‘सगरमाथालाई सस्तो पर्यटन गन्तव्य नबनाऊ’ – Online Khabar


२४ फागुन, काठमाडौं । सन् २०१६, वसन्त ऋतुको आरोहण सिजन । सगरमाथा चुचुरो नजिकै उक्लिरहेकी महिला आरोहीलाई आरोहण गरेर फर्किएका प्रायः सबैले सोधे, ‘तिमी किन एक्लै ?’

शिखरमा पुग्ने हतारमा रहेकी माया शेर्पा सहयोगी शेर्पा दाइ बाटैमा बिरामी परेका कारण एक्लै परेकी थिइन् । अन्तिम क्याम्पबाट उकालो लागिसकेको अवस्थामा आइपरेको प्रतिकूलताको अगाडि आत्मसमर्पण नगरी उनी उकालो लाग्दै थिइन् ।

‘म हतारमा थिएँ, किन पनि भने शिखरमा कोही एक जना त हुनपथ्र्यो, जसले मेरो तस्वीर खिचिदेओस्’, उनी भन्छिन् ।

संयोग, चुचुरोबाट झर्दै गरेकामा एकजना छिमेकी दाइ परेछन्, मायालाई शिखर नजिकै भेटेपछि उनले एक्लै नछाड्ने निर्णय लिए । उनीहरू शिखर पुगेर सकुशल फिर्ता भए । ओखलढुंगाको पात्ले गाउँकी माया शेर्पाको त्यो तेस्रो सगरमाथा आरोहण थियो ।

उनी पहिलो पटक सन् २००६ को वसन्तकालमा सगरमाथाको शिखर पुगेकी थिइन् । अर्को वर्ष तिब्बततर्फबाट सगरमाथा आरोहण गरिन् । उनले हिमाल आरोहणको पहिलो अनुभव भने २००३ मा सँगालेकी थिइन्, आमादब्लममा ।

अब मृत्यु भयानक लाग्दैन

हिमाल आरोणमा निस्कनेहरू घर फर्कन सक्छन् भन्ने हुँदैन । तर चुचुराको आकर्षणले उनीहरुलाई जोखिम मोल्न कुत्कुत्याइरहेको हुन्छ । एक्लो जीवन हुँदा जोखिम मोल्न सजिलो हुने माया शेर्पाको अनुभव छ ।

उनका अनुसार एक्लो हुँदा निस्फिक्री भएर हिमाल आरोहणको जोखिम उठाउनुको आफ्नै मजा हुन्छ । परिवार अझ सन्तान भइसकेपछि भने माथिबाट हिउँ, ढुंगाहरू खस्दा पनि घरको सम्झनाले झस्काउँछ, हिमालमा आएर गल्ती गरेँ कि भन्ने जस्तो लाग्छ ।

‘यहाँ मरेँ भने छोरीको के होला, परिवार कसरी अगाडी बढ्दा भन्ने पिर लाग्दो रहेछ’, उनी भन्छिन्, ‘र पनि, म नभए पनि संसार चल्छ, म मेरो सपना पूरा हुँदा परिवार रमाउँछ भनेर आँट बढाउने हो । हिमालतिर लाग्नु अगाडि त्यही सोचेर बिमाको कागजमा सहि धस्काउने हो ।’

हालसम्म माया शेर्पाले २० भन्दा बढी हिमाल चढिन् । पहिला-पहिला बाटोमा यत्रतत्र शवहरू नाघ्दै हिँड्दा डर लाग्थ्यो । उनीहरूको परिवार पर्खिरहेका होलान् या कसरी बिर्सिए होलान् भनेर पिर लाग्थ्यो ।

‘अब भने बानी नै पर्‍यो’, उनी भन्छिन्, ‘हिमालमा जिन्दगी निश्चित छैन ।’

सगरमाथा आरोहण : भाग्यको बात !

