देशकै राजनीति बुझाउने धरानको चुनावी दृश्य – Online Khabar

देशकै राजनीति बुझाउने धरानको चुनावी दृश्य – Online Khabar

[ad_1]

१३ कात्तिक, धरान । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता प्रेम पराजुली यसपटक सुनसरी-१ बाट मनोज मेन्याङ्बो जिताउने अभियानमा लागेका छन् । ५ कात्तिक बिहान पनि बुढासुब्बा मन्दिर परिसरमा मेन्याङ्बोसँगै उनी चुनावी अभियानमै भेटिए ।

जबकी मेन्याङ्बो र पराजुली आवद्ध राजनीतिक पृष्ठभूमि भने सहयोगी नभएर प्रतिस्पर्धी हो । एमालेका उम्मेदवार भएरै २०४९ मा धरानको उपमेयर र २०५४ मा मेयर जितेका मेन्याङ्बो २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सांसद पदका उम्मेदवार थिए । अनि, ५५ वर्षीय पराजुली भने लगातार रुख चिन्हमा मतदान गर्ने कांग्रेस समर्थक हुन् । ‘मैले सधैं कांग्रेसको झण्डा बोकेँ, रुखमा भोट दिएँ,’ पराजुली भन्छन्, ‘यसपालि धरानमा न रुख छ, न सूर्य ।’

मुलुककै नेतृत्व गर्ने मुख्य दलहरू कांग्रेस र एमालेसँग यसपटक धरानमा आफ्नो अलग्गै उम्मेदवार छैन । जनमतका हिसाबले भने यो क्षेत्रमा पनि मुख्य प्रतिस्पर्धी शक्ति कांग्रेस-एमाले नै हो । तर कांग्रेसले सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) लाई समर्थन गरेको छ भने जनता समाजवादी पार्टी (जसपा) का अशोक राई एमालेको आधिकारिक उम्मेदवार हुन् । अर्थात्, मेन्याङ्बो र पराजुली एउटै चुनावी अभियानमा देखिनुको मुख्य कारण भनेको एमाले र कांग्रेसभित्रको असन्तुष्टि हो ।

‘धरान एमालेको आवाज पार्टी नेतृत्वले सुनेन, उचित निर्णय लिन सकेन’ मेन्याङ्बो भन्छन्, ‘पार्टी कार्यकर्ता दास होइन भन्ने सन्देश दिन विद्रोह गरेको हुँ, त्यो पुष्टि हुन्छ ।’ यो क्षेत्र अशोक राईलाई छोड्ने पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै मनोनयन दर्ता हुने बिहान (२३ असोजमा) मात्रै मेन्याङ्बोले एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । अन्य दलका असन्तुष्ट नेताहरुको समेत साथ पाएकाले ४० वर्ष लामो एमाले आवद्धता त्यागेको उनको दाबी छ । ‘मलाई थुप्रैको साथ छ । कतिले खुलेर भन्लान्, कतिले भित्रभित्रै सहयोग मात्रै गर्लान् । त्यो फरक कुरा हो’, मेन्याङ्बो भन्छन् ।

अनि, कांग्रेस र एमालेका स्थानीय नेतृत्व भने पार्टीभित्र देखिएको असन्तुष्टि मनाउँदै आफ्नो गठबन्धनका उम्मेदवार जिताउनुपर्ने दबाबमा देखिन्छन् । ‘असन्तुष्टि अहिले धेरै घटिसकेको छ । मतदान हुने बेलासम्म एकताबद्ध हुन्छौं’, स्थानीय एमाले नेता मीन सुब्बा भन्छन् । अशोक राई जिताउन गठित मूल परिचालन समितिका संयोजक रहेका सुब्बा अहिले असन्तुष्टि ६० प्रतिशत घटिसकेको बताउँछन् ।

कांग्रेस नेता किशोर राईको तर्क पनि सुब्बासँग मिल्दो छ । मुकेश जिताउन गठित मूल परिचालन समितिका सह-संयोजक रहेको उनी भन्छन्, ‘अलिअलि समस्या देखिएको हो, तर गठबन्धनको मत हामी जसरी पनि एकठाउँमा उभ्याउँछौं ।’

लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध बासुदेव बराल, धरानको चुनावी दृश्य यसपटक पहिलेभन्दा भिन्न देखिएको बताउँछन् । ‘यसअघि चुनाव बुझ्न सजिलो थियो । दलहरुको उम्मेदवार हुन्थ्यो, कार्यकर्ताले मत माग्थे’, बराल भन्छन्, ‘राजनीतिक एजेण्डा र सांगठानिक शक्तिको जग हारजितको आधार बन्थ्यो ।’ तर यो चुनावमा यसअघिका मानकले काम नगर्ने उनको बुझाइ छ ।

जब दल, दलजस्तै रहेन

यसअघि चुनावमा दलगत प्रतिस्पर्धा हुने भएकैले चुनावी नतिजा आँकलन गर्न तुलनात्मक सजिलो थियो । राजनीतिक दलको सांगठानिक अवस्था र उसले तय गर्ने उम्मेदवारको पृष्ठभूमि हेरेर नतिजाबारे पूर्वानुमान गरिन्थ्यो । देशब्यापी लहर चल्दा २०६४ मा धरानबाट नेकपा माओवादीकै किरण राईले जितेका थिए । त्यस बाहेकको चुनावमा कांग्रेस-एमाले नै प्रतिस्पर्धी शक्ति रहे । धेरथोर मतान्तरले एमालेले जित्ने गरेपनि कांग्रेस मुख्य प्रतिस्पर्धी रहृयो ।

यसपटक पनि दलहरुले पहिलेजस्तै उम्मेदवार छनोट प्रक्रिया अपनाएका थिए । पार्टी बैठक बोलाएर उम्मेदवार बन्न चाहने नेताहरुको आकांक्षा प्रस्तुत गरियो । छलफलका क्रममा एमाले र माओवादी केन्द्रमा सर्वसम्मत नाम तय भयो । एमालेबाट निवर्तमान सांसद जय राई र माओवादी केन्द्रबाट पूर्वसभासद किरण राई सर्वसम्मत उम्मेदवार सिफारिस भए । कांग्रेसमा भने सहमति नजुटेका कारण १७ भदौको पार्टी बैठकबाट मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नाम पार्टी केन्द्रमा पठाइएको थियो । तर तीन वटै पार्टीको नेतृत्वले तल्लो कमिटीबाट भएको सिफारिस लत्यायो ।

देशकै राजनीति बुझाउने धरानको चुनावी दृश्य – Online Khabar
अशोक राई, मनोज मेन्याङ्बो र मुक्सामहाङ मेन्याङ्बो (मुकेश)

चुनावी तालमेलका क्रममा कांग्रेस र एमालेले यो क्षेत्र भागमै लिएन । सत्ता गठबन्धनभित्र भागबण्डामा परेपनि माओवादी केन्द्रको नेतृत्वले स्थानीय कमिटीको सिफारिस कार्यान्वयन गरेन । किरण राईको सट्टा सिफारिस नै नभएका मुकेशले टिकट पाए । ‘पार्टी नेतृत्वको मनपरी अगाडि यहाँका नेताहरु मतदान अगाडि नै पराजित हुने अवस्था आयो’, कांग्रेसका एक नेता भन्छन्, ‘दलहरु अब दलजस्तै रहेन ।’ हरेक दलमा गठबन्धनका नाममा स्थानीय पार्टी नेताहरुको चाहना र विवेक दबाउने काम भइरहेको उनी बताउँछन् ।

स्थानीय नेतृत्वको निर्णय उल्ट्याउनुको असर भने आगामी चुनावमा देखिन सक्छ । किनकि कुनैपनि दल एकताबद्ध छैन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि पार्टी नेतृत्वको निर्णयमा एकमना-एकता रहेको दावी अध्यक्ष केपी शर्मा ओलीले लगातार गरेपनि यहाँको एमालेभित्र अनेक चिरा छ ।

यो क्षेत्रबाट ६ मध्ये पाँच संसदीय चुनाव जितेको एमालेमा अहिले कोही पनि पूर्वसांसद चुनावी अभियानमा छैनन् । एमालेबाटै २०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ, २०५६ मा कुन्ता शर्मा, २०७० मा कृष्ण राई र २०७४ मा जय राईले जितेका थिए । अधिकारी र श्रेष्ठको निधन भएपनि बाँकी पूर्व सांसदहरू पार्टी नेतृत्वको निर्णयप्रति सन्तुष्ट नरहेको स्थानीय नेताहरु बताउँछन् ।

