नारायण गोपाल ०२७ सालमा किन आएका थिए पोखरा ? – Online Khabar

नारायण गोपाल ०२७ सालमा किन आएका थिए पोखरा ? – Online Khabar

[ad_1]

२० मंसिर, पोखरा । काठमाडौंमा जन्मिएका नारायण गोपाल ठीक ३२ वर्षअघि धर्तीबाट सदाका लागि अस्ताए । तर, तीन दशक बितिसक्दासमेत नेपाली सांगीतिक क्षेत्रमा उनी विस्मृत भएका छैनन्, झन्झन् स्मरणीय बन्दैछन् ।

स्वर्गीय नारायण गोपाल आफ्नो जीवनकालमा जति सम्मानित छन्, आजको समयमा पनि उत्तिकै छन् । ‘स्वरसम्राट’को उपाधि पाएका नारायण गोपालले आफ्नो जीवनकालमा औपचारिक रुपमा १३६ भन्दा बढी गीत गाए, जुन गीत अहिले पनि संगीत पारखीको मनमनमा उसै गरी झंकार दिन्छ ।

‘नारायण गोपालको अगाडि स्वर्गीय राख्नुपर्छ जस्तो मलाई लाग्दैन । उनी सबैको मनमनमा जीवन्त छन्, कैयन पुस्ताहरु माझ अझै जीवन्त रहनेछन्,’ वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठ भन्छन्, ‘उनी विगत होइनन्, वर्तमान र भविष्य हुन् ।’

उनै स्वरसम्राट नारायण गोपालको ३२ औं पूण्यतिथिको अवसरमा पोखरेलीले उनका गीतमार्फत फेरि सम्झिएका छन् । त्यसको चाँजोपाँजो मिलाएका हुन्, पोखरेली युवा सांस्कृतिक परिवार, अन्नपूर्ण म्युजिक एफएम र पोखरा सांगीतिक कलाकार संघले ।

यसरी तीन संस्था मिलेर नारायण गोपाललाई सम्झिनुको तात्पर्य उनी स्वरसम्राट भएरमात्रै होइन । कारण हो, उनको पोेखरा ‘कनेक्सन’ । अर्थात् उनले आफ्नो वैवाहिक जीवनको पहिलो चरण पोखराबाटै सुरु गरेका थिए ।

दार्जिलिङकी पेमला लामासँग पत्रमित्रताबाट जोडिएपछि उनीहरुबीच प्रेमको अंकुर पलाउन थाल्यो । ०२७ सालमा त्यही पत्रमित्रतामार्फत जोडिएकी लामालाई जीवन संगिनीका रुपमा नेपाल अर्थात् काठमाडौैं ल्याए । तर, परिवार बाधक बनिदियो ।

नारायण गोपाल ०२७ सालमा किन आएका थिए पोखरा ? – Online Khabar
नारायण गोपाल र उनकी श्रीमती पेमला

त्यही बाधा फुकाउन पेमला लामालाई लिएर नारायण गोपाल पोखरा आएको बताउँछन्, कवि तीर्थ श्रेष्ठ । ‘पत्रमित्र पेमला लामालाई दार्जिलिङबाट प्रेम विवाह गरेर ल्याउनुभो । तर, काठमाडौंको सनातनी परम्परा, उहाँका मातापिता यस मामिलामा केही संकीर्ण पनि हुनुहुन्थ्यो,’ श्रेष्ठ भन्छन्, ‘नारायण गोपालले आफ्नो घरभित्र वैवाहिक जीवनको सुखद सुरुआत गर्न पाउनु भएन र पोखरा आउनुभो ।’

पोखरा आएर नारायण गोपाल कवि भूपि शेरचनकोमा बसे । भनिन्छ, नारायण गोपाललाई ‘स्वर सम्राट’ भनेर सम्बोधन गर्ने पहिलो व्यक्ति उनै भूपि शेरचन हुन् ।

तत्कालीन समयमै पोखरामा शेरचनको घर ‘सेतो दरबार’का रुपमा परिचित थियो । पोखरा आएकोबेला नारायण गोपाल र उनकी श्रीमती पेमला लामाले शिक्षण पेसा पनि गरेको सुनाउँछन् कवि तीर्थ श्रेष्ठ ।

