जापानलाई अत्याउने त्यो प्रलयकारी भूकम्प – Online Khabar


मार्च ११ । जापानको धर्ती नराम्ररी हल्लियो । यो भू–कम्पन यति भयानक थियो कि, त्यसले २०७२ वैशाखमा नेपालमा गएको विनाशकारी भूकम्पलाई बिर्साउँथ्यो ।

भूकम्पपछि नेपालमा जसरी घरहरू ठडिए, नेपालीको स्वाभिमानको धरहरा ठडियो, जापानमा पनि नेपालीको इज्जत, पहिचान र प्रतिष्ठा ठडिएको दिनका रूपमा मलाई स्मरण भएर आउँछ ।

जापान, सूर्योदयको देश । भौगोलिक हिसाबमा देश सानो भए पनि व्यापारिक, कुटनीतिक तथा विश्व हस्तक्षेपका आधारमा फराकिलो देश जापान । प्रविधि, विकास निर्माण र मानव सभ्यतामा झनै उच्चकोटिको देश जापान । चुनौतीलाई पनि चुनौती दिँदै दोस्रो विश्वयुद्धयता निरन्तर विश्वको ध्यान आफूतिर तानिरहन सफल देश जापान । भूकम्प र सुनामीलाई दैनिकी बनाएर घरिघरि लड्दै, फेरि लगत्तै उठ्दै अघि बढिरहेको ‘भूकम्पको देश’ उपमा पाएको भूमि ।

९ रेक्टर स्केलको भूकम्प

ठीक दश वर्षअघि । सन् २०११ मार्च ११ का दिन जापानले अहिलेसम्मकै ठूलो तथा विश्वकै चौथो ठूलो महाभूकम्पको सामना गर्नुपर्‍यो । जसको मापन ९.० रेक्टर स्केल गरिएको थियो र, यो नै विश्वमा पछिल्लोपटक मापन गरिएको सबैभन्दा ठूलो भूकम्प हो ।

भूकम्पको मापन आधुनिक रेकर्डमा राख्न थालिएयता सबैभन्दा ठूलो भूकम्प दक्षिण अमेरिकी राष्ट्र चिलीले खेप्नुपरेको थियो । सन् १९६० मे २२ का दिन चिलीले व्यहोरेको महाभूकम्प ९.५ रेक्टर स्केलको थियो । त्यस्तै सन् १९६४ मार्च २८ मा अमेरिकाको अलस्कामा मापन गरिएको ९.२ रेक्टर स्केलको भूकम्प दोस्रो ठूलो थियो भने सन् २००४ डिसेम्बर २६ मा इन्डोनेसियामा मापन गरिएको ९.१ रेक्टर स्केलको महाभूकम्प विश्वको तेस्रो ठूलो थियो ।

नेपाललाई लिएर भूकम्पको कुरा गर्दा मुख्यतः तीन वर्षहरूलाई सम्झिने गरिन्छ– वि.स. १८९०, १९९० र २०७२ । यी तिनै भूकम्पलाई महाभूकम्पको संज्ञा दिने गरिएको छ ।

नेपालको भूकम्पको इतिहास खोतल्दा वि.सं. १२१८ मा गएको भूकम्पलाई पहिलो विनाशकारी भूकम्पको रूपमा लिने गरिन्छ, जसमा परेर राजा अभय मल्लको निधन भएको थियो । यद्यपि ७२ सालको भूकम्प नै वर्तमान समयमा भोगिएको सबैभन्दा ठूलो महाभूकम्प हो, जसले बनाएको घाउको खाटो अझै पनि बल्झिरहने गरेको छ ।

गोरखास्थित बारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको महाभूकम्पबाट नेपालका साथै भारत, चीन र बङ्गलादेशका समेत केही भू–भागहरू प्रभावित भए ।

नेपाल सरकारको प्रारम्भिक जानकारीअनुसार यस महाभूकम्पबाट नेपालमा ८ हजारभन्दा धेरै मानिसहरूले ज्यान गुमाएका थिए । छिमेकी मुलुकहरूले समेत ठूलो जनधनको क्षति ब्यहोर्नुपरेको थियो । नेपालको यस भूकम्पका कारण सगरमाथामा हिमपहिरो गएको थियो ।

