पर्यटनको ढोका बन्नसक्छ कंकालिनी मन्दिर – Online Khabar


पूर्व-पश्चिम राजमार्गलाई जोड्ने आधार हो-सप्तकोशीमाथि बनाइएको बाँध र पुल । नेपाल-भारत सीमा तथा नेपालको सुनसरी-सप्तरी जिल्लाको सिमानामा सन् १९५८-१९६२ मा बनेको यो बाँधमा ५६ ढोका रहेका छन् ।

कोशी बाँधको वारि-पारि दुवैतिर टाढा-टाढासम्म तटबन्ध निर्माण गरिएका छन् । कोशी पुलदेखि पूर्व तीन किमी पर भाण्टाबारी र पश्चिममा पाँच किमी दूरीमा भारदह बजार रहेको छ ।

राजमार्ग पश्चिमपट्टकिो बाँध टुंगिनासाथ दाहिनेपट्टी भव्य कंकालिनी मन्दिर प्राङ्गणमा पुगिन्छ । स्थानीय बोलीचालीमा ‘कंकालिनी माई’ पनि भनिन्छ ।

कंकालिनी माई अर्थात् कंकालिनी मन्दिर रहेको यो स्थान भारदह क्षेत्र हो । भारदह चोक भने मन्दिरदेखि एक किमी पश्चिममा पर्छ । कंकालिनी मन्दिर उहिले साविक भारदह गाउँ विकास समिति-१ मा र अहिले हनुमाननगर-कंकालिनी नगरपालिका-१ मा पर्छ । हनुमान र कंकालिनी मन्दिरको नामबाट यहाँको पालिकाको नामकरण गरिएको हो ।
यसअघि १ र २ नं. योगिनिया, गोबरगाढा, इनर्वा तथा हनुमाननगर गाविस जोडेर हनुमाननगर-योगिनीमाई नगरपालिका नामकरण गरिएको थियो । योगिनियामा वैष्णोदेवी माताको मन्दिर छ भने हनुमाननगरमा हनुमानको ।

सप्तरी जिल्लास्थित कंकालिनी मन्दिर प्रदेश-२ का प्रसिद्ध मन्दिरहरूमध्येमा पर्दछ । यो मन्दिर पाँचस्तरको प्यागोडा शैलीमा निर्माण गरिएको छ । यो चौथो पटक निर्माण भएको मन्दिर हो ।

सबैभन्दा शुरूको मन्दिर रहेको स्थान कोशी नदीको गर्भमा परेको छ । त्यसको निर्माण कसले गरेका थिए भन्ने अहिलेसम्म अज्ञातै छ । तर २०० वर्षअघि बैरवाका विर्तावाल पण्डित उदयानन्द अज्र्यालले बनाएको भन्ने जानकारहरूको दाबी छ ।

यता ५० वर्षअघि सन् १९७२ मा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्र -बलुवा, भारत निवासी) ले मन्दिर बनाउन लगाएका थिए । सो संरचना जीर्ण भएपछि २० वर्षअघि अहिलेको मन्दिर बनेको हो ।

मन्दिरमा कंकालिनी देवीको प्रतिमा स्थापना गरिएको छ । पत्थर र मूर्तिकलाका दृष्टिले यो प्रतिमाÙ काठमाडौंको दक्षिणकालीमा स्थापित प्रतिमा जस्तै कौशल झल्कने रहेको इतिहासकारहरूको कथन छ ।

इतिहासविद् हरिकान्तलाल दासको पुस्तक ‘सप्तरीको राजनीतिक इतिहास तथा प्रमुख धार्मिक स्थलहरू’ मा उल्लेख गरेअनुसार मन्दिरको गर्भगृहमा क्रमशः देब्रेबाट दाहिनेतर्फ ढंुगाको गणेश, बीचमा मूल देवी -जसलाई कंकालिनी भनिन्छ) त्यसपछि दक्षिणकाली, त्यसको छेउमा सानो आकारको विष्णुको मूर्ति छ ।

मन्दिरभित्रै पूर्वतर्फ कुनामा शिवलिंग स्थापित छ । यसबाहेक एउटा पुरानो ढुंगाको मूर्ति जस्तै देखिन्छ । त्यसलाई पुजारीहरू कालभैरव वा बटुक भैरव मान्छन् ।

कंकालिनी भगवतीको स्वरूप-विषयमा पुरातत्त्व विभागले प्रकाशन गरेको सांस्कृतिक सम्पदाको प्रारम्भिक प्रतिवेदन भाग-८ मा ‘अष्टमातृका देवीहरूमध्येकी एक चामुण्डा देवीको मूर्ति’ भनी उल्लेख गरिएको छ

