लास्ट बेञ्चर विद्यार्थीको डाक्टर यात्रा – Online Khabar


केही बर्षअघि,

दिल्लीमा एउटा सम्मेलन हुँदै थियो, चिकित्सा सम्बन्धी । त्यसैमा सहभागी हुन डा. अभिनास चन्द्र दिल्ली पुगें । विमानस्थलमा उत्रिदा एक चालक प्लेकार्ड बोकेर उनलाई पिकअप गर्न बसिरहेका थिए । प्लेकार्डमा लेखिएको थियो, डा. अभिनास चन्द्र– नसा रोग विशेषज्ञ ।

चालकले ख्याल राखेका रहेछन्, प्ले कार्डमा लेखिएको कुरा । गाडी अगाडि बढाइरहँदा उनले सोधे, ‘तपाईं के रोगको डाक्टर हुनुहुन्छ ?’

‘म नसा रोगको डाक्टर हुँ’ डा. अभिनासले सामान्य बुझ्ने भाषामा जवाफ फर्काए ।

‘अच्छा’ चालकले निकै उत्साहित हुँदै भन्यो, ‘मेरो साथी नसामा चुर्लुम्मै डुबेको छ । ऊ नसाको कारण खत्तम भएको छ, उसको सबैकुरा तहसनहस भइसकेको छ । तपाईंले उसलाई बचाइदिनुप¥यो ।’

डा. अभिनास चन्द्रलाई यो कुराले ऐठन पा¥यो । अब चालकलाई कसरी बुझाउने कि आफु स्नायु रोगसँग सम्बन्धित विशेषज्ञ हो भनेर ? चालक परेछन् जब्बर । छाड्दै नछाड्ने । उनी भनिरहेका थिए, ‘डा. साप तपाईंलाई हामी फि दिन्छौं, उसको उपचार चाहिँ हुनुप¥यो । नसाबाट छुटाउनुप¥यो ।’

यो एक यस्तो संयोग थियो, जसले डा. अभिनासलाई ‘नसा रोग’ बारे सर्वसाधरणको बुझाई कति फरक छ भन्ने संकेत दिन्थ्यो । हामीकहाँ पनि ‘नसा रोग’ भन्नसाथ धेरैजसो अलमलमा छन् । कसैले यसलाई रक्तवाहिका नली पो हो कि भनेर बुझ्छन् । कसैले अर्कै ढंगले बुझ्छन् । हातखुट्टा झमझमाउने, मुख बाउडिने रोग लिएर कोही धामीझांक्रीकहाँ पुग्छन् । विस्मृतिलाई कतिले बुढ्यौलीले छोपेको भनी बुझ्छन । स्नायु तन्त्रको खराबीले हुने अनेकन समस्याबारे मान्छे रनभुल्लमा छ । डा. अभिनास भन्छन्, ‘त्यसैले यस सम्बन्धी व्यापक जनचेतनाको खाँचो छ ।’

उनी यसो भन्दैनन् मात्र, सामाजिक सञ्जालमा जोडिएर सर्वसाधरणलाई परामर्श पनि दिइरहेका हुन्छन् । फुर्सद मिल्नसाथ मोबाइलमा भिडियो रेकर्ड गर्छन् र सामाजिक सञ्जालमार्फत ‘नसा रोग के हो’ भनी स्पष्ट पारिरहेका हुन्छन् । नसा अर्थात स्नायु रोगका अरु मूख्य समस्याहरु, डिमेन्सिया, पार्किन्सन्स, मस्तिष्क घात, छारेरोग, माइग्रेन, हात–खुट्टा झमझमाउने, मुख बाङ्गिने विषयमा छुटा-छुटै चर्चा गरिरहेका हुन्छन् ।



