[ad_1]
४ असोज, काठमाडौं । भारतविरुद्ध गतिविधि गरेको अभियोगमा सुनसरीको हरिनगर गाउँपालिकामा खुर्सिद अन्सारी मारिएको तीन वर्षपछि फेरि काठमाडौंमा उस्तै आरोप लागेका अर्का नेपाली नागरिक मारिएका छन् ।
सोमबार साँझ साढे ६ बजे गोली हानी मारिएका लाल मोहम्मदमाथि भारतीय पक्षले आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै आएको थियो । भारतको खुफिया निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले उनलाई भारतीय जाली नोटको कारोबारमा संलग्न रहेको दाबी गर्ने गरेको थियो ।
यही आरोपमा केही अघि नेपाल प्रहरीलाई मोहम्मदलाई हस्तान्तरण गरिदिन भारतीय अधिकारीहरुले प्रस्ताव गरेको उच्च सुरक्षा स्रोतको दाबी छ । त्यसबेला मुम्बईका अन्डरवल्र्ड डन दाउद इब्राहिमका सहयोगी इजाज लकडावालालाई त्यसबेला नेपाल प्रहरीले गुपचुप हस्तान्तरण गरेको थियो । नेपाली नागरिक मोहम्मदलाई चाहिँ त्यसबेला वास्ता गरेको थिएन ।
मुम्बई प्रहरीको क्राइम ब्रान्चको एन्टी एक्स्टर्सन सेल (एईसी) ले उनलाई नेपालबाट पक्राउ गरेर भारत लगेको थियो । त्यसबेला उनलाई पटना विमानस्थलमा पक्राउ गरिएको भन्दै भारतमा सार्वजनिक गरिएको थियो ।
‘नेपाली नागरिकको हकमा हस्तान्तरण गर्ने भन्ने हुँदैन, तर उनीहरुले चासो देखाएका व्यक्तिप्रति निगरानी गरिरहेका हुन्छौं,’ विशेष ब्यूरोका एक अधिकृत भन्छन्, ‘मोहम्मद पनि तिनैमध्येका एक थिए ।’
स्रोतका अनुसार २५ भदौमा मोहम्मदले आफू असुरक्षित भएको भन्दै प्रहरी बिट जम्मुडाँडामा निवेदन दिएका थिए । प्रहरीका अनुसार त्यसको अघिल्लो दिन उनीमाथि आक्रमण भएको थियो । उपचारका लागि मोहम्मद शंकरापुर अस्पताल पुगेका थिए ।
अस्पतालका निर्देशक डा. रमेश ढकालका अनुसार त्यसबेला मोहम्मद अस्पतालको आउट प्यासेन्ट डिपार्टमेन्ट (ओपीडी) मा उनी भर्ना भएका थिए ।

‘त्यसबेला डाडमा सामान्य चोट मात्र देखिएको थियो, दुर्घटना भएजस्तो देखिन्थ्यो,’ अस्पतालका अर्का एक चिकित्सक भन्छन्, ‘तर त्यो गोलीको घाउ थिएन ।’ यद्यपि, गोलीको छर्राका कारण घाउ भएको हुनसक्ने र दोस्रो आक्रमणको प्रयासमा उनी सोमबार मारिएको हुनसक्ने आशंका छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी नायब उपरीक्षक (डीएसपी) का अनुसार मोहम्मदलाई गोली हान्ने व्यक्ति नजिकै रहेको कोशीपारि गेष्ट हाउस एण्ड होटलमा तीन दिनदेखि बसिरहेका थिए । होटल नजिकै रहेको कवाडी पसलका मालिकका साथी बताएर उनी परिचय पत्रसमेत नराखी त्यहाँ बसेका थिए ।
स्रोतका अनुसार जितेन खानको नाममा उनी होटलमा बसेका थिए । अन्य दुईजना व्यक्ति पनि उनलाई नियमित जसो भेट्न आउने गरेको होटलको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा देखिएको छ । सीसी टीभीको हार्डडिस्क प्रहरी वृत्त बौद्धले बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा खान भारतीय नागरिक भएको खुलेको छ । स्रोतका अनुसार मारिनु अघि बौद्ध प्रहरीका अधिकारीहरुले मोहम्मदसँग सोधपुछ पनि गरेका थिए । तर गम्भिर रुपमा लिएका थिएनन् ।
