सरकारी अधिकृतको जागिर छाडेर सेयर बजारमा – Online Khabar


३ चैत, काठमाडौं । अम्बिकाप्रसाद पौडेल अर्थात् सेयर लगानीकर्ता । पौडेल सेयर बजारका पुराना र परिचित व्यक्ति हुन् । अहिले पनि उनको दैनिकी सेयर बजारकै गतिविधिमा बित्छ । बजारमा निकै ठूलो उचारचढाव आयो भने उनको फोन आउने क्रम पनि ह्वात्तै बढ्छ । सञ्चारकर्मीदेखि सेयरका विषयमा जानकारी राख्ने धेरैले उनलाई सोधिहाल्छन्– बजारमा के भएको ? अब के हुन्छ ? अनुभवी लगानीकर्ता भएका कारण पनि उनले यस्ता प्रश्नहरू दैनिकजसो सामना गरिरहन्छन् ।

यस्ता जिज्ञासाहरू उनले सहजै मेटाइदिन्छन् । बजार खुलेको दिन किनबेच, त्यसपछि सेयर सम्बन्धी छलफल । उनीसँग हुने चिया गफ पनि सेयर बजारसँगै सम्बन्धित हुन्छन् । अहिले भने उनलाई चुनाव लागेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट उम्मेदवारी दिएका छन् । यो चुनाव जित्नका लागि भोट माग्नमा व्यस्त छन् उनी ।

छरिएर रहेका एनटीसीका सेयरधनीहरूबाट प्रोक्सी बटुल्नुपर्छ । आफूले धेरै प्रोक्सी बटुल्न नसके अर्कोले चुनाव जित्छ । ‘यहाँ युनियनका साथीहरूको निकै राम्रो भोट छ, अन्य सर्वसाधारण सेयरधनीहरू पनि धेरै हुनुहुन्छ’ कार्यालयमा फोनमा कुरा गर्न भ्याई-नभ्याई अवस्थामा देखिएका उनले भने ।

अहिलेका ठूला र चर्चामा रहेका लगानीकर्ता अम्बिका सेयर बजारमा राम्रैसँग जमेका छन् । छँदाखाँदाको सरकारी जागिर नै छाडेर उनी सेयर बजारमा पूर्णकालीन रूपमा सक्रिय छन् । पेन्सन हुन केही वर्ष बाँकी छँदै उपदान लिएर सेवाबाट बाहिरिए । ‘म सेयर बजारमै पूर्णकालीन रूपमा लाग्ने उद्देश्यका साथ जागिर छाडेको थिएँ’ उनले भने, ‘मैले जुन सोचले जागिर छाडेको थिएँ, त्यही अनुसार अहिले बजारमा सक्रिय छु ।’

करिब चार दर्जन कम्पनीहरूको सेयरधनी रहेका उनी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत चार कम्पनीको त सञ्चालक नै छन् । अब एनटीसीमा पनि चुनाव जिते उनी पाँचौं सूचीकृत कम्पनीको सञ्चालक समितिमा हुनेछन् ।

 

उनी सेयर बजारमा प्रवेश चाहिँ कसरी गरे त ? यो खोतल्ने प्रयास गर्‍यौं । स्याङ्जाको सामान्य परिवारमा २०२८ सालमा जन्मिएका थिए पौडेल । उनका बुवा गाउँभरिका पुरोहित । प्राथमिक तहको शिक्षा गाउँमै पूरा गरेका उनी एसएलसी उत्तीर्ण पछि भने उच्च शिक्षाका लागि पोखरा झरे । पोखरामै आइकम उत्तीर्ण गरेपछि भने उनी स्नातक तह अध्ययनका लागि राजधानी काठमाडौं प्रवेश गरे । शंकरदेव क्याम्पसबाट स्नातक र स्नातकोत्तर तहको अध्ययन पूरा गरे ।

उनले सेयर किनेको केही समयपछि नै बजार चुर्लुम्मै घट्यो । ऋण लिएको पैसा भएका कारण समयमै तिर्नुपर्ने दबाब उनलाई थियो । त्यसपछि उनी संकटमा परे । ‘बेचौं मूल्य घटेको छ, नबेचौं भाइ र साथीको पैसा दिनुपर्नेछ’ उनी सम्झन्छन्, ‘तर त्यो मेरा लागि टर्निङ प्वाइन्ट बन्यो, त्यसपछि म निजामतीको तयारीमा लागें ।’

