४१ वर्षपछि आमा छोराको भेट : झण्डै चिनिँन ! फोक्से मासु लागेछ


८ चैत, इलाम । इलामको माई नगरपालिका–१०, लुम्बाकमा आइतबार दिउँसो बेग्लै उल्लास थियो । गाउँभरिका मानिस घिमिरे गोलाइमुन्तिर लामबद्ध भएर बसेका थिए ।

उनीहरुको सबैको चासो थियो, क४१ वर्षअघि हराएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) कस्ता भएछन् ?

भीडभन्दा केहीपर भुइँघरको दलानमा टुक्सुक्क बसेकी थिइन्, ८६ वर्षीया धनमाया तिम्सिना । उनी वेलावेला सडकतिर हेरिरहन्थिन्, फर्किएर पुरानै ठाउँमा आउँथिन् ।

दिउँसो साढे ३ बजेतिर चोकमा दुई वटा गाडी लस्करै प्रवेश गर्यो । अघिल्लतिरको गाडीमा थिए, दीपक । उनी ओर्लिने वित्तिकै भीडले घेरिहाल्यो । कान्छा छोरा धर्मानन्द लगायतले दोहोर्याउँदै उनलाई आमा भएतिर ल्याए ।

चार दशकपछि छोरा भेट्दा धनमाया निःशब्द भइन् । छोराले पनि बोल्न सकेनन् । धनमायाले दुर्गाप्रसादलाई मुसारिन् र, मुख खोलिन्, ‘बिरामी छ कि क्या हो, बोल्दैन त !’

लगलग कामिरहेका दुर्गाप्रसाद टोलाइरहे, बोलेनन् ।

स्थानीयले दुर्गाप्रसादलाई माला लगाइदिए । उनलाई लिन कोलकाता पुगेका भाइ प्रकाशचन्द्रले मिठाइको बट्टा निकाले । वेस्ट बंगाल रेडियो क्लबका अध्यक्ष अम्बिरसनाग विश्वासले पठाइदिएको मिठाइ भन्दै आमालाई खवाइदिए ।

आमाले दुर्गाप्रसादलाई मिठाइ खुवाइदिन खोजिन् तर, खाएनन् । केहीवेरमा कोलकाताबाट उनलाई ल्याएका भाइ प्रकाशचन्द्र तिम्सिनाले उनलाई मिठाइ खुवाइदिए ।

***

‘छोरालाई देख्ने वित्तिकै चिन्नुभयो त ?’ अनलाइनखबरकर्मीको प्रश्न भईँमा खस्न नपाउँदै उनी हाँस्दै बोलिन्, ‘सुरुमा त झण्डै चिनिन पो ! फोक्से मासु लागेर विग्रिएछ ।’

वर्षौपछि छोरा आउँदा खुशी लागेको उनले बताइन् । तर उनले धित मर्ने गरी कुरा गर्न पाएकी छैनन्, यात्रो वर्ष कसरी वितायौं भनेर सोध्न पनि पाएकी छैनन् ।

‘के सोध्नु र ! बोल्न त सक्दो रहेनछ’, आमा धनमायाले अनलाइनखबरसँग भनिन् ।

तर उनको मानमस्तिस्कमा छोरा १९ वर्षको छँदा एकतप्पाबाट हिँडेको चार दशक पहिलेको हरेक क्षण ताजै छ । ‘तोरी टिपेर बेच्न मंगलबारे जान्छु भनेर हिँडेको थियो’, उनले सुनाइन्, ‘खै.. २०-२५ रुपैयाँ पाएछ, त्यही लिएर कहाँ गयो, गयो ।’

उनकाअनुसार २०२४ सालमा श्रीमान्को मृत्यु भयो, दुर्घटनामा परेर उनको पनि हात काट्नुपर्यो । त्यसपछि परिवारको जिम्मेवारी दुर्गाप्रसादको काँधमा आइपुग्यो । त्यसपछि दुर्गाप्रसादले ‘यहाँ दुःख हुन्छ, कमाएर ल्याउँछु’ भन्ने गरेको धनमाया सम्झन्छिन् ।

तर, हराएको वेला चाहिँ आफूलाई थाहै नदिइ दुर्गाप्रसाद हिँडेको उनी दुःखेसो गर्छिन् । ‘इलाममा आफन्तले देखेका रैछन्, गाडीमा चढेर गयो भनेका थिए’, धनमायाले ४० वर्ष अघिको कुरा सुनाइन्, ‘रोक्छन् कि भनेर लुक्दैलुक्दै हिँडेछ ।’

***

मंगलबारे हुँदै दार्जिलिङ पुगेपछि दुर्गाप्रसादलाई हत्या अभियोग लाग्यो । १ नम्बर प्रदेशका प्रदेशसभा सांसदसमेत रहेका उनका आफन्त धिरेन्द्र शर्माका अनुसार जुनु गुरुङको हत्या गरेको अभियोग उनीमाथि लगाइएको थियो ।

