प्रेमपत्रबाट थालेको लेखनयात्रा युग निर्माणकारी लेखनसम्म  – Online Khabar


जुनसुकै मुलुकमा युग निर्माता साहित्यकार विरलै हुन्छन् । त्यसरी निर्माण भएको युग ती युग निर्माताको अवसानसँगै समाप्त हुन्छ भने कतिपय युगले भने निरन्तरता पाएको हुन्छ ।

नेपाली साहित्यमा शंकर लामिछाने यस्ता अद्भूत प्रतिभा थिए, जसले निर्माण गरेको साहित्यिक युग आजपर्यन्त निरन्तर छ ।

शंकरले कालजयी कविता लेखे । कालजयी कथा लेखे । कालजयी निबन्ध लेखे । भूमिका लेखनमा कीर्तिमान राखे । नेपाली साहित्यमा जापानी हाइकुलाई भित्र्याए ।

उनको सिर्जनाकाल थोरै थियो, तर युग निर्माणका लागि त्यति नै पर्याप्त थियो । यौटा छद्मभेषी कुमुदिनीले चोरीको आरोप लगाएपछि त्यसलाई उनले सकारे र एक प्रकारले सन्यास नै लिए । त्यो स्वीकारोक्ति नै उनको साहित्य यात्राको अवसानको सूचक थियो ।

शङ्कर लामिछानेको जन्म माता राजकुमारी लामिछाने र पिता हरिहरप्रसाद लामिछानेका पुत्रका रुपमा विसं १९८४ साल चैत ५ गते जैसिदेवल काठमाडौंमा भएको थियो । तर उनको जन्मको केही समयपछि पितामाताको झगडाले गम्भीर मोड लियो र उनकी आमाले पेटमा गर्भ बोकेरै घर त्याग गरिन् ।

गोविन्द गिरी प्रेरणा

शंङ्कर लामिछानेको लालन पालन मावलीमा भयो, बनारसमा । उनी १३ वर्षको उमेरमा मात्र नेपाल फर्किए, पिताको साथमा । उनकी आमा भने अर्को छोरा जन्माएर, त्यसको मृत्युको पीडा र यक्ष्माको प्रकोपले शङ्कर आठ वर्षको हुँदा नै बितेकी थिइन् । शंभु लामिछाने नामाकरण गरिएका उनका दिवङ्गत भाइको उनले कहिले पनि सम्झना गर्न सकेनन् ।

शङ्करको लेखन यात्रा विसं २००३ मा प्रकाशित ‘हाम्रो समाजमा नारीको मूल्य’ लेखबाट भएको थियो । उनले प्रेमपत्र लेखनबाट कलम चलाएको स्वीकारोक्ति दिएका थिए । उनी आफ्नो लागि र आफूले कहिल्यै नदेखेको नभेटेको साथीको प्रेमिकालाई पनि प्रेमपत्र लेखिदिन्थे । त्यो प्रेमपत्र लेखनको उनको यात्रा गम्भीर एवं युग निर्माणकारी लेखनमा पुगेर अग्लियो । फैलियो र व्याप्त भयो ।

शङ्कर लामिछानेको शिक्षा त्रिचन्द्र कलेजमा विज्ञान विषयमा भएको थियो । उनले त्यहाँ आइएस्सीसम्मको अध्ययन गरे । त्यसै समयमा उनी नेपाली साहित्यका विशिष्ट प्रतिभा बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको शिष्य थिए । त्यो शिक्षक र शिष्यको नाता पछि साहित्यिक रुपमा मजाले झाङ्गियो ।

देवकोटाको अध्यक्षतामा गठित काव्य प्रतिष्ठानमा शङ्कर सदस्यका रुपमा समाहित भए । अनि दिल्लीमा सम्पन्न हुने एशियाली लेखक सम्मेलनका लागि प्रतिष्ठानको मुखपत्र ‘इन्द्रेनी’को एशियाली अङ्क, जुन अङ्कमा नेपालका प्रतिनिधि मण्डलका तथा मुख्य कविहरुको नेपाली कवितासहित समानान्तर अङ्ग्रेजी अनुवादका लागि शङ्कर लामिछानेले महाकवि देवकोटासँग सहकार्य गरेका थिए ।

