‘फुर्सदमा लेख्छु भन्नु वाहियात रहेछ’ – Online Khabar


जागिरबाट फुर्सद पाएपछि पुरुषोत्तम सुवेदीले १९९० सालपछिका गद्य कविताको समालोचना गर्ने विचार गरे । तर घरमा रूचिले संग्रहण गरेका समालोचना बाहेकका पुस्तक र पत्रपत्रिकाहरु मात्र थिए ।

बृहत समालोचना लेख्ने सन्दर्भ–सामग्रीको आवश्यकता महसुस भयो, तर कोरोना भाइरस नियन्त्रणका लागि पूरा देश लकडाउनमा थियो । समालोचना विधाका मित्रहरुसँग फोनवार्ता र केही महिनाको पर्खाइपछि लकडाउन खुकुलो भएपछि उनी उद्देश्य केन्द्रित बनेका छन् ।

४० वर्षे जागिरे जीवनमा पुरुषोत्तम सुवेदीले मनमा लागेका सबै कुरा बोल्न–लेख्न असहज महसुस गरे । अब ती सबै मन फुकाएर अभिव्यक्त गर्ने सुरमा छन् उनी । ‘र पनि, जागिरबाट फुर्सद पाएपछि साहित्य लेख्छु भन्ने कुरा चाहिं वाहियातै रहेछ’, उनी भन्छन् ।

जीवन बीमाको व्यवस्थापक रहँदा पनि सुवेदीको भित्रीपाटो साहित्य थियो । चार दशकमा उनका तीन कवितासंग्रह (आतंक गन्ध, एक्लो विजेता र सपनाको सट्टाबजार) र एउटा समालोचना कृति प्रकाशित भए । अहिले समालोचना र कविताका एक–एक पुस्तक प्रकाशनको तयारीमा छन् ।

गत साउनमा बीमाको सबै जिम्मेवारीबाट मुक्त भएपछि पढ्ने–लेख्नेमा केन्द्रित भएका सुवेदीले नयाँ पुस्तासँग अब अन्तरक्रियामा रहन चाहन्छन् ।

२०११ असार २३ गते तेह्रथुममा जन्मिएका उनी विद्यालय जान थाल्दा दाजु पुण्यप्रसाद सुवेदी साहित्यकार भइसकेका रहेछन् । दाजुले ल्याउने रचना, रूपरेखालगायत पत्रिका र पुस्तकहरुले साहित्यतिर तानेको बताउँदै सुवेदी भन्छन्, ‘२०२७ सालमा म्याट्रिक पास गरेर विराटनगर झरेपछि त मैले पनि कविता लेख्न थालें ।’

विराटनगरमा आइए गरेपछि डटेर उच्च शिक्षा अध्ययन गर्ने भन्दै उनी काठमाडौं आए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेपछि कर्मथलो पनि काठमाडौं नै बन्न पुग्यो । सुवेदी अहिले रविभवन, सन्तोषीनगरका स्थायी वासिन्दा हुन् ।

बीमा, व्यस्तता र साहित्य

पुरुषोत्तम सुवेदीले २०३६ सालमा लोकसेवा परीक्षा दिएर जनमत संग्रहमा बहुदलको पक्षमा प्रचार गर्न तेह्रथुम फर्के । २०३८ मा राष्ट्र बैंकमा पनि नाम निकालेका थिए, तर अन्तरर्वार्तामा राजनीतिक गन्ध आएको महसुस गरेर उनको नाम निस्किएन ।

२०३९ मंसिरमा बल्ल राष्ट्रिय बीमा संस्थानको शाखा अधिकृत भए । त्यसपछि उनी अन्य साहित्यिक जागिरे झैं बने ।

भ्याएसम्म उनी कवि गोष्ठी, साहित्यिक जमघटमा सामेल हुन्थे । जागिरलाई नै सबैथोक नभनीकन दुई–तीन बिदा लिएर राजधानी बाहिरका साहित्यिक गोष्ठीमा पनि पुगेको उनी सम्झन्छन् ।

२०४६ को जनआन्दोलनमा पनि उनी भित्री रुपमा निकै सक्रिय भए । ‘दृष्टि’ साप्ताहिकमा छद्म नाममा राजनीतिक लेखहरू लेखे । त्यतिबेला राष्ट्रिय बीमा संस्थानले ‘बीमा’ नामको पत्रिका प्रकाशन गथ्र्यो । सुवेदीले त्यसलाई पनि स्तरीय साहित्यिक पत्रिका बनाउने काम गरे ।
२०४८ पुसमा उनको पहिलो कवितासंग्रह ‘आतंक गन्ध’ छापियो । यसपछि २०५४ मा साझा प्रकाशनबाट ‘एक्लो विजेता’ र २०७५ मा ‘सपनाको सट्टाबजार’ आयो ।

२०६६ मा उनले समालोचना कृति ‘संक्रमणको साहित्य र समकालीनता’ का लागि ‘साझा पुरस्कार’ पाए । त्यसबाहेक उनले पारिजात पुरस्कार, रमेश विकल सम्मानजस्ता आधा दर्जन पुरस्कार–सम्मान पाएका छन् ।

चिन्ता राजनीतिको !