स्नातक तहको अध्ययन गर्दै गर्दा उनले एक निजी कम्पनीमा जागिर खान शुरू गरे । केही वर्ष उनले निजी कम्पनीमै अकाउन्टेन्टको रूपमा काम गरे । ‘स्याङ्जाली भन्ने बित्तिकै निजामती सेवामै धेरै लाग्थे, अहिले पनि त्यस्तै छ’ उनले भने, ‘जागिर सरकारी नै खानुपर्छ भन्ने भएपछि म पनि त्यताको तयारीमा लागें ।’

पढाइमा अब्बल थिए अम्बिका । उनले लोकसेवा परीक्षा दिए । नभन्दै उनले पहिलो पटकमा नै लेखा अधिकृतमा नाम निकाले । त्यसपछि प्रवेश भयो उनको सरकारी सेवा यात्रा ।

‘…त्यसपछि सरकारी जागिर छाडें’

महालेखा नियन्त्रकको कार्यालयमा उनको पोष्टिङ भयो । मातहतको कार्यालय काभ्रेमा उनी हाजिर भए । त्यसपछि शिक्षा विभाग, महालेखा नियन्त्रकको केन्द्रीय कार्यालय, राष्ट्रिय योजना आयोगलगायत कार्यालयहरूमा काम गर्दै उनले ११ वर्ष बिताए । पेन्सन हुन एक दशक पनि सेवा गर्नुपर्ने थिएन ।

तर उनले पेन्सन नखाने विचार गरे । अर्थात् उनले सरकारी जागिर छाड्ने निर्णय गरे । २०६५ सालमा उनी सरकारी सेवाबाट बाहिरिए । सरकारी जागिर छाड्नुको एउटा मात्रै उद्देश्य थियो, सेयर बजारमा पूर्ण रूपमा लागिपर्ने ।

हुन त अम्बिका सरकारी जागिर शुरू गर्नुभन्दा अघि नै सेयर बजार प्रवेश गरिसकेका थिए । व्यवस्थापनको विद्यार्थी भएका कारण पनि उनलाई अध्ययन गर्दागर्दै सेयर बजारबारे रुचि थियो । साथीभाइहरूको सल्लाहले उनी सेयर बजारमा पहिले नै प्रवेश गरिसकेका थिए ।

तर उनले आम्दानीको मुख्य स्रोत नै सेयर बजार बनाउँछु भन्ने पहिले नै सोचेका भने थिएनन् । सेयरमा लगानी गर्दै गए । कहिले घाटा कहिले नाफा यसलाई स्वाभाविकै मान्छन् अम्बिका । तर उनले खासै घाटा भने बेहोर्नु परेको छैन ।

सेयर बजार एउटा जोखिमको लगानी क्षेत्र हो । यो प्राविधिक विषय पनि भएकाले कसैले कमाएकै भरमा म पनि कमाउँछु भन्ने सोच्नेहरू भने समस्यामा पर्न सक्ने उनी बताउँछन् । आफूले भने बजारबारे केही बुझ्ने मौका पाएका कारण घाटा धेरै बेहोर्नु नपरेको उनी सुनाउँछन् ।

जब उनी निजामती सेवाबाट बाहिरिए त्यसपछि भने उनको सक्रियता झन् बढ्यो । आफ्नो क्षमताले भ्याएसम्म सेयर बजारमै लगानी गरे । आफ्नो क्षमता र बैंकले पत्याउनेसम्मको ऋण लिएर समेत उनले लगानी गरेको सुनाउँछन् । तर लगानी गर्नुअघि जोखिमबारे आफूले धेरै अध्ययन गर्ने गरेको उनी सुनाउँछन् ।

सफलताको पहिलो खुट्किलो

अहिले ठूला लगानीकर्ता र सेयर बजारबाट निकै राम्रो प्रगति गरेका भनेर चिनिने अम्बिकाको सेयर बजार प्रवेशको पहिलो खुट्किलो भने सुखद हुन सकेन । पहिलो पटक उनले हिमालयन बैंकमा साधारण सेयर (आईपीओ) का लागि आवेदन दिएका थिए । अहिले घर वा अफिसमै बसेर मोबाइलबाटै पनि आईपीओ भर्न सकिन्छ । तर त्यसबेला सहज थिएन ।

आईपीओ भर्नका लागि निकै लामो लाइन लाग्नुपथ्र्यो । घण्टौं लाइन लागेर उनले आईपीओका लागि आवेदन दिएका थिए । त्यतिबेला अहिलेको जस्तो लाखौं आवेदक पनि हुँदैनथे । तर पनि पहिलो गाँसमै ढुंगा लाग्यो । अर्थात् उनलाई एक कित्ता पनि सेयर परेन । भनिन्छ, सफलताको पहिलो खुट्किलो नै असफलता हो । अम्बिकाले शायद, यस्तै सोचे । पहिलो गाँसमा ढुंगा लाग्यो भनेर खानै खान छाडेनन् ।