नेपाली र विदेशी गरी २२ जना पर्वतारोहीको ज्यान लिएको हिमपहिरो नेपालको इतिहासमै घातक सावित भएको थियो । त्यस्तै उक्त भूकम्पले लाङटाङ उपत्यकालाई नेपालको भूगोलबाटै गुमनाम बनाइदियो । बस्तीसँगै २५० बढी स्थानीय तथा पर्यटक बेपत्ता भएका थिए । तत्कालीन असरले गर्दा आहिले पनि पहाडी क्षेत्रले पहिरोको उच्च जोखिम ब्यहोरिरहेको छ ।

भूकम्प नेपालका लागि अब नौलो रहेन, अझ जापानका लागि त नौलो रहने कुरै भएन ।

प्रकृतिको विनाशलीला

नेपालको ०७२ सालझैं जापानका लागि सन् २०११ को मार्च ११ बिर्सिनसक्नुको दिन बनेर बसेको छ । दिनको सुरुवात सधैंझैं भए पनि अन्त्य विभत्स र दर्दनाक बन्न पुग्यो ।

दिउँसोको २ बजेर ४६ मिनेट जाँदा तोहोकु क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको ९.० रेक्टर स्केलको महाभूकम्पले जापानी भूगोल र जनजीवनलाई नराम्ररी प्रभावित बनाउने ।

यसक्रममा २० हजारभन्दा धेरै मानिसले ज्यान गुमाए भने कयौं बेपत्ता हुनुका साथै करिब चार सय खर्ब अमेरिकी डलरको क्षति ब्यहोर्‍यो । तोहोकु क्षेत्रअन्तर्गत आओमोरी, इवाते, मियागी, आकिता, यामागाता र फुकुसिमा गरी कूल ६ वटा प्रान्तहरू पर्दछन् ।

सबैलाई थाहै छ– जापानबाट अर्को देशको भूगोल टेक्न समुद्र पार गर्नैपर्छ अर्थात् जापानको भूगोले अर्को देशको भूगोललाई कतै पनि छोएको छैन । सन् २०११ को महाभूकम्पको असर जापानको भूगोलमा मात्र होइन, समुद्रमा पनि विकराल रूपमा देखापर्‍यो, जुन स्वाभाविक थियो । भूकम्पपछि आएको अधिकतम १३३ फिटसम्मको अग्लो सामुद्रिक आँधी (सुनामी) ले जापानलाई निकै ठूलो क्षति पुर्‍यायो । जापान सरकारको रेकर्डअनुसार १ लाख २१ हजार ७ सय ७८ घरहरू पूर्णरूपमा क्षतिग्रस्त हुन पुगे भने ६ लाख ९९ हजार १ सय ८० घरहरूले आंशिक क्षति ब्यहोर्नुपर्‍यो ।

यो महाभूकम्प नै जापानको इतिहासमा सबैभन्दा ठूलो भूकम्प हो । इतिहासलाई खोतल्दा तोहोकु क्षेत्रमै सन् १९७८ जुन १२ का दिन ७.७ रेक्टर स्केलको भूकम्प गएको पाउन सकिन्छ । जुन नेपालमा गएको ०७२ सालको भूकम्पसरहको थियो । भूकम्प डरलाग्दो थियो नै, भूकम्पपछि आएको सुनामी झन् कम्ता दर्दनाक थिएन । केही सालअगाडि बीबीसीमा आएको समाचारले तत्कालीन सुनामीले बगाएको जापानी तोहोकु क्षेत्रका घरको केही टुक्रा क्यानाडा तथा अर्जेन्टिनाको समुद्री तटमा भेटिएको उल्लेख गरेको थियो । अब आफैं कल्पना गर्नुहोस्, त्यो सुनामीको रूप कस्तो थियो होला !

इतिहासलाई खोतल्दा जापानमा पहिलोपटक सन् ५९९ मे २८ तारिखका दिन भूकम्प मापन गरिएको थियो, जुन तथ्य ऐतिहासिक पुस्तकहरूमा भेट्न सकिन्छ । उक्त भूकम्प हालको नारा प्रान्तमा गएको थियो भने तत्कालीन समयमा सम्राट सुइकोको शासन चलेको थियो ।

हालसम्म जापानको भूगोलभित्र ८ रेक्टर स्केलभन्दा माथिका २२ भूकम्प मापन गरिसकिएको छ । सन् २०११ को महाभूकम्पलाई बिर्सिने हो भने पछिल्लोपटक ८ रेक्टर स्केलभन्दा ठूलो भूकम्प सन् २००७ मा गएको थियो । जापानमा भूकम्प आउनु सामान्य हो । सामान्य रूपमै लिने गरिन्छ । तर भूकम्पपछि आउने सामुद्रिक आँधीको त्रास र यसले देखाउनेविदुप्र रूपले भने जापानी वा जापानी भूगोलभित्र अटाएका मानिसलाई मात्र होइन, जोकोहीलाई त्राहिमाम बनाउँछ । जापानमा आएका भूकम्प तथा सुनामीका भिडियोहरू हामी युट्युबतिर पनि हेर्न सक्छौँ, जुन भिडियोमा हेरिरहँदा पनि कहालीलाग्दा छन् । दर्दनाक छन् ।

