लाहुरेको शहरमा ब्युँझिदै रंगमञ्च – Online Khabar


पुस ५ गते संसद विघटनसँगै सुरु भएको बृहत् नागरिक आन्दोलनको प्रारुप फरक थियो । लेखक-कलाकारको बाग्लो सहभागिता रहेको आन्दोलनको मूल औजार बन्यो, सडक नाटक । यस क्रममा दर्जन बढी नाटक मञ्चन गरियो । शिल्पी थिएटरका कलाकारले प्रतिगमनविरुद्ध गरेको नाटकले धेरैको मन जित्यो ।

यही बखत पूर्वी नेपालको धरानमा ‘रंगभूमि एकेडेमी’का कलाकारले पनि प्रतिगनमविरूद्ध निरन्तर नाटक देखाइरेका थिए । तर, मोफसलको सानो नाट्य समूह भएकाले रंगभूमिले अपेक्षाकृत चिनारी पाउन सकेन ।

रंगभूमि एकेडेमी धरानलाई केन्द्र बनाएर स्थापना भएको नाट्य टोली हो । पूर्वी नेपालका विभिन्न स्थानमा नाटक प्रदर्शन गर्दै आएको यसले धरानमा नाटकको माहोल ब्युँताउन खोजिरहेको छ । गत सोमबार चतरा कोशी–पुलमा भएको ‘खुवालुङ बचाउ आन्दोलन’मा पनि रंगभूमिले नाटक देखायो ।

चतरा–पुलमा सडक नाटक गर्दैगर्दा भेटिएका रंगभूमिका अध्यक्ष विष्णु मोक्तान संविधान र जनतामाथि प्रहार हुँदा कलाकार चुप बस्न नमिल्ने बताइरहेका थिए ।

‘सचेत नागरिकले राष्ट्रिय मुद्दामा चुप बस्न मिल्दैन । अझ लेखक, कलाकार संगठित भएर नै प्रतिगमनविरूद्ध सडकमा आउनुपर्छ,’ उनले भने ।

उक्त सडक नाटकमा विष्णु आफैं खुवालुङ ढुंगाको भूमिकामा थिए । नाटकमार्फत् उनले खुवालुङ ढुंगा किराती समुदायको आस्थाको प्रतीक भएकाले यसलाई भत्काउन नमिल्ने उद्घोष गरिरहेका थिए ।

‘रंगभूमि एकेडेमी’कोे स्थापना गरेर ३२ वर्षीय मोक्तानले २०७१ सालदेखि धरानका किशोरकिशोरी तथा युवाहरूलाई नाटक सिकाउँदै आएका छन् । संखुवासभा चैनपुर घर भएका विष्णु एक दशकदेखि धरानमै बस्दै आएका छन् । नाटकसहित धरानका साहित्यिक र सांस्कृतिक कार्यक्रममा विष्णु अग्रसर छन् ।

धरानमा नाटक ब्युँझाउँदै

‘लाहुरेको सहर’भनेर चिनिने धरानको सांगीतिक क्षेत्रमा आफ्नै विरासत छ । धरानमा रंगमञ्चको इतिहास आठ दशक पुरानो रहेको बताइन्छ । ६० को दशकमा यहाँ अनाम नाट्य समूहसहित करिब डेढ दर्जन नाट्य संस्था क्रियाशील थिए । तर, पछिल्लो समय धरानको रंगमञ्च सुस्ताउँदै गयो ।

पछिल्लो छिमलका तन्नेरीहरु भने धरानको रंगमञ्चलाई पुरानै लयमा फर्काउने यत्नमा छन् । रंगभूमिले पूर्वी नेपालका अन्य स्थानमा नाटक प्रदर्शन गरेपनि कलाकार उत्पादन गर्न भने धरान नै रोजेको विष्णु सुनाउँछन् । ‘हामीले प्रत्येक नाटकमा धरानकै स्थानीय कलाकार लिएर नाटक गरेका छौं,’ उनी भन्छन्, ‘निजी खर्चमा सिक्दै, सिकाउँदै धरानबासीलाई नाटक पस्किरहेका छौं ।’