‘पृष्ठभूमिबारे पनि उनले स्पष्ट भनेका थिएनन्, लेनदेनको विवाद छ, धम्की आइरहन्छ भनेका थिए’, बौद्ध प्रहरीका एक अधिकृत भन्छन्, ‘मारिएपछि मात्र उनको पृष्ठभूमिबारे थाहा पाएका हौं ।’
प्रहरीका अनुसार सोमबार मारिएका मोहमदले नेपालमा भारतीय नक्कली नोट कारोबारका नाइके इल्ताफसँग मिलेर २० असार २०६४ मा अनामनगर–बानेश्वर पुल नजिक बलराम पटुवारको हत्या गरेका थिए ।
बलराम नक्कली नोट कारोबारी भए पनि समूहगत द्वन्द्वका कारण उनी मारिएको बताइन्छ । त्यसबेला अनुसन्धानमा खटिएका हालका एक प्रहरी उपरीक्षक (एसपी) भन्छन्, ‘घटनामा लाल मोहमद कन्ट्र्याक्ट किलरका रुपमा प्रयोग गरिएका थिए ।’
प्रहरीका अनुसार उनले विगतमा नेपाल हुँदै भारत जाने नक्कली नोटको कारोबारमा व्यवस्थापकका रुपमा काम गर्ने गरेका थिए । उनी हाल नख्खु कारागारमा रहेका इल्ताफ हुसेनको समूहमा बसेर काम गर्दै आएका थिए ।

पुरानै अभियोगमा नेपालीको श्रृंखलाबद्ध हत्या
भारतको खुफिया निकाय रअले नेपालमा बसेर आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको अभियोग लागेका व्यक्तिको हत्या भएको यो पहिलो घटना होइन । सुनसरीमा ४ असोज २०७५ मा मारिएका खुर्सिद अन्सारी पनि भारतीय प्रतिआतंकवाद सेलको कारबाहीबाट मारिएको हुनसक्ने आधार देखिएको थियो ।
सुनसरीको रैयाब बोर्डिङ स्कुलका सञ्चालक अन्सारीलाई भारतले आतंकवादीको आरोपमा खोजी गरिरहेको थियो । घटना हुनु दश वर्षअघि उनलाई पक्राउ गर्न भन्दै सादा पोशाकका भारतीय प्रहरी सुनसरीमै पुगेका थिए ।
त्यतिबेला खुर्सिद सुनसरी जिल्ला विकास समितिका मनोनित सदस्य पनि थिए । वामदेव गौतम गृहमन्त्री भएका बेला पनि उनलाई भारत हस्तान्तरण गर्न भनिएको थियो । तर नेपाली नागरिक भएकाले उनलाई प्रहरीले हस्तान्तरण गरेको थिएन ।
भारतीय सुरक्षा निकायको दाबीमा २०७१ सालमाा भारतको मुस्लिम आतंकवादी संगठन (मुजाहिद्दिन) का चार सदस्यले नेपाली नागरिक र पासपोर्ट लिएका थिए । भारतीय प्रहरीको दाबी अनुसार त्यसरी नागरिक र पासपोर्ट लिनेमा डा. सहनवाज, अबु रसिद, मोहम्मद खनिद र सलमान शेख थिए ।

भारतका विभिन्न शहरमा भएका बम विष्फोटनमा संलग्न उनीहरुलाई नागरिक र पासपोर्ट बनादिएर सेल्टर दिने काम खुर्सिदले नै गरेको भारतीय पक्षको दाबी थियो ।
लाल मोहम्मद र खुर्सिदकै शैलीमा ८ असोज २०६९ मा इस्लामिक संघका तत्कालीन महासचिव फैजान अहमदको पनि काठमाडौंको घन्टाघरमा गोली हानेर हत्या गरिएको थियो । दिनदहाडै अहमदलाई गोली बर्साएर दुई युवक कमलादीतिर भागेका थिए । उनीहरु भारतको रक्सौलबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए ।
भारतको नखनऊ कारागारमा जेल सजाय भुक्तान गरिरहेका बब्लु श्रवास्तवसँग अहमद हत्याको कनेक्सन देखिएको थियो । श्रीवास्तवकै सुपारीमा उनी मारिएको बताइन्छ । एक अनुसन्धान अधिकृत भन्छन्, ‘विभिन्न अपराधिक समूह प्रयोग गरेर नेपालमा भारतविरोधी गतिविधि गरेको आरोप लागेका व्यक्ति मारिन्छन्, अहमदको हत्यामा बब्लु प्रयोग भएको देखिन्छ ।’
अहमदले इस्लामिक संघको महसाचिव भएपछि सुनसरीको भुटाहा, घुस्कीर जल्पापुरमा आवासीय मदरसाहरु सञ्चालन गरेका थिए । तर त्यही मदरसाबाट भारतविरुद्ध गतिविधि भएको भारतीय पक्षको दाबी थियो ।

