‘सागमा स्वर्ण जित्न चाहन्छुु’ – Online Khabar


११ फागुन, काठमाडौं । एपीएफ क्लबलाई राष्ट्रिय महिला लिगको च्याम्पियन बनाउँदा सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ४३ गोल गरिन् । कप्तान अनिता बस्नेत, रेनुका नगरकोटी र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले उत्कृष्ट प्रदर्शन गरे ।

उपाधि नजितेका टिममा आवद्ध खेलाडीहरुको व्यक्तिगत प्रदर्शन पनि कमजोर थिएन । तर लिग खेलेका डेढ सयभन्दा बढी खेलाडीलाई उछिन्दै सरु लिम्बु लिगकै सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । उनले स्कुटर पुरस्कार पाएकी छन् ।

स्वयं सरुले पनि लिगको सर्वोत्कृष्ट खेलाडी बन्छु भन्ने अपेक्षा गरेकी थिइनन् । ‘बेस्ट मिडफिल्डर चाहिँ हुन्छु कि भन्ने थियो । सर्वोत्कृष्टको अवार्ड त साम्बा दिदीले पाउनुहुन्छ भन्ने लागेको थियो,’ २१ वर्षीया सरुले अनलाइनखबरसँग भनिन्, ‘तर जब त्रिभुवन आर्मीकी बिमला चौधरी बेस्ट मिडफिल्डर र साम्बा बेष्ट फरवार्ड बन्नुभयो त्यसपछि भने मेरै नाम आउँछ जस्तो लाग्यो ।’

 

दशरथ रंगशालामा जुरेको संयोग

नेपाल पुलिसले त्रिभुवन आर्मीलाई बराबरीमा रोकेपछि एपीएफले दुई खेल अगाडि नै लिगको उपाधि पक्का गर्‍यो । तर चोटका कारण साम्बा टिम बाहिर भएका कारण एपीएफका खेलाडीहरुलाई बाँकी दुई खेल के होला भन्ने थियो । ११औं खेलमा विराटनगरलाई १–० ले हराएको उसले अन्तिममा आर्मीसँग खेल्यो । र सरुको दुई गोल मद्दतमा एपीएफ ३–० ले विजयी भयो ।

सरुले २०७२ वैशाखमा दशरथ रंगशालामा उमेर समूहको साफ खेलेकी थिइन् र बंगलादेशविरुद्ध फाइनल हुने दिनमै १२ वैशाखमा भूकम्प आएपछि खेल रोकिएको थियो ।

त्यही रंगशालामा आर्मीविरुद्ध दुई गोल गर्दै उपाधि जित्न पाउँदा आफूलाई भाग्यमानी ठान्छिन् सरु । ‘नेपालको अन्तर्राष्ट्रिय रंगशालामा खेल्ने चाहना पूरा भयो,’ उनले फाइनल खेल सम्झिँदै भनिन्, ‘गोल पनि गरेँ । उपाधि उचाल्यौं र बेस्ट प्लेअर पनि भएँ । यो मेरो जीवनको अनएक्सपेक्टेड मोमेन्ट हो ।’

मोरङदेखि एपीएफसम्म

मोरङमा जन्मिएकी सरु सानोमा दाइहरुकै पछि लागेर फुटबल हेर्न पुग्थिन् । केटीले पनि फुटबल खेल्छन् भन्ने समेत थाहा थिएन । स्कुलमा केटी साथीहरुले खेलेको देखेपछि उनको मन लोभियो । विस्तारै उनी त्यसमै रमाउन थालिन् ।

उनी फ्रक लगाएरै फुटबल खेल्थिन् । उनीहरुको फुटबल क्रेज देखेर स्कुलले प्रशिक्षक विक्रम धिमाललाई बोलाएर सिकाइदिन भने । विक्रमले जमुना मगर र सरुलाई उर्लाबारीमा लैजाने भए । त्यसपछि भने सरुले फुटबल खेल्ने जुत्ताको जोहो गरिन् । ‘मैले ममीलाई भनेर २ सयको जुत्ता किनेँ,’ उनी भन्छिन्, ‘म दोस्रो हाफमा मैदान प्रवेश गरेँ, तर केही नआउने भएकाले कुदेँ मात्र । लास्टमा बल एकपटक छुन पाएँ । बल ड्याङ्ङ हानेको जुत्ता च्यातियो ।’

उनले खेतहरुमा खाली खुट्टा नै फुटबल खेलिन्, च्यातिएको जुत्ता दर्जनौं पटक सिलाएर खेलिन् । स्थानीयस्तरदेखि राम्रो खेल्न थालेपछि विभागीय टोली एपीएफको नजर सरुमाथि पर्‍यो । सुरुमा त पढाइ बिग्रिन्छ भनेर दाइहरुले उनलाई पठाउन मानेनन् । उनले अघि भनिन्, ‘विभागीय टिममा राम्रो हुन्छ । खेल पनि देखिन्छ भने किन नजाने भन्ने सोच आयो । अनि एपीएफ आएँ ।’

उनी आउँदा स्टार खेलाडीहरु एपीएफको टिममा थिए । तर सरुको आगमन र स्टार खेलाडीद्वय अनु लामा र सजना राना घाइते हुनु उस्तै–उस्तै समयमा भयो । ‘उहाँहरुको अनुपस्थितिमा मैले सुरुमा नै खेल्ने अवसर पाएँ,’ सरु भन्छिन् ।

राष्ट्रिय टिमको जर्सी लगाउँदाको क्षण

त्यही बेला नेपाली सेनाले आयोजना गरेको प्रधानसेनापति कपमा सरुले उत्कृष्ट प्रदर्शन गरिन् । प्रतियोगितामा बेस्ट स्ट्राइकर उनी प्रशिक्षक कुमार थापाको नजरमा परिन् ।

