प्रतिगमन विरोधी आन्दोलनकी एक ‘फ्रन्टलाइनर’ – Online Khabar


१४ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अन्ततः सर्वोच्च अदालतले बदर गरिदिएको छ । ओलीको प्रतिगामी कदमविरुद्व त्यसअघि लगातार दुई महिना आन्दोलन चल्यो ।

सडक आन्दोलनमा संसद् विघटन गरिएकै दिन गत ५ पुसमा विभाजित भएको नेकपाको प्रचण्ड–माधव समूह बढी आक्रामक बन्यो । यो समूहका युवा तथा विद्यार्थीले पूरा दुई महिना सडक छाडेनन् ।

दैनिक सडक आन्दोलनको अग्रपंक्तिमा देखिने एक नेतृ हुन्–अनेरास्ववियूकी आरती लामा । संसद् विघटनदेखि पुनर्स्थापनासम्मको ६६ दिनमा उनी आन्दोलनको प्रतीकका रुपमा स्थापित भइन् । उनी सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय आमसञ्चार माध्यमसम्म छाइन् ।

‘ओमेन्स स्क्वाड’ परिचालन

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै कार्यान्वयन गरिदिएको पुस ५ गते आरती लामा सर्लाहीमा थिइन् । आफूसमेतले लडेर ल्याएको शासन व्यवस्थामाथि प्रहार गरिएको थाहा पाउनासाथ उनी गृह जिल्लाबाट रातारात काठमाडौं आएर प्रतिगमन विरुद्धको आन्दोलनमा सरिक भइन् ।

पार्टीद्वारा घोषित आन्दोलन त छँदै थियो, हरेक साँझ–बिहान कसै न कसैले आयोजना गरेको प्रदर्शनमा निस्किइन्, आरती । जुलुसको अग्रभागमा उभिँदा हरेक पटकजसो प्रहरीसँग मुठभेड हुन्थ्यो । धेरै पटक घाइते भइन् । थुनाबाट छुट्नासाथ फेरि सडक आइहालिन् । उनी भन्छिन्, ‘रगतले साटेको लोकतान्त्रिक गणतन्त्र बचाउनुपर्छ भन्ने कुराले सडकमा जान प्रेरित गरिरह्यो ।’

प्रदर्शनमा निस्कँदा उनी सधैं कालो पोशाकमा रहिन् । प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रममा कालो मास्क निषेध गरिएपछि प्रदर्शनमा कालो पोशाक लगाउने निधो गरेको उनी बताउँछिन् ।

‘हामीलाई लाग्यो, ओली अझै डराउनपर्छ’, कालो पोशाकको रहस्य खोल्दै आरती भन्छिन् ।

यो अवधिमा ओली र प्रचण्ड–माधव समूह बीच बिरोध सभा गर्ने स्पर्धा नै चल्यो । आन्दोलनको स्वरुप पनि बदलिरह्यो । सडकमा आरतीहरूको संघर्ष भने उस्तै रह्यो । कहिले उपप्रधानमन्त्री ईश्वर पोखरेल त कहिले मन्त्रीहरूलाई कालो झण्डा देखाउँदा प्रहरीको लाठी खाने, पक्राऊ पर्ने क्रम चलिरह्यो ।

खबर सुन्नासाथ आँसु आयो

प्रचण्ड–माधव समूहको सबभन्दा ठूलो विरोध सभा २८ माघमा काठमाडौंमा भयो । सहरका विभिन्न ठाउँबाट जुलुस निस्कियो । तीन–तीन जना पूर्वप्रधानमन्त्रीसहितको मुख्य जुलुसको अग्रभागमा खटिइन् उनै आरती ।

‘हामी संविधानको रक्षा गर्न र विधिलाई स्थापित गर्न सडकमा निस्किएका थियौं । व्यक्ति विरुद्धको लडाइँ थिएन । निरंकुश प्रवृत्तिको विरुद्धमा थियो’, उनी भन्छिन् ।