मन्दिरको बाहिरी हाता रमणीय मात्र छैन त्यहाँ हनुमानको मूर्ति स्थापना गरिएको छ । मन्दिरभित्र प्रतिस्थापित मूल देवी कंकालिनीको मूर्ति कालो शालिग्राम रंगको ‘रौद्र’ आकारको छ ।

मूल देवीको स्वरूप हेर्दा कुनै दानवलाई मारेर उसको आन्द्रा विशाल दाँतले चपाइरहेको प्रतित हुन्छ । मूर्ति तीन फिट लामो तर खण्डित अवस्थामा छ, जो अत्यन्तै विकराल देखिन्छ । कंकालिनी माईको यो स्वरुपले जो-कोहीलाई भयभित नगर्ला भन्न सकिन्न ।

आस्थाको केन्द्र

कंकालिनी शक्तिपीठ हो । स्थानीयले देवीको ‘मुखले कंकाल च्यापेको’ देखेर कंकालिनी देवी भन्न थालेको मान्यता व्याप्त छ । तर पुरातत्त्व विभागले प्रकाशन गरेको सांस्कृतिक सम्पदाको प्रारम्भिक प्रतिवेदनको आठौं भागमा कंकालिनी भगवतीको स्वरूपको विषयमा ‘यो मूर्ति अष्टमातृका देवीहरूमध्येकी एक चामुण्डा देवीको मूर्ति हो’ भनी उल्लेख गरिएको छ ।

मार्कण्डेय पुराणअन्तर्गत दुर्गा सप्तशतीमा देवीका रूपहरूको वर्णन गरिएको पाइन्छ । देवीको काली अवतारले असुर चण्ड र मुण्डको बध गर्ने क्रममा दैत्यहरूलाई पक्रँदै, घिच्रो न्याँक्दै, पाउले कुल्चँदै, छातीले धक्का दिंदै, मुखमा हाल्दै चपाउँदै, रक्तपान गर्दै उनीहरूको संहार गर्दछिन् । कंकालिनी देवीको मूर्ति दुर्गा सप्तशतीमा वणिर्त चण्ड-मुण्ड संहारक देवी कालीको स्वरूपसँग मेल खान्छ । कंकालिनीको स्वरूप दुर्गाको एउटा रूप काली हो भन्ने कुराको पुष्टि बैरवा गाउँको लालमोहरबाट पुष्टि भएको मानिन्छ ।

कंकालिनी मन्दिरको पूजा व्यवस्थाका लागि वि.सं. १८७१ मा राज्यद्वारा गरिएको जग्गादान लालमोहरको शीर्षकमा ‘श्री दुर्गाज्यू श्री कालिकाज्यू’ भनी उल्लेख गरिएकोबाट कंकालिनी देवी कालीको रूप भएको मान्न सकिन्छ ।

देवी महात्म्यका अनुसार देवीको सौम्य, उग्र र सौम्य-उग्र गरी तीनवटा स्वरूप रहेको पाइन्छ । यसमा कंकालिनी उग्र स्वरूपकी देवी रहेको प्रतीत हुन्छÙ जसलाई अधिकांशतः तान्त्रिक साधकहरूद्वारा पुजिने परम्परा छ ।

तर कंकालिनी देवीले साधारण भक्तजनलाई पनि अचूक सिद्धि प्रदान गर्छिन् भन्ने विश्वास जनमानसमा छ । कंकालिनी कंकालीको अपभ्रंश हो कि भन्ने पनि लाग्दछ ।

नेपालमा बाराको सिम्रौनगढमा कंकालिनी मन्दिर रहेको बताइन्छ । भारतमा त कंकालिनी मन्दिरको नामले दर्जनौं मन्दिर रहेको पाइन्छ ।

यसरी हेर्दा कंकालिनी माई देशकै महत्वपूर्ण धार्मिक धाम हुनसक्ने सम्भावना देखिन्छ । हुनत कंकालिनी मन्दिरमा दिनहुँ भक्तजनको ठूलो उपस्थिति रहन्छ । नेपाल र भारतको टाढा-टाढाबाट कंकालिनी भगवतीको दर्शनका लागि भक्तजन ओइरिन्छन् ।

अझ नवरात्र -दशैं) का बेलाको भीड हेर्नलायकको हुन्छ । हुनत वर्षमा चारवटा नवरात्र पर्दछन् तर शरद ऋतुमा मनाइने शारदीय नवरात्र र वसन्त ऋतुको चैत्र नवरात्रमा भने भक्तजनको ठूलै भीड हुन्छ ।