अहमदले नक्कली भारतीय नोटको काम पनि गर्ने गरेको भारतीयको दाबी थियो । भारतीय अन्डरवल्र्डका डन बब्लुले जेलमा बसेका बेला लेखेको पुस्तक ‘बब्लू श्रीवास्तवका अधुरा ख्वाव’मा पनि फैजान अहमदको प्रसंगबारे उल्लेख छ ।
पुस्तकमा इरान, इराक, सिरिया, अफगानिस्तानमा चलेको लडाइँका कारण इस्लामिक मुलुकमा आउने फण्डिङ रोकिएको भन्दै जाली नोट नै कमाइको विकल्प भएको उल्लेख छ । पुस्ताकमा फैजान मुलतः पाकिस्तानी भए पनि उनको पहिचान स्पष्ट नभएको भनिएको छ । उनले धर्मको आडमा मदरसा र क्याम्प मार्पmत अवैध गतिविधि गर्ने गरेको उल्लेख छ ।
उनी पाकिस्तानको गुप्तचरी निकाय इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) को नेपाल स्टेसन प्रमुख रहेको आरोप बब्लुको पुस्तकमा छ ।
जाली नोट कारोबारमा नेपालका नाइके भनिने युनुस अन्सारीमाथि २६ फागुन २०६७ मा मनमित सिंह नामक पेशेवर अपराधीबाट केन्द्रीय कारागार सुन्धाराभित्रै गोली प्रहार भयो । कुख्यात सिरियल किलर चाल्र्स शोभराजलाई भेट्ने बहानामा कारागार छिरेका सिंहले उनलाई गोली दागे पनि प्रविधिक गडबडीका कारण गोली पड्किएको थिएन ।
लगत्तै नजिकै रहेका प्रहरीले उनलाई पक्राउ गरेका थिए । नक्कली भारतीय रुपैयाँको कारोबार र खैरो हेरोइनको कारोबारमा संलगन रहेको अभियोगमा उनी १८ पुस २०६६ मा पक्राउ परेका थिए ।
प्रहरी हिरासतमा समेत उनको हत्या प्रयास भएको थियो । नेशनल टेलिभिजनका अध्यक्ष युनुसका बाबु सलिम मियाँ अन्सारीमाथि पनि बेलाबेला नक्कली भारु कारोबारको अभियोग लाग्थ्यो ।
जेलबाट निस्किए पनि युनुसले आफूलाई असुरक्षित महसुस गरिराख्थे । त्यसैले लामो समय जेल बसेर छुटेपछि पनि १० जेठ २०७६ मा रहस्यमय तरिकाले युनुस पक्राउ परे ।
जानकार स्रोतहरुका अनुसार बाहिर अझै असुरक्षित महसु भएपछि उनी आफैं पाकिस्तानबाट नक्कली ३५ लाख भारु मगाएर पक्राउ परेका थिए । किनकि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी जस्ता कुख्यात जाली नोट कारोबारी ‘कन्साइनमेन्ट’ लिन जानु आफैंमा रहस्मय थियो ।
विशेष ब्यूरोका एक अधिकृत भन्छन्, ‘लाल मोहम्मदको हत्याले युनुसले आफैं पक्राउ पर्ने बाटो रोजेका हुन् कि भन्ने आशंकालाई बलियो बनाएको छ ।’
‘अन्सारी जस्तो नाइकेले आफैं यति ठूलो परिमाणको नक्कली नोट लिन जानु अपत्यारिलो थियो,’ एक अनुसन्धान अधिकृत भन्छन् । जाली नोट कारोबारमा युनुसपछिका मानिएका इल्ताफ हुसेन अन्सारीले पनि थुनामा बस्ने सहज बाटो राजेका थिए ।

सोमबार मारिएका लाल मोहमद विगतमा इल्ताफकै लागि काम गर्थे । इल्ताफ २९ साउन २०७७ मा अपत्यारिलो तरिकाले बाराबाट पक्राउ परेका थिए । ‘फेक करेन्सी किङ’ भनेर चिनिने अन्सारी नक्कली १५ किलो सुन बोकेर गाडीमा हिँडेको प्रहरी अनुसन्धानले देखाएको थियो । तर रोचक कुरा नक्कली सुनमा ५७ लाख खर्चेर चाँदीमा जलप लगाइएको थियो ।
उनीजस्तो आपराधिक दुनियाँका खेलाडी नक्कली सुन नै बेच्नुपर्ने अवस्थामा किन पुगे ? नक्कली सामान नै बेच्नुपर्ने भए किन आधा करोड खर्चेर सुनमा जलप लगाए ?
