यारको पत्र विप्लवलाई


प्रिय यार विप्लव

अभिवादन !

`यार´ भन्ने सम्बोधन अप्रिय त लागेको छैन नि ? मलाई विश्वास छ, तिमीलाई यो सम्बोधन पक्कै प्रिय लाग्नेछ । किनकि, विगतमा हामी एकअर्कालाई यसरी नै सम्बोधन गर्थ्यौं । प्रिय यार नेत्र ! अझ मैले तिमी पनि पो भनेँ  त । रिसाउँदैनौ नि ? हामी विद्यार्थी जीवनमा पनि `तिमी´ सम्बोधनमै रमाउँथ्यौं, पछि क्रान्तिकालभरी पनि यही सम्बोधनमा रमायौं । आज पनि मलाई तिमीप्रति सम्मान र प्रेम व्यक्त गर्न यही शब्द उपयुक्त लाग्यो । हाम्रो उपनाम जुराउनुभन्दा पहिला हाम्रो नाम त नेत्र र गंगा नै हो नि है ! तिमी नेत्र विक्रम चन्द, म गंगा श्रेष्ठ । यही नामले तिम्रो र मेरो परिचय भएको थियो ।

तिमी वार्तामा आयौ । त्यसैमा म खुब खुसी छु । मेरो विश्वास छ, सरकारले पनि तिमी र तिम्रो पार्टीविरुद्ध दाउपेच गर्नेछैन र तिमीले पनि । सरकार, तिमी र तिम्रो पार्टी साँच्चै नेपाल  र नेपाली नागरिकप्रति जिम्मेवार र जवाफदेही बन्नेछन् ।

प्रिय साथी ! विगतका ती दिनहरू आज पनि मेरो स्मृतिमा ताजै छन् । विगतका हाम्रा ती वाचा र प्रतिबद्धताहरू गंगाले विस्मृतिमा पुरेकि भन्ने तिमीलाई लागेको छ भने, त्यो तिम्रो भ्रम मात्रै हो । बर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक असमानताका विरुद्ध लड्ने हाम्रो प्रतिबद्धतामा आज पनि म चट्टानजस्तै दृढ छु । पक्कै पनि यी असमानता र विभेदविरुद्धका हाम्रो लडाइँको तरिकाहरू केही समय फरक भएकै हुन् । तर अब मलाई विश्वास छ, हामी एकै ठाउँमा हुनेछौं ।

प्रिय साथी ! जुनबेला हामी विद्यार्थी राजनीतिमा सक्रिय थियौं; ती दिनहरू त तिमीले भुलेका छैनौं नि ? तिमी रोल्पाबाट उच्च शिक्षा हासिल गर्ने सपना बोकेर काठमाडौ आयौ, म सिन्धुलीबाट । हाम्रो भेट काठमाडौमा भयो । हाम्रो सपना मिल्यो । हाम्रो उद्देश्य मिल्यो । हाम्रो लक्ष्य एउटै थियो । त्यसैले हामी एक भयौं । पहिले चिन्दै नचिनेका हामी तपाईंबाट तिमीमा झर्‍यौं । साँच्चै मित्र ! हामी विचारमा मात्रै होइन, भावनामा पनि एक भयौं । प्रेमिल जोडीजस्तै ।

गंगा श्रेष्ठ (मानव)

हामी कहिले वसन्तपुरको डबलीमा बसेर नेपाललाई कसरी नयाँ बनाउन सकिन्छ भनेर विविध योजना बनाउँथ्यौं । कहिले ईन्द्रचोकको गल्लीमा भौतारिँदै नेपाललाई इन्द्रधनुषी रंगमा कसरी सजाउन सकिएला भनेर सल्लाह गर्थ्यौं । साँच्चै कति रंगीन थिए है हाम्रा ती सपनाहरू ? प्रिय नेत्र ! ती दिनहरू सम्झँदा खै तिमीलाई कस्तो अनुभूति हुन्छ ? मलाई थाहा भएन । तर मभने आज पनि असाध्यै  रोमान्चित हुन्छु ।

