‘रवीन्द्रजीजस्तो लोकप्रिय हुनु छैन, लो–प्रोफाइलमा बस्न मनपर्छ’

‘रवीन्द्रजीजस्तो लोकप्रिय हुनु छैन, लो–प्रोफाइलमा बस्न मनपर्छ’

[ad_1]

६ भदौ, पोखरा । अनेरास्ववियुको सचिव भइसकेकी विद्या भट्टराई राजनीतिबाट टाढिएको दुई दशक भइसकेको थियो । २०५५ सालमा विवाह भएपछि श्रीमान रवीन्द्र अधिकारीको राजनीतिक यात्रा फराकिलो बनाइदिन उनले घर परिवार सम्हालिन् । ०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायी रुपमा उप–प्राध्यापकको जागिर सुरु गरेकी विद्याले राजनीतिमा फर्किनेबारे सोचेकै थिइनन् ।

१५ फागुनमा २०७५ ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि विद्याको जीवनमा नयाँ मोड आयो । कास्की २ मा हुने उपचुनावमा पार्टी उम्मेदवार बनाउने निर्णय गरेपछि विद्या राजनीतिमा फर्किइन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णय मानेर कास्की–२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएकी उनी १४ मंसिर २०७६ मा भएको उपनिर्वाचनमा विजयी भइन् । कक्षाकोठामा रमाइरहेकी विद्या नेता भएर संसद छिरिन् ।

त्यसैले छोटो कार्यकाल, त्यसमाथि दुई–दुई पटक संसद विघटनका कारण धेरै भूमिका देखाउन पाइनन् । पछिल्लो पटक एमालेले उपसभामुखको उम्मेदवार समेत बनाएको थियो, तर सत्तारुढ गठबन्धनको बहुमत भएका कारण उनी पराजित भइन् । अब यो कार्यकाल सकिने क्रममा छ भने ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको छ ।

एमाले नेताहरु कास्की-२ मा फेरि पनि विद्यालाई नै उम्मेदवार बनाउने पक्का जस्तै भएको बताउँछन् । विद्या भने उम्मेदवार हुने/नहुने विषयमा धरमरमै छिन् । भन्छिन्, ‘नउठौं भन्ने कि भन्ने पनि लागिरहेको छ । निर्णय गरिसकेकी छैन ।’

‘रवीन्द्रजीजस्तो लोकप्रिय हुनु छैन, लो–प्रोफाइलमा बस्न मनपर्छ’
उपनिर्वाचनमा विजयी भएपछि संसद पदको सपथ ग्रहण गर्दा विद्या भट्टराई

फेरि उम्मेदवार बन्न उत्साही नदेखिएकी विद्याले पछिल्लो तीन वर्षमा भोगेको, देखेको र बुझेको राजनीतिक अनुभव उनकै शब्दमाः

एउटा परिघटनाबाट म संसदमा आएँ । संसद विघटन भयो, फेरि पुनर्स्थापित भयो । यसपछि पनि पार्टीमा कन्फ्लिक्ट भयो, विभाजन आयो । अहिले पनि संसद राम्रोसँग परिचालन हुन सकेको छैन । त्यसमा कसलाई के दोष लगाउने एउटा पक्ष रह्यो । तर मूल रुपमा संसदले आफ्नो संसदीय परम्पराअनुसार काम गर्न सकेको छैन । हाम्रा राजनीतिक द्वन्द्वले संसदलाई पनि द्वन्द्वात्मक अवस्थामा पुर्याएका छन् । त्यसले गर्दा धेरै आउटपुट दिन सकेको छैन ।

मलाई के लाग्छ भने, संसदमा अरु केही गर्न नसके पनि त्यहाँ मैले बोल्न त सक्थें नि त ! विचारहरु लैजान सक्थें । मेरो क्षेत्रका समस्या त्यहाँ लैजान सक्थें, ध्यानाकर्षण गराउन सक्थें । तर, त्यो कुरा पनि बेला–बेला अवरुद्ध भइरहन्छ । संसद अवरुद्ध भएकै कारण हाम्रा पर्फमेन्स देखाउन त्यति धेरै अवसर पाइएन ।

कहिलेकाहीँ ‘हिजो अर्को ठाउँ थिई, अहिले आएर जान्ने भएर बोल्छे’ भन्छन् कि भन्ने लाग्छ । नेता हुँ, सांसद हुँ भनेर हाईफाई देखाउन कहिल्यै मन लाग्दैन, बरु लो-प्रोफाइलमा बस्न रुचाउँछु

कोभिडका कारण सार्वजनिक कार्यक्रमहरुमा बोल्ने, अन्तत्र्रिmया गर्ने काम पनि धेरै हुन सकेन । त्यसैले यसलाई मैले मेरो क्रिटिकल फेजका रुपमा लिएकी छु । साह्रै निरासा त मानेको छैन, तर बाहिरबाट बुझेजस्तो दलभित्र र बाहिरको राजनीति अझै तयार भइसकेको रहेनछ ।

सांसदको भूमिका के ?