‘सबैतिर अस्पताल छैन, चिकित्सकको पहुँचमा छैनन्’ डा. अभिनास सुनाउँछन्, ‘उनीहरुले यस रोगबारे सहज रुपमा जानकारी पाउन् भन्ने मेरो ध्येय हो ।’ नसा रोग र यसको उपचार एक नविन खोजको उपज हो । यो जटिल र संवेदनशिल पनि छ । मस्तिष्क आफैमा एक रहस्यमयी भएकाले यससँग सम्बन्धित रोगलाई बुझाउन कठिन छ ।

उनी नसा रोगलाई सामान्य भाषामा यसरी बुझाउँछन् ।

‘कुनैपनि कुरा हामी संकेतको रुपमा गर्छौं । हिँड्ने, बोल्ने, खाने, हाँस्ने, बस्ने, काम गर्ने । जतिपनि शारीरिक गतिविधि छ, त्यसलाई संकेत गर्ने एउटा प्रणाली छ शरीरभित्र । यस प्रणालीको नियन्त्रण मस्तिष्कले गर्छ । र, मस्तिष्कबाट शरीरभरी फैलिएको स्नायु प्रणालीमार्फत हाम्रो शरीर चलयमान हुन्छ । मस्तिष्कले शरीरका सम्पूर्ण भागसँग अन्र्तक्रिया गर्ने यही सञ्जालमार्फत हो । यही सञ्जालमा उत्पन्न हुने खराबीलाई, स्नायु वा नसा रोग भनिन्छ ।’

त्यसो भए नसा सम्बन्धी के–कस्ता रोग छन् ? ति कति जटिल छन् ? उपचार कति संभव छ ?

डा. अभिनास चन्द्रका अनुसार अहिले मुलभूत रुपमा देखिएका रोगहरुमा ब्रेन स्ट्रोक अर्थात मस्तिष्क घात, माइग्रेन, पार्किन्सन्स, डिमेन्सिया नै हुन् । यी समस्याहरु देखिने अनेक कारण हुनसक्छन् । त्यसका जटिलता पनि फरक फरक हुनसक्छ । यद्यपि सुरुवाती संकेत बुझेर समयमै उपचार गर्नुपर्ने उनी सुझाउँछन् । भन्छन्, ‘जतिसक्दो चाडो अस्पताल आउनुहोस्, उपचार संभव छ ।’

बि फास्ट

नसा रोग खासगरी नसा सुक्ने समस्यालाई सटिक रुपमा बुझाउने एउटा फर्मुला छ, बि फास्ट ।

बि को अर्थ ब्यालेन्स । सामान्य अवस्थामा हिँडडुल गरिरहेका व्यक्तिको सन्तुलन अचानक बिग्रियो । ई को अर्थ आँखामा समस्या । अचानक आँखाको दृष्टि धमिलो भयो वा दुई वटा इमेज देख्न थालियो । एफ को अर्थ फेस । मुख बाङ्गो हुने, बोली लरबराउने, ¥याल आउने भयो । ए को अर्थ आर्म । हात वा खुट्टाको भाग एक्कासी कमजोर भयो । एस को अर्थ स्पिच । बोली एक्कासी लरबराउने ।

‘बि फास्ट’ले समग्रमा स्नायु रोगको लक्षणलाई इंगित गर्छ । र, साथसाथै यसले के पनि संकेत गर्छ भने यदि यीमध्ये कुनै एक लक्षण देखिएमा तुरुन्तै अस्पताल पुग्नुहोस् । चिकित्सकलाई भेट्नुहोस् ।

-अनायसै बेस्सरी टाउको दुख्यो । चट्याङ परेजस्तै भयो ।

-हातखुट्टाहरु स्वभाविक रुपमा चलेन ।

यी अवस्थामा जति सक्दो चाँडो अस्पताल पुग्नेपर्ने हुन्छ । ‘किनभने मस्तिकको नसा फुटेर पनि यस्तो भएको हुनसक्छ’ डा. अभिनास चन्द्रको सुझाव छ, ‘जतिसक्दो चाडो अस्पताल पुग्नुभयो भने उपचार गर्न सकिन्छ ।’ उनी के पनि भन्छन् भने यस्तो उपचार नेपालमै संभव छ । अन्यत्र भौतारिन पर्दैन ।

