प्रधानमन्त्रीका सहयोद्धा भन्छन् – ‘ओलीले आस मात्रै देखाउनुभयो’

झापा आन्दोलनमा सहभागीमध्ये कोही बेपत्ता छन्, कसैले आत्महत्या गरे । दुःख झेल्दाझेल्दै कतिले ज्यान गुमाए । कोही खोला किनार र सुकुम्बासी बस्तीमा दयनीय जीवन गुजारिरहेका छन्, उनीहरुको एउटै गुनासो छ, ‘कुनै नेताले कहिल्यै सम्झिएनन् ।’

प्रधानमन्त्रीका सहयोद्धा भन्छन् – ‘ओलीले आस मात्रै देखाउनुभयो’

काँकडभिट्टा — झापा विद्रोहका अगुवा ठूलो दुर्गा अधिकारी उपचारका लागि सहयोगको हात जोड्दै दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको निवासै पुगेका थिए । सँगै जेल बसेका सहयोद्धा प्रधानमन्त्री बनेका बेला सहयोग पाइएला भन्ने आस थियो । झापा आन्दोलनका बेला पाएको यातनाका कारण उनमा करङ खिइने समस्या छ । ‘ओली सरले त हुन्छ–हुन्छ भनेर आस मात्रै देखाउनुभयो, काम चैं फिटिक्कै गर्नुभएन,’ ठूलो दुर्गाले सुनाए ।

गत माघमा ७५ वर्ष टेकेका ठूलो दुर्गा अहिले पनि उपचारका लागि काठमाडौंमै छन् । भक्तपुरस्थित छोराको घरमा बसेका छन् । उनलाई युरिक एसिड, बाथ र दमले केही वर्षदेखि दुःख दिइरहेको छ । ‘आन्दोलनका बेला दिएको यातनाको घाउ अहिले आएर बल्झिन थालेको जस्तो छ,’ १२ वर्ष जेलनेल भोगेका उनले भने, ‘ऋण खोजेर भए पनि उपचार गराइरहेको छु ।’

ठूलो दुर्गाले सहयोद्धाहरू राधाकृष्ण मैनाली, सीपी मैनाली, झलनाथ खनाल, वामदेव गौतमलगायतलाई समेत सत्तामा भएका बखत सहयोगका लागि याचना गरेका थिए । तर कसैले सहयोग नगरेको उनले सुनाए । ‘धेरै नेतालाई धेरै पटक अनुरोध गरें,’ उनले भने, ‘भन्दा–भन्दा आफैंलाई दिक्क लाग्न थालेपछि छाडिदिएँ ।’ धर्मलाई ‘अफिम’ मान्ने कम्युनिस्ट सिद्धान्तका पक्षधर ठूलो दुर्गा केही समयअघि मन्दिरको पुजारी पनि बने । चरम आर्थिक समस्याका कारण पुजारी बनेर जीविका चलाउन बाध्य हुनुपरेको उनको भनाइ छ । ‘पुजारी भएर काम गर्न मनै लागेन, पछि छाडिदिएँ,’ उनले भने ।

एकपटक ओली सुरक्षा दलबलसहित राजमार्गमा हुइँकिरहेका थिए । त्यो बेला ओली प्रधानमन्त्री भइसकेका थिए या पार्टी अध्यक्ष मात्रै थिए, झापा धुलाबारीका सानो दुर्गा अधिकारीलाई हेक्का छैन । धुलाबारी नजिकै राजमार्गमा लखरलखर हिँडिरहेका झापा विद्रोहका योद्धा सानो दुर्गालाई ओलीले चिनेछन् । चालकलाई गाडी रोक्न लगाएछन् । नजिकै बोलाएर सुरक्षाकर्मीहरूले सुन्ने गरी भनेछन्, ‘दुर्गा कमरेडलाई खोलाको किनारमा नबस्नु भनेको पटक्कै मान्नु हुन्न । चिन्ता नलिनू, तपाईंको उचित व्यवस्थापनमा म लाग्छु ।’ ओलीले त्यति भनेपछि घर बन्ने भयो भनेर सानो दुर्गा खुसी भए । ‘त्यसपछि कैयौं पटक ओली यो बाटो भएर हुइँकिनुभयो, अहिलेसम्म मेरो छाप्रातिर फर्किएर पनि हेर्नुभएको छैन,’ उनले भने ।