बन्दुकको नालमा टिकेको एकात्मक सामन्ती राजतन्त्रको अन्त्य जनयुद्धविना सम्भव छैनभन्ने कुरामा हामीबीच जुन चट्टानी विश्वास थियो, सायद त्यसैले होला त्यसबेला हाम्रो टीमले हाम्रो औकात अनुसार तत्कालीन नेतृत्व (प्रचण्ड, किरण र बाबुराम) लाई शीघ्रातिशीघ्र जनयुद्ध सुरु गर्न दवाव दिन्थ्यौं । सायद त्यो दवावले पनि होला, नेपालमा जनयुद्ध २०५२ मा सुरु भयो । हो, त्यतिखेर हामी संख्यामा असाध्यै थोरै थियौँ, तर हाम्रो क्रान्तिप्रतिको निष्ठा अत्यन्तै उच्च थियो ।

क्रान्तिप्रतिको निष्ठा यस्तो अजेय हतियार रहेछ, अहिले सम्झँदा अचम्मित हुन्छु म । मैले सरस्वती क्याम्पसमा खाएको चुटाइ, तिमी र मैले पाटन क्याम्पसमा खाएको गोदाइ, त्रिभुवन विश्वविद्यालयको होस्टेलबाट तत्कालीन नेविसंघको दादागिरी सामना गर्न नसकेर रातारात भाग्नुपरेको त्यो बेलाको मेरो दु:ख यी सबै सम्झँदा आज गर्व लाग्छ मलाई । साँच्चै मित्र ! हाम्रो क्रान्तिकारितामा पाइन थप्ने काम तीनै घटनाहरूले गरेजस्तो लाग्छ आज मलाई ।

सुख र दु:ख केवल अनुभूति मात्रै हो भन्ने कुरा हामीले त्यसैबेला आफ्नो जीवनमा प्रमाणित गरेका थियौं । त्यसबेला (२०४७ देखि २०५२ सम्म) न त हाम्रो खाने गाँसको ठेगान थियो न त सुत्ने बासको । बाङ्गेमुढाको विद्यार्थी केन्द्रीय कार्यालयमा तिमी, म र भरत सिग्देललगायतका साथीहरू ब्यानर ओछ्याएर, झन्डा ओढेर, कैयौं रात भोको पेट बिताएको अहिलेजस्तै लाग्छ मलाई ।

एकछाक मासु खान नपाएर आँत सुख्खा हुँदा तिमीले असनको साँढेको जुरो मुसारेको, शोभाभगवतीको गन्हाउने बोका ताकेको, अन्त्यमा केही नलागेपछि गुन्द्रुक र भात खाएर सुतेको याद पनि ताजै छ मित्र मलाई । बाङ्गेमुढामा १२ रुपैयाँमा मासुभात खाँदा तिमी जण्डिस भएर बालबाल बँचेको घटना पनि मैले आजसम्म बिर्सेको छैन । तैपनि हामी कहिल्यै निराश भएनौं । हरेस खाएनौं । सधैं क्रान्ति-क्रान्ति भनेर व्यक्तिगत सुखसुविधा सबै तिलान्जली दिएर दौडिरह्यौं । सामूहिकतामा कति धेरै शक्ति हुन्छ भन्ने कुरा हामीले त्यतिबेला नै बुझेका थियौं ।

पार्टीले जनयुद्ध सुरु गर्ने उद्घोष गर्दा सायद हामी जति खुसी अरु कोही भएनन् होलाजस्तो लाग्थ्यो हामीलाई । `हारे हत्कडी जिते संसार´ हाम्रो दिमागमा यो भन्दा अरु केही थिएन । हामी सहिद बन्न मन्जुर थियौं । मन्जुर मात्रै होइन, आतुर थियौं । हामी त सहिद हुनेछौं नै, तर हाम्रो प्रत्येक रक्तकणबाट क्रान्ति सम्पन्न गर्ने रक्तबीज जन्मनेछन्

भन्ने हाम्रो विश्वास थियो । त्यही विश्वास बोकेर म गृह जिल्ला सिन्धुली गएँ । २०५२ फागुन १ गते सिन्धुलीगढी प्रहरी चौकी कब्जामा सहभागी भएँ । तिमी पनि पश्चिम कालिकोट गयौ ।