टाउको दुखाई माइग्रेन

स्नायु रोगमा सबैभन्दा धेरै देखिएको समस्या हो, टाउको दुखाई । नेपालमा मात्र होइन, विश्वव्यापी रुपमा । यस्तो समस्या कहालिलाग्दो ढंगले बढ्दो क्रममा छ ।

टाउको बेस्सरी दुख्ने वा उम्लिएको जसरी दुख्ने । दुख्छ, फेरी हराउँछ । यो आम लक्षण हो, माइग्रेनको । यसमा कहिले काहीँ वान्ता हुने, वाकवाकी हुने समस्या पनि देखिन सक्छ । माइग्रेनको कुनै यही कारण भनेर फेला पारिएको छैन । ‘तर, यही रोगले मात्र ज्यान जाने खतरा छैन’ डा. अभिनास भन्छन्, ‘तर, यसले दिनचर्या भने पुरै प्रभावित बनाउँछ । सामान्य काम–व्यवहार गर्नमा बाधा पु¥याउँछ ।’ माइग्रेनको पूर्ण उपचार छैन । यद्यपि यसलाई न्युनिकरण गर्न सकिने डा. अभिनास चन्द्र बताउँछ । उनी के पनि भन्छन् भने, माइग्रेन भएर उपचार गर्नुभन्दा माइग्रेनको स्थिती आउनै नदिन उचित हो ।

के कारणले आफ्नो टाउको दुख्यो ? टाउको दुख्ने अनेक कारण हुन्छन् । यसको एउटा डायरी बनाउँ । आफुलाई के कारणले टाउको दुख्छ, निद्रा नपुगेर हो कि, खानपानले हो कि, तनावले हो कि ? अतः यी कुरा पत्ता लगाएर टाउको दुख्ने समस्याबाट उम्कने यत्न गरौं ।

स्ट्रोक

स्नायु रोगमा स्ट्रोक निकै जटिल छ । स्ट्रोक पनि सोचेभन्दा तिब्रताका साथ बढिरहेको छ । युवा अवस्था वा कम उमेरमा पनि यसले गाँज्दैछ । एउटै अस्पतालमा एक बर्षको तथ्यांक निकाल्दा पाँच सय बढीमा स्ट्रोकको समस्या देखिए । यो सामान्य स्थिती होइन । यसमा तीन सय भन्दा बढी त रगतको नसाको ब्लक भएर नसा सुक्ने पाइयो । बाँकीको रगतको नसा फुटेर रगत जम्मा भएको पाइयो ।

हाम्रो मुलुक जहाँ युवाहरुको घनत्व बढी छ । आर्थिक स्थिती नाजुक छ । काम गरेर खानुपर्ने अवस्था छ । जबकी यही उमेर समूहमा स्ट्रोकको समस्या बढ्दो छ । र, यसले उत्पादनशिल पुस्तालाई बाधा पु¥याइरहेको छ ।

रगतको नसाको खराबी, मुटुको खराबी आदिले यो समस्या देखिएको छ । नसाको रगत फुटेपछि स्ट्रोक हुन्छ । यसको मूल जरा भनेकोे उच्च रक्तचापको नियन्त्रण नहुनु नै हो । राजनीतिक र आर्थिक कारणले युवाहरुमा रक्तचाप बढेको छ । त्यसमाथि उनीहरुले अपनाउने खराब जीवनशैली र खानपान अर्को जिम्मेवार पक्ष हो । एकातिर तनावग्रस्त मानसिकता र अर्कोतिर खराब जीवनशैलीले रगत बाग्लो हुने, रगत सहज रुपमा प्रवाह नहुने, नसा साँघुरिने जटिलता थपिएको छ । अन्ततः यसले स्ट्रोकको जोखिम बढाइदिएको छ ।

