‘एमाले मिल्नै नसक्ने बिन्दुमा पुगेको छैन, अझै मिलाउन सक्छौं’ – Online Khabar


४ चैत, काठमाडौं । पुनर्स्थापित नेकपा एमालेमा सुरु भएको वाद–प्रतिवाद उत्कर्षमा पुगेको छ । अनुशासनको कारबाही गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको चेतावनीका बाबजुद वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राष्ट्रिय कर्ताकर्ता भेला गरेपछि धेरैले एमाले फुट्ने त होइन भन्ने प्रश्न गर्न थालेका छन् ।

तर नेपाल समूहका नेता सदस्य सुरेन्द्र पाण्डे भने एमाले नफुट्ने दाबी गर्छन् । उनले भनेका छन्, ‘मेरा मनमा पनि केही गम्भीर आशंका छन्, तर हाम्रो एकताको सम्भावना टुट्यो, हामी अन्तिम डिलमै पुग्यौं । त्यहाँ भन्दा उता हामफाल्ने मात्रै हो भन्ने देखिहाल्दिन म अहिले ।’

आफूहरु एकताकै पक्षमा रहेको भन्दै उनले पार्टी अध्यक्ष ओली सच्चिनुको विकल्प नभएको बताए । प्रस्तुत छ, एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

साविकको नेकपामा अब केपी शर्मा ओलीसँग बस्न सकिँदैन भनेर छुट्टिन खोज्नुभएको थियो । अदालतले एमाले ब्युँताएर एकै ठाउँमा बस भन्दा पनि तपाईंहरुको मन नमानेको हो ओलीसँगै बस्न ?

यो प्रश्नलाई उल्ट्याएर हेरौं । माओवादी केन्द्रसँग एकता गर्ने एक्लो व्यक्ति कमरेड केपी ओली हुनुहुन्थ्यो । त्यसमा हामी कसैको भूमिका थिएन । बडो छापामार शैलीमा एकता भयो, ओली र प्रचण्डसँगै विष्णु पौडेल र जनार्दन शर्माको दस्तखत भएको कागज सार्वजनिक भयो । हामीले त्यसलाई स्वीकार गर्‍यौं ।

अब सँगै यात्रा गर्न सकिन्न भनेर नेकपामा विभाजनको सुरुवात पनि ओलीजीले नै गर्नु भएको हो, हामीले होइन । यो घटनाक्रमले देखाउँछ ।

कसरी हाम्रा झगडा कुन विन्दुमा पुगेपछि फेरि कसरी टर्न भए सबै म देख्दै, भोग्दै आएको छु र अहिले पनि म के देख्छु भने त्यो (मिल्नै नसक्ने) बिन्दु आएको छैन र हामी मिलाउन सक्छौं ।

देश कोभिडले आक्रान्त भएको बेलामा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो । संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश ल्याउनुभयो । त्यो भन्दा अगाडि बढेर उहाँ (ओली) ले संसद्को विघटन गर्नुभयो । यावत श्रृङ्खलाले के देखाउँछ भन्दा हिजो आफैंले अग्रसरता लिएर एकता गरेपनि विभाजनको नेतृत्वकर्ता पनि उहाँ नै हो ।

हामी पार्टीको एकता जोगाउनुपर्छ, संसद्लाई पाँच वर्ष नै जोगाउनुपर्छ भन्नेमा थियौं । किनकी जनताले पाँच वर्षका लागि म्याण्डेट दिएका छन् । चुनावको बेला पनि हामीले त्यही भनेका थियौं, दुई पार्टी एकताबद्ध हुनेछौं र देश चलाउनेछौं । पार्टी एक बनाएर समाजवादको कार्यक्रम लिएर ‘सुखी नेपाली, समृद्ध नेपाल’को यात्रालाई सुदृढ गर्दै अगाडि बढ्छौं ।