जापानमा नेपाली समुदायको बाक्लो उपस्थिति छ । यस्तो अवस्थामा जापानी भूगोलभित्र घट्ने घटना अथवा आइपर्ने सङ्कटको असर नेपाली समुदायमा पनि पर्नु स्वाभाविकै हो ।

तर यही सङ्कट, त्यसमा पनि भूकम्प र त्यसले ल्याउने सामुद्रिक आँधीका कारण जापानी भूगोलमा नेपाली समुदायको औचित्य जोडिएको छ । म स्वयं पनि नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने भएकाले पनि म भन्न सक्छु, जापानीहरू नेपाली समुदायप्रति समभाव राख्छन् । आदरको भावले हेर्छन् र सोही बमोजिमको व्यवहार गर्छन् ।

पूरा विश्वमा निडर गोर्खालीको उपमा पाएको नेपाली समुदायले जापानीलाई पनि आफ्नो निडरता, धीरता र स्वच्छताले मोहित बनाएको छ भन्दा पक्कै अत्युक्ति नहोला ! र, यसको सिधा सम्बन्ध जापानी भूगोलमा आइपरेको सङ्कटसँग जोडिएको छ । भूकम्प, सामुद्रिक आँधी र त्यसले निम्त्याएको विपत्तिसँग गाँसिएको छ ।

सन् २०११ को महाभूकम्पले तोहोकु क्षेत्रमा मात्र असर पारेन, समग्र जापानलाई नै सङ्कटमा पार्‍यो । विभिन्न पेसा र क्षेत्रमा आबद्ध नेपाली समुदायलाई पनि राम्ररी असर गर्‍यो ! व्यवसायी र विद्यार्थीहरू यस महाभूकम्पबाट ज्यादा प्रभावित भए । उद्धार तथा राहत वितरणमा नेपाली सामुदायले अग्रणी भूमिका निर्वाह गर्‍यो, जुन उदाहरणीय र उल्लेखनीय पनि थियो ।

एनआरएनए, टोक्योस्थित नेपाली दूतावास तथा जापानमा सक्रिय नेपाली सङ्घसंस्थाहरूले उदाहरणीयका साथै सराहनीय काम गरे । यस किसिमबाट नेपाली समुदाय जापानीहरू माझ गतिलो छाप छाड्न सफल भयो । तत्कालीन समयमा जापानका लागि नेपाली राजदूत डा.गणेश योञ्जन तामाङ हुनुहुन्थ्यो भने उपनियोग प्रमुखको भूमिकामा डा.दुबसु क्षेत्री रहनुभएको थियो । नेपाली समुदायले त्योबेला गरेको सहयोग र साहसले नेपाली समुदायलाई जापान सरकारले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याइदियो ।

जापानको सरकारी तवरबाटै औपचारिक रूपमा नेपाली समुदायप्रति खुसी, प्रसन्नता तथा सन्तुष्टि व्यक्त गरिएको थियो । जापान सरकारबाट नेपालीप्रति व्यक्त उक्त वक्तव्यबाट नेपाल–जापान सम्बन्धमा एक इँट्टा थपिएको महसुस सबैले गरेका थिए र यो एक नेपाली हुनुको नाताले सानो गौरवको विषय थिएन । यद्यपि टोक्योबाट छोटो समयका लागि नेपाली दूतावास ओसाका सारिएको घटना केही विवादास्पद बन्न पुगेको थियो ।

जापानमा रहेको नेपाली समुदायले सङ्कटको अवस्थालाई अवसरको रूपमा उपभोग गरे । प्रतिकुल समयलाई अनुकुलतामा रूपान्तरण गरे । मलाइ लाग्छ, जटिल अवस्थालाई पनि सहज रूपमा ग्रहण गर्दै आफ्नो अनुकुलताअनुसार परिस्थितिलाई ढाल्न नेपालीहरू सिपालु छन् ।