चर्चित बलि प्रथा

कंकालिनी मन्दिरको ‘बलि प्रथा’ निकै चर्चित छ । यस मन्दिरमा भाकल गरी भक्तजन बोका, भेडा, परेवा, हाँस, पाठो, राँगाको बलि दिन्छन् । यहाँ दैनिक ५० भन्दा बढी बलि चढाइन्छ । तर नवरात्रमा हजारौं संख्यामा बलि चढ्छन् ।

कतिपयले पञ्चबलि चढाउँछन् । वर्षको १०-१५ हजारभन्दा बढी बलि प्रदान हुने गरेको बताइन्छ । शारदीय नवरात्रको नवमीमा राँगाको बलि दिने चलन छ । बाराको गढीमाईपछि धेरै राँगाको बलि चढाइने कंकालिनी मन्दिर पनि हो । कंकालिनी मन्दिरमा पछिल्लो वर्ष ६०४ वटा राँगाको बलि चढाइएको बताइन्छ ।

किंवदन्ती अनुसार भारदहदेखि पाँच किमी उत्तर-पूर्वी बैरवा गाउँ निवासी विर्तावाल पण्डित उदयानन्द अज्र्याललाई देवीले सपनामा ‘म भारदह गाउँमा रहेको पीपलको वृक्षमुनि छु । मेरो मन्दिर बनाएर पूजा गर्ने गर । म तिम्रो वंशको रक्षा गर्नेछु’ भनिछन् । अज्र्यालले सपना देखेको अर्को दिन पीपल मुनि उत्खनन् गर्दा देवीले सपनामा बताए जस्तै प्रतिमा भेटियो । अज्र्यालले त्यहाँ मन्दिर बनाउन लगाएर देवीलाई प्रतिस्थापित गर्दै नियमित पूजापाठको व्यवस्था गरेछन् ।

कंकालिनी मन्दिर सञ्चालनका लागि आयस्रोत होस् भनेर मुख्तियार (प्रधानमन्त्री) भीमसेन थापाले १० बिघा जग्गा दिएको इतिहास छ । वि.सं. १८६३ देखि १८९४ सम्म नेपालमा भीमसेन थापा मुख्तियार (प्रधानमन्त्री) रहेका थिए । राजा रणबहादुर शाहका हजुरिया भएपछि भीमसेन थापाको उदय भएको थियो ।

कंकालिनी मन्दिरदेखि दुई-तीन किमी दक्षिण कोशी बाँधछेउ योगिनीमाई र वैष्णोदेवीका मन्दिर रहेका छन् । यस गाउँका नागेश्वर यादव गोठिया कुनै समय जम्मु-कश्मिर पहाडमा अवस्थित वैष्णोदेवीको मन्दिर पुगेका थिए । त्यहाँ उनी दुर्घटनामा परेर अचेत भए । त्यही अचेतावस्थामा मातारानी वैष्णोदेवी सपनामा आइन् र आफ्नो गाउँठाउँमै मेरो पूजा आराधना गर भनी आदेश दिइन् ।

नागेश्वर गाउँ फर्किएर मातारानीको मन्दिर स्थापना गरी पूजापाठ शुरू गरे । यस मन्दिरको पनि टाढा-टाढासम्म निकै ठूलो ख्याति रहेको छ ।

०००

सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर श्री हनुमानको नामबाट परिचित छ । यस मन्दिरमा कालो पत्थरको हनुमानको प्राचीन मूर्ति स्थापित छ । यस्तो प्रस्तरको मूर्ति भारतको उज्जैनमा मात्र छ ।

नेपालको सबैभन्दा ठूलो सप्तकोशी चीनको हृवाङ्हो नदीपछि तीव्र गतिमा बहने विश्वको दोस्रो हो । यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, दूधकोशी, लिखु, तामाकोशी र इन्द्रवती पर्दछन् । सातवटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी भनिएको हो । सप्तकोशीको किनारमा रहेको कंकालिनी मन्दिर धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको स्थल हो ।

कसरी जाने कंकालिनी

कंकालिनी मन्दिरदेखि २५ किमी उत्तर-पूर्व कुनामा कोशीटप्पु वन्यजन्तु आरक्ष पर्दछ । सन् १९८७ मा सिमसारमा सूचीकृत गरिएको कोशीटप्पु एक रमणीय पर्यटन केन्द्र हो । कोशीटप्पु यहाँबाट कञ्चनपुर हुँदै र अर्को सुनसरीको हरिपुरबाट जान सकिन्छ ।

