५ वर्ष मेनु हेरेर आफैंले रोजे मःम – Online Khabar

५ वर्ष मेनु हेरेर आफैंले रोजे मःम – Online Khabar

[ad_1]

१२ असोज, काठमाडौं । ‘रेष्टुरामा गएर मेनु हेर्‍यो हेर्‍यो, लाष्टमा मःम मगायो !’ पछिल्लो पाँच वर्षमा रवीन्द्र मिश्रले मतदाताको विवेकमाथि यसरी धेरै पटक व्यंग्य गरेका छन् ।

पत्रकारिता छाडेर सुरुमा साझा पार्टी र पछिल्लो समय विवेकशील साझा पार्टीको नेतृत्व गरेका मिश्रले थुपै सार्वजनिक मञ्चहरुमार्फत वैकल्पिक शक्तिमाथि विश्वास नगरी पुरानै दललाई भोट हाल्ने गरेको भन्दै मतदाताको विवेकमाथि प्रश्न उठाएका थिए ।

तर तिनै मिश्र बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को छहारीमा ओत लाग्न पुगेका छन् ।

२०४६ को जनआन्दोलनपछि पूर्वपञ्चहरुले राजनीति गर्न खोलेको पार्टी हो राप्रपा । संवैधानिक राजतन्त्र रहँदासम्म त्रिशंकु संसदको लाभ उठाएर पटक पटक सरकारको नेतृत्व गर्न पाएको यो दल पछिल्लो समय संसदमा उपस्थितिकै लागि संघर्षरत छ ।

२०६२/०६३ को जनआन्दोलनमार्फत नेपाली समाजले किनारा लगाइएको ‘राजतन्त्र’ पुनस्थापना र हिन्दु राष्ट्र कायम गर्नुपर्ने यो दलको मुख्य एजण्डा हो ।

मिश्र त्यही दलको वरिष्ठ उपाध्यक्ष बन्न पुगेका छन् । अर्थात पाँच वर्षसम्म वैकल्पिक शक्तिको मेनु हेरेका मिश्र आफैं अन्तिममा मःम रोज्न पुगेका छन् ।

वैकल्पिक शक्ति बनाउने भन्दै ०७३ फागुनमा साझा दल खोलेका मिश्रले विवेकशील नेपाली पार्टीसँग दुई पटक एकता गरे, विवेकशील साझा पार्टीको अध्यक्ष पनि भए । २०७४ बाग्मती प्रदेशसभामा समानुपातिक पद्धतितर्फ तीन सिट पाएको यो दलले प्रदेशसभा र प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जित्न सकेन ।

मिश्र आफैं काठमाडौं क्षेत्र नम्बर १ मा पराजित भएका थिए । फुट र एकताको श्रृङ्खला चलेको यो पार्टीले गति लिनुको साटो एकपछि अर्काले छाड्न थाले । नेता बन्ने हुटहुटी भएका मिश्रले १३ साउन २०७८ मा ‘विचारभन्दा माथि देश’ भन्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव ल्याएपछि विवेकशील साझा झन् विवादमा फस्यो ।

३० वैशाख २०७९ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार समीक्षा बास्कोटाले ६४७ ले मत मात्र पाएपछि मिश्रले अध्यक्ष पदबाटै राजीनामा दिए । त्यसपछि मिश्रले ‘राजावादी’ कित्तामा उभिन पुगे ।

संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजीको लाइन लिएका मिश्रले दलबलसहित राप्रपासँग एकता गर्न चाहेका थिए । राप्रपा स्रोतका अनुसार एकताका लागि सहअध्यक्ष मागेका थिए, तर राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष मात्र दिन तयार भयो । मिश्र त्यसलाई स्वीकार गरेर राप्रपामा आवद्ध भएका छन् ।

५ वर्ष मेनु हेरेर आफैंले रोजे मःम – Online Khabar

०६३ को अन्तरिम संविधानदेखि ०७२ को संविधानसम्म लिपिबद्ध भएको धर्म निरपेक्षता र संघीयता खारेज गरेर संवैधानिक राजसंस्था फिर्ता ल्याउनुपर्ने विचारको टेको समाइरहेका मिश्र आफू पश्चगामी नभएको दाबी गर्छन् ।