यही बीचमा नेपालीहरूले आफ्नो व्यवसायलाई अत्याधिक रूपमा विस्तारमात्र गरेनन्, अन्य देशका नागरिकको स्वामित्वमा रहेका व्यवसायमा पनि आफ्नो स्वामित्वमा ल्याउन सफल भए । यो कसरी पनि सम्भव भयो भने, अन्य मुलुकका नागरिकहरू जापान छाडेर सङ्कटबाट भाग्दै आफ्नो देश फर्किएको समयमा पनि नेपालीहरू जापानीहरूसँगै डटिरहे । टोक्योको मुटु मानिने सिन्जुकु सहरमा पनि नेपालीले आफ्नो आधिपत्य त्यही समयबाट कायम गर्न सफल भएको मान्न सकिन्छ ।

वास्तवमा भन्नुपर्दा, नेपाली समुदायले अहिले जापानी भूगोल र मन–मस्तिष्कमा जुन किसिमको हस्तक्षेप राख्न सफल भयो, निडरताका साथै धीरताले नै सम्भव भएको हो । अहिलेको अवस्थामा छिमेकी मुलुक भारतकै तुलनामा पनि जापानमा नेपाली समुदायको हस्तक्षेप प्रभावकारिका साथै ग्राह्य छ । एक दशक अघिसम्म भारतीय समुदायको स्वामित्व रहेका होटल तथा व्यवसायहरू नेपाली समुदायको हातमा हस्तान्तरण भएका छन् ।

नेपाली समुदायको उपस्थिति जापानीहरूका लागि गौरवमय र ग्राह्य छ । यसको कारण यो हो कि, जसरी विश्वयुद्धताका गाह्रो भन्दा गाह्रो अवस्थामा पनि गोर्खाली सैनिकले रणभूमि छोडेनन्, ठीक त्यसै गरी कहालीलाग्दो सङ्कटमा पनि नेपालीहरूले जापानी भूमि छोडेनन् । बरु आफ्नो हिम्मत र साहसले केही हदसम्म भए पनि जापानीहरूको मनोबल बढाउन भूमिका खेले । सङ्कटको सामना जापानीहरूकै भूमिकामा रहेर गरे ।

मनकारी नेपाली

सन् २०११ को महाभूकम्पमा म स्वयं पनि जापानको योकोहामा सहरमा थिएँ । नेपाली समुदायलाई प्रतिनिधित्व गर्दै एनआरएनए, दूतावास तथा अन्य सक्रिय सङ्घसंस्थाहरू मात्र नभएर व्यक्तिगत रूपमै पनि नेपालीहरू उद्धार कार्यमा जुटेको अवस्था थियो त्यो ।

गैर आवासीय नेपाली सङ्घ जापानका तत्कालिन अध्यक्ष र महासचिव क्रमशः रोशन केसी र जिज्ञानकुमार थापा त्यति बेलाको अवस्थालाई निकै गम्भीर रूपमा स्मरण गर्नुहुन्छ । गैरआवासीय नेपाली सङ्घलाई केन्द्रीय नेतृत्व प्रदान गरिसक्नु भएका भवन भट्ट, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग तथा वर्तमान कोषाध्यक्ष महेशकुमार श्रेष्ठले उद्धार कार्यलाई नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

उद्धार गरेर ल्याएपछि निसी सिन्जुकु, सिन ओकुबो, फुनाबोरी, आराखावालगायतका स्थानमा आश्रयस्थल खडा गरी राखिएको थियो । सिन ओकुबोस्थित नेपाली खाजाघरमा नेपाली समुदायको केन्द्रबिन्दु नै बनेको थियो । जहाँ हरेक दिन पटक–पटक बैठक र भेलाहरू हुन्थे ।

नेपाली समुदायको प्रतिनिधित्व गर्दै आफै पनि उद्धार कार्यमा होमिन पुगेँ, जुन जरुरी थियो । तत्कालिन आईसीसी सदस्य अरुणकुमार श्रेष्ठ, देवीलाल भण्डारी र म स्वयं  सम्मिलित तीन सदस्यीय उद्धार टोलीले १५ तारिक पहिलो पटक फुकुसिमासम्म पुगेर नेपालीहरूको उद्धार गर्‍यो ।

मियागी केनको फुकुसिमासम्म पुगेर फर्किनु आफैंमा चुनौतीपूर्ण हिम्मत थियो त्यो । उद्धार कार्यलाई सफल पार्न दूतावास परिसरमा मार्च १४ तारिक भएको सर्वपक्षीय भेलाले विभिन्न समितिहरू गठन गरेर कामलाई चुस्त र छरितो ढङ्गबाट अगाडि बढाएको थियो ।