शरदलाल धिमाल

हडिया खोलाको किनारमा सानो दुर्गाको झुप्रो छ । हिउँदमा त जसोतसो ठीकै छ । तर हावाहुरी र बर्खायाम सुरु भएपछि भने उनको दुःख बढ्छ । ‘बर्खामा घरभित्रै खोलो पस्छ,’ सेताम्य दाह्री कन्याउँदै उनले भने, ‘चैत–वैशाखको हावाले घर लडेर थिच्ला भन्ने त्रास हुन्छ ।’ १८ वर्षे उमेरमै चरम यातनासहित जेलनेल बेहोरेका सानो दुर्गा प्रधानमन्त्री ओलीभन्दा पनि लामो समय जेल बस्ने विद्रोही हुन् । उनी २०३० सालमा जेल परेर २०४६ पछि मात्रै छुटेका थिए । जेलबाट छुट्दा उनीसँग केही थिएन । आफन्त पनि कोही थिएनन् । इलामको शान्तिपुरस्थित जुरेमा सहयोद्धा रामप्रसाद प्रधानलाई तत्कालीन सत्ताले भालाले घोचीघोची हत्या गर्दा सानो दुर्गा संयोगले बाँचेका थिए । ‘मलाई प्रहरीले कुटेर लास पारेको थियो,’ उनले सुनाए, ‘हिरासतमा उस्तै यातना दियो ।’

ओली एमाले अध्यक्ष बनेको केही समयमै भक्तपुरको निवासमा झापा विद्रोहसँग जोडिएका नेता तथा कार्यकर्ताको भेला भएको थियो । अन्य सहयोद्धासँगै सानो दुर्गा पनि पुगेका थिए । त्यही बेला ओलीले आन्दोलनमा योगदान गर्ने नेता–कार्यकर्तालाई राहत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । झापा जिल्ला कमिटीलाई निर्देशन पनि गरेका थिए । ‘अहिले पार्टी नै विभाजन भइसकेको छ,’ सानो दुर्गाले भने, ‘एकढिक्का हुँदा त केही भएन, अब के आस गर्नु र !’

झापा आन्दोलन सुरु भएको वर्ष दिनपछि हिंसात्मक बन्न थालेको थियो । व्यक्ति हत्यामा आन्दोलनकारीले बन्दुकको प्रयोग गरेको पाइँदैन । खुकुरी भने व्यापक प्रयोग भएको थियो । खुकुरी बनाएर आन्दोलनलाई सहयोग गरेका थिए बुद्धशान्ति–१ किनारा बस्तीका जेठा कामी अर्थात् चन्द्रवीर ल्वागुनले । २०२९ पुस १० गते शनिश्चरेका धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानेन्द्र (ज्ञानी) ढकाल आन्दोलनकारीबाट मारिए ।

चन्द्रवीर ल्वागुन

उक्त हत्याकाण्डमा चन्द्रवीरले बनाएको खुकुरी प्रयोग भएको थियो । पछि खुकुरी बनाएर विद्रोहीलाई दिएको आरोपमा उनी सात दिन हिरासत बसे । ‘तुरुङमा झुन्ड्याएर पुलिसले कुट्यो,’ ९१ वर्षका चन्द्रवीरले सुनाए । झापा आन्दोलनमा पानवीर विश्वकर्मा, मिल्के दमाईं, चन्द्रवीरलगायत धेरै दलित सक्रिय सहभागी थिए । तर उनीहरूको नाम कहीं कतै छैन । चन्द्रवीरले भने, ‘मैले जेल मात्रै बस्नुपरेन, तर अरू नेताहरूले जति मानसिक र शारीरिक यातना भोगे, मैले पनि त्यति नै भोगेको छु ।’ हडिया खोला नजिकैको किनारा बस्तीमा उनी यतिबेला मृत्यु कुरेर दिन–रात काटिरहेका छन् ।