विसं २००६ सालमा पिताको पनि देहान्त भएपछि शङ्कर लामिछानेको जीवन सङ्घर्षमय बन्यो । उनले पढाई छाडे । जागिर खानुपर्ने भयो । यस क्रममा उनले श्री ३ सरकार गुठी अड्डा, जनसेवा सिनेमा हल, भारतीय दूतावासले सञ्चालन गरेको भारतीय पुस्तकालयको पुस्तकालयध्यक्ष, घरेलु शिल्पकला विक्री भण्डार, शङ्कर होटल तथा ‘शङ्कर ट्राभल्स एण्ड टूर्स’लगायतमा जागिर खाए ।

जागिरसँगै उनले लेखनमा पनि निखार ल्याए, नयाँ मोड ल्याए, नेपाली साहित्यमा सबैले रुचाउने साहित्यकारको ब्यक्तित्व निर्माण गरे । उनी भन्थे, ‘सङ्घर्ष मेरो जीवन हो, साहित्य ? साहित्य मेरो शौख हो । यी दुईटालाई मैले कहिल्यै पनि एक अर्कोमाथि जाइलाग्न दिइनँ ।’

शङ्कर लामिछाने आफ्नो लेखनका कारण उचाइमा थिए । उनको रचनाको राम्रो डिमाण्ड थियो । उनी आफ्ना रचना निशुल्क कसैलाई दिँदैनथे । आफ्ना रचनाहरुको मूल्य आफैं तोक्दथे । उनी सम्पादकहरुलाई कुन रचना लिने हो सोही अनुसारको मूल्य तोक्थे । निजी क्षेत्रका पत्रिकालाई विशेष छूट दिने नीति राख्दथे ।

उनका रचनका पाठक र पारखीहरु नेपाली भाषी क्षेत्रमा बढ्दो थियो । यसै क्रममा विसं २०२२ सालमा प्रकाशित पारिजातको ‘शिरिषको फूल’मा उनले लेखेको भूमिकाले नेपाली साहित्यमा एकप्रकारको भुइँचालो नै ल्याइदियो । हुन पनि त्यसप्रकारको भूमिका त्यसअघि न कसैले लेखेका थिए, न परिकल्पना नै गरेका थिए । त्यो भूमिका उनको यौटा हाँक थियो, हुङ्कार थियो । जसको एकाध विरोध भएपनि त्यसले आफ्नो स्थापत्य कायम गर्यो, जुन आजपर्यन्त कायम नै छ ।

‘शिरिषको फूल’को चर्चा र विवादबीच सो उपन्यासले मदन पुरस्कार नै पाएपछि त्यो भूमिकाको चर्चा अझ बढी फैलियो । कतिपयले त्यो भूमिकाको कारणले नै मदन पुरस्कार पाएको चर्चा पनि गरे । शङ्कर लामिछाने स्वयंले भूमिकाको चर्चा भयो तर उपन्यासको दार्शनिक पक्ष ओझेलमा पर्यो भनेका थिए । उनकै शब्दमा– ‘धेरैजसो आलोचना मेरो शैली उपर भएका छन्, तर उपन्यासको दार्शनिक पक्ष उपर राम्ररी कसैले अझ बोलेको छैन ।’

शङ्कर लामिछानेको विवाह रत्ना राईसँग भएको थियो । यो एक प्रकारको प्रेम विवाह थियो, तर उनीहरले मन्दिरमा गएर गरेका थिए । उनीहरुको बिहेको पुरेत थिए नेपाली हास्यब्यङ्ग साहित्यमा भूतको भिनाजुका रुपमा बिशेष कहलिएका साहित्यकार वासुदेव शर्मा लुईंटेल । शंकर र रत्नाको विहा बज्र वाराहीमा भएको थियो । सो विहामा रत्नाका काका नारदमुनि थुलुङ, साहित्यकार वालचन्द्र शर्मा, शङ्कर लामिछानेका मामा नरेन्द्र रेग्मी आदि उपस्थित थिए ।