डा. राम गिरी र दिनेश मानन्धरसहितको प्राविधिक समितिले दैनिक विकिरण र यसको प्रभावबारे सूचना प्रवाह गर्दथ्यो । त्यसपछि उद्धारको शृङ्खला नै चल्यो । सामाजिक अगुवाहरू किरण विक्रम थापा, कपिलदेव थापा, शालिकराम भण्डारी, दिलु खत्री, भूषण घिमिरे, तिलक मल्ल, विष्णु रेग्मी, गोविन्द श्रेष्ठ, मोहन रायमाझी, शरदकुमार गौचन, दीपक सुवेदी, ओम गुरुङ, मेघराज नेपाललगायतले खेलेको भूमिकालाई जापानको नेपाली समुदायले कहिल्यै बिर्सन सक्दैन ।

उद्धार र व्यवस्थापन कार्यमा सक्रियतापूर्वक लाग्नु हुने अरू दर्जनौँ अनुहारहरू हुनुहुन्छ । सबैको. नाम यहाँ उल्लेख गर्न सम्भव पनि हुँदैन । नेपाली समुदायको उद्धार मात्रै होइन, चरम सङ्कटमा रहेको जापानी समुदायलाई तोहोकुको आश्रमस्थलसम्मै पुगेर नेपाली खाना खुवाउने कार्य पनि निकैप्रभावकारी र उदाहरणीय भएको थियो ।

नेपाली जनसम्पर्क समितिलगायतका संस्थाहरूले जापानीहरूलाई नेपाली खाना खुवाउने अभियान नै चलाएका थिए । समितिका तत्कालिन नेतृत्वकर्ताहरू डा. बलराम श्रेष्ठ, आनन्दबहादुर क्षेत्री, पासाङ शेर्पा, डीपी कँडेल, नारायण सुवेदीलगायत यसका प्रत्यक्ष साक्षी हुनुहुन्छ । यो क्रम केही महिनापछिसम्म पनि नेपाली सङ्घसंस्थाहरूले निरन्तर चलाएका थिए ।

भूकम्पपछिको चमत्कार

जापान यस महाभूकम्पको दुःखबाट यसरी उठ्यो कि मानौँ, त्यो कुनै चमत्कार थियो । भूकम्प र सुनामीपछि पुनर्निमार्णको काम जापानसरकारले यति द्रुतगतिका साथ अघि बढायो कि पूर्वाधार तथा सहरको निर्माण जस्ताको तस्तै मात्र होइन, पहिलेभन्दा राम्रो बन्यो । तत्कालिन प्रधानमन्त्री नाओतो कान उद्धार कार्यमा आफैं प्रत्यक्ष खटेका थिए । जसको प्रमाण अहिलेको तोहोकु क्षेत्र हो ।

जापानमा भूकम्प र भूकम्पपछि आउने सुनामीको विध्वंशबारे जापानीलाई राम्रैसँग थाहा छ । सङ्कटको आँकलन गरेर पनि त्यसको चुनौतिको सामनामा नजुट्नु पटमुर्ख्याँई  हो तर जापानीहरू मूर्ख छैनन् । उनीहरू हरहमेशा भूकम्पबाट बच्ने उपायहरूलाई अङ्गिकार गर्छन् । स्कुलको पाठ्यक्रममा नै राखेर भूकम्प, सुनामी र यसबाट बाँच्ने उपायहरूबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइन्छ । अझभन्दा उनीहरू बच्चाहरूलाई भूकम्पको जोखिम र बच्ने उपायबारे दीक्षित बनाउँछन् ।

बेलाबेला टोल विकास समितिहरूले भूकम्प आउँदा सुरक्षित रहने उपाय र तरिकाबारे रिहर्सल गर्ने–गराउने गर्छन् । घर–घरमा विपद्का बेला अत्यावश्यक सामग्री भण्डारण गरेर राखिएको हुन्छ । जुन कुनै आकारको भूकम्पमा पनि हतास हुँदैनन्, भूकम्पलाई सहज रूपमै ग्रहण गर्दछन् । भूकम्प र सुनामी उसैगरी जापानीहरूमाथि चुनौती पस्किरहन्छ, जापानीहरू लड्छन् तर पहिलेभन्दा परिस्कृत र संयम भएर उठिरहन्छन् ।

(अनेसास केन्द्रीय कार्य समितिका अध्यक्ष पौडेल जापानमा बसोबास गर्छन्)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0