तर यो सबैको विपक्षमा ओलीजी नै देखा पर्नुभयो । हुँदै जाँदा संसद् नै विघटन गर्नुभयो । यो न नेपाली जनताको अपेक्षा थियो, न पार्टीले नै अपेक्षा गरेको थियो ।

संसद त पुनर्स्थापना भयो, तर सर्वोच्च अदालतबाट अर्को एउटा फैसला आयो । जसले तिमीहरुको एकता प्रक्रिया मिलेन, पूर्ववत अवस्थामा (२ जेठ २०७५) फर्कियौ भनिसकेपछि ओलीजीको सदासयता हुन्थ्यो भने उहाँले तुरुन्तै भन्नुहुन्थ्यो– कमरेडहरु बसौं । विगतमा हाम्रो दूरी र मतभेदहरु जे भएपनि बिर्सौं ।

एमाले भन्दापनि हाम्रो अन्तरविरोधहरु नेकपा विभाजनपछि चर्किएर गएका थिए । हिजो एमालेमा पनि थियो । किनकी हामी नवौं महाधिवेशनमा भोट गरेर आएका थियौं । तर अन्तरविरोध यो अवधिमा बढी भयो, यो त्यागौं भनेर उहाँ (ओली) ले आरम्भ गर्नुपर्थ्यो । सोमबार भएको छलफलमा हामीले त्यही भन्यौं । अदालतले जस्तो फैसला दियो, त्यही ठाउँबाट अबको यात्रा सुरू गरौं ।

तर नेकपाको यात्रा टुंग्याउन खोजेजस्तै एमाले एकीकृत बनाएर सहज यात्रामा लैजान नचाहेको हो कि ? जस्तो सोच र दृटिकोण ओलीजीले नै देखाउनुभयो ।

हाम्रो प्रयास त अहिले पनि जुन विन्दुबाट नेकपा एमाले रहेको थिएन, त्यही ठाउँबाट सम्पूर्ण कुराहरु आरम्भ गर्ने र पार्टीलााई एकतावद्ध बनाउने नै छ ।

देशभरिका कार्यकर्ता बोलाएर गुटको राष्ट्रिय भेला गरेर एमाले एकताबद्ध हुन्छ र ?

यो भेला फुट्नका लागि बोलाएको होइन नि । यो त पार्टी एकताबद्ध हुँदा कसरी भए ? एकतापछि पार्टीको आन्तरिक जीवन कसरी गुज्रियो ? सर्वोच्च अदालतको फैसलापछिको अवस्था के हो ? पार्टीलाई एकताबद्ध बनाउन हाम्रो प्रयास के हुन्छ ? अर्को पक्षले कस्तो काम गर्नुपर्छ ? भन्ने प्रष्ट पार्न भेला गर्दैछौं ।

यो भेलामा हामी आफ्ना दृष्टिकोणद्वारा कार्यकर्ताबाट एमालेलाई थप सुदृढ, एकताबद्ध र बलियो कसरी बनाउन सकिन्छ, एकतामा आउने सम्भावित बाधाहरु के–के छन् ? त्योसँग कसरी जुध्ने र पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने भन्नेमै केन्द्रित हुन्छौं ।

फेरि पनि त्यही प्रश्न, देशभरबाट आफू निकट कार्यकर्ता भेला पारेर पार्टीका अध्यक्ष विर्सजनवादी भए, कम्युनिस्ट नै रहेनन् भन्ने जस्ता विश्लेषण गरिएको दस्तावेज पास गरेर एमाले एकताबद्ध हुन्छ ?