पार्किसन्स

हुन त यसलाई बुढ्यौलीको रोग भनेर धेरैले बुझ्ने गरेका छन् । जबकि युवा उमेरमा पनि यस्तो समस्या देखापर्न थालेका छन् । हातखुट्टा राम्ररी चल्न नसक्ने, बोली मधुरो हुँदै जानु पार्किसन्सको लक्षण हुनसक्छ ।

यसको निश्चित कारण यही भन्ने छैन । नसामा एउटा डोमामिन भन्ने रसायन हुन्छ । यही रसायन कमी भयो भने पार्किसन्स हुन्छ । यसको कमीमा नसा सुक्दै जान्छ ।

डिमेन्सिया

विश्वमै बुढ्यौली बढ्दै गइरहेको छ । मान्छेको आयु बढ्दो छ र यससँगै बुढ्यौली चरण पनि लम्बिदो छ । यसमा जोडिदै आएको छ, डिमेन्सिया । उमेर ढल्किदै गएपछि नसा सुक्दै जान्छ, त्यसमा भएको रसायन कम हुन्छ, नसाको तह कमजोर हुन्छ । यसले गर्दा बिस्मृति अर्थात डिमेन्सियाको समस्या पैदा हुन्छ ।

छारेरोग

यो एकदमै जटिल रोग हो । यसमा ज्यान जान सक्ने समेत खतरा हुन्छ । सबै छारेरोग भन्नसाथ काँप्ने, बेहोस हुने भनी बुझिएको छ । तर, सबै अवस्थामा यस्तो हुँदैन । स्नायु नसा आवश्यक्ताभन्दा बढी सक्रिय हुँदा यस्तो समस्या आउँछ । क्षणिक रुपमा त्यहाँ विद्युतिय डिस्चार्ज हुन्छ ।

छारेरोग कुन अवस्थामा छ भनी त्यसै अनुरुप उपचार खोज्न सकिन्छ । छारेरोगको तुरुन्त उपचार गर्नेभन्दा त्यसको कारण के हो भनी खोतल्नु जरुरी छ । किनभने यसमा अनेक कारण छन् ।

नसा च्यापिने रोग

नसा च्यापिने रोग अहिले ह्वात्तै बढेको छ । यसको कारण हाम्रो खराब जीवनशैली हो । खासगरी ऐशआरम बढी खोज्ने, श्रम नगर्ने, व्यायाम नगर्ने प्रवृत्तिले यस्तो भएको हो ।

अहिले हामी धेरैजसो समय कुर्सीमा बसिरहन्छौं । एकै स्थानमा एकै पोजिसनमा घण्टौ बस्छौं । यसरी बस्दा शरीरको अवस्थिती मिल्दैन । यसले गर्दा क्रमस हड्डी एवं कुरकुरे हाड कमजोर हुन्छ । त्यो बाहिर निस्कन्छ र नसा च्यापिन्छ । यो युवा पुस्तामा बढ्दो समस्या हो ।

फिजियो थेरापी, औषधि उपचार वा शल्यक्रियाबाट यसको उपचार खोजिन्छ ।

मेरो चिकित्सा–यात्रा

पाइलट बन्ने रहर थियो डाक्टर बनें

सानो छँदा म पाइलट बन्न चाहन्थें । मेरो घर जनकपुर । हुनेखाने नै थियो परिवार । बाजे पण्डित हुनुहुन्थ्यो । बुवा प्राध्यापक । त्यहाँको नामी क्याम्पसमा पढाउनुहुन्थ्यो ।

