सित्तैंमा विश्वकप र कोला – Online Khabar

सित्तैंमा विश्वकप र कोला – Online Khabar

[ad_1]

आधिकारिक रुपमा फुटबलको शुरुवात सन् १८७२ मा भएको मानिन्छ । स्कटल्याण्डको ग्लास्गोस्थित हामिल्टन क्रिकेट मैदानमा इङ्ल्याण्ड र स्कटल्याण्डबीच उक्त खेल भएको थियो । तर उक्त खेलमा कुनै गोल भने भएन । त्यसको ३२ वर्षपछि मात्र विश्व फुटबल महासंघको स्थापना भयो । विश्वका २११ राष्ट्र सम्मिलित यति विशाल संस्थागत महासंघ विरलै होला विश्वमा । ११८ वर्षको लामो इतिहास बोकेको फिफाको यसपटकको आयोजक कतार जस्तो विवादित सायद कहिल्यै बनेको थिएन । मौसमी चुनौती उस्तै थियो भने हिउँदमा प्रतियोगिता सार्दै गर्दा विश्वभर चलिरहेको चर्चित लामा लिगहरुलाई एक महिना थाती राखेर विश्वकप आयोजना गर्दैगर्दा फिफालाई समेत थप सकसको भारी बहन गर्नुपर्यो ।

विश्व मानचित्रमा पेनिन्सुला आकारको कतार अत्यन्तै सानो मुलुक हो । त्यहाँको गर्मी  मौसमको प्रतिकूलता उदेकलाग्दो हुन्छ । सोही माथि विभिन्न प्रकारका आर्थिक, सांस्कृतिक र राजनीतिक खिचातानीले गर्दा कतारले छिमेकका भाइ राष्ट्रहरुबाटै असहयोग र लामो समय नाकाबन्दीको सामना गर्नुपर्यो । तर पनि उसले हार मानेन । आन्तरिक तवरले आफ्नो गतिलाई चलायमान बनाइराखे ।

एसियन कप, एसियाड जस्ता ठूला प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको परिप्रेक्ष्यमा उसको नजर विश्वकप फुटबल र ओलम्पिक आयोजनामा जानु अस्वाभाविक थिएन । एसियन कपको मुख्यालय नै कतारको दोहामा छ । एसियन च्याम्पियनसिप फिफा अन्तर्गत कोपा अमेरिका पछिको दोस्रो पुरानो अन्तरमहादेशीय प्रतियोगिता हो । उसले सन् २०११ मा यस प्रतियोगिताको सफलतापूर्वक आयोजना सम्पन्न गरिसकेको छ भने आगामी संस्करण २०२३ को लागि निर्धारित आयोजक राण्ट्र समेत हो । उ यसको पछिल्लो संस्करणको बिजेता पनि हो । कतारले विश्वकपको आयोजना पाउँदै गर्दा उसको खेलकुदमोह र फुटबलप्रतिको विगतलाई स्मरण गर्नु उचित हुन्छ ।

सित्तैंमा विश्वकप र कोला – Online Khabar
लेखक जोशी अल अहली क्लबको रंगशालामा

धेरैलाई जानकारी नहुन सक्छ, सन् १९९५ अप्रिल १३ देखि २८ सम्म दोहाले फिफा वल्र्ड युथ (अण्डर २०) च्याम्पियनसिपको भब्य रुपमा आतिथ्य गरिसकेको थियो । त्यो पनि मात्र केही महिनाको अन्तरालमा अचानक आइलागेको आयोजना स्थलको प्रस्तावलाई सकारेर । उक्त प्रतियोगिता अन्तिम समयमा आएर नाइजेरियाले गराउन असमर्थता जनाएपछि नयाँ स्थलका रुपमा मध्यपूर्वको मसिनो मुलुक कतारले अप्रत्याशित तवरले पाएको थियो । उसले उक्त अवसरलाई भरपुर सदुपयोग गरेर आयोजनाको जग हालेको देखिन्छ । समग्रमा छोटो समयको तयारीका बाबजुत कतारले गरेको आयोजनालाई खासै खोट लाउने ठाउँ पाएनन् । प्रशंसा नै पाएको थियो । वसन्तका लागि हिउँदका दिन काट्नैपर्छ । कतारको अहिलेको तरक्की त्यसै हात लागेको होइन ।

संयोग भनौं, त्यतिखेरको मेरो उमेर पनि युवावय नै थियो । अर्थात् अण्डर २०, एकाध महिना मात्र भएको थियो म दोहामा पुगेको । अझ भनौं सन् १९९४ को विश्वकपको ज्वरोको मापन घटेको थिएन । नब्बेको दशकको सेरोफेरोमा चम्किएका डियागो म्याराडोना र रोबर्टो बाजियोको बजार विवादित र विस्तारित थियो । त्यस्तो परिवेशमा त्यति ठूलो प्रतियोगिता हुँदैछ भन्ने थाहा भएपछि मेरो दैनिकी फेरियो ।