हामीले अध्यक्षलाई भनेका छैनौं, पार्टीभित्र देखिएको प्रवृत्तिको विश्लेषण गरेका हौं । आन्दोलन र पार्टीको प्रवृत्तिको विश्लेषण त जहिल्यै पनि गरेका छौं । २०५४ सालमा महाधिवेशन गरिरहँदा ‘विखण्डनवाद र विसर्जनवादको विरोध गरौं, पार्टीलाई एकताबद्ध गरौं’ भनेका थियौं ।

यस्तै वादविवाद र संघर्षबाट पार्टी एक हुन्छ र सुदृढ बन्छ । विचार र प्रवृत्तिहरु ‘करेक्सन’ पनि हुन्छन् । जस्तो, तपाईंले मेरो गलत कामबारे पटकपटक भन्नुभयो भने म त्यसमा पुनर्विचार गर्न बाध्य हुन्छु । मैले पनि तपाईंमा गलत देखेँ र बदल्ने प्रस्ताव राखेँ भने एक वा दुईपटक घोत्लेर विचार गर्नासाथ पुनर्विचार गर्ने अवस्थामा तपाईं पनि पुग्न सक्नुहुन्छ । हाम्रो पार्टीमा यस्तो हुँदै आएको छ । विचार र प्रवृत्तिहरुबारे पार्टीमा छलफल हुँदै आएको छ र अहिले पनि हुन्छ । यसलाई अन्यथा ठान्नुपर्ने जस्तो देख्दिन ।

तपाईंले भनेको जस्तो हुनका लागि त दुबै पक्ष बसेर छलफल गर्नुपर्ला नि, एउटा गुटको भनौं वा मन मिल्नेहरु सेयर गर्ने छलफलले एकअर्काको कमजोरी बुझ्ने र अगाडि बढ्ने अवस्थामा पुर्‍याउँछ र ?

हामीले भेलामा समग्र पार्टी कार्यकर्तालाई बोलाएका छौं, कुनै एकपक्षलाई मात्रै होइन । हामीले सांसदहरु, केन्द्रीय सदस्य, केन्द्रीय निकाय र सल्लाहकार, सम्पर्क क्षेत्रका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी बोलाएका छौं । कुनै पक्षलाई नबोलाउने गरेका छैनौं, सबैलाई आएर विचार सुन्नुहोस् नै भनेका छौं ।

तर पार्टी अध्यक्षले त पार्टी र दलको विधानको डण्डा देखाइसक्नु भयो त ?

नेकपा एमाले एउटा नेताबाट चलेको पार्टी होइन । धेरै नेताहरुको त्याग, वलिदान र अनुभवबाट बनेको पार्टी हो । र, उहाँको डण्डामा कोही तर्सदैनन् । अनुशासनको उल्लंघन गर्ने, गुटगत गतिविधि गर्ने विगतमा को–को थिए ? ओली कमरेड कति संलग्न हुनुभयो ? हाम्रो के भूमिका रहे ? यसको समीक्षा हुन्छ नि ।

पार्टीको अनुशासन कसैका लागि धेरै, कसैले कम पालना गर्नुपर्ने विषय होइन । पार्टी अध्यक्षले पनि पालना गर्नुपर्छ, पार्टीको साधारण सदस्यले पनि पालना गर्नुपर्छ । पार्टी कार्यकर्ताले आफैं विधान पढेका छन्, आफैं देख्दै/बुझ्दै र भोग्दै पनि आएका छन् । यसलाई ठूलो कुरा ठान्दिनँ ।

एकअर्कालाई नमान्ने, गुटगति गतिविधि गर्दै जाँदा पार्टी चाहिँ कहाँ पुग्ला ?

हिजो पनि हामीले भन्यौं, गुटगत गतिविधिलाई शून्यमा झारौं । त्यही सन्देश बोकेर धुम्बाराही आएका छौं ।

तर धुम्बाराहीबाट बाहिर निस्कनथाथ बानेश्वरमा पुगेर छुट्टै भेला राख्नुभयो ?