क्लोज क्याम्पमा पनि राम्रो गरेपछि साफ च्याम्पियनसिप–२०१६ का लागि राष्ट्रिय टिममा पर्न सफल भइन् । ‘राष्ट्रिय टिममा परेर पाएको जर्सी रुम गएर हेरिरहेँ एकछिनसम्म,’ उनले अघि भनिन्, ‘जीवनकै सबभन्दा खुशीको क्षण थियो त्यो ।’

भारतमा भएको प्रतियोगितामा सरुले श्रीलंकाविरुद्ध डेब्यू गरिन् । ‘सानो थिएँ । क्षमताले भ्याउँछ कि भ्याउँदैन भन्ने लागेको थियो,’ डेब्यू अघिको क्षण सम्झिँदै उनी भन्छिन्, ‘सेकेण्ड हाफमा म मैदान प्रवेश गरेँ ।’ त्यो खेलको अन्त्यतिर श्रीलंकन खेलाडीले आत्मघाती गोल गर्दा नेपाल विजयी भएको थियो ।

नेपाल सेमिफाइनलमा भारतसँग पराजित भयो । तर सरुको फुटबल यात्रा निरन्तर अगाडि बढ्यो ।

श्रीलंकाविरुद्ध जुरेको संयोग

सरुले राष्ट्रिय टिमबाट जति सफलता हात पारेकी छन्, त्यसमा श्रीलंका कहीँ न कहीँ जोडिएको छ । यू–१४ लेभलमा श्रीलंकामा गएर खेलिन् र उपाधि जितिन् ।

राष्ट्रिय टिमबाट डेब्यू श्रीलंकाविरुद्ध नै गरिन् । नेपालका लागि पहिलो गोल पनि श्रीलंकाविरुद्ध नै भयो । २०१९ डिसेम्बरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा सरुले राष्ट्रिय टिमका लागि डेब्यू गोल गरिन् ।

त्यो खेलमा अन्तिमसम्म नेपालले गोल गर्न सकिरहेको थिएन । ८८ औं मिनेटमा सरुले गरेको गोलकै मद्दतमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । उनी भन्छिन्, ‘अनिता केसीको पासमा गोल गर्दा म आफैं सक्ड भएँ । के गर्ने अब थाहै भएन । साम्बा दिदीले तानेर सेलिब्रेट गर्नुभयो ।’

उनले त्यो क्षण अहिले पनि बिर्सिएकी छैनन् । निर्णायक गोल गर्दा पनि उनी खुसी नमनाएको देखेपछि उनलाई टिममेटहरुले जिस्काए । तिमी किन उभिरा’को भनेर सोधे ।

उनी भने राष्ट्रिय टिमका लागि पहिलो गोल गर्दा के गर्ने भन्ने सोच्न सक्ने अवस्थामा थिइनन् ।

सागमा गोल्ड मेडल जित्ने लक्ष्य

घरेलु मैदानमा भएको सागमा नेपाल फेरि भारतसँगै हार्‍यो । साफ च्याम्पियनसिपदेखि साग खेलकुदसम्म भारतले जहिल्यै उपाधि जित्दा नेपाल उपविजेता हुन्छ ।

भारतसँग किन सधैं हार्छ नेपाल ? सरुसँग पनि जवाफ छैन । ‘भारतसँग खेल्दा आज त जित्छौं भनेर जान्छौं, तर के कमी हुन्छ हामी आफैं छक्क पर्छौं,’ उनले भनिन् ।

तर उनीसँग आत्मविश्वास छ, भारतलाई हराउने र सागमा गोल्ड मेडल जित्ने । ‘मेरो एक मात्र लक्ष्य भनेको भारतलाई हराएर नेपाललाई साफ च्यम्पियनसिप दिलाउनु हो,’ उनले भनिन्, ‘अब भारतको दबदबा कुनै हालतमा तोड्नु छ ।’

परिवारको शीर उचो पार्दाको खुशी

२१ वर्ष मात्र भएपनि सरुले फुटबलमा धेरै सफलताको स्वाद चाखिसकेकी छिन् । फुटबलकै कारण एपीएफमा जागिरे भइसकेकी छन् । मान सम्मान पाएकी छन् ।

आफ्नो फुटबल यात्रा उनी आफैंलाई रमाइलो लाग्छ । ‘मुख्य कुरा मैले आमाबुबाको नाम राखेँ,’ सरुले गर्वका साथ भनिन्, ‘म आफूलाई भाग्यमानी ठान्छु किनकी हाम्रो परिवारमा फुटबल खेल्ने म पहिलो हुँ र परिवारमा सबै खुसी हुनुहुन्छ ।’

घर परिवारमा भेटघाटका लागि आउनेहरुले पनि छोरी त सरु जस्तो हुनुपर्छ भन्ने गरेको भन्दै भनिन्, ‘बुबाले पनि सायद (फुटबल) नखेलेको भए यस्तो हुन्थेन कि भन्नुहुन्छ ।’

सरुका अनुसार महिला र पुरुष खेलाडीको भत्ता बराबर गर्ने एन्फाको पछिल्लो निर्णयले पनि उनीलाई थप हौसला प्रदान गरेको छ । ‘यसले थप मेहनत गर्नुपर्छ भन्ने ऊर्जा आएको छ,’ सरुले कुराकानीको बिट मारिन्, ‘अब राज्य र एन्फाले ग्रासरुटमा थप लगानी गर्ने हो भने अरु केटीहरु आउनसक्छन् जस्तो लाग्छ ।’

तस्वीर : शंकर गिरी/अनलाइनखबर



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0