उर्लदो मेरो उमेरका वसन्तले कतारमा केही पत्र फेरको छ । यसै पनि म एउटा फुच्चे साइकल चलाएर अपराह्नमा प्रायः दोहाका पुराना गल्लीहरुमा फन्का लाइरहन्थें । म बस्ने मत्तार कदिम (पुरानो एयरपोर्ट) बाट करिब एक किलोमिटरको दूरीमा अल अहली क्लब थियो । जुन कतारकै सबैभन्दा (सन् १९५०) पुरानो क्लब रहेछ । उक्त क्लब पछि गएर प्रतिपादन गरिए पनि हालसम्म जीवितमध्येको एकमात्र क्लब हो । उसको गृह मैदान हमाद बिन खलिफा थियो । जहाँ समूह चरणका खेलहरु भइरहेका हुन्थे । म अलमलमा पर्थें, रंगशालाभित्र छिरौं कि नछिरौं ? मेरो आर्थिक हैसियतले भ्याउने हो कि होइन ?

खेलस्थल बाहिर भारतीयहरुका केही खानेकुराका स्टल थिए । तिनीहरुसँगको संवादपछि थाहा भयो, सित्तैंमा खेल हेर्न पाइने रहेछ । अझ रमाइलो दृश्य त रंगशालाभित्र छिरेपछि पो देखियो । हिउँजस्ता सेता पोशाकमा रहेका अरबीक ठेट्ना युवाहरु प्यारापिटको बीचबीचमा रहेको कोकाकोलाका स्टलहरुबाट ठूलठूला कागजका गिलासमा कोकाकोला ओसारिरहेका थिए । म मन्द गतिमा नियाली रहेको थिएँ परको परिवेशलाई । अझ अलिक उक्त स्टलको समीप नगइरहन सकिन । कसैले पनि पकेटबाट पैसा झिकेको र दिएको देखिनँ । जो पनि आउँछन्, गिलास भरेर जान्छन् । यो कस्तो काइदा हो ?

सन्ध्याकालको सामान्य गर्मीमा सित्तैंमा चिसो कोक खान पाइने रहेछ । खेल पनि सित्तैंमा हेर्न पाइने । लौ दुई हप्ता रमाइलै समय बित्ने भो । कोठामा पुगेर केही साथीहरुलाई सुनाएँ । तर खासै पत्याएनन् । मेरो लगातार दुईतीन दिनको जाउआउ र बखानपछि भने समय अनुकूल हुने केही साथीहरु सन्ध्याकालको सुरुमा निरीक्षणको पारामा गए । पछि त क्याम्पमा रहेका नेपालीहरु मात्रै होइन थाई, फिलिपिनो, भारतीय, पाकिस्तानी, बंगलादेशी, सिरियन सबै दैनिकजसो धाउन थाले ।

प्रायजसो खेल दिउँसोको गर्मीका कारण साँझको पाँच बजेपछि मात्र हुने हुनाले श्रमिकहरुलाई खेल हेर्न सहज हुन्थ्यो । त्यतिमात्रै होइन, खेल सकिएपछि बाँकी रहेका कोकका जम्बो बोटलहरु नै दिएर पठाउँथे व्यवस्थापकहरु । सायद दर्शक बढाउने उत्तम तरिका अपनाएका थिए कि ? उक्त प्रतियोगिताको प्रमुख प्रायोजक नै कोकाकोला थियो ।

त्यतिबेला कतारको मूल जनसंख्या एक लाख पनि थिएन । विदेशी श्रमिकहरुको संख्या पनि अहिलेको जस्तो उल्लेख्य थिएन । तत्कालीन परिवेशमा न्युन जनसंख्याका बीच ठूला प्रतियोगिता गर्नु आफैमा चुनौती हो । कतारीहरुमा फुटबलमोह अत्यधिक देखिन्थ्यो । तर महिलाहरुमाथिको अघोषित प्रतिबन्धले महिला दर्शकको उपस्थिति शून्यप्रायः लाग्थ्यो । यसलाई बुर्काको प्रभाव मान्न सकिन्छ ।

अहिले चलिरहेको पुरुष विश्वकपमा पनि स्थानीय महिलाको सहभागिता खासै देखिँदैन । २७ वर्षअघि त झन् शिला खोज्नुपर्ने अवस्था थियो । जनसंख्या नै न्युन भएपछि रंगशालाको प्यारापिट भर्नका लागि वैकल्पिक उपाय अपनाउनु नौलो विषय थिएन ।