उहाँहरु विदा भएपछि त्यहाँ (धुम्बाराहीमै) पनि छुट्टै बस्यौं । त्यसलाई पनि गुट भेला भन्नुहुन्छ ? त्यसैले कहिले दुई जना, कहिले चार जनाबीचमा कुरा होला, पार्टीलाई थप एकताबद्ध, सुदृढ गर्न र समस्या सुल्झाउन कहिले धेरै र कहिले थोरै बस्नुपर्ला ।

अर्काे कुरा, पार्टीभित्र विगतदेखि खासगरी ओली कमरेडले अल्पमतमा रहँदा पनि मदन भण्डारी फाउण्डेसनको नामबाट समानान्तर गतिविधि चलाउँदै आउनुभयो । पार्टीले यस्तो गतिविधि गर्नु हुँदैन भन्यो, तर उहाँले छोड्नुभएन । नेकपा बन्दा पनि मदन भण्डारी फाउण्डेसनको शाखा कार्यालय, वडा कार्यालयसम्म बनाउनुभयो । त्यो गुटबन्दीपूर्ण थियो कि थिएन ?

मदन भण्डारी व्यक्ति विशेषको नेता होइन, सबैको साझा नेता हो । एउटा नेताको नाम बद्नाम नगरौं भनेर हामीले बारबार भन्दै आएको हो । तपाईंहरुलाई याद होला, नेकपाभित्र देखिएको झगडा मिलाउन एउटा कार्यदल बनेको थियो, जसको एउटा सदस्य म पनि थिएँ । त्यसबेला हामीले पार्टीभित्र नेताहरुको नाममा संगठन बनाएर समानान्तर गतिविधि गर्न पाइनेछैन भन्ने निर्णय गर्‍यौं । तर, उहाँले गरिरहनुभएको छ ।

सोमबार भेट्दा पनि हामीले समानान्तर गतिविधि र गुटबन्दी बन्द गरौं भन्यौं । तर मान्नु भएन ।

तपाईंहरुले यो राष्ट्रिय भेला रोक्छौं, तपाईले पनि गुटगत गतिविधि र निर्णय नगर्नुहोस् भन्नसक्नु हुन्थ्यो नि ?

अदालतले एमाले पुनर्स्थापना गरेपछि ओलीजीले विभिन्न भेला गरिराख्नुभएको छ । एक पक्षीय मान्छेलाई बोलाउँदै नबोलाइकन २८ फागुनमा कथित केन्द्रीय कमिटीको विशेष बैठक बसेको सुनियो ।

आफूलाई मन परेको मान्छेलाई मात्रै सूचना गरेर बैठक हुन्छ कहीँ ? पार्टीको विधानले भन्छ ? यस्तो गर्ने मान्छेलाई चाहिँ अनुशासनको कारवाही हुन्छ कि हुँदैन ? जसले यस्तो सूचना गरेर बैठक भन्यो, त्यो नै अनुशासनको कारबाहीको विषय होइन ? त्यसो गर्न मिल्छ र ? नेतृत्वमा बसेको मान्छेले त्यसो गर्न मिल्छ र ? मिल्दैनथ्यो ।

त्यसैले हामीले भन्यौं, जम्मै गतिविधिहरु रोकौं । २३ गते पछिका सबै गतिविधि शून्यमा गए भन्ने समझदारी गरौं । २८ गतेको बैठकलाई अमान्य भन्नुहुन्छ भने २९ गतेको भेलामा केके भन्नुभयो, हामी त्यो बिर्सिदिन्छौं । यसबारे पछि कुरा गरौंला । उहाँले यो चाहिँ हुँदैन भनेपछि हामीले पनि कुरा त सुनाउनुपर्‍यो । अहिलेको परिस्थिति के हो ? उहाँहरुले केके भन्नुभयो ? र पार्टीलाई एकताबद्ध बनाउन के प्रयास गर्नुपर्छ ? कसरी गर्नुपर्छ ? भन्ने कुरा त कार्यकर्तालाई बताउनु परेन ?