लामाले तत्कालीन रत्नराज्य लक्ष्मी माविमा अंग्रेजी शिक्षिकाको रुपमा काम गरेकी थिइन् भने नारायण गोपालले अमरसिंह माविमा इतिहास शिक्षकका रुपमा । ‘उहाँहरु कम समय पोखरामा बिताउनु भयो । तर, गीति यात्रामा अमर ढंगले पोखरासँगको नाता जोडेर जानुभयो,’ कवि श्रेष्ठ भन्छन् ।

कवि श्रेष्ठका अनुसार नारायण गोपालले गाएको ‘सानै हुरीमा बैंसको सपना…’ रचना त्यही सेतो दरबारमा बसाइँकै क्रममा भएको थियो । उक्त गीत भूपि शेरचनले लेखेका हुन् । ‘भूपि दाइसँग थोरै संगत गर्न पाए पनि नारायण दाइसँग संगत गर्ने अवसर जुरेन । त्यो गीत सेतो दरबारमै लेखेको भन्ने मैले पनि सुनेको हुँ,’ श्रेष्ठले भने, ‘त्यही भएर पनि त्यो गीतको पृष्ठभूमिबारे धेरै थाहा छैन ।’

श्रेष्ठले आफूहरु सानै हुँदा नारायण गोपाललाई हालको पृथ्वीनारायण क्याम्पस त्यसबेलाको पृथ्वीनारायण कलेजमा एकल कार्यक्रम गर्दै गरेको देखेको स्मरण गरे । ‘त्यतिबेला कलेजको प्रांगणमा ढुंगाले बनेको अन्नपूर्ण प्यारापिटमा नारायण गोपालको एकल कार्यक्रम भएको धुम्मिल सम्झना छ,’ उनले भने ।

नारायण गोपालको निधन ०४७ साल मंसिर १९ गते काठमाडौंमा भएको थियो । त्यतिबेला उनको शवयात्रामा सहभागी भएकी सनैना पालिखे त्यति धेरै मान्छे वीपी कोइरालाको शवयात्रा पछि पहिलो पटक देखेको स्मरण गर्छिन् । ‘उहाँको घर मेरो घर नजिकै थियो । त्यतिबेला म पद्मकन्या क्याम्पसमा पढ्थें । त्यो दिन (शवयात्रा भएको दिन) हामी स्कुलबाटै उहाँको शवयात्रामा गएका थियौं,’ पालिखेले सम्झिइन्, ‘त्यति धेरै भिड अहिले पनि याद आउँछ ।’

नारायण गोपालको शवयात्रामा सहभागीहरू

गायक विनोद बानियाँले नारायण गोपाल गायक, संगीतकारमात्रै नभएर कलाकारका लागि रियाज र साधना भएको बताए । ‘उहाँको गीत सुन्न जति मजा आउँछ, गाउन त्यति नै गाह्रो हुन्छ । यो उहाँको कला हो,’ उनले भने ।

नारायण गोपालको ३२ औं पूण्यतिथिका अवसरमा पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा सोमबार गरिएको ‘नारायण गोपाल स्मृति साँझ’मा पोखरेली गायकगायिकाले नारायण गोपाललाई श्रद्धाञ्जली अपर्ण गर्र्दै करिब दर्जन गीत गाए ।

पोखरामा मंसिर १९ गते आयोजित नारायण गोपाल स्मृति साँझ कार्यक्रम

गायक एमडी काफ्लेले ‘मलाई नसोध कहाँ दुख्छ घाउ…’, सन्तोष बस्यालले ‘गल्ती हजार हुन्छन्, होश हराएकोबेला…’, उषा गुरुङले ‘केही मिठो बात गर…’, रजनी ऋदम राईले ‘तिमीलाई म के भनूँ…?’, विनोद बानियाँले ‘मैले पूण्य गरें कि पाप गरें…’, ‘तिम्रोजस्तो मुटु मेरो पनि…’ गाएका थिए ।

त्यसबाहेक युगल रुपमा रामभक्त जोजिजु र इतु जोजिजुले ‘मेरो कथा.., हिमालसरि अग्लिरहेछु…’, सन्तोष बस्याल र रजनी ऋदम राईले ‘तिम्रो मनमा लुकेको कुरा …’ गाएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्