[ad_1]
६ माघ, काठमाडौं । सत्तारुढ दलहरुमा रातारात कुनै बेइमानी भएन भने ईन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुख बन्ने लगभग निश्चित छ । सरकारमा नगएका दलहरुको साथ लिएर नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएपनि प्रष्ट बहुमत सत्तारुढसँग भएकाले ईन्दिरा उपसभामुख बन्नेछिन् ।
बिहीबार मात्रै सभामुख पदमा भएको चुनावमा कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेले १०० मत र सत्तारुढका तर्फबाट उम्मेदवार बनेका एमाले नेता देवराज घिमिरेले १६७ मत पाएका थिए । सभामुख पदमा देखिएको यो मतान्तरले समेत भोलि शनिबार संसदमा हुने निर्वाचनबाट इन्दिरा उपसभामुख बन्ने पक्का छ ।
ईन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय भने शुक्रबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), संसदीय दलको बैठकले गरेको हो । सत्तारुढ दलहरुबीच भागबण्डा हुँदा रास्वपाले पाएको उपसभामुखमा बिहीबारसम्म ईन्दिरा नभएर काठमाडौं–२ बाट जितेकी सोविता गौतमको चर्चा थियो ।

तर तिनै सोविता प्रस्तावक रहेर उपसभामुखमा ईन्दिराको उम्मेदवारी दर्ता भएको छ । ‘हिजोसम्म जेल बाहेक संसार नदेखेकाहरुलाई संसार देखाउने आमा थिए, उनीहरुकै हकहितमा आवाज उठाउने निर्विल्प उद्देश्यमा थिए’, ईन्दिरा भन्छिन्, ‘आज मेरो भूमिका बदलिदैछ, अब मैले बिस्तारै बोल्दा पनि सुनिनेछ ।’
राज्यकै शीर्ष ६ मध्येमा पर्ने उपसभामुख बन्न लागेकी ईन्दिरालाई यो पदको गरिमा र शक्तिबारे राम्रै हेक्का छ । तर राजनीतिक सक्रियताको पृष्ठभूमि भएकाले चाहिँ होइन । उनको राजनीतिक सक्रियता त, सात महिना पहिले जन्मिएको रास्वपा भन्दा छोटो छ ।
गत ७ असारमा रवि लामिछानेले गठन गरेको रास्वपासँग चिनजानकै मेघ आलेले ईन्दिरालाई जोडेका थिए । रास्वपाको गण्डकी प्रदेश सदस्य आलेको आग्रहमै इन्दिराले महासचिव डा. मुकुल ढकालसँग भेटेकी थिइन् । केही नयाँ गर्ने भनेर खुलेको पार्टीमा लाग्न मुकुलले पनि मेघ आलेकै जस्तो आग्रह गरे । रास्वपाले त्यतिखेर प्रतिष्ठा कमाएका व्यक्तिहरु समेटेर पार्टी निर्माणको प्रयास गरिरहेको थियो ।
सभापति रवि र ईन्दिराबीच पुरानै चिनजान थियो । ‘रवि लामिछानेले तपाईं समाजसेवाबाट लडिरहनुभएको छ, यो कुरा सदनसम्म लैजानुपर्छ भनेपछि पार्टी सदस्यता लिएँ’, इन्दिरा भन्छिन् । रास्वपाले पनि उनको नाम समानुपातिक सूचीमा राख्यो ।
‘शुरुमा पार्टीको लक्ष्य बुझेँ । त्यसपछि प्रचारमा लागेँ, हाम्रो विश्वासमा सफल भयौं, म सांसद भएँ’, इन्दिरा भन्छिन् । उपसभामुखजस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने तयारीमा रहेकी इन्दिराको राजनीतिक सक्रियता संक्षेपमा यति नै हो ।