पारि नक्सलबारी आन्दोलन सुरु भएको करिब चार वर्षपछि त्यही आन्दोलनको अनुशरण जस्तै वारि झापा आन्दोलन (विद्रोह) सुरु भएको थियो । झापा विद्रोह सुरु हुनुअघि मेचीनगर–५ का शरदलाल धिमालको घरमा राधाकृष्ण, सीपी, मोहनचन्द्र अधिकारी आदि नेता बाक्लै आउजाउ गरिरहन्थे । भारततिरका कम्युनिस्ट नेताहरूसँग शरदलालको राम्रो सम्बन्ध थियो । त्यही भएर नेपाली कम्युनिस्टहरू शरदलालकै माध्यमबाट भारतीय कम्युनिस्ट नेतालाई चिठी पठाउँथे ।

भारत र नेपाल दुवै कम्युनिस्टका विश्वासपात्र थिए, शरदलाल । ‘नेपालको चिठी चारु मजुम्दार र कानु सन्याललाई दिन्थें,’ ८५ वर्ष हाराहारी पुगेका शरदलालले सुनाए, ‘उहाँहरूले फर्काएको जवाफ सीपी, आरके (राधाकृष्ण) हरूलाई ल्याएर दिन्थें ।’ नक्सलबारी आन्दोलन र झापा विद्रोहका ‘सेतु’ शरदलालको अवस्था यतिबेला दयनीय छ । उनी हिँडडुल गर्न सक्दैनन् । ओछ्यान परेका छन् । ‘आन्दोलनमा यत्रो योगदान गरें तर कुनै नेताले कहिल्यै सम्झिएनन्,’ सकिनसकी शरदलालले भने ।

दधिराम उप्रेती

झापा अर्जुनधाराका दधिराम उप्रेती २०२९ मंसिर १४ देखि २०४४ असोज २८ सम्म जेल बसे । ओली, राधाकृष्ण र मोहनचन्द्रसँगै जेलमा थिए । जेलमा ओली बिरामी भइरहन्थे । उप्रेतीले ओलीलाई कहिले गजरा, कहिले लुगाफाटा दिइरहन्थे । जेल प्रशासनले उप्रेतीलाई रासनका रूपमा अढाई सय–तीन सय ग्राम राँगाको मासु दिन्थ्यो । ‘मेरो भागको राँगाको मासु पनि उनैलाई दिन्थें,’ उप्रेतीले सुनाए । ओली अहिले सरकारको नेतृत्वमा छन् । त्यो बेला गरेको सहयोग ओलीले बिर्सिएको उप्रेती बताउँछन् ।

झापा आन्दोलनका अर्का योद्धा कर्मासिंह भुजेल पनि हडिया खोला किनारमा बस्छन् । लामो समय आन्दोलनकारीका सेल्टरदाता भुजेल जीवनको उत्तरार्द्धमा सुकुम्बासी बस्तीमा जीवन गुजारिरहेका छन् । झापा आन्दोलनमा सहभागीमध्ये कोही खोला किनार र सुकुम्बासी बस्तीमै जीवन गुजारेर बितिसके । बुटन चौधरीको हत्या आरोपमा ५ वर्ष जेल बसेका वीरबहादुर श्रेष्ठ कोरोना कालमै बिते । उनले सम्पूर्ण जीवन कम्युनिस्ट राजनीतिमै बिताएका थिए । उनी केही वर्षदेखि कनकाई–१ जामुनखाडीका नरपति पाण्डेको आश्रयमा थिए । नेता नरेश खरेलका अनुसार दार्जिलिङमा जन्मे हुर्केका श्रेष्ठ २०२० सालमा नेपाल छिरेर आन्दोलनमा सक्रिय बनेका थिए ।

लामो समय जेल बसेका धर्मप्रसाद घिमिरे, हर्क खड्का र भीष्म धिमाल माओवादी बनेका थिए पछिल्लो समय । घिमिरे गत वर्ष भारतको हात्तीघिस्सा नजिकै मृत भेटिए । लामो समय मानसिक रूपमा विक्षिप्त बनेका उनी नक्सलबारी आन्दोलनका अगुवा कानु सन्यालकै घर नजिकै मृत भेटिएका थिए । सन्यालले पनि एक दशकअघि घरमै आत्महत्या गरेका थिए । हर्क खड्का विगत केही वर्षदेखि बेपत्ता छन् । धिमाल राजनीतिबाट संन्यास लिएर काठमाडौंतिरै खेती किसानीमा छन् । झापा विद्रोहका अध्येता निरोज कट्टेलका अनुसार विद्रोह सुरु भएलगत्तै २०२८ वैशाखमा ज्यामिरगढीका कर्णबहादुर गौतम मारिएका थिए । ‘त्यो पहिलो एक्सन थियो,’ कट्टेलले भने, ‘त्यसपछि लगातार हिंसा मच्चिएको थियो ।’ गौतम तत्कालीन ज्यामिरगढी गाउँ पञ्चायतका सदस्य रघुवीर बुढाथोकीका कारोबारी थिए ।

