किराँत संस्कृति जोडिएको खुवालुङ ढुंगो क्रेन लगाएर फुटाउने सरकारी तयारी – Online Khabar


८ फागुन २०७७ मा विराटनगरमा आयोजित एक सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशीमा जेटबोट चलाउनेबारे लामो भाषण गरे । उक्त भाषणमा उनले जेटबोट चलाउने आफ्नो योजनामा तगारो बनेको सप्तकोशी माझको एउटा ढुंगो क्रेन लगाएर फुटाउने बताए ।

प्रधानमन्त्रीको आशय दूधकोशी, अरुण र तमोरको त्रिवेणी तथा उदयपुर, धनकुटा र भोजपुरको सिमानामा रहेको खुवालुङ (ढुंगो) फुटाउने थियो । प्रधानमन्त्रीको अभिव्यक्ति केहीबेरमै किराँती समुदायमाझ डढेलो सल्किएसरी फैलियो ।

तत्कालै किराँती समुदायले ‘खुवालुङ’ आफ्नो आस्थाको केन्द्र भएकाले भत्काउन नमिल्ने बताउँदै प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाए । यसपछि सप्तकोशी नदीको यो खुवालुङ भत्काउने र भत्काउन नमिल्ने विषयमा भिन्नभिन्न विचारहरू सार्वजनिक भइरहेका छन् ।

यहीबीचमा अभियन्ता तथा संस्कृतिकर्मीहरूले ‘खुवालुङ बचाउ आन्दोलन’ शुरू गरेका छन् । । जसअनुसार फागुन २४ गते कोशी चतरा-पुलमा खुवालुङ क्षेत्र संरक्षण समिति, बृहत् नागरिक आन्दोलन तथा आदिवासी जनजाति साहित्यकार महासंघसहितको संयुक्त मोर्चाले प्रदर्शन गर्‍यो ।





यो पनि पढ्नुहोस
खुवालुङ पुगेर नागरिक अभियन्ताले गरे प्रदर्शन

प्रदर्शनमा बोल्दै लेखक एवं अभियन्ता राजन मुकारुङले राज्यले खुवालुङलाई ढुंगा मात्र सम्झे गलत हुने बताउँदै सरकारी तयारीको भत्र्सना गरे । ‘हामीसँग पनि विकास र समृद्धिको योजना छ तर खुवालुङ हाम्रो आस्थाको केन्द्र हो । संस्कृति मासेर गरिने विकास हामीलाई मान्य छैन’, मुकारुङले भने ।

कहाँ छ खुवालुङ, के छ इतिहास ?

सुनसरीको बराह क्षेत्रबाट एक किलोमिटर माथि अरुण, तमोर र दूधकोशी नदी मिसिएको ठाउँमा खुवालुङ ढुंगो छ । करिब २० फिट चौडाइको उक्त ढुंगो नदीको बीच भागमा गाडिएर बसेको छ ।

नदीको बीचमा रहेकाले यसमा पानीजहाज ठोक्किने सम्भावना देखाउँदै खुवालुङ भत्काउने सरकारको योजना छ । यद्यपि अहिले ३० देखि ५० जना अट्ने मेसिन-बोट खुवालुङ ढुंगाको छेउबाट वारपार गर्छ । बोटले बराह क्षेत्र घुम्न आउने पर्यटकलाई चतरा पुलदेखि लैजाने-ल्याउने व्यवसाय गर्दै आएको छ ।

अहिले चलिरहेको भन्दा ठूलो बोट ल्याउँदा ढुंगो बाधक बन्ने व्यवसायी र प्रदेश सरकारको तर्क छ । उनीहरूले जहाज चलाउन सहज हुने भन्दै ढुंगा फोर्नुपर्ने बताउँदै आएका छन् ।

मुन्धुम अध्येता

इन्द्रहाङ खम्बुका अनुसार किराँत भाषामा ‘खुवा’ भनेको पानी र ‘लुङ’ भनेको ढुंगा हो । जसबाट खुवालुङ भनेको पानीमा गाडिएको ढुंगा भन्ने बुझिन्छ ।

किराँत धर्मग्रन्थ ‘मुन्धुम’मा पनि खुवालुङबारे प्रष्ट उल्लेख गरिएको खम्बु बताउँछन् । उनी भन्छन्, ‘किराँत समुदायले कुनै कार्य (अनुष्ठान) शुरू वा अन्त्य गर्दा खुवालुङको नाम उच्चारण गर्ने परम्परा छ ।’