‘धरानमा कोही पनि उम्मेदवार स्थायी नहुने नियति नै बन्यो, यसपटक पनि त्यस्तै भयो’, एमालेका एक नेता भन्छन् । ती नेताका अनुसार, एकल रुपमा सर्वसहमत सिफारिस भएर पनि उम्मेदवार बन्न नपाएपछि निवर्तमान सांसद जय राई असन्तुष्ट छन् । अझ ०७४ मा आफैले हराएका अशोक राईलाई नै एमालेले समर्थन गरेपछि उनी असहयोग गर्ने कित्तामै उभिएका छन् ।

स्रोतका अनुसार, मनोज मेन्याङ्बोलाई स्वतन्त्र उम्मेदवार उठाउने नेताहरू मध्ये जय पनि एक हुन् । ‘जो एमाले सिध्याउने भनेर लागे, रातारात उनलाई नै समर्थन गर्ने निर्णयमा असन्तुष्टि देखिनु ठूलो कुरा होइन’ एमालेका अर्का नेता भन्छन् । जय राईको असन्तुष्टि स्वभाविक भएको उनी तर्क गर्छन् । मनोजलाई साथ दिइरहेका नेताहरू त एमालेको ८० प्रतिशत मत पाउने दाबी गर्छन् ।

तर गएको वर्ष पार्टी विभाजन हुँदा एमालेमै बसेका जय राई भने नेतृत्वको निर्णय मान्नु दायित्व भएको बताउँछन् । ‘पार्टीको निर्णय हामी नेताहरुले मान्नैपर्छ । जनता त नियन्त्रणमा राख्न सकिँदैन, उनीहरुले आफ्नो विवेक प्रयोग गर्ने हो’ राई भन्छन् ।

एमाले सुनसरी इन्चार्जका इन्चार्ज मञ्जु भण्डारी भने पार्टीको निर्णय कडाइका साथ कार्यान्वयन हुने बताउँछिन् । एमालेमै बसेर स्वतन्त्र उम्मेदवारको कुरा गर्न नपाइने भन्दै उनी भन्छिन्, ‘शुरुमा असन्तुष्टि देखिएपनि माहोल आउँछ, जितिन्छ । केपी ओलीलाई प्रधानमन्त्री बनाउन पनि अशोक राईले जित्नुपर्छ ।’

तर पार्टी छोडेर जानेहरु पनि एमालेकै निम्ति चुनौती बनेर उभिएका छन् । सत्ता गठबन्धनबाट प्रदेशसभा (ख) मा उम्मेदवार रहेका रेवतीमरण राईले केही समय अघि मात्रै एमाले त्यागेका हुन् । लगत्तै, एकीकृत समाजवादीले आफ्नो भागमा परेको सिटमा रेवतीलाई नै टिकट दियो । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको उद्देश्य नै एमालेलाई पत्तासाफ गर्नु रहेको छ । त्यसैअनुसार, यहाँ पनि कांग्रेस नेतृत्वको गठबन्धनमा यो दल सामेल छ ।

तर एकीकृत समाजवादी सामेल सत्ता गठबन्धनभित्र पनि एमाले भन्दा कम मत विभाजन देखिदैन । सार्वजनिक नभएपनि ठूलो असन्तुष्टि माओवादी केन्द्रभित्रै छ । विशेषगरी सिफारिस नै नभएका मुकेशले टिकट पाएपछि असन्तुष्टि बढेको छ । स्थानीय नेताहरुका अनुसार, पार्टी केन्द्रमा देखिएको वर्षमान पुन भर्सेस जनार्दन शर्मा बीचको संघर्ष धरानमा पनि छ । मुकेश, वर्षमान निकट नेता हुन् । गत वर्ष उनी पार्टीको प्रदेश अध्यक्षमा चुनाव लडेका थिए । तर जनार्दन निकट हर्क नेम्वाङ (मिक्सो) ले जिते । अहिले तिनै मुकेशले टिकट पाउँदा जनार्दन निकट नेताहरू रुष्ट छन् । धरान उपमहानगरपालिकाका उपमेयर रहेका अइन्द्रबिक्रम बेघा पनि जनार्दन लाइनकै भएकाले पार्टीभित्र देखिएको यो असन्तुष्टिले आगामी चुनावमा असर गर्न सक्छ ।

