फेरि बढ्यो खाने तेलको भाउ – Online Khabar


२१ फागुन, काठमाडौं । यो साता बजारमा खाने तेल र ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । दुई साताअघि घटेको सोयाबिनको तेलको भाउ प्रतिलिटरमा पुनः १५ रुपैयाँसम्मले बढेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।

प्रतिलिटर होलसेल २ सय रुपैयाँमा झरेको सोयबिनको तेलको भाउ पुनः २१५ रुपैयाँ पुगेको संघले जनाएको छ । तेलबाहेक अन्य खाद्यान्नको भाउ स्थिर रहेको संघका सदस्य ध्रुब अधिकारीले बताए ।

यो साता ब्रोइलर कुखुराको मासु बर्डफ्लु हल्लाकै बीचमा पनि किलोमा ३० रुपैयाँसम्मले महँगो भएको छ । गत साता प्रतिकिलो २५० देखि ६० रुपैयाँसम्ममा कारोबार भएको मासुको भाउ अहिले २९० रुपैयाँभन्दा माथि पुगेको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ ।

माग उस्तै हुनु र बर्डफ्लु हल्लाले उत्पादनमा कमी आउनाले मूल्य बढेको संघका अध्यक्ष रमेश खड्गीले बताए । यस्तै बजारमा धेरै बिक्री हुने रहु माछाको मूल्य पनि किलोमा ३० रुपैयाँले महँगो भएको उनको भनाइ छ । खसी, राँगाको मासु तथा बंगुरको मासु लगायतका मासुको भाउमा भने यो साता कुनै परिवर्तन भएको छैन ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यो साता हरियो तरकारीको भाउमा सामान्य वृद्धि भएको छ । मुख्य गरेर च्याउको मूल्य किलोमा ३० देखि ४० रुपैयाँसम्मले बढेको समितिले जनाएको छ ।

यस्तै करेलाको भाउ पनि किलोमा ३० रुपैयाँसम्मले बढेको छ । साग, आलु, बन्दा, गोलभेडा जस्ता तरकारीको भाउमा झिनो घटबढ देखिएको छ भने मसलाजन्य कृषि उपजको बजार मूल्य केही मात्रामा घटेको छ ।

सुकेको प्याज, लसुन, धनिया, सुकेको खुर्सानी लगायतका तरकारीको भाउ किलोमा ३० रुपैयाँसम्मले घटेको छ । यस्तै फलफूलको मूल्यमा प्रतिकिलो १० देखि ३० रुपैयाँसम्म गिरावट आएको छ ।

फुजी स्याउको मूल्य प्रतिकिलो ३० रुपैयाँले घट्दा केरा, अंगुर, नेपाली सुन्तला लगायतको भाउ भने १० रुपैयाँले आरोलो लागेको छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0