तर कैदीबन्दीको अधिकार र तिनका असाहय बालबच्चा हुर्काउने अभियानमा इन्दिराको तीन दशक सकिएको छ । ५२ वर्षीया इन्दिरा, ३३ वर्षदेखि कैदीबन्दीका बालबच्चा हुर्काइरहेकी छन् । उनको सपना र समर्पण भन्नु नै कैदीबन्दीका छोराछोरीले पनि भौतिक सुविधा र सामाजिक सम्मान पाउनुपर्छ भन्ने हो । ‘म भुइँ मान्छे, मेरो कुरा राज्यले सुन्दैनथ्यो । तर म आवाज विहीनहरुको आवाज सुन्नेछु’, इन्दिरा भन्छिन् ।
पारिजातलाई पछ्याउँदै
झापा अर्जुनधारामा जन्मिएकी ईन्दिरालाई कैदीबन्दी र तिनका छोराछोरीको पीर गर्ने चेतना भने साहित्यकार पारिजातले दिएकी थिइन् । गुजाराकै निम्ति पढाउने ईन्दिरालाई पारिजातले विशेषगरी राजनीतिक कैदीबन्दीका बालबच्चासम्म जोडिदिए ।
त्यसबेला कैदीबन्दीको अधिकारबारे पारिजात पैरवी गर्थिन् । पारिजातकै साथमा ईन्दिराको कारागार सम्बन्ध बन्यो । सन् १९९३ मा पारिजातको निधन भयो, तर ईन्दिराले बाटो बदलिनन् । बरु पाम नामक संस्थाबाट कैदीबन्दीका बालबच्चा हेर्न थालिन् ।
‘अवोध र निर्दोष बालबच्चाको अनुहार झल्झली आइरहन्थ्यो । आखिर, ती नानीहरुको के गल्ती ?’ ईन्दिरा सम्झन्छन् । शुरुमा दुई वटा कोठा लिएर तिनै कैदीबन्दीका बच्चाहरु हेर्न थालिन् । आफ्नो भविष्य र संभावना तिनै नानीहरुमा समर्पण गरिन् ।

सन् २०००, अर्थात् २२ वर्ष पहिलो ‘प्रिजनर्स असिस्टान्स नेपाल’ (बन्दी सहायता नेपाल’ मार्फत् बन्दीका बालबच्चा हुर्काउन शुरु गर्दा उनीसँग भरपर्दो आर्थिक स्रोत थिएन । तर आफूले लिएको अठोटबाट बिचलित भइनन् । एक्ली छोरी सुविनालाई जस्तै माया, स्नेह र साथ दिएर कैदीबन्दीका छोराछोरी हुर्काउन थालिन् ।
उनको कामबारे सूचना बिस्तारै फैलियो । विशेषगरी उनकै समुदाय (मगर) नेपाल प्रहरी, सशस्त्र प्रहरी हुँदै अन्तर्राष्ट्रिय क्षेत्रबाट इन्दिरा सम्मानित र पुरस्कृत हुन थालिन् । पुरस्कारबाट आउने नगद संस्थामा लगाउन थालिन् ।
संस्था खोलेको पाँच वर्षमै ‘अशोका फलो’ बाट सम्मानित भइन् । ‘यो सम्मान पाएपछि पो थाहा पाएँ, नेता भनेको राजनीतिमा होइन, सामाजिक क्षेत्रमा काम गर्दा हुने रहेँछ’ ईन्दिरा भन्छिन् । अशोका फलोबाट पाएको पैसाले उनको अभियानलाई बलियो साथ दियो । संस्थाको कोष बढ्यो ।