‘सिफारिस नै नभएका मान्छेले टिकट ल्यायो, त्यसैले असन्तुष्टि देखिनु ठूलो कुरा होइन’, माओवादी केन्द्रका एक नेता भन्छन् । सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका पूर्वसासद किरण राईलाई मनाउन माओवादी केन्द्रलाई सजिलो देखिँदैन ।

दोस्रोपटक रुख चिह्नविहीन बनेको धरान कांग्रेस पनि एकताबद्ध छैन । प्रदेशसभातर्फ (क) मा टिकट पाएका उमेश थापा संस्थापन इतर समूहका नेता हुन् । उनलाई हेरेर टिकट नपाएका मीन विश्वकर्मा, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, राम्रै प्रभाव क्षमताका गोविन्दबहादुर तुम्बाहाङ लगायत संस्थापन पक्षका नेताहरुले सक्रियता देखाउनेमा धरानकै कांग्रेस नेताहरु विश्वस्त छैनन् ।

किनकी धरान कांग्रेसको मुख्य समस्या भनेकै आन्तरिक संघर्ष हो । कांग्रेस एकताबद्ध हुँदा तत्कालीन शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्ध जित निकाल्नुले पनि त्यो पुष्टि हुन्छ । २०७६ को उपनिर्वाचनमा नेकपाका उम्मेदवार प्रकाश राईलाई हराएर कांग्रेसका तिलक राईले मेयर जितेका थिए । त्यसबेला धरान, कांग्रेसमा अभूतपूर्व एकता देखिएको नेताहरु बताउँछन् ।

तर अहिले पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा (ख) मा कांग्रेसका रोहित सुब्बा बागी उम्मेदवार छन् । एमालेसँग प्रतिस्पर्धी शक्ति भएर पनि गठबन्धन जोगाउन नाममा एउटा प्रदेशसभा मात्रै भागमा राखेको भन्दै असन्तुष्ट पक्षले सुब्बालाई साथ दिएका छन् । यसले गठबन्धनभित्रै आशंका उत्पन्न गराउने संभावना छ । माओवादी केन्द्रका नेता अशोक राई भने सानोतिनो असन्तुष्टिले गठबन्धनमा असर नगर्ने बताउँछन् । ‘हामी गठबन्धनको ८० प्रतिशत मत ल्याउँछौं, जित्नेमा चिन्ता छैन’, सत्ता गठबन्धनका उम्मेदवार जिताउन गठित मूल परिचालन समितिका संयोजक राई भन्छन् ।

विचारधाराको बिसर्जन

स्थानीय नेताहरुका अनुसार, अहिले दलहरुमा देखिएको भद्रगोलको सिर्जना भने मनोनयन दर्ता हुने अन्तिम समयमा विकसित भएको हो । २१ असोजमा जसपाले सत्ता गठबन्धन छोड्नु अघिसम्म यहाँको सम्भावित उम्मेदवार, प्रतिस्पर्धा र चुनावी एजेण्डा समेत लगभग प्रष्ट भइसकेको थियो ।

२०७४ मै कांग्रेस नेतृत्वको गठबन्धनबाट अशोक राईले यो क्षेत्रबाट चुनाव लडेकाले यसपटक पनि उनी नै उम्मेदवार हुनेमा नेताहरु लगभग ढुक्क थिए । ‘अशोक राईले अरु निर्वाचन क्षेत्र रोजे मात्रै कांग्रेस अथवा हाम्रो पार्टीको भागमा पर्थ्यो, त्यो कुरामा हामी प्रष्ट थियौं’, माओवादी केन्द्रका एक नेता भन्छन्, ‘बाहिर जे भनेपनि भित्रि तयारी अशोक राईलाई जिताउनुपर्छ भन्ने नै थियो ।’