तपाईंहरुले एकअर्कालाई दोष देखाउन जेजे तर्क गरेपछि साविकको नेकपामा २८ कात्तिकमा जसरी एउटा अध्यक्षले अर्को अध्यक्षमाथि गम्भीर आरोपहरु लगाएर राजनीतिक प्रतिवेदन पेश गर्नुभयो र त्यसले मिल्नै नसक्ने ठाउँमा पुर्‍यायो, आजको दिनमा एमाले पनि त्यसतर्फ उन्मुख भए जस्तो लाग्दैन ?

त्यस्तो लाग्दैन । किनभने, साबिकको नेकपामा पनि २८ कात्तिकको परिस्थितिपछि पनि मिल्न नसकिने थिएन । ओलीजीले एक कदम पछाडि हटेर साथीहरु छोडिदिऔं, मिलेर जाऔं भन्नुभएको भए हुन्थ्यो । यसमा अरुको पनि दोष थियो होला, तर उहाँ आफैंलाई एक नम्बर अध्यक्ष भन्ने अनि एक नम्बर जिम्मेवारी लिन तयार हुनुपर्थ्यो ।

त्यो कमजोर (नेकपा विभाजन) जग चाहिँ एकता गर्दा नै उहाँहरुले गरेको सल्याकसुलुक र गोप्य सहमति थियो । केके कुराको लाभ लिने भागबण्डा थियो । त्यो भागबण्डा परिपालना भएन । त्यही झगडामा हामीलाई हालिदिनुभयो, कुरा त्यति मात्र हो ।

समस्याहरु बल्झिदै, चर्किदै गए । आपसी दूरी बढ्दै गयो । र, ‘प्वाइन्ट अफ नो रिटर्न’ मा पुग्दै गयो । सबैभन्दा पहिले त्यो विन्दुमा स्वयं ओलीजी पुग्नुभयो ।

किनभने ५ पुसमा बैठक बस्दै थियो, तर त्यसअघि नै उहाँले संसद् विघटन गरिदिनुभयो । संसद् विघटन नगरौं, उपायहरु छन् भनेर अर्का अध्यक्षले भनिरहनु भएका बखत उहाँले विघटन गर्नुभयो । त्यसले ओलीजी के चाहनुहुन्छ भन्ने अरुमा थप आशंका भयो । यो पार्टीकै भविष्य डामाडोल पार्नेबाहेक अरु कुरा थिएन । त्यसैले विरोध भयो, आलोचना भयो ।

अहिले अदालतले पूर्ववतः अवस्थामा फर्काइदियो । त्यसैले कसको कमजोरी प्रधान भन्ने अहिलेलाई छोडौं र शून्य विन्दुबाट यात्रा सुरु गरौं भनेका छौं । यो कुरा भन्दा अरुले पार्टी र आन्दोलनलाई अगाडि लैजान सक्छ र ? देशलाई अगाडि लैजान सक्छ र ? सक्दैन ।

को दोषी भन्ने तपाईंहरुको मत आफ्नो ठाउँमा छ, तर जसरी जसरी अगाडि बढ्नु भएको छ, त्यसले फेरि एक ठाउँमा उभिनै नसक्ने विन्दुमा त पुग्नुहुन्न ?

मलाई त्यस्तो लाग्दैन । केही गम्भीर आशंका मेरो मनमा पनि छन् । अरु मान्छेको पनि मनमा परेको होला । समर्थक र शुभेच्छुकको दिमागमा पनि परेको होला, तर हाम्रो एकताको सम्भावना टुट्यो, हामी अन्तिम डिलमा पुग्यौं । त्यहाँ भन्दा उता हाम फाल्ने मात्रै हो भन्ने देखिहाल्दिन म अहिले ।

व्यक्तिवाद चर्किएर गयो भने आफ्नो र अर्को भन्ने हेर्दैन । जो विपक्षमा खडा हुन्छ, ती सबैमाथि डण्डा बर्सिन्छ । त्यसैले समयमै यस्ता कदम गलतलाई रोक्नुपर्छ, पार्टीलाई विधिबाट चलाउनुपर्छ ।