मुन्धुम अनुसार नै किराँतीको पुर्खा खुवालुङलाई सिमाना मानेर विभिन्न क्षेत्रमा फैलिएको जनविश्वास यस्तो छ –

किराँत राईका आदिम पुर्खा मुकुबुङ (भोटे) जेठा, हर्कबुङ (किराँत) माइला र रिब्लबुङ (थारू) कान्छासहित तीन भाइ थिए । उनीहरू समथर भूमिबाट उकालो चढी खुवालुङ पुग्दा ढोका बन्द थियो । मुकुबुङले केकी (जुरेली) चराको भोग दिएपछि उक्त ढोका खुलेपछि उनी पार गरे ।

यता माइला भाइ हर्कबुङले ढोका पार गर्न सकेनन् । उनले पनि सँगै रहेकी चेलीको कान्छीऔंला काटेर रगत दिएपछि ढोका खुल्यो र पार गरे । कान्छा रिब्लबुङले भने नदी पार गर्न र दाइहरू गएको बाटो पत्ता लगाउन सकेनन् । त्यसपछि उनी तराईतिर फर्किएर बसोबास गरेको कथन छ ।

जेठाको सन्तान हिमाली भेगसम्म पुगेर त्यहीं बसोबास गरेको, माइला हर्कबुङका सन्तान कोही सुनकोशीको किनार आसपासमा बसोबास गरेका तथा कोही दूधकोशी पछ्याउँदै सोलुखुम्बुको आसपासमा बसोबास गरेको विश्वास गरिन्छ ।

कालान्तरमा कुलुङ, थुलुङ, बाहिङ, खालिङ, बाम्बुले, बान्तवा, दुङमाली भए । अरुण नदी पछ्याउँदै संखुवासभा, क्षेत्रमा बसोबास गर्नेहरू कालान्तरमा मेवाहाङ, याम्फु, लोहोरुङ राई भाषिक समुदायका भए ।

तमोर पहिल्याउँदै त्यसैको आसपासमा बसोबास गर्नेहरू आठपहरिया, छिलिङ, छिन्ताङ्, मुगाली आदि राई भाषिक समुदाय भए भन्ने बताइन्छ । यसरी आफूहरूका पुर्खाले मान्दै आएको खुवालुङ सांस्कृतिक सिमानाका रूपमा रहँदै आएको अध्येता खम्बुको भनाइ छ ।

स्थानीयवासी दुर्गा राई पनि खुवालुङलाई देवता बसेको ढुंगा मान्छिन् । राईका अनुसार किराँतहरूको अधिकांश संस्कार यही ढुङ्गाबाट शुरू गर्ने परम्परा छ । अहिले खुवालुङ पारिपट्टकिो पाखामा एकदर्जन घर-परिवार धनकुटातर्फ बसोबास गरिरहेका छन् । मेसिनबोट चल्न थालेपछि उनीहरू माछा मार्ने, पसल थाप्ने जस्ता साना व्यावसायिक काम गर्दै आएका छन् ।

खुवालुङ फुटाउने कुराको चौतर्फी विरोध हुन थालेपछि ‘सप्तकोशी जलमार्ग निर्माण उपभोक्ता समिति’ पनि पछि हटेको देखिन्छ । समितिका अध्यक्ष एवं निर्माण व्यवसायी विशाल राई प्रदेश सरकारको निर्णयअनुसार चल्ने बताउँछन् । यसअघि उनले सहज यात्राका लागि सकेसम्म चाँडो खुवालुङ ढुंगा फोर्ने बताउँदै आएका थिए ।

एक सातामा के के भयो ?

पछिल्लो एक सातामा ‘खुवालुङ बचाउ आन्दोलन’ले राष्ट्रियस्तरमा चर्चा पायो । जसले किराँत मात्र नभई अन्य जाति र समुदायका संस्कृतिकर्मीलाई पनि आकर्षित गर्‍यो । यसै समय अभियन्ता र पत्रकारको टोली खुवालुङ ढुंगा रहेकै स्थानमा पानीजहाज चढेर पुगे ।

स्वतन्त्र अन्वेषक तथा संस्कृतिविद्हरू पनि खुवालुङ पुग्ने क्रम जारी छ ।

फागुन २४ गते चतरा पुलमा प्रदर्शन भइरहँदा प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई काठमाडौंमा थिए । उनले काठमाडौंमा नै किराँत राई यायोक्खासँग खुवालुङबारे छलफल गरेको कुरा बाहिरियो ।

मुख्यमन्त्री राई आफू खुवालुङबारे प्रष्ट जानकार नभएकाले अध्येता तथा अभियन्तासँग बुझेर मात्र थप कदम चाल्ने बताउँछन् ।