तर, बुवाले कहिले पनि आफ्नो इच्छा वा रुची ममाथि लाद्नुभएन । उहाँले स्वतन्त्र छाड्नुभएको थियो । बुवा के मात्र भन्नुहुन्थ्यो भने, ‘तिमीहरु मेरो नामबाट होइन, आफ्नै नामबाट चिनुनुपर्छ ।’ आमाको रुची फरक थियो । उहाँ दुई छोरामध्ये एउटालाई इन्जिनियर र अर्कोलाई डाक्टर भएको हेर्न चाहनुहुन्थ्यो । डाक्टर–इन्जिनियर भन्नसाथ सामाजिक प्रतिष्ठासँग जोडिएकाले उहाँमा त्यस्तो मनोविज्ञान विकास भएको हुनुपर्छ ।

तर, म पाइलट बन्न चाहन्थें । बाल्यकालमा मलाई पाइलट बन्ने लहड किन चल्यो भने, एकपटक राजा वा प्रधानमन्त्रीको सवारी हुँदा मैले हवाइजहाज चलाउने पाइलटलाई नजिकबाट देख्न पाएको थिएँ । त्यो पञ्चायतकालको कुरा हुनुपर्छ, जतिबेला म बच्चा थिएँ ।

पाइलटको पहिरन वा भनौं स्मार्टनेसले मलाई अनायस आकर्षित ग¥यो । मलाई त्यस्तै स्मार्ट बनेर आकासमा सयर गर्ने लहड जाग्यो । सधैजसो भनिरहन्थें, ‘म त पाइलट बनेर जहाज उडाउँछु ।’

मेरो यो लहडमा त्यसबेला ट्वीस्ट आयो, जब मेरा प्रिन्सिपलका छोरा डाक्टर बनेर प्रकट भए । उनी गाडीमा आउथे । सुटेटबुटेट । स्मार्ट । हेर्दै लोभलाग्दा । प्रिन्सिपलले मलाई पनि आफ्ना छोरा जस्तै डाक्टर बन्नुपर्छ भन्थे । एकातिर आमाको रहर, अर्कोतिर प्रिन्सिपलको छोरोको ग्ल्यामर । दुबै कुराले मलाई एकसाथ यसरी आकर्षित ग¥यो कि, म डाक्टर बन्ने दौडमा लागें ।

लास्ट बेन्चर

म मेधावी विद्यार्थी होइन । औसत पनि होइन । प्रथम नभएपनि तेस्रो पोजिसनमा थिएँ । तर, म फस्ट बेञ्चरमा परिन । सधै अन्तिम बेञ्चमा बस्थें ।

सामान्यत अन्तिम बेन्चमा बस्नेहरु कमजोर र आवारा भन्ने हुन्छ । कक्षा कोठामा उनीहरुलाई अलि फरक रुपले हेरिन्छ । जबकि फस्ट बेञ्चरलाई पढन्ते, अनुशासित भनिन्छ । यसैले शिक्षकको ध्यान पनि उनीहरुमा बढी जान्छ ।

तर, फस्ट बेन्चरहरु अलि स्वार्थी हुन्छन् । उनीहरुमा प्रतिस्पर्धाको भावना बढी नै हुन्छ । पढेर अरुलाई उछिन्ने भन्दा अरु ध्येय हुँदैन । त्यसैले उनीहरु असहयोगी पनि हुन्छ । जबकि लास्ट बेञ्चरको प्रवृत्ति फरक हुन्छ । प्रतिस्पर्धा पनि सहयोगको भावना बढी हुन्छ । आफु मात्र होइन, आफ्ना साथी पनि उत्तिर्ण हुनुपर्छ भन्ने सोच्छन् ।

म यस्तै सर्कलमा पढें । लास्ट बेञ्चर भएर पनि मैले पढाईमा आफ्नो लयलाई गुमाइन । एउटा निश्चित उदेश्य बनाएँ र त्यसको प्राप्तिको लागि अग्रसर भइरहें । यसैको नतिजा, आज मैले आफ्नी आमाको सपना पुरा गरें ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0