एकताको सम्भावना विद्यमान छ र, एकताबद्ध आन्दोलनको विकल्प पनि छैन । यो आन्दोलन कमजोर हुँदा एउटा बलियो हुन्छ र अर्का मात्रै सिद्धिन्छ भन्ने छैन । नोक्सान हुँदा सबै नै नोक्सानीमा पर्ने हो । त्यसैले अहिले नै एक ठाउँमा उभिन सकिदैन, एकताको सम्भावना छैन भन्ने म ठान्दिनँ ।

तपाईंले केही आशंकाको कुरा गर्नुभयो र एकताको सम्भावना छ पनि भन्नुभयो । एकतावद्ध एमालेका लागि तपाईंले देखेको पूर्वशर्त केके हुन् ?

बटमलाइन भनेको सुरुवात शून्य विन्दुबाट गरौं, समीक्षा अलि शान्त मुडमा गरौंला । किनकी तातोमा कुनै समीक्षा हुँदैन । तैंले यो भनिस्, तैंले यो भनिस् भन्ने सुरु हुन्छ । यस्ता धेरै अन्तरविरोध झगडा मिलाउँदै आएको हाम्रा आफ्नै अनुभवले पनि यही भन्छ ।

मेरै कुरा गर्नुहुन्छ भने २०३९ सालमा तत्कालीन मालेको महासचिवमा सीपी मैनाली हटेपछि पार्टीभित्र देखा परेका प्रत्येक घटनाक्रमलाई नजिकबाट हेरेको छु, कतिपय किनारा लगाउन भूमिका खेलेको छु । चाहे त्यो २०३९ सालको विवाद होस्, चाहे २०५३ तिर बामदेव कमरेडहरुको विवाद होस्, या त्यसपछिको अवस्थामा ओलीजीसंगको विवादको कुरा गर्नुस्, ओली पनि एकचोटी पार्टी छोड्छु, पार्टी फुटाउँछु भन्ने बिन्दुमा पुग्नुभएको थियो ।

यी जम्मै विवादहरुको श्रृङ्खलामा हामीले कसरी मिलाएर आयौं, कसरी हाम्रा झगडा कुन विन्दुमा पुगेपछि फेरि कसरी टर्न भए सबै म देख्दै, भोग्दै आएको छु र अहिले पनि म के देख्छु भने त्यो (मिल्नै नसक्ने) बिन्दु आएको छैन र हामी मिलाउन सक्छौं ।

तर यो पटक त एमाले मात्र होइन, माओवादीसमेत भएको साबिकको नेकपाबाट विवाद सुरु भएको देखिन्छ । एमालेकै कतिपय नेताहरुले केपी ओलीलाई ठेगान लगाउन तपाईंहरुलाई प्रचण्डजीहरुले केही भारी बोकाएर पठाएको पनि भन्छन् नि ?

प्रचण्डजीले वुटवलमा गएर के भन्नुभयो भनेर मैले पनि सुनेँ । हिजो भेट हुँदा प्रचण्डजीलाई मैले भनेँ, ‘कृपया हाम्रो बारेमा नबोल्नुस् । हाम्रा सुख दुःख, हामी आफैं फेस गर्छौं । तपाईं आफ्नो काम गर्नुस् । ओलीजीसँग वातचित गर्नुछ भने आफ्नो ढंगले गर्नुस्, त्यसमा हामीलाई नजोड्नुस् ।

तै पनि केही मान्छेले यस्ता बकम्फुसे कुरा उठाएको मैले देखेँ । के हामी प्रचण्डजीको खुट्टामा उभिएर आएका हौं र ? प्रचण्डजीको खुट्टामा उभिन खोज्ने त ओलीजी हो । यो यत्तिको नाङ्गो सत्य हुँदाहुँदै मानिसहरु किन अर्को कुरा गर्छन् ? सत्य कुरा यही हो ।

त्यसो भए कतिपयले आशंका गरेको जस्तो राष्ट्रिय कार्यकता भेलाबाट एमाले विभाजन गर्ने वा त्यसको आधार बनाउने र भोलिका दिनमा प्रचण्डहरुसँग मिलेर नयाँ पार्टी बनाउने सब बकम्फुसे कुरा हुन् ?