किटानी जोहरीलाई उदृत गर्दै शर्माले भनेअनुसार गुरुङको शव दार्जिलिङको एक खोल्सामा भेटिएको थियो । अनुसन्धानका लागि खटिएको प्रहरीले नेपाली मुलको व्यक्ति घटनामा संलग्न रहेको जानकारी पायो ।

घटनास्थल नजिकै एक जना खैरो ज्याकेट र कोठे सर्ट लगाएको नेपाल घर बताउने मानिस बसेको नजिकै रहेको विद्यालयका विद्यार्थीले प्रहरीलाई बयान दिए । त्यही आधारमा प्रहरीले दुर्गाप्रसादलाई पक्राउ गरेको कागजातबाट देखिने शर्मा बताउँछन् ।

‘जाहेरीबाहेक उनीविरुद्ध कुनै प्रमाण छैन’, शर्माले अनलाइनखबरसँग भने, ‘त्यसपछि हत्या भएको भन्ने पक्षबाट कुनै फलोअप पनि छैन र घटनाको मुचुल्का पनि देखिँदैन ।’ प्रहरी अनुसन्धानबाट प्रमाणित हुने कुनै आधार भेट्टाएन । तर अदालतले दुर्गाप्रसादलाई मानिसक रुपमा कमजोर करार गरिदिएको उनको दाबी छ ।

आमा धनमाया पनि छोराले कसैको हत्या ग¥यो होला भन्ने विश्वास नरहेको बताउँछिन् । उनी भन्छिन्, ‘सोझो थियो, जग्गा किन्छु भन्थ्यो, जेल हाल्दिएछन् ।’

धनमायामा अनुसार उनलाई एक दिन छोरा आउँछ भन्ने लाग्थ्यो । तर कुनै अत्तोपत्तो थिएन । ‘पोहोर दार्जिलिङमा रहेको थाहा पाएपछि झन धेरै आश लाग्यो’ उनले सुनाइन् ।

***

छोरा वेपत्ता भएको केही वर्षपछि धनमाया पनि आफन्त केदारनाथ बसेकाले लुम्बाकतिर बसाइँ सरेकी थिइन् । दुर्गाप्रसाद आइतबार त्यही पुगेका छन् ।

भाइ प्रकाशचन्द्रका अनुसार दाजुको ब्रतबन्ध गरिदिने परिवारको योजना छ । त्यो भन्दा पहिले उपचार गर्नुपर्नेछ ।

‘विभिन्न सरकारी अस्पतालमा कुरा गर्नुपर्ला, नभए सहयोगीहरु पनि खोज्नुपर्ला’, आफन्त धिरेन्द्रले अनलाइनखबरसँग भने, ‘अब पहिलो प्राथमिकता उपचार नै हो ।’

उनको मुद्दा पनि टुंगिएको छैन । दुर्गाप्रसादको पक्षमा बहस गरेका उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा भने उनीमाथि लागेको आरोपको विषयमा फैसला भइनसकेको बताउँछन् । उनी भन्छन्, ‘सोमबार फेरि सुनुवाइ हुँदैछ, उनीमाथि लागेको अभियोगको छिनोफानो हुन अझै समय लाग्छ ।’

***

अधिकांश समय मौन रहने दुर्गाप्रसादको मुखबाट बेलाबेला दुई÷चार शब्द निस्किन्थ्यो । छेऊमा आएका आफन्तले सामान्य परिचय दिएपछि उनले मुन्टो हल्लाउँथे, चिनेको संकेत दिन्थे ।

उनको मौनता तोड्न नाती गोपाल तिम्सिनाले ‘अब बुहारी र ठूलो ममीसँगै ल्याउनुपर्छ’ भन्दै ठट्टा गरे । अरु बेला चुपचाप बसिरहने दुर्गाप्रसाद नाती बोलेपछि भने हाँसे । गोपालले फेरि थपे, ‘कि गर्लफ्रेण्ड पो छ कि ! बिहे गर्नुपर्छ ।’ त्यसपछि चाहिँ उनले मुस्कुराउँदै मुख खोले, ‘गर्दिन ।’

घरमा उनले धेरै कुरा गरेका छैनन् । कतिपय वेला चाहिँ उनी आफैं गीत गुन्गुनाइदिन्थे । नाती गोपालका अनुसार उनले पुरानो हिन्दी गीत गाएका हुन्, तर बोली स्पष्ट बुझिँदैथ्यो ।

अदालतमा पेश गरिएको उनको मानिसक स्वास्थ्य जाँचको रिपोर्टले पनि दुर्गाप्रसाद ९/१० वर्षको बच्चाको जस्तो हालतमा रहेको देखाएको छ ।

तर परिवारका सदस्यहरुले भने लामो समय जेलमा बसेका उनी डराएको हुनसक्ने बताउँछन् । आइतबार साँझसम्मको उनको हाउभाउ हेर्दा भने उनी विस्तारै खुल्दै गएको देखिन्थे । साँझतिर उनी आफैं आँगनमा निस्किए र हात खुट्टा धोए । त्यसपछि कोठातिर लागे ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0