अभियन्ताहरूले आन्दोलनका क्रममा लेखेका नाराहरू

यता २७ फागुनमा खुवालुङ संरक्षण अभियन्ता दिनेश काम्दुङ राई र साजन राईलाई प्रहरीले पक्राउ गर्‍यो । चतारास्थित जेटबोट सञ्चालक र दिनेशबीच विवाद हुँदा जेटबोट सञ्चालकको उजुरीका आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले पक्राउ गरेको थियो ।

दिनेश खुवालुङ क्षेत्र संरक्षण समितिका सदस्य हुन् । देश-विदेशमा रहेका पहिचान पक्षधरहरूले पनि सामाजिक सञ्जालबाट उनीहरूको रिहाइको माग गरे । चौतर्फी दबाबपछि २४ घन्टामै उनीहरू रिहा भए ।

दिनेश र साजनको रिहाइका लागि जनता समाजवादी पार्टी नेपाल प्रदेश-१, किराँत राई विद्यार्थी संघ, खुवालुङ क्षेत्र संरक्षण समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका थिए । जसपा प्रदेश १ को विज्ञप्तिमा ‘किराँती सभ्यताको युगौं युगदेखि चिरस्थायी रहँदै आएको ढुंगोलाई विकासको बाधक भनी आरोप लगाउने तथा क्रेन लगाएर फुटाउने कुराको हामी घोर भत्र्सना र निन्दा गर्दछौं । यो किराँती सभ्यतालाई समाप्त पार्ने गम्भीर षड्यन्त्रको थालनी हो ।’

जनता समाजवादी पार्टीका प्रदेश-१ अध्यक्ष प्रवीण चाम्लिङ राज्यले खुवालुङ मात्रै नभई कुनै पनि संस्कृति र पहिचान नष्ट गर्न नमिल्ने बताउँछन् । चाम्लिङ भन्छन्, ‘राज्यले यदि नष्ट गर्न खोज्छ भने हाम्रो पार्टी त्यसको प्रतिकार गर्छ ।’

अहिले खुवालुङ क्षेत्र संरक्षण समिति खुवालुङ रहेकै स्थान वरपर निरन्तर आन्दोलनरत छ । आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङ र किराँत राई विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राईले पनि खुवालुङ मास्ने सोच विरुद्ध चुनौती दिंदै आएका छन् ।

अहिले खुवालुङ क्षेत्र संरक्षण समिति तथा अभियन्ताहरूले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको अभियन्ता राजन मुकारुङले अनलाइनखबरलाई बताए । मुकारुङले भने, ‘राज्यपक्षबाट औपचारिक निर्णय नआउँदासम्म आन्दोलन गरिरहनेछौं । यसबाहेक सबै राष्ट्रिय महत्त्वका सम्पदा बचाउनुपर्ने एजेन्डामा हामी लडिरहनेछौं ।’

पहिचान नष्ट गरिनुहुँदैन : बैरागी काइँला

खुवालुङबारे हामीले मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलासँग जिज्ञासा राख्यौं । ८१ वषर्ीय काइँलाले इतिहास र आस्था बोकेका कुरा संरक्षण गर्नु राज्यको जिम्मेवारी भएको बताए । तर, राज्य आफैंले कुनै जाति, समुदाय वा क्षेत्रको संस्कृतिमाथि प्रहार गर्छ भने त्यसले विकासको अर्थ नदिने उनको धारणा छ ।

काइँला भन्छन्, ‘केही वर्षअघि मध्यपहाडी राजमार्ग बनाउने क्रममा पनि लिम्बू इतिहास र संस्कृतिसँग जोडिने यस्ता प्रतीकात्मक ढुंगा विकासका नाममा नष्ट गरिएको भनेर व्यापक विरोध भएको थियोे । विकासका नाममा कुनै पनि पहिचान नष्ट गरिनुहुँदैन । बहुजातीय र बहुसांस्कृतिक नेपाली समाजमा सबैको संस्कृति र इतिहासको मर्यादा राखेर विकास निर्माण गरिनुपर्दछ । पहिचानविहीन विकासले राष्ट्रियता बलियो बनाउँदैन ।’

काइँला थप्छन्, ‘सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका खुवालुङ जस्ता प्रतीकात्मक वस्तुहरूको संरक्षण गर्ने जिम्मेवारी राज्यकै हो ।’

तस्वीरहरू : निर्भीकजंग रायमाझी/अनलाइनखबर

वालुङ ढुंगो अगाडि नागरिक आन्दोलनको समूह ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0