सांसदले गर्ने के हो त ? यो प्रश्न सधैं मनमा आइरहन्छ । भलाम (पोखरा–२०)मा पहिरो गएर मानवीय क्षति नै भयो । यसबारे हामीले सरकारलाई जानकारी गराउने हो । संघीय सरकार नगए पनि प्रदेशका मुख्यमन्त्री, मन्त्री नै जानु भा’छ । त्यसपछि के भयो त ? सम्बोधन भयो त ? कसले गर्ने सम्बोधन ? प्रदेश सांसदले त्यो कुरा ल्याउने हो कि ? संघीय सांसदको दायित्व हो कि ? मैले मेरो ठाउँबाट र प्रदेश सांसदले पनि आफ्नो ठाउँबाट पहल गरिराख्नु भएको होला ! त्यसको सम्बोधन त सरकारले गर्नुपर्ने हो, तर भएको छैन ।

उहाँहरुले राहत र बाटाका बजेटहरु माग गर्नुहुन्छ । हिजो त माननीयलाई भनेर आउँथ्यो भन्नुहुन्छ । हिजोका दिनमा रवीन्द्रजी माननीय हुनुभयो, मन्त्री नै हुनुहुन्थ्यो । बजेट परिचालन गर्ने ठाउँमा हुनुहुन्थ्यो । तर म केबल सुख्खा सांसद हुँ ।

हाम्रो दायित्व नीतिगत हिसाबले पहलकदमी र पैरवी गर्ने छ, विकाससँग हामी धेरै जोडिँदैनौं । मैले यही कुरा जनतालाई भनें भने निरिहता देखिन्छ । यसले नसकेर यस्तो भनी भन्ने हुन्छ । त्यसैले सांसदको भूमिका के हो ? व्यवस्थापिका अवरुद्ध हुँदा जनताका कुराहरु त्यहाँ उठ्न पाउँदैनन् भनेर सांसदलाई एउटा शक्तिशाली निकाय मानिराखेका छौं भने त्यो शक्तिशाली निकाय चाहिँ केके, उसको कार्यक्रम र योजनाहरु केके ? भन्ने कुराको बहस चलाउन जरुरी छ ।

थुप्रै विद्याहरु राजनीतिमा आउनुपर्यो

अहिलेको मेरो कामको मूल्यांकन मेरो पार्टीले गरिराखेको होला ! म आफैं पनि गरिराखेकै हुन्छु । तर म नै हुनुपर्छ, म नै पदमा पुग्नुपर्छ भन्नेभन्दा पनि आवश्यकता कति हो भन्ने हो । मलाई सोध्नुहुन्छ भने विद्या दोहोरिने, तेहरिने भन्दा विद्याजस्तो अर्को मान्छे कसरी निर्माण गर्ने भन्ने मुख्य हो । बरु त्यसका लागि वातावरण बनाउने मेरो भूमिका होला, मैले पहलकदमी गर्ने होला । म पुग्ने कुराले मात्रै धेरै अर्थ राख्दैन । म नआए पनि थुप्रै विद्याहरु आउनुपर्यो ।

वाइडबडीमा जोडिएका सबै के हुन् त भन्ने प्रमाण खोज्नुपर्यो । त्यसको आधारमा कारवाही गर्नुपर्यो । होइन भने सार्वजनिक रुपमा रवीन्द्रजी दोषी होइन भनिदिनुपर्यो

आज हामी माग्ने ठाउँमा छैनौं, दावा गर्ने ठाउँमा छौं । दाबी गर्छौं भनेपनि पर्फमेन्स पनि जोडिन्छ । त्यो पर्फमेन्सका लागि सपोर्टिभ वातावरण हुनुपर्छ । तर हामीकहाँ सपोर्टिभ नभएर कम्पिटेटिभ वातावरण निर्माण भइरहेको छ । यसले महिला वा सीमान्तकृत समुदायलाई अप्ठ्यारो बनाइरहेको छ । यो कुरा दलहरुले पनि सोच्नुपर्छ । सामाजिक वातावरण पनि त्यहीअनुसार बनाउनुपर्छ ।

लो–प्रोफाइलमै बस्न चाहन्छु

हिजो जतिबेला राजनीतिमा थिएँ, विद्यार्थी आन्दोलन एउटा मुद्दामा केन्द्रित थियो । विद्यार्थीका मागहरु नै हाम्रा एजेन्डा थिए । विवाहपछि राजनीतिसँग जोडिरहे पनि फ्रन्टलाइनर भइनँ । मेरो पहिचान भनेको एउटा प्राध्यापक, एक्टिभिस्टका रुपमा मात्रै रह्यो । तर एउटा अवस्थाले फ्रन्टलाइनर भएर निस्किएँ ।

