[ad_1]
काठमाडौं । जागरण गीत-संगीतको दुनियाँमा जेबी टुहुरेको नाम नसुन्ने कमै होलान् । नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन उनले गीत-संगीतको माध्यमबाट योगदान पुर्याए । उनले गाएका ‘आमा दिदी बैनी हो’, ‘बसाइँ हिंड्नेको ताँतीले’ लगायतका दर्जनौं प्रगतिशील गीतले तत्कालीन शासकविरुद्ध जनतामा जागरण पैदा गर्यो ।
१५ कात्तिक २००१ मा धरानमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे) ७८ वर्षको उमेरमा भौतिक रूपमा अस्ताए । काठमाडौंको बयोधा अस्पतालमा उपचारको क्रममा उनको १० भदौ २०७८ मा निधन भयो ।
उनका केही योजना थिए- संगीत विश्वविद्यालय र एकेडेमी खोल्ने, गरिबहरूलाई निःशुल्क गीत संगीत सिकाउने, टीभी, एफएम चलाउने र रोजगारी दिने । उनका ती योजना र सपनाहरू अधुरै छन् । जेबीका तिनै अधुरा सपना पूरा गर्न अहिले सक्रिय छिन् उनकी छोरी निर्भिका टुहुरे ।
‘बित्नुभन्दा अगाडि बुवाले मलाई भन्नुभएको थियो- संगीत प्रतिष्ठान खोल्न पाए गरिबहरूलाई निःशुल्क गीत संगीत सिकाउन हुन्थ्यो,’ निर्भिकाले विगत सम्झिइन्, ‘नेपालमा संगीत विश्वविद्यालय स्थापना हुनुपर्छ पनि भन्नुभएको थियो । अहिले म बुवाका तिनै सपना साकार पार्ने प्रयासमा क्रियाशील छु ।’
निर्भिकाले जेबी टुहुरे प्रतिष्ठान गठन गरेर त्यसैमार्फत गतिविधि अगाडि बढाएकी छन् । त्यसको अध्यक्ष उनी आफैं छिन् । प्रतिष्ठानकै नामबाट बुवाका अधुरा सपना पूरा गर्ने प्रयासमा छिन् उनी । तर काम गर्न सजिलो कहाँ छ र ? सबै कुरा पैसामै ठोकिन्छ, जुन जुटाउन गाह्रो छ । अभावले निर्भिकालाई कहिलेकाहीं उदास पनि बनाउँछ । भन्छिन्, ‘मलाई अचम्म लाग्छ जसले देश र जनताका लागि त्याग गर्यो, उसैको सपना पूरा गर्न कति गाह्रो ।’

तर नाम जस्तै स्वभाव छ निर्भिकाको । उनी यस्ता व्यवधान छिचोल्दै निर्भिक रूपमा आफ्नो उद्देश्यमा डटिरहेकी छिन् । जेबी टुहुरे सर्वसाधारण नागरिकको मुक्ति र समृद्धिको सपनासँग जोडिएको नाम हो । उनले नेपालको वामपन्थी र प्रगतिशील राजनीतिक अभियानमा पुर्याएको योगदान अविस्मरणीय छ । आफ्नो पिताको यही फराकिलो सपना ‘टुहुरो’ बन्न नदिने निर्भिकाको इच्छा छ । तर समय सजिलो छैन । वामपन्थी आन्दोलनले टुटफुट र विभाजनको उतारचढाव व्यहोरिरहेको छ । राजनीतिक आस्था र निष्ठा कमजोर बन्दै गइरहेको छ ।
तर आफ्नो उद्देश्यमा अडिग निर्भिका कहिले धरान-काठमाडौं, कहिले काठमाडौं-विराटनगर दौडधुप गरिरहेकी छिन् । संगीत विश्वविद्यालय होस् वा संगीत प्रतिष्ठान, त्यसको जग बसाल्न जग्गा आवश्यक छ । त्यही जग्गाको खोजीमा छिन् उनी । ‘कहिले के, कहिले के समस्या आइरहेको छ । जग्गा प्राप्तिको लागि बाधा उत्पन्न भइरहेको छ । साढे दुई वर्ष भयो लडिरहेकी छु,’ उनी भन्छिन् ।
इतिहास खोतल्दै
२०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका जेबी टुहेरेले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए ।
जनगायकका रूपमा स्थापित जेबी टुहुरोको राजनीतिक आबद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थियो । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद् बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी केन्द्रका सल्लाहकार थिए ।
उनलाई अझै नजिकबाट चिनाउने प्रयासमा छिन् निर्भिका । जेबी टुहुरेको अधुरो आत्मवृत्तान्त (बायोग्राफी)लाई पूर्णता दिने र वृत्तचित्र निर्माणको कामलाई पनि सँगसँगै अगाडि बढाइरहेको उनी बताउँछिन् । ‘बुवाले आफ्नो बायोग्राफी आफैं लेखिरहनुभएको थियो, उहाँको निधनपछि त्यो अधुरै रह्यो । अहिले त्यसलाई पूरा गर्ने काम भइरहेको छ,’ निर्भिका भन्छिन्, ‘त्योसँगै बुवालाई नजिकबाट चिन्नेहरूलाई भेटेर वृत्तचित्र पनि बनाउँदैछौं ।’

यसअघि जेबी टुहुरे प्रतिष्ठानले प्रथम वार्षिकीको अवसर पारेर गत भदौ १० गते धरानको भानुचोकमा सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरूले जेबी टुहुरेका गीत गाएका थिए । कार्यक्रममा पहिलोपटक एक लाख रूपैयाँ राशीको ‘जेबी टुहुरे श्रष्टा सम्मान’ बाट गीतकार लव प्रधानलाई सम्मानसमेत गरिएको थियो । प्रधान जेबी टुहुरेले गाएको चर्चित गीत ‘बसाइ हिंड्नेको तातीले’ बोलको गीतका रचनाकार हुन् ।
जेबी टुहुरेको स्मृतिमा हरेक वर्ष एकजना श्रष्टालाई एक लाख नगद राशीसहित सम्मान गर्ने योजना रहेको जेबी टुहुरे प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।
[ad_2]
Source link