२०२८ वैशाख २६ मा शनिश्चरे सालबारीका बुटन चौधरी मारिएका थिए । उनी गाउँ पञ्चायत सदस्य थिए । कांग्रेसका कार्यकर्ता उनी महेन्द्रको ‘कु’ पछि पञ्च बनेका थिए । २०२९ असारमा मारिए गरामनीका विष्णुप्रसाद विमली र ईश्वरी चुडाल । विमली जमिनदार थिए । २९ कात्तिकमै उद्रकान्त राजवंशी मारिए । उनी पनि जमिनदार (देउनिया) थिए । २०२९ पुस १० गते शनिश्चरेका धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानेन्द्र (ज्ञानी) ढकाल मारिए । ढकाल पनि जमिनदार नै थिए । २०३० कात्तिक ४ गते ज्ञानबहादुर बस्नेत मारिए । उनी दुवागढी गाउँ पञ्चायतका उपप्रधानपञ्च थिए ।

पञ्चायत सरकारबाट २०२९ फागुन २१ गते जेल सार्ने बहानामा वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ मारिए । २०३० साउन १८ गते चन्द्रबहादुर डाँगी र रामप्रसाद प्रधान मारिए । छविल (छविलाल) राजवंशी, भेट्ला राजवंशी, हरिकृष्ण कार्की, हेमबहादुर खड्कालगायतको चरम यातनाका कारण जेलमै मृत्यु भयो ।

के थियो झापा आन्दोलन ?

सन् १९६० को दशकमा मेचीपारिको नक्सलबारीमा चारु मजुम्दारको अगुवाइमा किसान विद्रोह अर्थात् नक्सलबारी आन्दोलन उत्कर्षमा थियो । त्यही नक्सल विद्रोहको झिल्को सीमावारि झापासम्म आइपुग्यो । पञ्चायती सत्ताविरुद्ध उठेको क्रान्ति अन्ततः सिंगो मुलुकमा ‘भुसको आगो’ झैं सल्कियो । झापा विद्रोहमा धेरै निमुखा किसान होमिए । खासमा ‘हुने खाने’ र ‘हुँदा खाने’ वर्गबीचको द्वन्द्व थियो झापा आन्दोलन । आन्दोलनका दौरान धेरै समातिए । धेरै जेल परे ।

सुरुमा पूर्वकोसी प्रान्तीय कमिटीबाट विद्रोह गरेका राधाकृष्ण मैनाली, बीचमा केपी शर्मा ओली र त्यसपछि लामो समय सीपी मैनालीको नेतृत्वमा हिंसात्मक आन्दोलन भएको थियो । ‘वर्गशत्रु सफाया’ भन्दै ‘सामन्तका टाउको गिँड्ने’ अभियानका क्रममा आठ जना जमिनदार मारिएका थिए ।

‘ओली पक्राउ परेको जेलमै सुन्यौं’

सानो दुर्गा अधिकारी

सोह्र–सत्र वर्षको केटो थिएँ । राजनीतिक सिद्धान्तका कुराभन्दा पनि जमिनदारको शोषण र ज्यादतीविरुद्ध हतियार उठाउनुपर्छ भन्ने कुराले प्रभावित भएर म पूर्णकालीन कार्यकर्ता बनेर झापा विद्रोहमा लागेको थिएँ । वान युनिट वान एक्सन भन्दै वर्गशत्रु सफाया अभियान चलेलगत्तै पञ्चायती सरकारले घरघरमा छापा मार्दै धरपकड सुरु गर्‍यो । शान्तिपुर जुरेको एउटा सेल्टरमा सुतिरहेका बेला राति नै पञ्चायतका जासुसहरूले पुलिस र ‘भिजिलान्ते’ जत्था बोलाएर घेराउ गरी भालाले घोचेर योद्धा राम प्रधानको हत्या गरे । मैले कसोकसो ज्यानसम्म बचाएँ । मलाई पक्राउ गरेर जेल हालियो । हिरासतमा चरम यातना भोग्नुपर्‍यो । बन्दुकको कुन्जाले कुटेको अझै दुख्छ ।