आरतीको टीम पार्टीको कार्यक्रम बाहेक महिला मार्च र नागरिक समाजको विरोध कार्यक्रममा पनि सक्रिय रह्यो । महिला मार्च र नागरिक आन्दोलनमा ऐक्यबद्धता जनाउन मात्रै पुग्ने गरेकोले उनीहरू पछाडि बसे । ‘जनप्रदर्शनको अग्रभागमा हामीले ‘ओमेन्स स्क्वाड’ नै परिचालन गर्यौं’, उनी भन्छिन्, ‘महिलाले आन्दोलनको नेतृत्व गर्न सक्दैनन भन्ने पितृसत्तात्मक सोंच चिर्न होमियौं ।’

अनेक अड्कलबाजीबीच ११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा भंग गर्ने निर्णय बदर गरिदियो । आरती भन्छिन्, ‘खबर सुन्नासाथ आँशु आयो । प्रतिगामी तत्व परास्त भएको क्षण थियो, त्यो । मेरो मात्रै नभएर आम नेपालीको जित भयो ।’

त्यसपछि वियज जुलुसमा उनी सहभागी भइन् । अनेरास्ववियुकी पूर्वसचिवालय सदस्य उषाकिरण तिम्सिना र आरतीले शान्ति बाटिकामा रमाउँदै अँगालो हालेको तस्वीर अन्तर्राष्ट्रिय आमसञ्चार माध्यमले नेपालमा असंवैधानिक कदम सच्चिएको प्रतीकका रुपमा प्रयोग गरे ।

सर्वोच्चको फैसलापछि विजयमा रमाउँदा आरतीको स्वर नै बस्यो । जबकी, दुई महिना लामो प्रदर्शनमा नारा लगाउँदा त्यस्तो भएको थिएन । ‘शरीरमा थुप्रै नीलडाम छ’, प्रहरीको लाठीले चोट लागेको हात छाम्दै उनले भनिन्, ‘हिजोआज पो बेस्सरी दुख्न थालेको छ ।’

युवा पुस्तामा राजनीतिप्रति आकर्षण कम छ । यो पुस्तालाई सडकमा उतार्न सजिलो थिएन । सुरक्षाकर्मीको ताँतीलाई पहिला आफैंले हाँक दिएर आरतीहरुले युवा पुस्तालाई आन्दोलनमा अग्रसर गराए । ‘संसद् पुनर्स्थापनापछि राजनीति प्रतिसकारात्मक सन्देश गयो होला’, उनी भन्छिन् ।

राजनैतिक नेतृत्वकै कारण राजनीतिप्रति आम बितृष्णा रहेको देख्ने उनी पुनर्स्थापना पछि पनि आन्दोलन भने नरोकिने उनको अठोट छ ।

त्यो आवाज गलत प्रवृत्तिका विरुद्ध हुने आरती बताउँछिन् । ‘हामी संविधान रक्षा गर्न र विधिलाई स्थापित गर्न सडकमा निस्किएका थियौं । व्यक्ति विरुद्धको लडाइँ थिएन । निरंकुश प्रवृत्तिको विरुद्धमा थियो’, उनी भन्छिन् ।

विद्यार्थी नेतामा सधैं आलोचनात्मक चेत हुनुपर्ने देख्ने उनी संविधान जोगिए पछि पनि परम्परागत प्रवृत्ति विरुद्धको लडाइँ बाँकी नै देख्छिन् । उनी प्रष्ट छिन्– पार्टीहरू भित्र मौलाएको व्यक्तिवादी सोंच, नेतालाई देवत्वकरण गर्ने प्रवृत्ति र पुरुष प्रधान संस्कृति त जीवितै छ ।

त्यसका लागि सचेत युवा पुस्ता मैदानमा उत्रनुपर्ने आवश्यकता देख्ने उनी आफ्नै नेतृत्वले पनि संविधानको भाव बोक्ने र सोही अनुसार कार्यान्वयन गर्छन् भन्नेमा विश्वस्त छैनन् ।

तस्वीर/भिडियो : चन्द्र आले/शंकर गिरी



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0