फिफा अण्डर २० च्याम्पियनसिप द्विवार्षिक रुपमा २० वर्ष मुनिका फिफाका सदस्य राष्ट्रहरुबीचमा गराइने मुख्य प्रतियोगितामा पर्छ । विश्वभर हुने यो प्रतियोगिताको शुरुवात सन् १९७७ मा ट्युनिसियाबाट प्रारम्भ भएको हो । यो प्रतियोगिता सर्वाधिक ६ पटक अर्जेन्टिनाले जितेको छ । कतार विश्व च्याम्पियनसिपमा विभिन्न ६ महादेशीय संगठनका १६ राष्ट्रको प्रतिनिधित्व रहेको थियो भने एसियाबाट आयोजक कतारसहित जापान र सिरियाले प्रतिस्पर्धा गरेका थिए । कुल ३२ खेल खेल्ने उक्त प्रतियोगिताका लागि जम्मा तीनवटा रंगशाला थिए । मात्र एउटा खलिफा अन्तर्राष्ट्रिय रंगशाला ठूलो (६५००० क्षमता) थियो । अरु दुई सामान्य किसिमका स्थानीय क्लबका रंगशाला थिए । सन् २००७ पछि भने फिफाले यस प्रतियोगिताको स्वरुपमा केही बदलावट ल्याएको पाइन्छ ।

त्यतिबेला दोहा सहर बनिसकेको थिएन । औंलामा गन्न सकिने अग्ला भवनहरु थिए । रमादा जक्सनको रमादा होटलबाट पश्चिम लाग्ने साल्वा रोड जुन साउदी अरब जाने प्रमुख मार्ग पनि हो । सोही बाटोको उत्तरी बेल्ट अल रायनमा पथ्र्यो खलिफा रंगशाला । मात्र उजाड मरुभूमिको बीचमा । वरपर निकै परसम्म कुनै भौतिक संरचना बनेका थिएनन् । त्यसैले रंगशालालाई मेनी माइलको दूरीबाट समेत सहजै ठम्याउन सकिन्थ्यो ।

समूह चरणका खेलहरु सकिएपछि भने मलगायतका लागि खेल हेर्न सकस भयो । खलिफा रंगशाला म बसेको ठाउँदेखि टाढा पथ्र्यो । नकआउट चरणका केही खेलहरु गुमाउन पुगेपनि फाइनलका लागि भने कम्पनीले केही बससहित श्रमिकहरुलाई खेल हेर्न जान व्यवस्थापन गरिदियो । धेरैजसो कम्पनीहरुले त्यसरी बससहितको श्रमिकहरु पठाएर रंगशालामा दर्शक भरिभराउ पारेका थिए ।

हुनसक्छ, कतार सरकारले नै कम्पनीहरुलाई उर्दी जारी गरेको हुँदो हो । खलिफा रंगशालाको आफ्नो पार्किङ मैदान मात्रै होइन, खुला मरुभूमिको यत्रतत्र सयौं सानाठूला बसहरुको लस्कर देखिन्थ्यो । अधिकजसो कम्पनीका बसहरु उस्तै पहेंला रंगका भएकाले खेल सकिएपछि आआफ्नो बस भेट्टाउन हम्मेहम्मे परेको अहिले पनि म सम्झिन्छु ।

प्रायःजसो नेपाली दर्शक अर्जेन्टिनाका समर्थक देखिन्थे । म्याराडोनाको प्रभाव जो थियो जगतभरी । नतिजा पनि अर्जेन्टिनाकै पक्षमा आयो । ब्राजिललाई दुई शून्यले पराजित ग¥यो । ऐतिहासिक फाइनल खेल प्रत्यक्ष हेर्न पाउनु त्यो पनि अर्जेन्टिना र ब्राजिल बीचको । साथमा सित्तैमा पिउन पाइने कोकाकोला ।

युवावयको उभारमा पुरापुर ६५ हजार दर्शकको भीडमा हराएर उफ्रनुको मज्जा नै बेग्लै । सायद कतारको मूल जनसंख्याभन्दा बेसी दर्शकलाई रंगशालामा उतारेर कतारले विश्वलाई दिएको सन्देश र संकेतको पृष्टि आज हुँदैछ । कसले सोचेको थियो र आज २७ वर्षपछि त्यही स्थलमा एउटा खेल हेर्नको लागि लाखसम्म खर्च गर्नुुपर्नेछ भनेर । त्यसैले भनिन्छ, इतिहास विश्वासको होइन, विश्लेषणको वस्तु हो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्