तत्कालीन सत्ताले सर्वस्वसहित जन्मकैद गर्ने गरी फैसला गरेको थियो । १६ वर्ष जेल बसेर छुट्दा मेरो आधा उमेर बितिसकेको थियो । पुरानो व्यवस्था गलत छ भनेर अग्रजहरू आरके, सीपी, नेत्र घिमिरे, लीला कट्टेल, मोहनचन्द्र अधिकारी (एमसी) बाट जब थाहा भयो तब म भित्रैदेखि आन्दोलित हुन पुगें । अग्रजहरूको संगतले म बिस्तारै कम्युनिस्ट आन्दोलनमा जोडिन पुगें । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाले मात्रै सर्वहारा नेपाली जनताको मुक्ति सम्भव छ भन्ने बुझ्न थालें । अन्ततः अठार वर्षको उमेरमै जेल परें ।

गणतन्त्रका लागि हामीले त्यत्रो आन्दोलन गर्‍यौं तर मेरो नजरमा गणतन्त्र अझै आएको छैन । शब्दमा आयो होला, भाषणमा आयो होला तर जनताका लागि व्यवहार र स्वभावमा गणतन्त्र पटक्कै आएको छैन । त्यो आन्दोलनले जनताको गणतन्त्र ल्याउने भनेको थियो । अहिलेको कम्युनिस्ट सरकारको कार्यशैली र व्यवहार झापा आन्दोलनताकाको पञ्चायती सत्ताको जस्तो लाग्छ । आन्दोलनको प्रारम्भतिरै मिटिङहरूमा खड्ग ओलीसँग झल्याकझुलुक भेट भएको हो । त्यो बेला उहाँहरू सिनियर हुनुहुन्थ्यो । हामी बोल्न पनि डराउँथ्यौं । त्यस कारण बोलिएन पनि होला । सीपी, आरके, तिलविक्रम ढकालसँग त म आन्दोलनमा लाग्नु अघिदेखि नै भेट भएको हो । उहाँ मेरा दाजुकोमा आउजाउ गर्नुहुन्थ्यो । दाजुको घर सेल्टर थियो । पछि आन्दोलनमा लागेपछि उहाँहरूसँग बाक्लै भेटघाट हुन थाल्यो ।

म जेल परिसकेपछि खड्ग ओली पनि पक्राउ पर्नुभयो अरे भनेर सुनें । रौतहटबाट ओली र मोहनचन्द्र अधिकारी पक्राउ परेका थिए क्यारे । पछि हामीलाई पनि जेल सारेर काठमाडौं लगे । जेलमा उहाँसँग भेट भयो । सेन्ट्रल जेल, नख्खु र गोलघरमा बसें । आरके, मोहनचन्द्र, खड्ग ओलीहरूलाई गोलघरमा राखिएको थियो । सीपी, राजेन राजवंशीलगायतले नख्खु जेल ब्रेक गरेपछि डिगेन राजवंशी र मलाई पनि गोलघरमा सारिएको थियो । त्यहाँ हामीले ६ महिना जति बितायौं ।

२०४६ मा म रिहा भएँ । जेलबाट बाहिर निस्कँदा कहाँ जाने, कहाँ बस्ने, के खाने, टुंगो थिएन । जमिनदारको अत्याचारविरुद्ध बोल्दा दिदीको समेत हत्या भएको थियो । त्यसले मलाई घर जान पनि समस्या थियो । लामो समय भौंतारिँदै हिँडें । पछि हाम्रै नेताहरूको दया, मायाले टिमाईको किनारमा सानो झुपडी हालेर बसें । झुपडी भत्किएर कहिले थिचिएर ज्यान जाने हो, थाहा छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0