त्यसपछि हामी आ-आफ्नो मोर्चामा इमानदारीपूर्वक डटिरह्यौं । म जनयुद्ध सुरु भएको ३ महिना नबित्दै पक्राउ परेँ । धन्न संयोगले बाँचे । ५ वर्ष ३ महिना कठोर जेल जीवन बिताएँ । त्यसबीचमा हाम्रो भेट भएन । हुन सम्भव पनि थिएन । किनकि, तिमी जनयुद्धको तूफानी केन्द्रमा युद्ध लड्दै थियौ । म जेलमा जीवनमरणको लडाइँ लड्दै थिएँ । फेरि पनि हामी एउटै उद्देश्यका लागि फरकफरक मोर्चाबाट दुश्मनविरुद्ध लडाइँ लड्दै थियौं । भौतिक रूपमा जहाँजहाँ भए पनि हामी एउटै मोर्चामा थियौं ।

म जेल मुक्त भएपछि तिम्रो र मेरो भेट वर्षौंपछि रोल्पाको फुन्टिवाङमा आयोजना गरिएको केन्द्रीय समितिको बैठकमा भयो । त्यतिबेला हामीमा क्रान्तिप्रतिको निष्ठा उत्तिकै हुँदाहुँदै पनि वैचारिक रूपमा केही भिन्नता आएको अनुभूति भयो । खासगरी पार्टी निर्माण र सन्चालनमा जनवादी-केन्द्रीयताको नाममा स्तालिनवादी शैलीलाई आदर्शीकरण गर्ने कि त्यसको विरोध गर्ने भन्ने बिषयमा त्यतिबेला पार्टीभित्र चलिरहेको बहसमा हामी एक ठाउँमा हुन सकेनौं । पार्टी निर्माण र सन्चालनमा स्तालिनवादी शैलीलाई आदर्शीकरण गर्नुहुन्न भन्ने त्यसबेला मेरो धारणा थियो र आज पनि छ ।

माओवादी पार्टीभित्र चलेको प्रचण्ड-बाबुराम (यो व्यक्तिबीचको अन्तर्संघर्ष नभएर वैचारिक अन्तर्संघर्ष थियो) बीचको अन्तर्संघर्षमा तिमी प्रचण्डतिर र म बाबुरामतिर भएँ । मेरो कार्यक्षेत्र पूर्व र तिम्रो कार्यक्षेत्र  पश्चिम भयो । जसका कारण हाम्रो भौतिक रूपमा खासै भेट भएन । भावनात्मक रूपमा हामी असाध्यै निकट रहँदारहँदै पनि वैचारिक रूपमा हामीबीच दूरी रह्यो ।

शान्ति प्रक्रियामा आएपछि प्रचण्डको पार्टी सन्चालन गर्ने शैलीसँग हामी दुबैजना सहमत हुनसकेनौं । जसका कारण विगतमा रहेको हाम्रो दूरी घट्दै गयो । हाम्रोबीचमा सामिप्यता बढ्दै गयो । तर विडम्बना ! हामीबीचको वैचारिक दूरी भने घट्न सकेन ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याएर समृद्धिको बाटोमा अघि बढ्नुपर्छ भन्ने बाबुरामको विचारसँग म सहमत भएँ । तिमीभने शान्ति सम्झौता धोखा हो, जनयुद्ध जारी राख्नुपर्छ भन्ने किरणको विचारसँग सहमत भयौ । प्रचण्डको अकर्मण्यताप्रति न त तिमी सहमत भयौ न त म सहमत भएँ । आज जसरी माओवादी पार्टी छिन्नभिन्न भएको छ र जनयुद्धका उपलब्धिहरू गुम्दै गइरहेका छन्; त्यसको मुख्य कारण प्रचण्डको अकर्मण्यता नै हो ।