यौवनकालमा उनी रसिक र प्रेमी थिए । आफ्ना यौवनकालका चर्तिकलालाई पनि उनी कुटनैतिक भाषामा प्रस्तुत गर्न हिच्किचाउँदैनथे । उत्तम कुँवरलाई श्रष्टा र साहित्यको लागि अन्तरवार्ता दिने क्रममा उनले भनेका थिए– ‘त्यो त मेरो यौवन कालको चरितकला थियो । अब त ती अनुहारलाई सम्झन पनि मन लाग्दैन, ती मध्ये कैयन् झण्डै हजुरआमा भैसके होलान्, कम से कम यी मध्येका कैय्यनका छोरीहरु त निश्चय पनि तरुनी भैसके । आजका मेरो भनाइ ती तरुणीको आँखामा पर्छ त्यसकारण म तिनका आमाहरूको चर्चा यहाँ गर्न चाहन्नँ ।’

शङ्कर लामिछानेले आफूलाई नेपाली साहित्यको भ्वाङ प्वाल टाल्ने लेखकको रुपमा आफूले आफैंलाई चित्रण गरेका थिए जसलाई काट्ने वा बदर गर्ने कोही देखा परेन । यो उनको खुवी थियो । उनले स्पष्ट व्यक्त गरेका थिए ‘र म घमण्डी पनि छु एक अर्थमा ! नेपाली साहित्य ज्यादै कमजोर छ भन्ने चर्चा मित्र–मण्डलीमा भयो एक पटक, र मैले निश्चय गरें गद्यलाई नै किन बलियो नबनाउने ! त्यस्तै एकपटक नेपाली साहित्यमा बैज्ञानिक कथा छैन भन्ने चर्चा उठ्यो र म त्यता लागें । र एकपटक मेरा मित्र ईश्वर बरालले भने– ‘नेपाली साहित्यमा भविष्यकालको  व्याकरण ओगटी कुनै कथा लेखिएको छैन ।’

र मैले लेखिदिएँ– म भोलि जन्मिनेछु ।

एक किसिमले हेर्यो भने नेपाली साहित्यको भ्वाङ्ग मात्र म टाल्दैछु । कवितामा नयाँ मान्यता ल्याउनको निमित्त नै मैले जापानी हाइकु शैलीको प्रयोग गरें, किनभने नेपाली अस्पष्ट भै रुमल्लिएको थियो ।

यस्तो भनाइ राख्न सक्ने साहित्यकार शङ्कर लामिछाने अघि कोही थिएनन्, न पछि नै कोही निस्के । महाकवि देवकोटाले पनि ‘कवितामै कुरा गर्न सक्छु’सम्म भनेका थिए । तर विविध विधामा यस्तो दावी गरेका थिएनन् । यो बेग्लै कुरा हो, देवकोटा कविता, कथा, निवन्ध, काव्यलगायतका विधामा कालजयी रचनाका श्रष्टाका रुपमा सम्मानित र प्रतिष्ठित छन् ।

शङ्कर लामिछाने पनि कविता, निबन्ध, कथा, भूमिका लेखनमा कालजयी श्रष्टाका रुपमा रहेका छन् । उनको रचनाका प्रभाव आजपर्यन्तका लेखनमा पाइन्छन् । उनले आफ्ना रोज्जा रचनाका बारेमा पनि खुलस्त भनेका थिए– विभिन्न समस्यापूर्तिको निमित्त लेखिएको विभिन्न रचनामा मलाई मन पर्ने सात कृति छन्  वैज्ञानिक कथामा ‘माया नं. ६५३’, भविष्य ब्याकरण अँगाली लेखेकोमा ‘म भोलि जन्मनेछु’, निवन्धमा ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ र कथामा ‘अर्धमुदित नयन र डुब्न लागेको घाम’ अनि जीवनाङ्कित रेखामा ‘शंकर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ ।  कवितामा ‘मेरो नजन्मेको छोरा’ अनि भूमिकामा पारिजातको ‘शिरिषको फूल’को भूमिका ।