साहित्य र बीमामा लागेपनि पुरुषोत्तम सुवेदीको दृष्टिगोचर राजनीतितर्फ पनि उत्तिकै हुन्छ । समसामयिक राजनीतिक घटनाक्रममा अपडेट भइरहन्छन् । अहिलेको निष्कर्ष सुनाउँदै उनी भन्छन्, ‘केपी ओलीको उदय खास गरी वामपन्थी राजनीतिको दुर्भाग्य भयो ।’

कम्युनिष्ट आन्दोलनलाई समर्थन गर्ने सुवेदी सांस्कृतिक आन्दोलनमा पनि तीव्र विचलन आएको निष्कर्षमा पुगेका छन् । नेपालको कम्युनिष्ट र सांस्कृतिक दुवै आन्दोलनमा पद र पैसा हाबी भएको उनी बताउँछन् ।

राजनीतिले देश मात्र होइन साहित्य पनि बिगारेको उनले देखेका छन् । ‘प्रदीप नेपाल, दीनानाथ शर्मा आदिले साझा प्रकाशन ध्वस्त पारे भन्न हामी किन डराउने ?,’ उनी भन्छन्, ‘नेपाल प्रज्ञा प्रतिष्ठानजस्तो संस्थाको साख अहिले कहाँ छ ?’

स्तरीय साहित्यिक पत्रिका बन्द हुँदा समकालीन साहित्यको दस्तावेज नै जोखिममा परेको उनी बताइरहन्छन् । अनि जतिसुकै नामी लेखक भएपनि साहित्यलाई दाम र सत्ताको खेल बनाउनेको सधैं विपक्षमा उभिन्छन् सुवेदी ।

सन्तुलन नै जीवन

अर्थशास्त्र पढेर बीमा संस्थानको उपल्लो तहमा काम गरेका पुरुषोत्तम सुवेदी हरेक विषयमा व्यवस्थापन हुनुपर्ने मान्यता राख्छन् । उनले आफ्नाे निजी जीवनमा पनि यो सिद्धान्त लागू गरेका छन् ।

शान्त रहनु, सकेसम्म सबैसँग मित्रवत् व्यवहार गर्नु र निर्भीक भई आफ्नो कुरा राख्नु उनको स्वभाव बनेको छ । उनी बारम्बार भनिरहेका हुन्छन्, ‘सन्तुलन गर्न सक्यो भने सबै चीज राम्रो हुन्छ । परिणाम राम्रो हुन्छ ।’

घर–व्यवहारको सन्तुलन, मित्रताको सन्तुलन र स्वतन्त्रताको सन्तुलन पनि हुनुपर्ने मत राख्छन् सुवेदी । भन्छन्, ‘साहित्यमा पनि विचार, कला, भावना र चेतनाको सन्तुलन हुनुपर्छ ।’

तेह्रथुम हुँदा नै रक्सीको स्वाद चाखिसकेका सुवेदी काठमाडौंको साहित्यिक माहोलमा पियक्कडमै गनिए । समय यस्तो पनि आयो, जति पिए पनि उनलाई मात लाग्न छाड्यो । अनि स्वास्थ्य समस्या छ कि भनेर आँत्तिएका उनले पिउन कम गरे । २०५१ सालमा पिताको निधन भएपछि भने उनले रक्सी, चुरोट र खैनी सधैंका लागि त्यागे ।

कथाकार अविनाश श्रेष्ठ पुरुषोत्तम सुवेदीलाई सशक्त कवि र समालोचक मान्छन् । उनको समालोचनामा कमैको ध्यान गएको श्रेष्ठको बुझाइ छ । अर्का साहित्यकार शार्दूल भट्टराई सुवेदीलाई प्रगतिशील धारको प्रतिबद्ध कवि र समीक्षक मान्छन् ।

जीवनका चारदशक जीवन बीमाको काम गरेका सुवेदी भने आफूलाई जीवनवादी धारको मानिस मान्छन् । उनले जीवनमाथि लेखेका एउटा पुरानो कविता–

जीवन : मैले नबुझेको कुरा

साँझ–बिहान समयको तालमा
समयको अतृप्त आँखा अतुङ्ग बैंशभित्र घोलेर
अधिकारका कौडी–कौडी छुट्याइएका छन्
घुमाएर चक्र कुनै बिन्दुबाट
नाफा–घाटा तराजुबाट छुट्याइएका छन्
टुक्रा–टुक्रामा बाँडेर जिन्दगीका असंख्य पक्षहरू हेर्दा
जीवन परमाणुझैं अदृश्य कुनै शक्ति झैं लाग्छ ।

कसैको आराध्य ईश्वर कसैको ठूलो शत्रु हुन पुगेको छ
कसैको तिरस्कार गरी मिल्किएको वस्तु
कसैको अत्यन्त ठूलो प्राप्ति बनेको छ
कुनै ईश्वर जीवनदानको महादान लुटाइरहेका छन्
कुनै ईश्वर मृत्युदण्डको ताण्डव मच्चाइरहेका छन्
जीवनहरू प्रत्येक क्षण घायल छन्
आ–आफ्ना ठक्करहरूबाट रक्ताम्य ।

विभिन्न कोणबाट जिन्दगीलाई हेर्दा
जीवन सपनाजस्तो लाग्छ– फगत सपना
जो सबैले आ–आफ्नै खप्परमा देख्छन् मौलिक
अनि देख्दादेख्दै, भोग्दाभोग्दै जब निद्रा खुल्छ
कुनै अदृश्य आकाशवाणी झैं, कुनै मधुर मृगतृष्णा झैं
त्यो भूतको गर्भमा बिलाउँछ, सृष्टिका अनगिन्ती कथाहरू झैं
त्यो एउटैले मात्र देख्छ, एउटै मात्र भोग्छ
अनि टाढा– त्यो कतै हराउँछ, लावारिस, बस ।

 



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0