झण्डै एक हजार वर्षसम्म अपरिवर्तित परिकार ! – Online Khabar


मैथिली व्यञ्जनको नेपाल र भारतमा लामो इतिहास पाउन सक्छौं । ११ औं शताब्दीमा लेखिएको मैथिली पुस्तक ‘वर्णरत्नाकर र प्राकृति पिंगल’ नामक पुस्तकमा लेखक ज्योतिश्रर ठाकुरले मैथिली खानाको चर्चा गरेका छन् । सो पुस्तकमा मैथिली भोजन, दही र माछाको चर्चा छ । यसलाई आधार मान्दा झण्डै एक हजार वर्षसम्म पनि मैथिली भोजनमा कुनै परिवर्तन नभएको पाउन सकिन्छ ।

मिथिला क्षेत्र पहिलेदेखि नै सांस्कृतिक विरासत जोगाउन सफल क्षेत्र हो । अतः यी खानाहरू समय सान्दर्भिक र आयुर्वेदिक दृष्टिले पनि मौसमी भोजन चक्रको अनुशरण गरिएको खालको रहेको पाइन्छ । ब्रिटिसकालमा समेत आफ्नो पहिचान बचाउन सफल मिथिला क्षेत्रको खाना परम्परा अहिले र पुरानो परम्परामा खासै परिवर्तन नभएको डा. सीमा कुमारीको ‘मैथिल भोजनका ऐतिहासिक विवरण’ नामक शोधपत्रमा उल्लेख छ ।

मैथिली भोजनका विशेषताहरू

मिथिला क्षेत्र सधैंभरि कृषि प्रधान समाजको रुपमा रहेको पाइन्छ । गाई र भैंसी दूधको लागि पाल्ने गरिन्थ्यो । दिनको हरेक भोजनमा कुनै न कुनै हिसाबले दूधको प्रयोग गर्ने गरिन्थ्यो । मिथिला क्षेत्रको खानाका केही उदाहरणहरु निम्नानुसार छन् ।

दही–च्युरा

दही च्युरा मिथिला संस्कृतिको एउटा विशेष परिकार हो । मिथिला क्षेत्रको कैयौं घरहरूमा दिनको सुरुवात प्रसिद्ध पौराणिक व्यञ्जन दही र च्युराबाट हुने गर्छ । भारतको बिहारतर्फ पर्ने मिथिला क्षेत्रभन्दा बाहिरका मान्छेहरु वर्षमा एक पटक माघेसंक्रान्तिको दिन दही च्युरा खाने गर्छन् ।

माछा

यस क्षेत्रमा धेरै संख्यामा नदीहरु हुने भएको ले माछाको पनि सानो तथा ठूला प्रजातिहरू यसमा पाउने गरिन्छ । त्यसैले माछा मासु पनि यो क्षेत्रको विशेष प्रजाति हो । माछा मिथिला क्षेत्रको यति ठूलो संस्कृति हो कि यहाँका सबै सम्प्रदायका मान्छेले यसलाई उपभोग गर्ने गर्छन् । यहाँको दरभंगा राज घरानामा समेत धार्मिक समारोहहरुमा यसको प्रयोग गर्ने गरिन्छ ।

मासु

मिथिला संस्कृतिका धेरै मान्छे मासुको सेवन गर्छन् । मासुमा धेरैले बोकाखसी मनपराउँछन् । पहिलेपहिले जंगली सुँगुर, हरिण, साइबेरियन सारस आदिको शिकार र सेवन गर्ने गरिन्थ्यो ।

झानेको दाल

मिथिला संस्कृतिमा दाल अत्यन्त महत्वपूर्ण परिकार हो । तर मिथिलामा दाल तयार गर्ने अर्काे अनौठो तरिका छ । यसलाई पकाउँदा पहिले तताइएको तावामा भुट्ने गरिन्छ । मिथिला संस्कृतिमा विभिन्न किसिमका दालहरूको परिकार पाइन्छ । जस्तो, अरहरको दाल, मसुरको दाल, चना लगायत ।

भोजभतेरको परिकार

मिथिला संस्कृतिमा सामुदायिक समारोहमा भोज खाने चलन छ । यस्तो भोज या त दिउँसो र नभए रातिको खाना खाने समयमा राख्ने गरिन्छ । यस्तो भोजको परिकार पुरुष सदस्यहरूले विशेष तरिकाले तयार पार्ने गर्छन् । यस्ता भोजनहरु प्याज र लसुन समेत नराखी सात्विक शैलीमा बनाउने गरिन्छ । यसलाई विभिन्न पातमा वा टपरीमा दिने गरिन्छ भने भुइँमा बसेर खाने गरिन्छ ।

बिनालसुन प्याज युक्त खाना बनाउनु

मैथिली खानाको अर्काे विशेषता भनेको लसुन र प्याज मुक्त खाना हो । नयाँ पिढीले भने यो परिकार मनपराउने गर्दैनन् । तर परम्परागत मिथिला खानामा भने लसुन र प्याज पाइँदैन । प्याज र लसुन नहाले पनि यहाँ मांसाहार खाना भने पकाइन्छ । मैथिली महिलाहरुले लसुन र प्याज नहाली स्वादिष्ट व्यञ्जन बनाउने गर्छन् ।

मिठाई

मिथिलाको सबै समुदाय मधुर अर्थात् गुलियोप्रेमी हुन्छन् । उनीहरुलाई मिठाइ खाने कुनै बाहाना चाहिँदैन । मैथिली महिलाहरु विशेष पर्व वा अन्य अवसरमा लड्डु मालपुवजा जस्ता अन्य गुलिया परिकारहरु बनाउने गर्छन् ।

खाजा

मिथिला क्षेत्रमा खाजाका विभिन्न परिकारहरु हुन्छन् । जस्तो भुजा (भुटेको अन्न, भात वा छोले), कचरी (पकौडा) जस्ता खाजाहरु बन्ने गर्छन् ।

यसबाहेक तिलौरी (तिल र चामलबाट बन्ने परिकार), तरुवा (पर्वल, आलु, गोभी, प्याज लगायत कच्चा पदार्थबाट बन्ने पकौडा जस्तै परिकार), भुजिया जस्ता परिकार खाजाको रूपमा खाने गरिन्छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0