शङ्कर लामिछाने विश्व साहित्यका गम्भीर अध्येता थिए । आफूले पढेका र मन परेका कतिपय फूटकर कृतिलाई अनुवाद पनि गर्दथे । उनले पोर्नोग्राफीलाई पनि रुचिका साथ पढ्ने, दोहोर्याई – दोहोर्याई पढ्ने कुरा पनि नलुकाई बताउने गर्दथे । आफूलाई मन पर्ने विदेशी भाषाका साहित्यकारको चर्चा गर्दै उनले भनेका थिए– ‘पुरानादेखि नयाँसम्म पनि मेरा आँखाबाट गुज्रिन्छन् । पढछु, प्रभावित हुन्छु, मन पराउँछु, र कहिलेकाहीं उल्था पनि गरिदिन्छु । मलाई मन पर्नेहरुमध्येका केहीको नाम लिने हो भने विलियम सेरोयान, एनास निन्, हेनरी मिलर, लरेन्स डुरेल, स्यालिन्जर र टेनेसी विलियम हुन् ।’

(म पोर्नो साहित्यको पनि उत्तिकै अध्ययन गर्दछु र मलाई लाग्छ हामी सब गर्छौं । यस साहित्यमा चाहिँ मलाई रेस्तिफ देला व्रितँको कृति मलाई खूब मन पर्छ, दोहोर्याई तेहर्याई पढ्छु)

यसरी विश्व साहित्यमा चहार्ने र अधिकांश नेपाली साहित्यकारका रुचिका केन्द्रविन्दु शङ्कर लामिछानेलाई एकदिन यौटा छद्मभेषि ‘कुमुदिनी’बाट चोरीको आरोप लाग्यो । यो बडो उदेकलाग्दो, अप्रत्यासित र झस्काउने खालको थियो । तर त्योभन्दा पनि उदेकलाग्दो र आश्चर्यको कुरा के भयो भने, शङ्कर लामिछानेले आफूले चोरीको आरोपलाई मजाले स्वीकार गरिदिए । उनले सिधै चोरी कवुल गरे ।

त्यतिमात्र होइन, साहित्यबाट एक प्रकारको सन्यास लिने घोषणै गरिदिए । यी सबका लागि उनका शुभचिन्तक, पाठक, अध्येता कोही तयार थिएनन् । उनले भने– उसले गर्नु परेको (चोर्नु) कारण हो उसको जागिर थिएन र उसलाई बाँच्नु थियो । बाँच्नुजस्तो ठूलो कुरा जीवनमा अरु केही रहेनछ । अब म लेख्ने पनि छैन होला ।

‘मैले पछि लेखिहालें भने पनि त्यसबेला तपाईंलाई सिकायत गर्ने कुनै मौका पनि दिने छैन होला, त्यस सुअवसरको प्रतीक्षा ‘रुपरेखा’को कुनै पानामा नै गर्नुहोला । कुमुदीनि बहिनी, नेपाली साहित्यलाई तपाईंजस्तो पाठकको जागरुपताको आवश्यकता छ, यो भएन भने मजस्तो मानिसले बीचबीचमा बदमासी गर्ने सम्भावना हुन्छ । तपाईंजस्तो बहिनीको तिलक लगाएर मात्रै हामी संग्राममा उभिन सक्छौं ।’

उनको यो एक प्रकारको साहित्यमा सन्यास लिएको विषयलाई पारिजातले पछि यसरी अर्थ्याएकी थिइन्– शङ्कर लामिछानेले जुनवेला साहित्यिक सन्यास लिनुभयो, त्यही बेला उहाँको सुन्दर र आकर्षक युग मरणासन्न अवस्थामा पुगिसकेको थियो, यसो भनौं असक्त भइसकेको थियो । उहाँको असामयिक निधन हुनुभन्दा पहिले उहाँको साहित्यिक युगको सामयिक मृत्यु भइसकेको थियो ।

