२ नातिनी र हजुरआमा सेती खोंचमै अस्ताए – Online Khabar

२ नातिनी र हजुरआमा सेती खोंचमै अस्ताए – Online Khabar

[ad_1]

२ नातिनी र हजुरआमा सेती खोंचमै अस्ताए – Online Khabar

यास्मिन, ओममाया र पुजन ।

२ माघ, पोखरा । हङकङबाट नातिनी बिदा मनाउन नेपाल आउने भनेपछि ओममाया गुरुङ हप्ता दिन अगाडिदेखि नै फुरुङ्ग थिइन् । माघे संक्रान्ति मनाउने गरी ३० गते हङकङबाट कान्छी छोरीतर्फकी कान्छी नातिनी पुजन राना आउँदै थिइन् । त्यसैले पोखरा महानगरपालिका–१५ रामबजारकी ओममाया गाडी चढेर शुक्रबार काठमाडौं हानिइन् ।

छोरी र नातिनी भनेपछि ओममाया हुरुक्कै हुन्थिन् । ‘छोरा भने पनि यिनै हुन्, छोरी भने पनि यिनै हुन्,’ २ छोरी जन्माएपछि ओमकुमारीले यही भन्ने गरेकी थिइन्् । छोरा नै चाहिन्छ भन्ने समाजको पछाडि उनी लागिनन् ।

उनका दुवै छोरी हङकङमा छन् । ओममाया गुरुङका श्रीमान् ब्रिटिश आर्मी थिए । उनको २३ वर्ष अगाडि नै निधन भइसकेको थियो । छोरीहरु दुवै हङकङतिरै भएपछि ओममाया उनीहरु आउने बाटो हेरिरहन्थिन् ।

जेठी छोरीतर्फकी कान्छी नातिनी यास्मिन गुरुङले पोखरामै बसेर बीएससी पढिरहेकी थिइन् । उनै यास्मिनलाई लिएर ओममाया हङकङबाट आएकी पुजनलाई लिन शुक्रबार काठमाडौं गएकी थिइन् ।

हङकङबाट पुजन आएपछि शनिबार तीनै जना काठमाडौंमै बसे र आइतबार पोखरा नै आएर माघे संक्रान्ति मनाउने योजनाअनुसार यती एयरलाइन्सको टिकट काटे ।

आफन्तहरुका अनुसार उनीहरुले आइतबार दिउँसोको टिकट काटेका थिए । तर बेलैमा पोखरा पुगेर माघे संक्रान्ति मनाउने योजनाअनुसारै उनीहरुले आफ्नो उडान अगाडि सारे । बिहान साढे १० बजे उनीहरु यती एयरलाइन्सको जहाज चढेर करिब ११ बजे पोखरा ओर्लंने परिवारका सदस्यले जानकारी पाएका थिए ।

पूर्वलेखनाथ क्षेत्र हुँदै आएको जहाज अन्तर्राष्ट्रिय विमानस्थलबाट पश्चिम पृथ्वीचोकतिरबाट फन्को मार्दै ल्यान्डिङ नै हुन नपाई सेती खोंचमा बजारियो ।

बिदा मनाउन हङकङबाट आएकी पूजन र पोखराबाट सँगै गएका ओममाया र नातिनी यास्मिनको सँगै माघे संक्रान्ति मनाउने योजना अधुरै रह्यो ।

‘उहाँ जहिले पनि ट्याक्सी लिएर यता हिँड्नुुहुन्थ्यो, नातिनी ल्याउन–पुर्‍याउन पनि ट्याक्सीकै प्रयोग गर्नुहुन्थ्यो, शुक्रबार उहाँ गाडी चढेर काठमाडौं जानुभयो । हामीले ट्याक्सीमै गएर त्यसमै आउने मान्छे किन पब्लिक गाडीमा गएको होला भनेर कुरा पनि गर्‍यौं’, ओममायाका भाइ रुपक गुरुङले भने, ‘उहाँ र २ नातिनीहरुसँगै हिजो जहाजमा आउनुभएको थियो तर घरको आँगनसम्म आउन पाउनुभएन ।’

२ नातिनीको शव पहिचान भइसकेको छ भने ओममायाको हुन सकेको छैन ।

ओममाया ६७ वर्षमा टेकेकी थिइन् भने नातिनी यास्मिन २५ र पुजन २० वर्षकी रहेको रुपकले बताए ।

‘माघे संक्रान्ति त बरु अर्को वर्ष मनाए पनि हुन्थ्यो तर दिदी र नातिनीहरु नै गुमाउनुपर्‍यो,’ उनले भने । ओममायाको जस्तै २ छोरीहरुका पनि २-२ जना छोरीहरु थिए । दुवै छोरीका एक–एक छोरी हजुरआमा ओममायासँगै विमान दुर्घटनामा परे ।

ओममाया श्रीमान्को निधनपछि सामाजिक काममा सक्रिय थिइन् । परोपकार महासंघ कास्कीको अध्यक्षसमेत रहेकी ओममाया महिलाहरुलाई सामाजिक कामका लागि जागरुक गराउँथिन् ।

‘सामाजिक काम भनेपछि हुरुक्कै, गाउँ, टोलमा हुने सामाजिक तथा भौतिक विकासमा पनि अगुवा हुनुहुन्थ्यो,’ ओममायाका छिमेकी तथा पूर्वजनप्रतिनिधि सम्मरबहादुर श्रेष्ठले भने, ‘उहाँले थुप्रै ठाउँमा दान दिनुभएको छ, विकासमा सहयोग गर्नुभएको छ ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्