संसारको सर्वोच्च हिमाल सगरमाथा पुग्ने इच्छा नै थोरै मानिसले मात्र गर्छन् । तीमध्ये पनि ज्यादै कम मात्र शिखरमा पुग्छन् । मायाको बुझाइमा ती भाग्यमानी हुन् ।

‘सगरमाथा एक अलौकिक सपना हो’, माया भन्छिन्, ‘शिखरमा पुगेको क्षण तपाईँले आफू संसारको सबैभन्दा सफल र भाग्यमानी भएको अनुभूति गर्नुहुन्छ ।’

त्यसअनुसार हालसम्म करिब ४४६९ जना भाग्यमानी बनेका छन् ।

कीर्तिमानी टोलीको नेतृत्व

माया शेर्पाले हालसम्म ८ हजार मिटरमाथिका सगरमाथासहित पाँचवटा हिमाल आरोहण गरिसकेकी छन् । तिनमा उनलाई पाकिस्तानको माउन्ट के टु सबभन्दा कठिन लाग्यो । उनको अनुभवमा, उचाइको हिसाबले सगरमाथाभन्दा २३८ मिटर होचो भएपनि माउन्ट के टु प्राविधिक रूपमा कठिन हिमाल हो ।

हिमालयमा राति तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म र्झछ । तीब्र गतिको हावाले हिमाली पाटोमा अडिन मुस्किल बनाउँछ । त्यसैले रातभर हिँडेर बिहानतिर चुचुरो पुग्ने लक्ष्य राखिन्छ । त्यसबेला अक्सिजनको कमीका साथै धेरै थकानको महसुस पनि हुन्छ ।

‘सारा शक्ति लगाएर आरोहण गरेपछि फकर्ंदा जिउमा शक्ति नै बाँकी रहँदैन’, माया भन्छिन्, ‘फकर्ंदा घाम लाग्दै जाँदा जिउमा पानीको मात्रा पनि सकिएको हुन्छ, त्यो बेला एकदमै गाह्रो हुन्छ ।’

शरीरमा पानी कम भएर शक्तिहीन हुँदा आलस्य हुने, निद्रा लाग्ने हुन्छ । त्यस्तो बेला सुत्यो भने सुतेको सुत्यै हुने उनी बताउँछिन् । ‘सगरमाथामा धेरै टिम हुने भएकोले सुरक्षाको अनुभूति र आत्मबल पनि हुन्छ’, उनी भन्छिन्, ‘तर, माउण्ट के टुमा केही हुँदैन । केही भइहाले ‘रेस्क्यु’को सम्भावना पनि हुँदैन ।’

मायाले २०१४ मा माउण्ट के टू आरोहण गरिन् । उनी नेतृत्वको नेपाली चेलीको टोलीले राखेको कीर्तिमान पनि थियो त्यो सफल आरोण ।

बुबाको यात्रा बयानले ट्रेकिङमा रूचि

मायाको पर्वतारोहण ‘करिअर’ ट्रेकिङ गाइडबाट सुरु भएको हो । ट्रेकिङ गाइड बन्ने रूचिचाहिँ बुबा पासाङबाङ शेर्पाले सुनाउने यात्रा वर्णनले बढाएको थियो । ‘बुबाले घुमेको ठाउँको कथा-किस्सा सुनाउँदा सुनाउँदै म पनि धेरै ठाउँ घुम्ने सपना देख्न थालेँ,’ उनी भन्छिन्, ‘त्यही क्रममा काठमाडौं आएर ट्रेकिङ कम्पनीमा काम गर्न थालेँ । त्यो कामले ट्रेकिङ गाइड बनायो र हिमालतिर डोहोर्‍यायो ।’

ट्रेकिङ गाइड बनेपछि सगरमाथा बेसक्याम्प, कालापत्थर आउजाउ बाक्लियो । लक्ष्य अझ माथि पुग्ने बन्न थाल्यो । त्यसबेला धेरै कम महिला ट्रेकिङ गाइड थिए । मायाको लगन र साहस देखेर उनी आबद्ध कम्पनी धर्म एडभेन्चरले पर्वतारोहण तालिम दिलाएर २००३ मा आमादब्लम (६ हजार ८१२ मिटर ) आरोहण टोलीमा समावेश गरायो ।

‘धर्म एडभेन्चरको त्यो निर्णय मेरो जीवनको लागि कोशेढुंगा साबित भयो’, माया भन्छिन्, ‘त्यसैले हो, मेरो लागि पर्वतारोहणको ढोका खोलिदिएको ।’