तर कोशी नदीको पश्चिमी किनारामा बनेको तटबन्ध हुँदै गएमा एकैछिनमा पुग्न सकिन्छ । १७५ वर्ग किमी क्षेत्रफलको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लासम्म फैलिएको छ । सन् १९८७ मा रामसार सूचीमा सूचीकृत नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित छ ।

कंकालिनी मन्दिरमा आउने पर्यटकलाई रामसार क्षेत्रमा पनि जोड्न सकिन्छ । आरक्षमा ४८९ प्रजातिका चरा, दुर्लभ अर्ना, घडियाल गोही र डल्पिmन समेत पाइन्छ ।

सन् १९७६ मा लोपोन्मुख अर्ना (जंगली भैंसी) हरूको संरक्षित बासस्थानको रूपमा आरक्ष स्थापना भएको हो । राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साइवेरियादेखि घुमन्ते चराहरू आवतजावत गर्ने गर्दछन् ।

आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ । कंकालिनी मन्दिरबाट कोशीटप्पु आरक्ष टुरिष्ट सेवा सञ्चालन गरिएमा विशेष आकर्षण थपिनेछ ।

कंकालिनी मन्दिरदेखि पश्चिम-उत्तर राजमार्गछेउ महादेवपट्टीमा महादेव मन्दिर, रूपनगरमा विष्णु मन्दिर र घोघनपुरमा भजनेश्वरनाथ शिव-पार्वती मन्दिर रहेका छन् । यी मन्दिरका मूर्तिहरू पनि भूगर्भबाट नै फेला पारिएको हो ।

राजमार्गको भारदह-कञ्चनपुरबीच बरमझिया गाउँ पर्दछ । यहाँको पेडा (मिठाई) निकै लोकप्रिय छ । बरमझियालाई अहिले ‘पेडा गाउँ’ पनि भन्न थालिएको छ ।

०००

कंकालिनी मन्दिरदेखि ३७ किमी दक्षिण-पश्चिम भारतीय सीमानजिक सखडा शक्तिपीठ पर्दछ । यसको पूरा नाम छिन्नमस्ता सखडेश्वरी हो । यस मन्दिरको पाँच किमी दक्षिण-पश्चिम भारतको महादेव मठमा वीरभद्र भैरवको मन्दिर अवस्थित छ ।

सातौं शताब्दीअघि तिरहुत नरेश शक्रसिंह देवले देवीको स्वप्न पाएर जंगल सफा गराउँदा भेटिएको देवी प्रतिमालाई कुलदेवीको रूपमा प्रतिस्थापित गरी उपासना आरम्भ गरेका थिए । देवीको शिर विच्छेद भएको देखेर यसको नाम छिन्नमस्ता भनिन थालियो । पछि अध्ययन हुँदै जाँदा देवी प्रतिमा महिषासुरमर्दिनीको रहेको पाइयो ।

मन्दिरभित्र मूलदेवीका रूपमा महिषासुरमर्दिनी भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । मूर्तिको खुट्टातिर राँगाको काटिएको टाउको प्रष्ट रूपमा ढुंगामा कुँदिएको छ । मूल मूर्तिको देब्रेतिर दक्षिणकाली, महिषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति पनि स्थापित छ ।

यहाँ दश महाविद्याका मन्दिर पनि निर्माणाधीन छन् । नेपाल र भारतबाट ठूलो संख्यामा भक्तजन कंकालिनी र सखडा शक्तिपीठको दर्शन गर्न आउँछन् । तर कंकालिनी (भारदह) – सखडेश्वरी (सखडा) सीधा बस सेवा नभएकाले उनीहरू आधा इच्छा मात्र पूरा गरी फर्कन्छन् ।

कंकालिनी मन्दिरलाई सप्तरीको धार्मिक पर्यटनको साँचो मानेर जिल्लाकै एकीकृत धार्मिक पर्यटकीय विकास कार्यक्रम बनाएर लागू गरेमा उपलब्धिमूलक हुनेछ । पूर्व-पश्चिम राजमार्गमा अवस्थित रहेकोले यस मन्दिरको विकासको सम्भावना प्रचुर छ । भारदह प्रदेश-२ को प्रवेश बिन्दु पनि हो । यसर्थ यहाँ प्रदेश सरकारको पनि उपस्थिति देखिने गरी कुनै संरचनाको निर्माण हुन आवश्यक देखिन्छ ।

(लेखक निजामती कर्मचारी ट्रेड युनियन, सप्तरीका अध्यक्ष हुन् ।)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0