‘युरेनियम’ बरामद प्रकरणबारे नखुलेका पाटा – Online Khabar


२८ फागुन, काठमाडौं । नेपालमा न आणविक भट्टी छ, न आणविक बम बन्छ । त्यसैले सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी युरेनियमको नेपालमा प्रयोग नभएको जानकारहरु बताउँछन् ।

तर पछिल्लो केही वर्षयता काठमाडौं उपत्यकामा युरेनियम विक्री गर्छु भन्दै हिँड्ने गिरोह सक्रिय देखिएको छ ।

शुक्रबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले साढे २ किलो युरेनियमसहित चार जना पक्राउ परेको भन्दै पत्रकार सम्मेलन गर्‍यो । प्रहरीको दाबी छ, उनीहरुबाट बरामद बस्तु प्रशोधन गर्न बाँकी युरेनियम नै हो ।

तर यसरी युरेनियम भन्दै बोकेर हिँड्ने वस्तु कहाँबाट ल्याए ? त्यसको खरिदकर्ता को हुन् ? भन्ने विषय खुलेको छैन ।

केही महिनाअघि पनि महानगरीय अपराध महाशाखाको टोली यस्तै गिरोहसम्म पुगेको थियो, युरेनियम खरिदकर्ताको भेषमा पुगेका प्रहरीले उनीहरुबाट युरेनियम भनिएको बस्तुको नमूना लिएर परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा पठाएको थियो ।

नमूनामा युरेनियम २३८ सँग मिल्दोजुल्दो विकिरण मापन भएको छ, त्यसको आधारमा युरेनियम हुनसक्ने भनेका हौं – डा. सुरेश ढुंगेल, नास्ट

तर युरेनियम नदेखिएपछि पक्राउ परेका व्यक्तिलाई अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएर छाडियो ।

यसपटक पनि प्रहरीले परीक्षणका लागि नास्ट पठाएको थियो ।

प्रहरीले दिएको नमूनाको जाँच गर्दा प्रशोधन नगरिएको चट्टानको धुलो मिश्रित युरेनियम हुनसक्ने देखिएको नास्टका वरिष्ठ प्राविधिक डा. सुरेशकुमार ढुंगेलले बताए । भन्छन्, ‘नमूनामा युरेनियम २३८ सँग मिल्दोजुल्दो विकिरण मापन भएको छ, त्यसको आधारमा युरेनियम हुनसक्ने भनेका हौं ।’

उनका अनुसार नमूनामा थप परीक्षण गर्नसक्ने बाटाहरु पनि छन्, जुन सामान्य प्रयोगशालाको परीक्षणले मात्रै पुग्दैन । कतिपय जानकारहरुले भने यसको थप परीक्षणका लागि नेपालबाहिर नमूना पठाउनुपर्ने भनेका छन् ।

नखुलेका पाटा

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालको दाबीअनुसार बौद्धबाट बरामद भएको साढे २ किलो युरेनियमको विकिरण भएको धातु अमरसिंह लामा तामाङले भारतबाट ल्याएका हुन् । ‘त्यहाँको एक खानीमा काम गरेका उनले लुकाएर ल्याएका रहेछन्’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालले पत्रकार सम्मेलनमा भने, ‘झण्डै २० वर्षदेखि यो लुकाएर राखिएको थियो ।’

उनका अनुसार ८५ वर्षका तामाङ अहिले अमेरिकामा छन् । ‘ प्यारालाइसिस भएका उनी बोल्न सक्ने अवस्थामा छैनन्, पक्राउ परेकी जानुका उनकी बुहारी हुन्’, पालले थपे, ‘बुहारीले नै युरेनियम विक्रीको प्रयास गरेको देखिन्छ ।’

जानुकाले एकैतिर (रामेछापको लिखु तामाकोशी–५) घर भएका नातेदार नारायणसिंह तामाङसँग युरेनियम विक्रीको प्रस्ताव राखेको प्रहरी भनाइ छ । फार्मेसीसम्बन्धी अध्ययन गरेका उनले इन्टरनेटबाट खोजेर युरेनियमबारे जानकारी लिएको बयान प्रहरीलाई दिएका छन् । त्यसपछि उनैले रामेछापका प्रकाश चौहान र सिन्धुलीका मनोज न्यौपानेलाई ग्राहक खोज्न विचौलियाको रुपमा प्रयोग गरेको पालले बताए ।

प्रहरी अनुसन्धानबाट खुलेका तथ्य यत्ति हुन् । तर जानकारहरु यो प्रकरणमा प्रहरीको दाबीमाथि शंका गर्छन् । भन्छन्, ‘स्वास्थ्य र वातावरणीय दृष्टिकोणले पनि जोखिमपूर्ण रहेको थाहा हुँदाहुँदै पदार्थ एउटा व्यक्तिले घरमा सामान्य प्लास्टिकले पोको पारेर किन झण्डै दुई दशकसम्म राख्यो ?’