त्यसपछि २००४ मा उनले पुमरी (७ हजार १०० मिटर) र चोयु (८ हजार २ सय ११ मिटर) हिमाल आरोहण गरिन् । ‘यी तीन हिमाल आरोहणपछि लाग्यो- म सगरमाथा पनि चढ्न सक्छु’, माया भन्छिन्, ‘अनि २००६ मा पहिलो पटक सगरमाथाको शिखरमा पुगेँ ।’

बुढेसकालमा मात्र विदेश

मायाले नेदरल्याण्ड्सका आरोही अर्नोल्ड कोष्टरसँग विवाह गरिन् । हिमालले नै यो जोडीलाई जुटाइदिएको थियो । पाँचपटक सगरमाथा आरोहण गरेका कोस्टर र मायाले २०१९ मा सँगै कञ्चनजङ्घा आरोहण गरे ।

पहिले मायालाई विदेश घुम्न खुब रहर लाग्थ्यो । अहिले उनको घर नै विदेश हुन पुगेको छ, २० भन्दा बढी मुलुक घुमिसकिन् ।२००७ मा उत्तरी मोहोडाबाट सगरमाथा चढ्ने अभियानका लागि पहिलो पटक राहदानीमा भिसाको छाप लाग्दा खुसीले नाचेको उनले बिर्सेकी छैनन् ।

‘त्यसअघि नागरिकता बन्दा पनि साह्रै खुसी भएकी थिएँ, पासपोर्टमा विदेशको भिसा लागेको दिन त नाचेकी थिएँ, तर अब उमेरको त्यस्तो रहर बाँकी रहेन’, माया भन्छिन्, ‘म भाग्यमानी छु, मलाई नेपालमै मेहनत गर्न र आरामसँग बस्न पुगेको छ । भोलि बुढेसकालमा छोरीसँग बस्न मात्र विदेश जाने हो ।’

हिमालयले नेपालमै आफूलाई सबथोक दिएको ठान्छिन्, उनी । आरोहणमा लागेर पैसा, सम्मान सबै पाएको सन्तुष्टि उनले लिएकी छन् । ‘अब विदेशमा नेपालको प्रवर्द्धन र नेपालमा पर्यटन प्रवर्द्धन गर्ने हो’, नेपाल पर्वतारोही संघको अध्यक्ष समेत रहेकी माया शेर्पा भन्छिन् ।

दोस्रो कार्यकालका लागि हालै अध्यक्ष निर्वाचित उनी नेपाली पर्यटन प्रवर्द्धनका लागि सरकारलाई झक्झकाइ रहने बताउँछिन् ।

नेपालजस्तो अथाह सम्भावना बोकेको देशका नागरिक विदेशिनु परिरहेको अवस्था हेर्दा उनलाई दुःख लाग्छ । ‘सरकारका मान्छेहरू पर्यटनको आम्दानीले के हुन्छ र ? भन्छन् । उनीहरूले रोयल्टी मात्र हेरेको जस्तो लाग्छ’, माया भन्छिन्, ‘एउटा पर्यटक आउँदा १३ जनाले रोजगारी पाउँछ भन्ने कुरामा ध्यान दिएर नीति बनाएको जस्तो लाग्दैन ।’

सरकारले गतिलो पर्यटन नीति बनाएर कार्यान्वयनमा ल्याए होटेल, हवाईजहाज, स्थल यातायात, ट्रेकिङ-ट्राभल व्यवसाय चलायमान हुनको साथै पूर्वाधार विकास हुने उनको बुझाइ छ । उनलाई लाग्छ, सरकारले पर्यटनलाई बुझ्नै सकेको छैन ।

सगरमाथाको चिन्ता

पहिला आरोहण गाथा गौरवमय थिए, दाग लागेको थिएन । अहिले यसमा धब्बा लाग्न थालेको माया बताउँछिन् । आरोहणको नक्कली प्रमाणपत्रदेखि नक्कली उद्धारसम्मका घटनाले सगरमाथा र नेपाली आरोहणको गरिमालाई धुमिल बनाउँदै लगेकोप्रति उनी चिन्तित छिन् ।

‘सगरमाथा विश्वको निधी हो, जुन नेपालसँग छ’, उनी भन्छिन्, ‘नेपाल सरकार ! बरु रोयल्टी महँगो बनाऊ, तर सगरमाथालाई सस्तो पर्यटन गन्तव्य नबनाऊ ।’



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0