बेकारका कुरा हुन्, त्यस्तो हुन्थ्यो भने (एमाले पुनर्स्थापित गर्ने सर्वोच्चको फैसलापछि) एकता जे सुकै होस्, हामी अलग भइसक्यौं भनेर छुट्टै बस्थ्यौं होला नि । अदालतबाट फैसला आउनेबित्तिकै हामीले अनौपचारिक रुपले छलफल गर्‍यौं र एमाले सुदृढ गर्ने जिम्मेवारी आएको छ, त्यसका लागि भूमिका खेल्नुपर्छ भनेर निर्णय गर्‍यौं । प्रचण्डजीले जा भनेर पठाएको हो र हामीलाई ?

तर पेरिसडाँडा जानुभयो, बडो रुवाबासी गर्दै आउनुभयो भन्ने छ नि …

विलकुल गलत कुरा हो । पेरिसडाँडामा ओलीजी जानुभएको छैन र ? प्रचण्डजीकाेमा गएर रोइकराई गर्नु भएको होइन र ? पार्टी एकता गर्नुपूर्व कति रोइकराई गर्नुभयो भनेर ओलीजी र उहाँका नजिकका मान्छेलाई सोध्नुस् । प्रचण्डजीलाई सोध्नुस् त ! कस्तो हाउभाउ थियो भन्ने बताइदिहाल्छन् नि ।

त्यसो भए पार्टी अध्यक्ष ओलीले अनुशासनको कारबाही गर्नुभयो भने पनि एमालेमै बसेर संघर्ष गर्नुहुन्छ ?

यो निश्चित छ । हामीले त्यही संकल्प गरेका छौं । व्यक्तिवाद, स्वेच्छाचारिता मान्दैनौं, पार्टीलाई विधिपूर्वक अगाडि लैजान्छौं । व्यक्ति जो सुकै भएपनि पार्टी संगठनको अधीनमा हुन्छ । यही होइन मार्क्सवाद–लेलिनवाद ? वामपन्थी कुरै छोडिदिनुस्।

पुँजीवादी या प्रजातान्त्रिक एउटा प्रोसेसमा पनि व्यक्ति भनेको समूहको अधीनमा हुन्छ । समूहले मानेसम्म उसले नेतृत्व गर्ने हो, जुन दिन मान्न छोडिदिन्छ, व्यक्ति व्यक्तिमा सीमित हुन्छ ।

तपाईंहरुकै शब्दमा भन्दा ओली प्रवृत्तिलाई सच्याउनुहुन्छ, आफैं सच्चिनुहुन्छ ?

ओलीजी सच्चिनैपर्छ, त्यसको कुनै विकल्प छैन । ओली प्रवृत्ति सच्चिएन भने नेकपा एमाले नै सिद्धिन्छ । किनकी उहाँहरुले भनेको जस्तो आज माधवकुमार नेपाल वा हामीमाथि अनुशासनको डण्डा लगाउनुभयो भने अर्कालाई डण्डा लगाउने दिन आउँदैन ?