अरु व्यक्तिमार्फत काम गराउन सक्ने स्थिति हुँदा हुँदै किन आफैं गाडीमा चढे ? प्रहरीले समाते सहजै पत्ता लाग्ने गरी किन आफ्नै गाडी प्रयोग गरे ? यस्ता प्रश्नको जवाफ प्रहरीले भेट्टाएको थिएन ।
विशेष ब्यूरोका अधिकृतहरुका विश्लेषण अनुसार यस पछाडिको कारण लाल मोहमद जसरी नै मारिनबाट बच्नलाई हो । ‘उनले आफूलाई थ्रेट महसुस गरेका कारण पक्राउ पर्ने बाटो रोजेको हुनसक्ने सम्भावना देखिएको छ,’ ब्यूरोका एक अधिकृत भन्छन् ।
बब्लुको पुस्तकमा पनि इल्ताफलाई पाकिस्तानबाट नक्कली नोट ल्याएर कारोबार गर्ने गरेको भनिएको छ । बब्बु आफैं कुनै समय दाउद इब्राहिमको डि–कम्पनीसँग जोडिएर काम गरेका व्यक्ति हुन् ।
तर बम्बईमा १२ मार्च १९९३ मा भएको बम हमलापछि बब्बु दाउदबाट टाढिएका थिए । दुई वर्षपछि सिंगापुरबाट पक्राउ पर्नु पछाडि पनि दाउदकै हात रहेको बब्बुले बताउने गरेका थिए ।
पक्राउ परेपछि भारतीय प्रहरीले उनलाई ‘आफ्नो मुलुकविरोधी गतिविधि गर्ने व्यक्तिहरुविरुद्ध’ प्रयोग गरेकोे थियो । त्यसमा मुलतः दाउदका एजेन्ट भनिएकाहरु टार्गेटमा परेका थिए । त्यही कारण दाउदबाट आफ्नो ज्यान खतरामा रहेको बताउँदै उनले जेलबाटै सरकारलाई पत्र पनि लेखेका थिए ।
नेपालगञ्जको लालिगुराँग होटलमा १९ असोज २०६४ मा मारिएका मजिद मनिहार पनि नक्कली नोट कारोबारसँग जोडिएका व्यक्ति हुन् । उनलाई चाहिँ होटलको कोठा नम्बर १०५ मा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । भारतीय पत्रिका द हिन्दुले त्यसबेला मनिहारलाई उत्तर प्रदेशमा हुने नक्कली नोट कारोबारको नाइके भनेको छ ।
समाचारमा उनी पाकिस्तानको खुफिया निकाय आईएसआईसँग जोडिएको हुनसक्ने भनिएको छ भने उनले नेपाल हुँदै भारतमा नक्कली नोट भित्र्याउने गरेको भनिएको छ ।
उनी मारिनुअघि उनका छोरा बिक्की मनिहारलाई नक्कली नोट कारोबारको आरोपमा भारतको बहराइच प्रहरीले पक्राउ गरेको पनि उल्लेख गरिएको छ । उनलाई भारतमा पक्राउ गरिएको बताइए पनि परिवारले नेपालबाट पक्राउ गरेर लगिएको दाबी गरेको थियो ।

२०७० सालको पुलमा बारा, जितपुरमा आफताब अन्सारीको पनि गोली हानी हत्या भएको थियो । चारवटा हतियार बोकेका दुई सुटरले उनीहरुलाई गोली हानेका थिए ।
दुवै सुटरलाई प्रहरी सहायक निरीक्षक (असई) मातृका ठाकुर र प्रहरी जवान शेख समसादले लखेटेर समातेका थिए । पछि उनीहरुलाई साहसिक काम गरेको भभन्दै प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेर पुरस्कृत गरेको थियो ।
बयानका क्रममा यसमा पनि आफताब ‘जाली भारतीय रुपैयाँ कारोबार’मा सक्रिय रहेको बताइएको थियो भने यसको सुपारी अन्डरवल्र्ड डन बब्लुले नै दिएको भनिएको थियो । उनको नाम अन्डवल्र्ड डन दाउन इब्राहिमसँग जोडिएको थियो ।

