ओलीले साथ खोज्नुभयो, मैले अस्तिको कुरा निकालें – Online Khabar

ओलीले साथ खोज्नुभयो, मैले अस्तिको कुरा निकालें – Online Khabar

[ad_1]

एमाले अध्यक्ष केपी ओलीको कारमा बसेर संसद भवनबाट बालकोट निवास पुगेका लोसपा अध्यक्ष महन्थ ठाकुरसँग अनलाइनखबरले उक्त भेटबारे विस्तारमा जान्न चाह्यो । उनले एक घण्टासम्म बालकोटमा चलेको बैठकबारे सूचनाहरु दिए । ठाकुरसँग यो टेलिफोन वार्ता :

तपाईं त आज ओलीकै कारमा बालकोट जानुभएछ नि ?

हो, संसदमा सम्बोधनको समयमा उहाँसँग मेरो भेट भयो । उहाँले ‘जाउँ न मेरो घरमा, एक कप चिया सँगै बसेर खाउँ’ भन्नुभयो । मैले पनि हुन्छ, हुन्छ भनें । त्यसपछि उहाँकै गाडीमा हालेर लानुभयो ।

उहाँले तपाईंलाई राष्ट्रपति बन्नुस् भनेर प्रस्ताव गर्नुभएको हो ?

त्यस्तो होइन । बल्कि उहाँले हामीलाई राष्ट्रपतिमा साथ दिनुस् पो भन्नुभयो ।

तपाईंले केही दिनअघि आफू राष्ट्रपति बन्न सक्ने सम्भावनाबारे बोल्नुभएको थियो नि त ? त्यसैले सोधेको ।

होइन, त्यस्तो केही छैन । उहाँले नै आफूले सार्ने उम्मेदवारलाई साथ दिनुहोस् भन्नुभयो । मैले उहाँलाई को व्यक्ति उठाउँदै हुनुहुन्छ राष्ट्रपतिमा भनेर सोधें । उहाँले म राम्रै उम्मेदवार दिन्छु भन्नुभयो । त्यसपछि मैले पनि अस्तिको कुरा निकालें ।

ओलीले साथ खोज्नुभयो, मैले अस्तिको कुरा निकालें – Online Khabar

के थियो अस्तिको कुरा ?

मैले अस्ति ‘प्रचण्डलाई विश्वासको मत दिनुहोस् भनेर तपाईंले भनेकाले दिएँ’ भनें । त्यसपछि मधेस प्रदेशको सरकारमा दुई–तीन जना मन्त्रीलाई लैजानु छ त्यसको लागि पनि सहयोग चाहियो भनें ।

उहाँले ठिक छ यसको बारेमा राष्ट्रपतिले बोलाउनु भएको सांस्कृतिक कार्यक्रममा कुरा गरौंला भन्नुभयो । भोलि ३ बजे सबै सांसदलाई बोलाउनुभएको रहेछ राष्ट्रपतिले । ओलीजीले त्यसै कार्यक्रमका बेला छुट्टै कुरा गर्नुपर्छ भन्नुभयो ।

ओलीले उसोभए तपाईलाई कुनै प्रस्ताव गर्नुभएन ?

त्यस्तो कुनै कुरा भएन । न यहाँको कुरा टुंगो लाग्ने गरी भयो । न प्रदेशको कुरा भयो । अलिक उहाँ र प्रचण्डजीको बीचमा पनि केही गडबड भयो कि ? त्यसले पनि अलमल अलमलमै हाम्रो कुरा सकियो । लुम्बिनीमा पनि माओवादीले केही भोट कांग्रेसलाई दियो कि जस्तो लाग्छ भन्दै हुनुहुन्थ्यो । हिसाब पनि देखाउँदै हुनुहुन्थ्यो । ‘जित्न त जित्यौं, तर भोट घटेको छ,’ भन्नुभयो ।

आज बिहान पनि उहाँ र प्रचण्डबीचमा ठाकठुक परेछ नि । केही भन्नुभएन तपाईंलाई ?

(हाँस्दै) त्यस्तो डिटेल त केही भएन । तर युद्धबाट आएको मान्छे हो प्रचण्डजी । कतिखेर सम्झौता गर्ने, कतिखेर अर्कै के गर्ने हुँदो रहेछ । त्यसले उहाँहरुमा पनि के के भएको होला । म सबै भन्न सक्दिनँ ।

फर्किँदा उहाँले नै गाडी पठाइदिनुभयो ?

होइन, मेरो गाडी पछिपछि बालकोट गएको थियो ।

अब ओलीले सार्ने उम्मेदवारलाई लोसपाको साथ हुन्छ त ?

खोइ, हेरौं न भोलि के हुन्छ । उहाँले खोई तपाईंले केही बचन दिनुभएन भनेर सोध्नुभयो । मैले सरकारलाई हामीले विश्वासको मत दिए पनि मधेसमा सहयोग भएन, त्यसैले साथीहरुलाई खल्लो लागेको छ भनें । यस्तै उस्तै कुरा भयो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्