हिउँमुनी महादेव – Online Khabar


माघ २३ को शुक्रबार । काठमाडौं बस्ने दुईजना भाइलाई समयले नुवाकोटको मेरो डेरासम्म लिएर आयो । चल्तीको विधिअनुसार शुक्रबारको साँझ ढल्दै थियो,‘गोसाईकुण्ड जाउँ’ उनीहरुमध्ये कसैले प्रस्ताव राख्यो । रातको ११ बजे दुई बाईकमा तीन जना मान्छे धुन्चेको निस्किए ।  पछिपछि  उस्तैगरी दौडियो मोटरसाईकलको अग्लो छाँया ।

गासाईकण्ड जान यहाँबाट तीन रुट समात्न सकिन्छ । पहिलो रुटमा जाने हो भने रसुवा सदरमुकाम धुन्चे पुगेपछि बसले तपाईँलाई ‘मेरो सेवा सकियो’ भन्छ । त्यसपछि जुत्ताको तुना र हातको लट्ठी जाँच गरेपछि तपाईंको पैदल यात्रा सुरु हुन्छ ।  यो रुटमा ८ ठाउँमा होटेल–बस्ती भेटिन्छन ।

यो रुटमा एक घन्टा हिँडेपछि घट्टेखोला पुगिन्छ । त्यहाँबाट २३ सय मिटर अगाडि करिब डेढ घन्टा हिँडेपछि खेंदी, खेंदीबाट २६ मिटर पार गरेपछि एक घन्टामा देउराली टेकिन्छ ।  त्यहाँबाट ३१ सय सात मिटर हिँडेपछि चन्दनबासी पुगिन्छ । चोलाङपाटी पुग्न फेरि डेढ घन्टाको यात्रा तय गर्नुपर्छ । त्यसपछि सुरु हुने उकालो नाघेर लोरीबिना पुग्न करिब ३ घन्टा पैदल हिँड्नुपर्छ । उकालो सकिने वित्तिकै डाँडामा बुद्ध मन्दिर देखिन्छ । त्यहाँदेखि डेढ घन्टा पार गर्ने हो भने पुगिन्छ गोसाइंकुण्ड ।

काठमाडौंमा  बिबिए पढ्दै गरेका दुई तन्नेरी हुन श्री (गुल्मी) र राजन (स्याङजा) । मेरो यो यात्राका सारथी । उनीहरुसँग यो यात्राको स्मरण निकै मिठो बन्यो ।

अर्को रुट छ स्याफ्रुबेशी–ठूलोस्याफ्रु– चोलाङ्गपाटी–लौरीबिना–गोसाईकुण्ड । प्रायजसो लाङटाङ्ग–गोसाईकुण्ड पैदलयात्रीले यो रुट प्रयोग गर्छन ।

तेस्रो रुटलाई गोसाईकुण्ड सर्किट रुट पनि भनिन्छ । यो सुन्दरीजल–मेलम्ची पुल–कुटुमस्यांग–सुर्यकुण्ड हुँदै गोसाईकुण्डको यात्रा तय गर्न सकिन्छ ।

हामीले रुट नम्बर एक प्रयोग गर्यौ । छोटो समयमै  गोसाईकुण्ड मात्र पुग्नका लागि यो रुट उपयुक्त मानिन्छ ।

धुन्चेका होटेलवाला दाइ
अघिल्लोपटक गोसाईकुण्ड जाँदा धुन्चेमा बसेको होटलवाला दाइ (साहु)लाई न मैले बिर्सेको थिए न मेरो मोबाइल फोनले । एक रिङमै आधारातमा उनी हामीलाई धुन्चेमा स्वागत गर्न राजी भए ।  बाटो बिराएर हामी अनुमानभन्दा एक घण्टा ढिलो गरी रातीको  २ बजे त्यहाँ पुग्दा पुरै धुन्चे निन्द्रामा मस्त भएको  साँची बसिरहेको थियो ‘होटेल तिबेट लासा’ ।

बिजुलीवाला दिदी

धुन्चेबाट एक घन्टाको हिँडाइपछि घट्टेखोलाको टीसप आईपुग्छ्र । धुन्चेबाट अघि लाग्नेबित्तिकै जमेको पानीका थोपाहरु खस्न थाले (जसलाई फुस्रो भनिदो रहेछ )। हामीसँग पानी छेक्ने सारजाम केही थिएन ।  कम्तीमा झोला बचाउँदा त्यसभित्रका कपडा बच्थे भन्ने लोभ पलायो !