स्पेशटाइम नेटवर्कका सञ्चालक जमिम शाह २४ माघ २०६६ मा लाजिम्पाटमा मारिएका थिए । नेपालमा ऋतिक रोशन प्रकरण चर्किएका बेला पनि जमिमले भारत विरोधी भावना बढाउन भूमिका खेलेको भारतको आरोप थियो ।
उनी काठमाडौंमा मारिएपछि इण्डिया टुडेले प्रकाशित गरेको समाचारमा शाहको पाकिस्तानी गुप्तचर निकाय आईएसआई र अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग सम्बन्ध रहेको भनिएको छ । दाउद र आईएसआईसँग सम्बन्धका कारण उनले नेपाल हुँदै भारतमा जाली नोटको कारोबार गरेको अभियोग शाहविरुद्ध थियो ।
काठमाडौं सिफलमा ११ असार २०५५ मा सांसद मिर्जा दिलसाद बेगको गोली हानी हत्या भएको थियो । पूर्वमन्त्रीसमेत रहेका वेगलाई मार्न अज्ञात व्यक्तिले ११ राउण्ड गोली चलाएका थिए ।
उनको पनि आईएसआई र दाउदसँग सम्बन्ध रहेको भनिएको भारतीय पक्षको आरोप थियो । भारतविरुद्ध गतिविधि गरेको अभियोगमा नेपाली नागरिक मारिएको सम्भवतः यो नै पहिलो घटना भएको बताइन्छ ।
हत्याको एउटै ‘मोडस अपराण्डी’
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरीको बुझाइमा मिर्जा दिलसाद वेगदेखि सोमबार मारिएका लाल मोहमदसम्मको श्रृंखला हेर्दा मुलतः तीन आरोपमा नेपाली नागरिक अज्ञात व्यक्तिबाट मारिएका छन् ।
पहिलो, जाली नोट कारोबारको अभियोग । जुन औपचारिक वा अनौपचारिकरुपमा भारतीय पक्षबाट हरेक घटनामा सार्वजनिक हुने गर्छन् । दोस्रो चाहिँ पाकिस्तानमा बस्ने भनिएका अन्डरवल्र्ड डन दाउन इब्राहिमसँग निकटता रहेको आरोप लाग्ने मारिने गरेका छन् ।
तेस्रो चाहिँ भारतले आतंकवादी भनेका मुजाहिद्दिन लगायतका समूहका व्यक्तिलाई सेल्टर दिएको अभियोगमा नेपालीको हत्या भएको छ । ‘चौथोमा भारतमा अपराध गरेका व्यक्तिहरुलाई संरक्षण गरेको आरोपमा पनि व्यक्ति हत्या भएका छन्,’ अनलाइनखबरसँग मल्ल भन्छन्, ‘उनीहरुको दाबी कति सही वा गलत भन्ने छुट्टै बहसको विषय हो ।’
अधिकांश घटनामा कन्ट्र्याक्ट किलर (भाडाका हत्यारा) प्रयोग भएका देखिन्छन् र उनीहरुको शैली अधिकांश घटनामा एउटै हुन्छ । उनीहरुले टार्गेट बनाएका व्यक्तिलाई सिधै टाउको वा छातीमा गोली हान्ने गरेका छन् । यी अधिकांश घटनामा प्रहरीले आरोपीलाई समात्न नसकेको भनेर लामो समयसम्म आन्दोलन भएका छन् ।
पछिल्लो समय सिलसिलेवाररुपमा भइरहेको नेपालीको हत्या श्रृंखलाले भारतीय र पाकिस्तानी गुप्तचर एजेन्सीबीच नेपालमा ‘प्रोक्सी वार’ (तेस्रो शक्तिको प्रयोग गरेर छद्मरुपमा हुने युद्ध) भइरहेको देखाउँछ । किनकि, विवादस्पद पृष्ठभूमिका भनिएका हरेक नेपालीको हत्या लगत्तै भारतीय सञ्चारमाध्यममार्फत उनीहरु जाली नोट कारोबारमा संलग्न रहेको विवरण सार्वजनिक हुन्छ ।