आफूलाई ‘पश्चगामी’ करार गरेकोमा आपत्ति जनाएका उनी आफू होइन, कांग्रेस विचलित भएको बताए । माओावदीसँग तालमेल गर्नु बीपीको सपनाको हत्या भएकाले कांग्रेस चाहिँ पश्चगामी भएको उनको जिकिर थियो ।

राप्रपालाई २१ औं शताब्दी अनुकुल ‘मडरेट कन्जरभेटिभ’ फोर्स बनाउने दाबी गरेका मिश्रको सूत्र भने पुरानै छ, ‘संवैधानिक राजसंस्थाको आवश्यकता, धर्मनिरपेक्षता र संघीयताको खारेजीको मुद्दा लिएर हामी चुनावमा जान्छौं ।’

आफूले ठीक भएको देखाउने प्रयास गर्दै उनले भने, ‘नेपाली कांग्रेस पनि पहिला मडरेट कन्जरभेटिभ पार्टी थियो ।’ ‘विकृत वामवादी’ले कन्जरभेटिभलाई दक्षिणपन्थीको आरोप लगाउने गरेको भन्दै आक्रोशित सुनिएका मिश्रले चुनौतीको भाषामा भने, ‘अबको चुनावमा हेरौं को दक्षिणपन्थी रहेछ ?’

वैकल्पिक राजनीति गर्छु भनेर साझा र विवेकशील साझाको नेतृत्व गरिरहँदा पनि मिश्रमाथि बेलाबेला राजवादी सोच राखेको आरोप लाग्ने गरेको थियो ।

बुधबार राप्रपाको छहारीमा पुगेका मिश्रले ०६२/०६३ को परिवर्तन आफूले बाध्य भएर स्वीकार गरे । ‘त्यतिखेर नै मैले सांकेतिक रुपमा भनेको हुँ, राजदरबार भत्काएर त्यसमा दिल्ली दरबार नबनाऊ,’ राप्रपाको छहारीमा मिश्रले कुरा खोले ।

नेपाल भू–राजनीतिक दाउपचेको शिकार भएको, विदेशी शक्तिको खेल मैदान भएर बर्बाद हुन थालेको र त्यसबाट पार पाउन नेपालमा राजा चाहिने उनको दाबी छ । इस्लाम र इसाइ धर्म मान्ने देशमा लामो समय बसेर आएको भन्दै मिश्र भन्छन्, ‘चामलको बोरामा हालेर बाइबल वितरण गरिन्छ । पशुपतिको आँगनमा बाइबल वाचन गरिन्छ । यो ठीक भएन । म सबै धर्मको सम्मान गर्छु । तर अहिले जे भइरहेको छ त्यो ठीक भएन । त्यही भएर मलाई लाग्यो यो देशमा राजसंस्था चाहिन्छ ।’

आफैंले अगुवाइ गरेको साझा र विवेकशील साझा पार्टीमा समेत टिक्न नसकेका मिश्र राप्रपामा कसरी आफ्नो अस्तित्व प्रमाणित गर्छन् अहिल्यै भन्न सकिन्न । तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र उपाध्यक्ष बुद्धिमान तामाङले बारम्बार मिश्रलाई राप्रपामा असहज नमानी काम गर्न भनिरहे ।

बुधबारको एकता सभामा राप्रपा उपाध्यक्ष तामाङले भने, ‘रवीन्द्र मिश्रलाई ल्याउन बुद्धिमान तामाङले अड्को थप्यो भन्ने छ । म त्यस्तो मान्छे होइन । घर बलियो हुनुपर्ने छ, घर बलियो भएपछि कोठाहरू सच्याएर बस्न मिल्छ । रवीन्द्र मिश्रज्यू तपाईँ र तपाईँको समूहप्रति पार्टीले ठूलो आशा राखेको छ । हाम्रो आशामाथि तुषारापात गर्नु हुने छैन भन्ने विश्वास छ ।’

कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले चाहिँ मिश्र चर्को राजवादी भएर निस्किएकै कारण पार्टीमा ल्याएको स्वीकार गरे । ‘मान्छेहरूले तिमीहरू भन्दा रवीन्द्र मिश्र कडा राजावादी भएर आइसक्यो भन्ने भएपछि हामीलाई मिश्र जीको अभाव महसुस भइराथ्यो’, एकता सभामा लिङ्देनले भनेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्