अहिले पनि हामीले राजनीतिलाई बुझ्ने ३ वटामात्रै आयाम छन्, एउटा राजनीति भनेको पावर हो, अर्को आन्दोलन हो र अर्को राजनीति भनेको अवसर हो ।

मेरो बुझाइमा राजनीति भनेको क्षेत्र पनि हो, राजनीति भनेको परिवर्तन हो । किनकी यो मास लेबलमा पुग्छ र छिटो परिवर्तन गर्न सक्छ । तर अहिले हामी कहाँ पावर गेन गर्ने प्रचलन राजनीतिभित्र छ । यसले गर्दा जो मान्छे फरक क्षेत्रबाट राजनीतिमा प्रवेश गर्छ, त्यसलाई त्यति धेरै उत्साहले नलिइँदोरहेछ । धेरै उत्साहीचाहिँ मलाई पनि गरिराखेको छैन । म आएँ, ‘तपाईं आउनुभयो, ब्याक हुनुहुन्न । यहीं रहनुपर्छ’ भन्ने कुरा कस्तो–कस्तो लाग्छ ।

कहिलेकाहीँ ‘हिजो अर्को ठाउँ थिई, अहिले आएर जान्ने भएर बोल्छे’ भन्छन् कि भन्ने लाग्छ । नेता हुँ, सांसद हुँ भनेर हाईफाई देखाउन कहिल्यै मन लाग्दैन, बरु लो प्रोफाइलमा बस्न रुचाउँछु । किनकी नेता त विचारले हुने हो, चिन्तनले हुने हो, व्यवहारले हुने हो । हाईप्रोफाइलमा गएँ भने विवाद निस्किन्छ । रवीन्द्रजी धेरै लोकप्रिय नेता हुनुहुन्थ्यो, त्यसैले पनि उहाँमाथि धेरै प्रहार भए ।

आरोप पुष्टि होस्, नभए दोषी होइन भनियोस्

विपक्षीले आरोप लगाउँदा व्यक्तिप्रति गर्ने नराम्रो संस्कार हाम्रोमा विकास भएको छ । यो राजनीतिक संस्कृति हो भन्ने मलाई लाग्दैन । प्रमाण छ भने प्रमाणका आधारमा त्यसलाई कानुनी प्रक्रियामा लैजान सक्छौं । त्यसका लागि कसैले पनि रोकेको छैन । तर जब प्रमाणै छैन, आरोपित गर्ने प्रवृत्तिले राजनीतिलाई कता लैजान्छ ? वाइडबडी पनि त्यसरी नै जोडिएको विषय हो ।

यस विषयमा रवीन्द्रजीले पनि बोल्नुभएको थियो । यस्ता विषय उठान गरिसकेपछि निराकरण नगर्ने हो भने राजनीतिमाथि आम मान्छेको प्रश्न उठिरहन्छ । राजनीतिज्ञको भूमिका सबैको यस्तै हो भन्ने परिरहन्छ । यसले आस्था, निस्था, इमान्दारितामाथि भोलि अनावश्यक रुपमा लान्छना लगाउने कुराको विकास गर्छ । यो ‘ब्लेमिङ कल्चर’ले राजनीतिलाई बेफाइदा गर्छ । त्यसकारण कसको कति दोष हो भन्ने प्रमाण हेरेर दोषीमाथि कारबाही गर्नुपर्यो ।

हिजोका दिनमा उहाँ (रवीन्द्र)को व्यक्तित्वमाथि प्रहार गरियो । उहाँ आज त हुनुहुन्न । यसमा उहाँमात्रै पनि जोडिनु भएको त थिएन । त्यसो हो भने वाइडबडीमा जोडिएका सबै के हुन् त भन्ने प्रमाण खोज्नुपर्यो । त्यसको आधारमा कारवाही गर्नुपर्यो । होइन भने सार्वजनिक रुपमा रवीन्द्रजी दोषी होइन भनिदिनुपर्यो ।

सामाजिक सञ्जालमा पनि मैले केही लेख्दा यही विषय जोडेर ह्यारेस गर्न खोज्छन्, विक्षिप्त बनाउँछन् । यो संस्कारले राजनीतिलाई मात्रै धुमिल्याएको छैन, भोलि अर्कोमाथि पनि पर्छ । दोषी छैन भने दोष लगाउनेमाथि पनि कारवाही हुनुपर्छ । नत्र त यसले हामीजस्ता मान्छेलाई कमजोर बनाउँछ नि ! भोलि कुनै निर्णय गरिएला, काम गरिएला । तर, सबैले यसले कति पैसा खायो होला भनेर दोष लगाउन सजिलो छ नि ! तर पुष्टि नभई लगाइएका आरोप खण्डित हुन्छन् । रवीन्द्र जी माथिका आरोप पनि धेरै खण्डित भइसकेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्