पारिजातले कुन अर्थमा शङ्कर लामिछाने युगको मृत्यु भइसकेको देखिन्, तर शङ्करले निर्माण गरेको युग अर्थात् उनको लेखन शैली, प्रस्तुतिका पदचापहरु आजपर्यन्त निरन्तर देखिनु उनको युग नसकिएको दृष्टान्त हो । उनको युगले निरन्तरता पाइरहेको छ।

शङ्कर लामिछाने लेखनको उत्कर्षको बेला केही निकट साहित्यिक मित्र मण्डलीमा बाँधिएका थिए । उनको निकटतम मित्रहरु थिए भूपि शेरचन, भीम दर्शन रोका र तुलसीनाथ ढुङ्गेल । तिनमा पनि भूपि र रोका विशेष थिए ।

शङ्कर लामिछानेले विसं २०२३ सालमै उपन्यास थालनी गरेर आधाआधि सकिएको बताएका थिए । उनी एक दुई वर्षमा प्रकाशित गर्ने योजनामा थिए । तर उनले कहिल्यै पूरा गरेनन् ।

शङ्करले पत्नीलाई प्रेरणा, प्रतीक र प्रतिद्वन्दीका रुपमा जहिले पनि साहित्य सिर्जनाको निमित्त विषयवस्तु प्रदान गर्ने श्रोत मान्थे । तर तिनै पत्नीलाई एक दिन ‘शायद हद से हद बाँचे अरु १२–१५ वर्ष बाँचिएला, यो जीवनको अन्तिम समय केही शान्ति पाउँछु भन्ने प्रयास छ’ भन्ने व्यहोराको चिट्ठी लेखेर घर छाडेका थिए ।

कान्छी श्रीमती सुवर्णसँग पाटनमा बस्न थालेका थिए । रत्नाबाट छोरा दीप र छोरी शिखा दुई सन्तान भएका थिए भने सुवर्णबाट पनि दुई छोरा भएका थिए प्रकाश र प्रभास । शङ्करले १२–१५ वर्ष आफू बाँच्ने अनुमान गरेका थिए, त्यो अनुमान मिलेन । उनी तीनचार वर्षमै विदा भए । खासमा उनी जीवनको पछिल्लो चरणमा निकै रक्स्याहा भए ।

आफ्नो रक्स्याहा परिवेश निर्माणको सन्दर्भमा उनको स्वीकारोक्ति थियो– ‘म पूर्ण रुपेण रक्स्याहा भएँ । अङ्ग्रेजीमा त्यस अवस्थालाई अल्कोहलिक भनिन्छ । अलिकति नखाईकन हात खुट्टा स्थिर नहुने, मगजले काम नगर्ने । खाएपछि आत्महीनता कम हुँदै जाने, आफू सक्षम छु, अझै केही विग्रेको छैन, अझै परिस्थितिसँग जुध्न लायक छु भन्ने बोध हुने । नखाँदा, मेरा आफ्नाहरुले धोखा दिए भन्नेमात्र भावना आउने, खाएपछि म तिनलाई फेरि वशिभूत गर्न सक्छु, तिनलाई फेरि मेरो अगाडि निहुराउन सक्छु वा सक्छु पूर्णरुपेण वहिष्कार गर्न, ती विना पनि मेरो जीवन अपरिपूर्ण रहँदैन भन्ने भावना । यो अवस्था थियो मेरो बिहान चिया–पानको सट्टा सुरा–पान गर्ने बेलाको र मेरो पारिवारिक जीवनको ह्रासको ।’

अन्ततः विसं २०३२ माघ १० गते म्यानेन्जाइटिसको कारण शंकरको मृत्यु भयो । मृत्यको कारण म्यानेन्जाइटिस भए पनि यदि उनको अल्कोहलले छाती नष्ट नभएको हुन्थ्यो भने बाँच्न सम्भव थियो भन्ने डाक्टरहरूको भनाइ थियो ।

(फल्स चर्च भर्जिनिया, अमेरिका)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0