यसको चार वर्षमै एसिया जनसेवा अवार्ड जितिन् । सन् २००९ मा ईन्दिरालाई एसियाका २१ नेतृत्वले पाउने सम्मान दिइयो । सन् २०१४ मा प्रतिष्ठित ‘अल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ पाइन् । नोबेल पुरस्कार जितेकी पाकिस्तानकी यूसुफ मलाला र अमेरिकाका जोन उडसँगै तीन जनामा परेर ईन्दिराले यो सम्मान पाएकी थिइन् । स्वीडेनकी रानी सिल्भियाबाट यो सम्मान लिएपछि ईन्दिराको काम अन्तर्राष्ट्रिय क्षेत्रमा थप फैलियो ।
तीन वर्षपछि (सन् २०१७) बीबीसीले प्रेरणादायी तथा सिर्जनशील महिलाहरुको सूचीमा ईन्दिरालाई राख्यो । ‘अहिले मेरो स्टोरी स्पेनको ५० वटा स्कूलमा पढाइ हुने रहेंछ, क्यानडा र थाइल्याण्डमा पनि हुन्छ’, आफ्नोबारे ईन्दिरा भन्छिन् । प्रेरणादायी व्यक्तिका रुपमा मात्रै चर्चा नभएर ईन्दिराले गरेको वकालतलाई पनि समर्थन गर्ने संख्या कम्ति छैन । अरु दर्जनौं पुरस्कार र सम्मान उनले पाएकी छन् ।
तर नेपाल सरकारबाट भने बलियो साथ कहिल्यै पाउन सकेकी छैनन् । त्यसैले पनि उपसभामुखको उम्मेदवार भइसक्दा पनि उनीबारे हुनुपर्ने जति प्रचार थिएन । जबकी अहिलेसम्म कैदीबन्दीका दुई हजारबढी बालबच्चा हुर्काइसकेका छन् । ती बालबालिका हुर्काउने क्रममा मनग्यै भौतिक संरचना निर्माण गरिसकेका छन् । दुई वटा स्कूल र १० वटा बालगृह बनाइसकेका छन् ।
‘मसँग हुर्किएकाहरु कोही ब्रिटिस आर्मी भए, स्टाफ नर्स । कोही खेलाडी छन्, कोही विदेशका विभिन्न ठाउँ पुगे’ इन्दिरा भन्छिन्, ‘तर उनीहरु मेरो बाआमा जेलमा छन् भन्न सक्दैनन् । कसरी हुर्किए भन्न सक्दैनन् ।’
‘देशका लागि योग्य सन्तान जन्माउने बाआमाहरुलाई देशले सम्मान गर्नुपर्छ’, ईन्दिरा भन्छिन्, ‘छोराछोरीले बाटो बिर्से भने देशले सम्झाउनुपर्छ ।’ नगरेको गल्तीको सजाय खेपिरहेका कैदीबन्दीका बालबालिकाको कुरा सुनुवाइ नभएपछि नै आफूलाई राजनीतिमा जान बल पुगेको उनी बताउँछिन् ।
‘कारागारका बालबालिकाको हकहितको लागि लडें, केही भएन । उच्च निकायले आलटाल गरिरह्यो’ ईन्दिरा भन्छिन््, ‘ती बालबच्चाको हकहितका लागि आवाज उठाउन राजनीतिमा लागेकी हुँ ।’ दलबाट माथि उठेर नागरिकका आधारभूत आवश्यकतामा नेताहरु चिन्तित नभएको गुनासो अझैपनि उनीसँग छदैछ ।
तर कैदीबन्दीहरुका कलिला नानीहरु हुर्काउने ईन्दिराको भूमिका बदलिँदैछ छ । उपसभामुख भएपछि ईन्दिरा नेताहरुको पनि नेता बन्नुपर्नेछ । विद्यमान कानून र संसदीय अभ्यासका आधारमा सांसद र मन्त्रीहरुलाई रुलिङ गर्नुपर्नेछ । राज्यका संवैधानिक निकायमा उचित व्यक्ति सिफारिस गर्नुपर्नेछ । किनकी आफूलाई सधैं भुइँ मान्छे भनेर चिनाउने ईन्दिरा रानामगर सांसद मात्र होइन, उपसभामुखको हैसियतमा संवैधानिक परिषदको एक सदस्य बन्दैछिन् ।
[ad_2]
Source link