प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमपछि विकसित घटनाक्रमसँगै धरानमा यस्तो समीकरण बनेको थियो । एमालेका नेताहरु पनि अशोक राईविरुद्ध जय राई मैदानमा उतार्नेमा ढुक्क थिए । ‘अशोक राई र जय राईवीच हुने प्रतिस्पर्धामा प्रतिगामी शक्ति हराउने भन्ने नै मूल एजेण्डा हुन्थ्यो’ माओवादी केन्द्रका ती नेता भन्छन्, ‘प्रदेश नामाकरणको विषय पनि बलियो एजेण्डा बन्थ्यो ।’

तर उम्मेदवारी दर्ताको अघिल्लो दिन जसपाले समीकरण बदल्दै एमालेसँग तालमेल गरेपछि दुवै तर्फका पूर्वतयारी भत्कियो । अशोक राईविरुद्ध प्रचार अभियान नै थालिसकेका एमालेका नेताहरू एकाएक उनलाई नै बोकेर हिँड्नुपर्ने ठाउँमा पुगे । अशोक राई स्वयंम भने राजनीति सधैं संभावनाहरुको खेल भएको तर्क गर्छन् । तर रातारात बदलिएको समीकरणको अप्ठ्यारो भने यहाँका कार्यकर्तामा लुक्दैन । एमाले र जसपाले एकअर्कालाई लगाउँदै आएको आरोपका कारण पनि अप्ठ्यारो परेको बुझ्न सकिन्छ ।

‘राजनीतिक प्रतिबद्धता, प्रतिष्ठा र विचारधाराको कुरै नगरौं’ एमालेका एक नेता भन्छन्, ‘सत्ता केन्द्रित राजनीतिले जनतासँग सधैं जोडिनुपर्ने हामीलाई कति गाह्रो होला !’ हुनपनि चुनावी तालमेल बदलिनु अघिसम्म जसपाले एमालेलाई प्रतिगामी भन्ने गरेको थियो । अशोक राई आफैंले एमाले आदिवासी जनजाति विरोधी पार्टी बनेको आरोप सहित २०६९ मा अलग भएका थिए ।

एमालेले पनि जसपालाई साम्रदायिकता भड्काउने शक्तिको आरोप लगाउने गरेको छ । प्रतिनिधिसभा विघटनपछि त एमालेलाई जसपाले प्रतिगामी शक्तिका रुपमा जनस्तरसम्म चिनाउने काम गर्यो । एमाले मधेशविरोधीको आरोप पुरानै हो । तर चुनाव जितेर सत्तामा फर्कने एकमात्र सर्तमा अहिले तिनै शक्तिहरुबीच गठबन्धन भएको छ ।

अर्काे गठबन्धनमा आवद्ध दलहरुमा पनि सत्ताको साझेदारी बाहेक अर्थोकमा समानता छैन । सात दशक लामो कम्युनिष्ट र गैरकम्युनिष्टको फराकिलो खाडल पुर्न साझा उम्मेदवारीले संभव देखिँदैन । आधारभूत शब्दावलीदेखि दीर्घकालीन उद्देश्यमा समेत कांग्रेस र माओवादी-एकीकृत समाजवादीबीच भिन्नता छ । तर संसदीय राजनीतिकै विकल्प खोज्न सशस्त्र विद्रोह गरेको पृष्ठभूमि बोक्ने माओवादी केन्द्रसँग कांग्रेस चुनाव जित्ने सर्तमा पहिलोपटक संसदीय चुनावमा गठबन्धन गर्न तयार छ ।

हुनत, २०७४ मा पनि दलहरुले गठबन्धन गरेका थिए, गठबन्धनबीच नै प्रतिस्पर्धा भएको थियो । तर त्यसबेला वैचारिक पृष्ठभूमि मिल्ने शक्तिहरुबीच गठबन्धन भएको थियो । वाम गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले साझा घोषणापत्र मात्रै नल्याएर पार्टी एकताकै घोषणा गरेका थिए । त्यसबेला कांग्रेसले गैरकम्युनिष्ट शक्तिसँगै तालमेल गरेको थियो भने मधेश केन्दि्रत एजेण्डा उठाउनेहरुको अलग्गै गठबन्धन थियो । यो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार बनेरै एमालेका जय राईले जितेका हुन् ।

