एकैपटक ३ सय विद्यार्थी बिरामी

शिक्षक र अभिभावकमा पनि उस्तै लक्षण,२७ महिनाकी बालिकाको मृत्यु

एकैपटक ३ सय विद्यार्थी बिरामी

दैलेख — यहाँको एक विद्यालयका झन्डै ३ सय विद्यार्थी एकैपटक बिरामी परेका छन् । नारायण नगरपालिका–५ धिताहस्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थीमा ज्वरो आउने, रिंगटा लाग्ने, वान्ता हुने, नाकबाट पातलो पानी बग्नेलगायत समान लक्षण देखिएको छ ।

सानाठूला सबैजसो विद्यार्थीमा समस्या देखिएको प्रधानाध्यापक घनश्याम रेग्मीले बताए । उनका अनुसार विद्यालयमा ३ सय २० जना विद्यार्थी पढ्छन् ।

शिक्षक र अभिभावकमा पनि उस्तै लक्षण देखिएको छ । प्रअ रेग्मीका अनुसार गत शुक्रबारदेखि विद्यार्थी बिरामी हुन थालेका हुन् । विद्यार्थी बिरामी परेपछि बुधबारबाट ३ दिनका लागि पठनपाठन बन्द गरिएको छ । ‘सुरुमा बालविकासका एकाध विद्यार्थीहरु बिरामी परे । त्यसबेला खासै ख्याल गरिएन,’ उनले भने, ‘तर आइतबारदेखि बिरामी हुने विद्यार्थीको संख्या ह्वात्तै बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका हौं ।’ उनले अधिकांस अभिभावक र शिक्षकलाई विद्यार्थीबाटै रोग सरेको दाबी गरे ।

मंगलबार जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार थालेको छ । रोगको अवस्थाबारे बिहीबार गरिने थप परीक्षणपछि मात्रै पत्ता लाग्ने जिल्ला अस्पतालका डा. विवेक गुरुङले बताए । ‘हिजो (मंगलबार) विद्यालयमै सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरी औषधि दिएर घरमै आराम गर्न पठाएका छौं । कुनै गम्भीर समस्या आए खबर गर्न पनि भनेका छौं,’ डा. गुरुङले भने, ‘आज (बुधबार) अभिभावक र शिक्षकहरुले पनि आफूलाई उस्तै लक्षण देखिएको बताउनु भएको छ ।’ उनका अनुसार लक्षण हेर्दा सरुवा रोग भएको पुष्टि हुने र क्रमश: एकपछि अर्को गर्दै विद्यार्थी, शिक्षक र अभिभावकलाई समेत सरेको देखिएको छ । ‘सामान्य ज्वरो हो कि अरु रोग हो भन्ने कुरा भोलिको परीक्षणबाट थाहा हुन्छ,’ उनले भने, ‘थप संक्रमण फैलन नदिन सबैलाई निगरानीमा राखेर उपचार गरिरहेका छौं ।’

कोरोना संक्रमण फैलिएको आशंकामा बिहीबार सबै विद्यार्थीको स्वाब संकलन गर्ने तयारी गरिएको त्रिवेणी स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताए । पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न आवश्यक सबै तयारी गरिएको पनि शर्माले जानकारी दिए ।

ज्वरोका कारण नारायण नगरपालिका–५ छातिकोटका धनबहादुर रानाकी २७ महिने छोरी पुष्पा रानाको मृत्यु भएको छ । एक साताअघिदेखि उच्च ज्वरो आएपनि रानाले छोरीलाई घरेलु उपचार र झारफुक गरी घरमै राखेका थिए । डा. गुरुङका अनुसार उनलाई १ सय ३ डिग्री सेल्सियससम्म ज्वरो आएको थियो । मृतककी दिदी प्रेमिका पनि ज्वरोले थलिएकी छन् । उनी नवदुर्गाकै छात्रा हुन् । पुष्पाबाटै प्रेमिकामा ज्वरो सरेको हुनसक्ने स्वास्थ्यकर्मीको अनुमान छ । प्रेमिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0