तामाङले युरोनियम भनिएको यो बस्तु भारतबाट ल्याएको दाबीलाई पुष्टि गर्ने बलियो आधार पनि प्रहरीसँग छैन । फेरि युरेनियमबारे जानकारी भएको व्यक्तिलाई यसको बजार नेपालमा नभएको थाहा हुने जानकारहरु बताउँछन् । उनीहरुको बुझाइमा भारतबाट चोरिएको भए यस सम्बन्धी जानकारी भएको व्यक्तिले त्यतै विक्री गरेर आउँथ्यो ।

‘युरेनियमको कच्चा पदार्थ ओसारपसार गर्दा राम्रोसँग ह्याण्डल गरिएन भने सबैलाई जोखिम हुन्छ’, नास्टका वरिष्ठ प्राविधिक डा. ढुंगेल भन्छन्, ‘यसको विकिरणले क्यान्सर जस्तो घातक रोग लाग्न सक्छ, यो धुलो निल्यो भने मृत्यु पनि हुनसक्छ ।’ त्यसैले यसबारे जानकारी भएका व्यक्तिले लामो समयसम्म घरमा त्यत्तिकै युरेनियम जस्तो पदार्थ नराख्नुपर्ने उनी बताउँछन् ।

विस्तृत परीक्षणबाट बरामद वस्तु युरेनियमन भएको पुष्टि भए कहाँबाट आएको हो भनेर अनुसन्धान हुनुपर्छ, किनकी तस्करीको रुटका रुपमा नेपाल प्रयोग भएको हुनसक्छ

नेपालमा युरेनियम पाइने सुनेर परीक्षण हुने आशमा कसैले यस्तो गतिविधि गरिरहेको त छैन भन्ने पनि कतिपय जानकारको आशंका छ । नेपालको मुस्ताङस्थित लोमाङथाङ क्षेत्रमा युरेनियम खानी रहेको एक अध्ययनको निष्कर्ष छ, त्यहाँ अहिले नेपाली सेनाको विशेष टोली सुरक्षार्थ खटिएको छ ।

‘नेपालमा पनि युरेनियम रहेको चर्चा भइरहेको वेला चलखेल गर्ने समूहले कुनै स्वार्थका लागि परीक्षण गराउन पो यस्तो गरिरहेका थिए कि !’, नास्टका प्रवक्तासमेत रहेका ढुंगेल पनि आशंका गर्छन् ।

यद्यपि, प्रहरीले अहिले बरामद गरेको वस्तुमा युरेनियम विकिरणसँगै अन्य धातु पनि देखिएको उनी बताउँछन् ।

जानकारहरुले भने विस्तृत परीक्षणबाट बरामद वस्तु युरेनियमन भएको पुष्टि भए कहाँबाट आएको हो भनेर अनुसन्धान हुनुपर्ने बताउँछन् । किनकी तस्करीको रुटका रुपमा नेपाल प्रयोग भएको हुनसक्छ ।

युरेनियम परीक्षण गराउने त्यो प्रयास

विकिलिक्सले किसिङ्गर केबल्समार्फत सार्वजनिक गरेको सन् १९७३ देखि १९७६ को अवधि एक दस्तावेजमा पनि युरेनियम जोडिएको नेपालको प्रसंगबारे उल्लेख छ । त्यसमा व्यवसायी जेसी ठाकुरले नेपालस्थित अमेरिकी दूतावासमा गएर आफूसँग युरेनियम भएको दाबी गरेको भनिएको छ ।

ठाकुरले भारतबाट एजेन्टमार्फत युरेनियम ल्याउने र ४० हजार डलर प्रतिकिलोमा विक्री गर्ने दाबी गरेका थिए । उनको दाबीपछि दूतावासले वासिङटनसँग सम्पर्क गरेर भारतस्थित अमेरिकी दूतावाससँगको समन्वयमा उनले ल्याउने भनेको क्षेत्रबारे अनुसन्धान गरिएको थियो ।

पछि परीक्षणका लागि नमूना सिसीमा हालेर दुई वटा प्लास्टिकले छोपेर पठाइएको थियो । तर, त्यो वस्तु युरेनियम नभएको पाइयो । रिपोर्ट आइसकेपछि उनले पनि नेपालमा युरेनियम रहेको हुनसक्ने थाहा पाएपछि नागार्जुनको जंगलको एक स्थानबाट त्यो नमूना ल्याएर दिएको भेटिएको थियो ।

प्रशोधनपछि आणवीक बम बनाउन सकिने 

प्रहरीले बरामद गरेको युरेनियम २३८ परमाणविक धार भएको धातु हो । यसलाई प्रशोधन गरेर प्लुटोनियम २३९ बनाएपछि यसलाई ‘न्युक्लीयर फ्यूल’को प्रयोग गर्न सकिने जानकारहरु बताउँछन् ।

यसबाट आणवीक बम र विद्युत पनि निकाल्न सकिने भनिएको छ । प्रहरीका अनुसार हाल बरामद बस्तुलाई पौने चार अर्बमा विक्री गर्न खोजिएको थियो । इन्टरनेटमा भेटिएका विवरणहरु अनुसार अन्तर्राष्ट्रिय बजारमा युरेनियमको मूल्य प्रतिकिलो २० लाख ९ हजार अमेरिकी डलरसम्म पर्छ ।

तस्वीरः आर्यन धिमाल/अनलाइनखबर



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0