रंगभूमिमा आबद्ध युवा कलाकारहरू पनि नाटकले अभिनय क्षमतासँगै आत्मविश्वास पनि बढाएको बताउँछन् । डेढ वर्षदेखि रंगभूमिमा नाटक सिक्दै अभिनय कर्म गर्दै आएकी कलाकार करिश्मा क्षेत्री धरानमै रहेर रंगमञ्चको कक्षा लिन पाउनु अवसर मान्छिन्

अहिले विष्णुसँगै हरि युहाङ, मिलन चाम्लिङ, तुलसा थापा, करिश्मा क्षेत्री, अश्मिन सुवेदी, सन्देश दाहाल, गोमा पौडेललगायत एक दर्जन युवाहरू धरानमै बसेर नाटकमा काम गरिरहेका छन् । यसबाहेक विद्यालय पढ्दै गरेका किशोरकिशोरी र बालबालिकाहरूलाई पनि रंगभूमिले नाटकको तालिम दिइरहेको छ । अभिनयसँगै उद्घोषण, सञ्चार, गायन, साहित्य लेखनमा पनि एकेडेमीले काम गरिरहेको छ ।

युवाहरूलाई नाटक सिकाउने काममा पनि विष्णु आफैं लागिपरेका छन् । बेलाबेला बाहिरका स्थापित निर्देशक ल्याएर प्रशिक्षण गराए पनि अधिकांश समय उनी आफैं नाटक सिकाइरहेका हुन्छन् । जसले विष्णुको मुख्य कर्म नै नाटक बन्न पुगेको छ ।

पछिल्लो पाँच वर्षमा रंगभूमिले तीन थान नाटक सभाहलभित्रै प्रदर्शन गरिसकेको छ । ‘अब टाउको कहिले हल्लिन्छ ?,’ ‘इङ्घङ’ र ‘बसाइँ’ नाटक रंगभूमि एकेडेमीले सफलतापूर्वक मञ्चन गरिसकेको छ । संस्थाले अहिले जनक ऋषि चाम्लिङको कथामामा ‘कुमार मामा’ शीर्षकको नाटक प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

२०७५ मा विष्णुकै नेतृत्वमा प्रदर्शित नाटक ‘इङ्घङ’ २२ दिनसम्म प्रदर्शन भयो । लिम्बू संस्कृतिमा आधारित इङ्घङ हेर्न धराने दर्शकहरू टिकट काटेर सभागृहसम्म पुगे । जसले धरानको रङ्गमञ्चमा नयाँ नाट्य टोली रंगभूमिलाई अलग पहिचानसहित स्थापित गरिदियो ।

यद्यपि मोफसल भएकाले सबै नाटकमा टिकट दस्तुर राख्न नसक्दा रंगभूमिलाई आर्थिक समस्या पनि परिरहेको छ । यही समस्याबीच उनीहरूले आजसम्म गरेका नाटक प्रदर्शन व्यक्तिगत स्रोत र सहयोग जुटाएर गरेका छन् ।

रंगभूमिमा आबद्ध युवा कलाकारहरू पनि नाटकले अभिनय क्षमतासँगै आत्मविश्वास पनि बढाएको बताउँछन् । डेढ वर्षदेखि रंगभूमिमा नाटक सिक्दै अभिनय कर्म गर्दै आएकी कलाकार करिश्मा क्षेत्री धरानमै रहेर रंगमञ्चको कक्षा लिन पाउनु अवसर मान्छिन् ।

अर्की कलाकार कृति मेवाक पनि नाटकले व्यक्तिगत क्षमता विकाससँगै सामाजिक चेतना विस्तार गर्ने विश्वास राख्छिन् ।

