचमा घाँसहरु देखिन थालेको छ । आशा छ त्यो विकेटले पनि राम्रो खेल्ने छ ।’

लिग टूको शृंखलामा शानदार अन्त्य गरेको नेपालका लागि नयाँ वर्षसँगै नयाँ यात्राको थालनी गर्ने अवसर यो प्रतियोगिताले दिँदैछ । एसिया कपमा ऐतिहासिक छनोटको लक्ष्यको पहिलो खुट्किलो मंगलबारको मलेसियासँगको खेल हुनेछ । नेपाल र मलेसियाले एकदिवसीय क्रिकेटमा ५०औं खेल खेल्दैछन् । कप्तान रोहितले नयाँ वर्षको सुरुवात सुखद बनाउन प्रयास गर्ने बताइसकेका छन् ।

तस्वीर तथा भिडियो : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्