प्रहरीले पनि गम्भीर रहेको छनक दिन हरेकजसो घटनामा छानविनका लागि विशेष समिति बनाउने गरेको छ । तर मुख्य नाइकेसम्म प्रहरी कहिल्यै पुगेको देखिन्न । बरु भारतीय कनेक्सन देख्ने वित्तिकै अनुसन्धान अधिकृतहरु नेपाली पाटोमै मात्र अल्मलिने गरेको देखिएको छ ।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माका अनुसार नेपालमा भारतीय पक्षबाट विभिन्न आरोप लगाइएका नेपालीको श्रृंखलाबद्ध हत्या नरोकिनुको कारण भारतको सुरक्षा चासो सम्बोधन गर्न नसक्नु हो ।
‘यसरी नेपाल प्रवेश गरेर हत्या गराइनु नेपालको सार्वभौमसत्ता विपरित हो, कुनै अभियोग भए सूचना दिएर नेपालमै कारबाही गराइनु पर्छ,’ शर्माले अनलाइनखबरसँग भने, ‘तर अहिले जति पनि मारिएका छन्, ती घटनाहरु हेर्दा सिधै हत्या गर्ने सहज बाटो अपनाइएको देखिन्छ ।’
अमेरिका र भारतले पटकपटक नेपाल आतंकवादीको हब बनेको आरोप लगाउने गर्छ । ‘आतंकवाद र जाली नोट कारोबार नेपालमा पनि अक्षम्य अपराध हो, त्यसैले बरु सूचना दिएर यहीँ कारबाही गराउने बाटो बनाउनुपर्छ,’ उनी भन्छन्, ‘गम्भिर अनुसन्धान गरेर यो भारतसँग कुरा गर्नुपर्ने विषय हो, दुवै देशको सुरक्षा बलियो बनाउने विषयमा एक्लोभन्दा पनि दुईपक्षीय सहमतिमा कानूनी बाटो अपनाउनुपर्छ ।’
आईएसआई र रअको ‘प्रोक्सी वार’ ?
नेपालमा जति पनि व्यक्ति विगतमा जाली नोट कारोबार गरेको अभियोगमा मारिएका छन्, उनीहरुको पछिल्लो समय पनि उस्तै प्रकृतिको गतिविधि संलग्न थिएन थिएनन् भन्ने खुल्दैन ।
दाउद इब्राहिम र छोटा राजन समूहको चेपुवामा परेर २४ भदौ २०६३ मा मध्य बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट बझाङका कमलसिंह नेपाली पनि नेपाल फर्किएर लामो समयदेखि सामान्य जीवन यापन गरिरहेका थिए ।
तर कुनै बेला दाउदका लागि छोटा राजन समूहका मलेसिया एजेन्टको हत्या गरेका उनी काठमाडौंमा पेशेवर भारतीय अपराधीबाट मारिएका थिए ।

सोमबार मारिएका मोहम्मद पनि लामो समयदेखि गोर्मेन्टको व्यवसाय गरिरहेका थिए । त्यसको सिलसिलामा बंगलादेशी नागरिकहरुसँग उनको बाक्लो सम्पर्क हुने गरेको थियो । त्यही सम्पर्कलाई समेत देखाउँदै भारतले उनलाई टार्गेट बनाउँदै आएको थियो ।
विशेष ब्यूरोका एक पूर्वप्रमुखको बुझाइमा सिलसिलेवाररुपमा भइरहेको नेपालीको हत्या श्रृंखलाले भारतीय र पाकिस्तानी गुप्तचर एजेन्सीबीच ‘प्रोक्सी वार’ (तेस्रो शक्तिको प्रयोग गरेर छद्मरुपमा हुने युद्ध) भइरहेको देखाउँछ ।
किनकि, विवादस्पद पृष्ठभूमिका भनिएका हरेक नेपालीको हत्या लगत्तै भारतीय सञ्चारमाध्यममार्फत उनीहरु जाली नोट कारोबारमा संलग्न रहेको विवरण सर्वाजनिक हुन्छ ।
सञ्चारमाध्यमहरुमै भारतीय प्रहरी स्रोतलाई उदृत गर्दै आईएसआईको एजेन्ट भएको उल्लेख हुने गर्छ । ‘यी सबै गतिविधिले नेपाल आईएसआई र भारतीय खुफिया एजेन्सीबीच नेपालमा प्रोक्सी वार भइरहेको हुनसक्ने संकेत गर्छ,’ ती अधिकृत भन्छन्, ‘तर यसको मारमा नेपाल परिरहेको छ, जुनसुकै बेला बेकसूर नागरिक पनि मारिन सक्ने जोखिम छ ।’
[ad_2]
Source link