यता काठमाडौंबाट धरान पुगेका नाट्यकर्मी बच्चु हिमांशु भन्छन्, ‘मोफसलमा रहेर नाट्यकर्म गर्नु निकै चुनौतीपूर्ण काम हो । जसले स्थानीयवासीमा जनचेतना मात्र होइन कलाचेतना पनि बढाउन भूमिका खेल्छ ।’

आख्यानकार राजन मुकारूङ भने रंगभूमि एकेडेमीले मोफसलमा रहेर पनि राष्ट्रिय मुद्दाहरूमा प्रभाव पार्ने काम गरिरहेको स्मरण गर्छन् । ‘नाटक सामूहिकताको अभ्यास भएकाले यसले दिने सन्देश पनि शक्तिशाली हुन्छ,’ उनले भने, ‘रंगभूमिले सामूहिकताको आधारमा जनपक्षीय नाटकहरू प्रदर्शन गरिरहेको छ ।’

कवि चन्द्रवीर तुम्बापो रंगभूमि एकेडेमीको नाटक हेरेपछि धराने रंगमञ्चमा नयाँ उत्साह सञ्चार गरेको बताउँछन् ।

बन्दैछ नाटकघर

चार दशकअघि नै आधुनिक नाटक सुरू भएको धरानमा अहिलेसम्म नाटकघर बनेको छैन ।  रंगकर्मको लामो इतिहास भएर पनि नाटकघर निर्माण हुन नसक्दा यहाँका कलाकार विराटनगर वा काठमाडौं पलायन भइरहेका छन् । नाटकघरकै अभावका कारण राष्ट्रियस्तरका नाटक प्रदर्शन गर्न धरानका कलाकार चुकिरहेका छन् ।

अहिले धरानका सभागृह र सामुदायिक भवनका हलमा नाटक मञ्चन हुँदै आएका छन् । यसरी अन्य सार्वजनिक कार्यक्रम हुने मञ्चमा नाटक देखाउँदा निकै असहज हुने विष्णु मोक्तानको पनि अनुभव छ । उनका अनुसार नाटकका लागि त्यसकै प्रविधिसहितको नाटकघर (थिएटर) आवश्यक पर्छ ।

नाटकघर बनाउन पनि विष्णु र उनका साथीहरू नै जुटे । उनीहरूले नाटकघर निर्माणको सहयोगार्थ नाटक प्रदर्शन र चन्दा संकलन नै गरे । स्थानीय निकायलाई पनि बारम्बार घचघच्याए । अन्ततः सांसद जयकुमार राईले ‘सांसद विकास कोष’को ४० लाख रूपैयाँ नाटकघरका लागि विनियोजन गरे ।

जसअनुसार धरान उपमहानगरपालिका–८ सभागृहछेउ आधुनिक नाटकघर बनाउन थालिएको छ । सांसद राईले पनि नाटकघर धरानको गहना बन्ने आशा व्यक्त गर्दै सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

दुई कठ्ठामा परम्परागत शैलीको दुईतले नाटकघर बन्ने खाका तयार भएको छ । धरानकै अग्रज कलाकार प्रेम सुब्बाको संयोजकत्वमा नाटकघर निर्माण उपभोक्ता समिति गठन गरिएको छ । नाटकघर पाँच वर्षमा पूरा हुने लक्ष्य राखिएको छ ।

नाटकघर बनेपछि रंगभूमिले देखाउने नाटकले अझै राष्ट्रियस्तरमा चर्चा पाउने विश्वासका साथ विष्णु पनि निरन्तर लागिपरेका छन् । ‘धेरै पहिलादेखि नै धरानमा सुविधासम्पन्न नाटकघर बनाउने मेरो सपना थियो । त्यो पूरा गर्न निकै संघर्ष गर्नुपरेको छ,’ उनले भने ।

(तस्वीरहरू : रंगभूमि एकेडेमीबाट प्राप्त)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0