दोस्रो पटक नेपाल एसबीआई बैंकको आईपीओका लागि आवेदन दिए । त्यसपछि नेपाल बंगलादेश बैंकका लागि पनि । यी दुवै बैंकको सेयर अम्बिकाले हात पारे । गोलाप्रथाबाट उनलाई १०÷१० कित्ता सेयर पर्‍यो । अब त झन् उनलाई उत्साह मिल्यो ।

सेयर बजारमा लगानी गर्नका लागि त्यसपछि हौसला मिलेको उनी बताउँछन् । समय बित्दै गयो । उनी प्राथमिक बजारमा मात्रै सीमित हुन सकेनन् । दोस्रो बजारमा पनि प्रवेश गर्ने योजना बनाए । पहिलो पटक उनले २०५० सालमा नबिल बैंकको ५० कित्ता सेयर दोस्रो बजारबाट खरिद गरे । अनि शुरु भयो उनको दोस्रो बजारको यात्रा । त्यसपछि लगातार उनी किनबेचमा लागे ।

२०५४ सालमा सेयर बजार निकै ठूलो अंकले घट्यो । त्यसपछि भने उनी लोकसेवाको तयारीमा जुटे । २०५५ सालमा लेखा अधिकृतको रूपमा सरकारी सेवामा प्रवेश गरे । जागिर खाएको केही वर्ष उनले दोस्रो बजारमा कारोबार गरेनन् । तर सेयरमा राम्रै भिजिसकेका उनको मनले कहाँ मान्थ्यो र ? तीन वर्षपछि उनले सेयर बजारमा पुनः सक्रियता देखाउन थाले । सरकारी जागिर छाडेर उनले ‘हाथवे इन्भेष्टमेन्ट’ नामक लगानी गर्ने कम्पनी खोले । अहिले पनि उनले यही कम्पनीबाट समेत कारोबार गर्दै आएका छन् ।

 

बिर्सनै नसक्ने ती घटना…

सेयर बजारमा लाग्दै गर्दा उनका केही सम्झनयोग्य घटना पनि छन् । सरकारी जागिर खानुभन्दा पहिला सेयर बजारमा थिए । ११ वर्षपछि पुनः सेयर बजारमै फर्किए । एक पटक उनले एक लाख ८० हजार रुपैयाँ आफ्नो भाइ र साथीसँग सापटी लिएर दोस्रो बजारबाट केही कम्पनीहरूका सेयर उठाए ।

तर अफशोच उनले सेयर किनेको केही समयपछि नै बजार चुर्लुम्मै घट्यो । ऋण लिएको पैसा भएका कारण समयमै तिर्नुपर्ने दबाब उनलाई थियो । त्यसपछि उनी संकटमा परे । ‘बेचौं मूल्य घटेको छ, नबेचौं भाइ र साथीको पैसा दिनुपर्नेछ’ उनी सम्झन्छन्, ‘तर त्यो मेरा लागि टर्निङ प्वाइन्ट बन्यो, त्यसपछि म निजामतीको तयारीमा लागें ।’

त्यसबेला एक किसिमको प्रेसर फिल भएको उनी सुनाउँछन् । जसका कारण जागिर खानु परेको थियो । अधिकृतमा लोकसेवा आयोगले विज्ञापन निकालेको थियो । उनले आवेदन दिए, र नाम निकाले । उनले सेयर बिक्री गरेनन् । अलि समयपछि साँवामै मूल्य आइपुग्यो । ‘त्यसपछि मैले सेयर बेचेर सापटी फिर्ता गरें’ उनले भने, ‘मलाई त्यसबेला नाफा भएन, तर साँवा नै डुब्न भने दिइनँ ।’

यो जागिर खानुभन्दा अगाडिको कुरा भयो । आफूले बिर्सन नसक्ने अर्को घटना भनेको जागिर छाडेपछिको हो । उनले जागिर छाडेको केही समयपछि बजारमा ठूलै पहिरो गयो । बजार नराम्रोसँग ओरालो लागेपछि उनलाई एक पटक लाग्यो, ‘बेकार जागिर छाडेछु !’ तर त्यसपछि भने उनले कहिल्यै पछि फर्किनु परेको छैन ।

‘मैले जागिर छाडेर गल्ती गरें कि भन्ने त्यही एक पटक लागेको हो, त्यसपछि कहिल्यै त्यस्तो भएन’ उनले भने, ‘अब त हुने कुरै भएन, म जबसम्म तन्दुरुस्त रहन्छु, तबसम्म बजारमै सक्रिय हुन्छु ।’



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0