अघिल्लोपटकको यात्राले हामीलाई यो टीसपसँग परिचित बनाइसकेको थियो । दाइ विद्युतमा काम गर्ने जानकारी पाएपछि हामीले दिदीको नाम पनी जुराईदिएका थियौँ– बिजुलीवाली दिदी । ओढ्ने पोलिथिन पनि नापाएपछि श्रीले दिदीसँग चामलको बोरा मागे । भित्र झोला राखे र दुईटा हात छिराउन मिल्ने बनाए । अनि तयार भयो ‘सेल्फमेड’ ब्याग कभर ।

हर्सिद्दु फ्रम हर्याना

देउरालीको होटेलमा प्रेसर कुकरले सिठी बजाएको मधुरो आवाज बाहिरसम्म सुनियो । कुकरले परिरहेको  बाक्लो हिउँ र हावाको आवाजलाई जित्यो । हामी अगेनाको डील छेउमै बसेर खाना खाँदै गर्दा कोही त्यहीँ आइपुग्यो– चिसो पानी माग्दै ।

हर्सिद्दु (उचाइँ ६ फिट, उमेर २२ वर्ष) भारतको हरियाणाबाट नेपाल आएको २१ दिन भएछ ।

पोखरा, लुम्बिनी, मुस्ताङ, केन्जीन, लामटाङपछि उनको यो अन्तिम गन्तव्य रहेछ । उनी एक्लै हिड्छन्, भ्लग बनाउँछन् । भन्छ, ‘भाइसाप एकपटक  म विश्वविद्यालयबाट बाहिर निस्केँ भने संसारलाई पैताला मुनी राख्नेछु ।’ हाम्रो बाँकी तीन दिनको यात्रामा हाम्रो टोली चार जनाको भयो ।

सोनाम लामा

होटेल रेड पाण्डाका साहुकी भान्जी हुन सोनाम लामा । चन्दनबारीको एकमात्र खुल्ला होटेल ! सोनामले मामाको होटेल चलाउने जिम्मा पाएकी छन् । अफसिजन भएकोले रुटमा धेरै होटेल ताल्चा भरोसामा मालिक पर्खिएर बसेका छन् ।  झन्डै एक फिट बाक्लो हिउँमा हर्सिद्दुको जुत्ताले बनाएको बाटो पच्छ्याउँदै टर्चले हामीलाई चन्दनबारीसम्म पुर्‍यायो । सरकारी चिज उद्योगका कान्छा तामाङ त्यहीँ भेटिए । हाम्रो स्पोर्ट्स सुजमा जमेको हिउँ देखेर कान्छा तामाङको मन पग्लिएछ । हामीले निशुल्क गमबुट पायाँै, गोसाईकुण्ड पुगेर फर्किने बेलासम्मका लागि ।

यात्री

लौरीबिनाको उकालो लौरी टेकेर उक्लिने तन्नेरीहरुको संख्या करिब २० जति हुँदो हो । नाङ्गो उकालो पुरै हिउँले ढाकिएको थियो । अनुमान नै सही, अघि हिड्नेले बाटो बनाउँथ्यो । हामी त्यही पदचाप पच्छ्याउँथ्यौँ । अगाडि उभिएका र चारैतिर सेतै हिमाल हेथ्र्यो।  बुद्ध मन्दिर, लौरीबिनाको उकालो सकिएको जानकारी दिन डाँडामा विराजमान छ ।

भर्खरै बुद्द मन्दिरबाट गोसाईकुण्डसम्म भीरको बाटोको साहारा रेलिङ पोस्ट राखिएको छ । त्यहि रेलिङ समाएर चिप्लँदै चार हजार ६१० मिटर अग्लो लौरीबिना ‘ला पास’ पुगेपछि देखिन्छ हिउँ ओढेका कुण्ड वरिपरिका छाना र भैरवकुण्ड ।

निकुन्जको नियम रहेछ पालो गरेर पनि अनिवार्य एउटा होटेल खोल्नुपर्ने । नमस्ते होटेल त्यसरी खोलिएकोमध्ये एक थियो । जमेको कुण्ड माथि हिउँको थुप्रो, त्यसमाथि हेली र तीर्थयात्री– पैदलयात्री । नजमेको बेला पानी मुनी उत्तानो परेका देखिने भगवान शिव (महादेव)को जस्तो आकृतिले  ऐया भन्यो कि भनेन ? यो प्रश्न भने  अनुत्तरित  नै रह्यो ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0