प्रचण्डसँग सम्बन्ध बिच्छेद गर्ने अन्तिम तयारी भैरहँदा पनि तिमीसँग भेटेर मलगायत केही साथीहरूले जनयुद्ध अब सम्भव छैन भनेका थियौं । तर तिमी प्रचण्डसँग बस्न संभव छैन भन्ने अन्तिम निष्कर्षमा पुगिसकेका थियौ । त्यसैले प्रचण्डसँग शीघ्र सम्बन्ध बिच्छेद गर्न किरण र बादललाई दबाव हाल्यौ । त्यो कामयावी पनि भयो । पार्टी अलग भयो । किरण र बादलबाट पनि जनयुद्धको जहाज गन्तव्यमा पुग्दैन भन्ने तिमीलाई लागेकै थियो । मसँग तिमीले खुलेरै यो कुरा पटकपटक भनेकै थियौ । अन्ततः `एकीकृत क्रान्ति´ को नयाँ प्रस्तावसहित किरणसँग पनि सम्बन्ध बिच्छेद गर्दै नयाँ पार्टी गठन गर्‍यौ ।

प्रिय कमरेड विप्लव ! क्रान्तिप्रतिको तिम्रो निष्ठामाथि म शंका गर्दिनँ । तिमीले अलग्गै पार्टी गठन गरेर क्रान्तिकर्म गर्न कोसिस गरेकोमा मेरो उच्च सम्मान छ । तर एक्काइसौं शताब्दीमा न त लेनिनवादले क्रान्ति हुन्छ न त माओवादले । पुँजीवाद र साम्यवादले आजको देश, दुनियाँको नेतृत्व गर्न संभव छैन । यी दुबै सिक्काका एक-एक पाटा मात्रै हुन् । आजको देश दुनियाँलाई चाहिएको सिङ्गो सिक्का हो, एकपाटे सिक्का होइन । सिङ्गो सिक्का भनेको आजको दुनियाँमा समुन्नत समाजवाद हो ।

सायद यही सच्चाइलाई आत्मसात गर्दै `एकीकृत क्रान्ति´ को प्रस्तावना अघि सारेका हौला । तर मित्र, तिम्रो `एकीकृत क्रान्ति´को प्रस्तावनामा पनि कुनै नौलो कुरा भेटिनँ मैले । तिम्रो `एकीकृत क्रान्ति´को प्रस्ताव पढेपछि त झन् म अन्यौलमा परेँ ।

जे होस् सरकारसँग तिम्रो पार्टीको वार्ता भएको छ । तिमी आज आफ्नो पछिल्लो भूमिगत जीवनबाट देशको केन्द्रीय राजधानी काठमाडौँमा पछिल्लो पटक सार्वजनिक भएर नेपाली नागरिकलाई सम्बोधन गर्दैछौ । तिम्रो सम्बोधन सुन्न लाखौं नागरिकहरू व्यग्र छन् । तिमी र तिम्रो पार्टीसँग वार्ता गर्ने सरकारको नियतमाथि अधिकांश नेपालीहरूलाई शंका छ । तिमी र तिम्रो पार्टीलाई के छ, त्यो तिमीलाई नै थाहा होला ।

आज देश डरलाग्दो भुमरीबीचमा फसेको छ । सर्बोच्चको फैसलाले पुनर्स्थापित प्रतिनिधिसभा अझै विघटन गर्नसक्ने संभावना देखिन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान धरापमा छ । पक्कै पनि यो संविधान अपूर्ण छ । यसमा दुईमत छैन । संविधानको सापेक्षित पूर्णताका लागि भावी दिनमा सबै मिलेर संघर्ष गर्न जरुरी छ । तर अहिले नै यो संविधान च्यातियो भने अब कस्तो संविधान बन्ला ?

त्यसैले यस संविधानको रक्षा गर्दै देशलाई भयानक भुमरीबाट बाहिर निकाल्ने कि ? विप्लव कामरेड ! देशलाई भुमरीबाट बाहिर निकाल्न यसो गर्दा कसो होला-

१) सहमतिमा सरकार गठन गर्ने

२) सहमतिमा संविधान संशोधन गर्ने

३) शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने

४) सहमतिमा आगामी निर्वाचन सम्पन्न गर्ने ।

 

उही तिम्रो यार

गंगा श्रेष्ठ (मानव)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0