म हुकुमबाट पार्टी चलाउँछु भन्यो भने अर्कोको हुकुम लाग्दैन ? राजाको शासनमा पञ्चायत विरोधीलाई त डण्डा लाग्थ्यो लाग्थ्यो, पदम ठकुराठी जस्तो स्वयं राजावादी मान्छेमाथि गोली चलाउन पुग्या होइन ? सूर्यबहादुर थापाहरुमाथि डण्डा चलेको होइन जबकी उनीहरु त पञ्च नै थिए, व्यवस्थाकै पक्षधर थिए ।

त्यसैले व्यक्तिवाद चर्किएर गयो भने आफ्नो र अर्को भन्ने हेर्दैन । जो विपक्षमा खडा हुन्छ, ती सबैमाथि डण्डा बर्सिन्छ । त्यसैले समयमै यस्ता कदम गलतलाई रोक्नुपर्छ, पार्टीलाई विधिबाट चलाउनुपर्छ । जतिसुकै ज्ञान भएको मान्छे होस्, कमिटीको अधीनमा हुन्छ भन्ने स्थापित गरिएन भने पार्टी चल्दैन । कम्युनिस्ट छोड्नुस्, पुँजीवादी पार्टी पनि चल्दैन ।

तपाईंले पुराना नेताहरुदेखि अहिले भएका झलनाथ, माधवकुमार नेपाल र केपी ओली सबको नेतृत्वमा काम गर्नुभयो । एमालेको आयु, कम्युनिस्ट आन्दोलनबारे तपाईंको दिमागमा कस्तो तस्वीर बन्दैछ ?

एमालेलाई पूर्ववत अवस्थामा बलियो र सुदृढ बनाउन निकै मेहनतको खाँचो छ । यो क्षय पनि हामी आफैंले गरेका हौं ।

ओलीजीकै कामले या हाम्रा पनि केही काम होला, तर क्षय हामीले नै गर्‍यौं । तीन वर्ष अगाडिको एमालेको प्रतिष्ठा अहिले छ ? आफ्नै छातीमा हात राखेर सोधे हुन्छ ।

त्यसबेला एमाले सबैको एउटा आशाको केन्द्र थियो । पछिल्लो चुनावमा सुख समृद्ध जीवन दिने संकल्प, त्यसअनुसार पाएको झण्डै दुई तिहाईको जनमत र पार्टी एकताले हाम्रो पार्टी, यसका नेताहरुको त्यो क्रेज अझ बढेको थियो । त्यो क्रेजको टुप्पोमा ओलीजी हुनुहुन्थ्यो ।

अहिले अर्को बिन्दुमा आइपुगेका छौं । वाम एकता टुटिसक्यो, एमाले पनि हिजोको अवस्थामा छैन र आपसी झगडा र द्वन्द्वमा छौं । हामीले यो आन्दोलनमा देख्दै भोग्दै आएका छौं, त्यसका पात्र पनि हौं । त्यसबेला हामी कत्रो साइजमा थियौं ? त्यो सानो साइज कसरी ठूलो हुँदै गयो ? अरु पार्टीहरु ठूला हुँदाहुँदै कसरी सानो भएर गए ? जम्मै आँखो देखा छ ।

त्यसरी हेर्दा आजका गतिविधिहरु पार्टीका लागि सुखद होइनन्, दुःखद नै हुन् । रमाइलो कुरा पनि होइन । आज हरेक कायकर्ताले छातीमा हात राखेर सोधिरहेका छन्, हाम्रो आन्दोलन के हुन्छ ? नयाँ पिँढीका मान्छेको भविष्य के हुन्छ ? अघिल्लो पिँढी त करिबकरिब जीवनका उतरार्द्धमा हुनुहुन्छ, आन्दोलन र पार्टीको माध्यमबाट निश्चित इच्छा पनि परिपूर्ति भयो होला ।

मेरै कुरा गर्नुहुन्छ भने आफ्नै जीवनमा पञ्चायत फाल्यौं, राजतन्त्र फालियो । ठूलो ऐतिहासिक काम हामीले गरेनौं र ? अब सम्पन्न नेपाल र सुखी नेपाली बनाउन सकेनौं भने कति चोटी प्रधानमन्त्री भयो, कतिपटक मन्त्री भयो भन्ने के लेनादेना ?

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0