स्वतन्त्रको लहर

धरानका मेयर हर्क साम्पाङको साथमा स्वतन्त्र उम्मेदवारहरू । तस्वीर : clickdharan

दलहरुभित्र देखिएको यिनै अलोकतान्त्रिकरण, असंगतिपूर्ण गठबन्धन र शक्ति संघर्षकै कारण उत्पन्न परिस्थितिले धरानमा स्वतन्त्र उम्मेदवारीतर्फ भने आकर्षण देखिन्छ । रुख र सूर्य जस्ता पुराना चिन्ह नहुँदा पनि यो क्षेत्रबाट दर्ता भएको २० जनाको उम्मेदवारीमा ११ जना स्वतन्त्र उम्मेदवार हुनुले त्यही पुष्टि हुन्छ ।

स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका हर्क साम्पाङ समर्थकले आफ्नै उम्मेदवार खडा गरेका छन् । साम्पाङको समर्थनमा पानीको जार चिहृनसहित तर्कबहादुर मगर प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । प्रदेशसभा तर्फ (क) मा समीर तामाङ र (ख) मा हेम राई छन् । दुवैको चुनाव चिह्न लालटिन हो ।

उम्मेदवारी दर्तापछि तीन जनासँग सामुहिक तस्वीर खिचेका साम्पाङले फेसबुक पेजमा ‘अरुले गर्दैनन्, स्वतन्त्रले नै गर्छ । उदाहरण दिइरहनुपर्छ र !’ लेखेर आफ्नो समर्थनको संकेत दिएका छन् । तर निर्वाचन आयोगको प्रतिबन्धात्मक व्यवस्थाका कारण उनले खुलेर मत माग्न भने पाउने छैनन् ।

एमाले त्यागेर उम्मेदवारी दर्ता गर्न पूर्वमेयर मनोजलाई पनि स्वतन्त्रतर्फ देखिएको आकर्षण तानेको अनुमान लगाउन सकिन्छ । मनोज र तर्कबहादुर बाहेक सञ्जयकुमार राई, विजयकुमार राई, मातृकाप्रसाद भट्टराई, जीवनकला राई, कुमार कार्की, कुलबहादुर लिम्बु, बासुप्रसाद खड्का, कृष्णकुमार राई र करुणा राईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनीहरुमध्ये सुकुम्बासीको पक्षमा लगातार वकालत गर्दै आएका कुमारसँग राम्रै मत रहेको मानिन्छ । धरानमा झण्डै १७ हजार हाराहारी सुकुम्बासी परिवार रहेकाले उनको उम्मेदवारीलाई ठूला दलहरुले पनि चासोका साथ हेरेका छन् । कार्कीले सुकुम्बासीलाई स्थायी लालपुर्जाका लागि लड्ने प्रतिबद्धता गर्दै मत मागिरहेका छन् ।

अन्य निर्वाचन क्षेत्रजस्तै धरानमा पनि रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका पनि उम्मेदवार छन् । घण्टी चिन्ह लिएर गोमा तामाङ (सरिन) ले उम्मेदवारी दिएका छन् ।

तर धराने जनताको समस्या भने फेरि पनि पुरानै छ । खानेपानीको अभाव, सुकुम्बासी समस्यादेखि यहाँका जनताको जीवन स्तर उकास्ने भरपर्दो योजना उम्मेदवारहरूसँग देखिदैन । जबकि धरानको आकर्षण पहिलेजस्तै नरहेकोमा स्थानीय नेताहरुको साझा निष्कर्ष हो ।

२०७४ को चुनावपछि यो क्षेत्रमा गाभिएको बराहा क्षेत्रले आफ्नै विगतको वैभव अकल्पनीय तरिकाले गुमाएको छ । चतराले चिनिने यो क्षेत्र कुनै बेला ऐतिहासिक, सांस्कृतिक, पर्यावरणीय, आर्थिक र भौतिक रुपमा सम्पन्न थियो । तर अहिले धरानसँगै सहज पहुँज यो क्षेत्रको मुख्य माग हो । ‘चतरा कुनैबेला हरेक हिसाबले अगाडि थियो । तर अहिले नेताहरुका लागि पनि मत केन्द्र मात्रै बन्न पुगेको छ’ स्थानीय सीता पौडेल भन्छिन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्