देवी घर्ती, जसले लोकदोहोरीमा उधुमै मच्याइन् – Online Khabar


८ फागुन, काठमाडौं । ‘बदला बरिलै’ गायिका देवी घर्तीसँग यस्ता कर्णप्रिगीतहरूको चाङ नै छ । ‘बिर्सियौ कि कुन्नी’, ‘मायाले मन छुन्छ’, ‘गण्डकी पौडेर’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘हाँस्न सिकायौं’ गीतहरू स्रोताले उधुमै रुचाए ।

‘जिम्मल बा’को आँगनीमा’, ‘यही चाल होला भन्या’भा’ जस्ता रोइला गीत पनि सबैको मुखमा झुन्डियो । ‘उही खोलीमा पानी’ धेरैले गुनगुनाए । भनिहालौं, युट्युबमा करोड क्लब पार गर्ने पहिलो लोकदोहोरी गीत हो यो । एकताका उनी कतिसम्म व्यस्त थिइन् भने एकैदिन आठ वटासम्म गीत रेकर्ड गर्न भ्याइन् ।

सुरिलो भाका हाल्ने यी गायिकाले अहिलेसम्म कति गीत गाइन् होला ?

अनलाइनखबरसँग गफिँदै गर्दा देवीले सुनाइन्, ‘ठ्याक्कै नोट गरेर त राखेकी छैन । ६ हजार कटेजस्तो लाग्छ ।’

करिब एक दशक भयो, उनी उस्तै तीव्रता र उस्तै गतिमा दौडिरहेकी छन् । कुनै समय दिनमै दुई/तीन वटा गीत रेकर्ड गराउँथिन् । आजको मितिसम्म यो क्रम जारी छ । अहिले पनि उनको आवाजमा दिनहुँजसो गीत रेकर्ड हुन्छ ।

त्यसो त संगीतवृत्तमा देवी घर्तीका केही घतलाग्दा किस्सा पनि छन् । छिमेकी दिदीको साथ लागेर दोहोरी-साँझ जाँदा गायकी सुनेर ‘अन द स्पट’ जागिर मिलेकोदेखि आफ्ना गीतले उधुम मच्याएर सांगीतिक कार्यक्रममा माग हुँदासम्म नगएका उनका किस्सा साँच्चै चाखलाग्दा छन् ।

बाबुआमा नै गिताङ्गे

बागलुङको रमुवा गाउँमा सामान्य परिवारमा जन्मिएकी देवीको बालापन त्यहीँ बित्यो । बुबाआमा भजन गाउन हिँड्ने, चार दाजुभाइ, चार दिदीबहिनीमध्येकी साइली देवी बुबाआमाको पछि लागेर भजनमा जान्थिन् । भजन सुन्थिन्, नाच्थिन् पनि ।

‘बुबाआमाबाटै ममा त्यो गुण सरेको पनि हुनुपर्छ’ देवी गायनको विजारोपणबारे अनुमान लगाउँछिन् ।

देवी समूहमा गाउन भने लजाउँथिन् । गाउँमा युवा क्लबले नयाँ वर्षमा दोहोरी प्रतियोगिता गथ्र्यो । देवीका माइला दाइ पनि गाउन अघि सर्थे । एकदिन दाइले आग्रह गरे, ‘दाजु-बहिनी भएर प्रतियोगितामा भाग लिऔं न त ।’

दाजुको प्रस्तावमा उनी राजी भइन् । पहिलोपटक लोकदोहोरी प्रतियोगितामा भाग लिइन् । नतिजा आयो, उनी प्रथम भइन् ।

मेलापात-वनपाखा घन्काउँदै

यतिबेला उनी कक्षा आठमा पढ्दै थिइन् । त्यतिबेला जिल्ला-जिल्लामा एफएम रेडियो खुल्ने लहर चलेको थियो । रेडियोमा गीत बढी बज्ने । देवीलाई गीत नै बढी सुन्नुपर्ने ।

लक्ष्मी न्यौपाने, बिमाकुमारी दुरा, हरिदेवी कोइराला, सिन्धु मल्ल लगायतका गीत सुनिरहँदा उनलाई लाग्थ्यो, ‘एकदिन म पनि यसरी गीत गाउनेछु ।’ देवीलाई याद छ, ‘रेडियोमा गीतहरू मात्रै सुन्ने, गाँस-दाउरा गर्न वनपाखा जाँदा समेत दोहोरी गाएको कल्पना गर्थे । अहिले सम्झँदा पनि हाँसो लाग्छ ।’

देवीको एउटै लक्ष्य थियो, गायिका बन्नु । रेडियोमा आफ्नो आवाज घन्काउनु । तर, गाउँमा बसेर यो सम्भव होला ? सम्झँदा उनी खिन्न हुन्थिन् ।

बाग्लुङमा बसेर गीत-संगीतमा जम्न सकिँदैन भन्ने लागेपछि उनी काठमाडौं जाने योजना बनाउन थालिन् । गीतसंगीतप्रति उबेलादेखिको मोहबारे देवी भन्छिन्, ‘अब काठमाडौं गएर गायिका बन्ने हो । दोहोरी साँझमा गीत गाउने हो भनेर पढ्न छाडेँ । त्यसपछिका केही वर्ष रेडियोमा गीत सुनेर रट्ने, घाँस दाउरा लिन जाँदा गीत गुनगुनाउने गरेरै बित्यो ।’

काठमाडौं आउने सपना पूरा हुन देवीलाई तीन-चार वर्ष लाग्यो । काठमाडौं आउने कल्पनामै दिनहरू बितिरहेको थियो ।

एकदिन, म्याग्दीमा मेलामा देवीको पल्लोगाउँकी गायिका लक्ष्मी भुजेल काठमाडौंदेखि पुगेकी थिइन् । त्यही मेला हेर्न देवी र उनका माइला दाइ पुगे । माइला दाइले देवीको रहरबारे लक्ष्मीलाई सुनाए । उनको नम्बर लिए । केही समयपछि लक्ष्मीले बोलाएपछि दाइकै साथ लागेर देवी २०६१ सालमा पहिलोपटक काठमाडौं आइन् ।

दोहोरी-साँझमा अप्रत्यासित जागिर !

गाउँकै दिलु सलामीकै डेरामा देवी पनि बस्न थालिन् । सो समय काठमाडौंमा दोहोरी साँझको लहर चलेको थियो ।

दिलुले लालीगुराँस दोहोरी साँझ बसपार्कमा काम गर्थिन् । एकदिन दिलुले देवीलाई दोहोरी साँझ लगिन् । स्टेजमा चढाएर आफ्नै छेउमा राखिन् । दोहोरी चल्दै गयो ।

देवीलाई एउटा गीत गाउन आग्रह गरिन् । देवी पनि के कम, गीत गाइन् । देवीको आवाज दोहोरी साँझका साहुजीलाई मनपरेछ । त्यही दोहोरी साँझमा देवीलाई जागिर मिल्यो ।

‘अर्को दिनदेखि नियमित दोहोरी साँझमा गाउन थालेँ । एक वर्षसम्म एकदिन पनि नबिराई दोहोरी साँझ हाजिर भएँ’ उनले सुनाइन् ।

देवीलाई जागिर पाउन समय नलागेझैँ पहिलो गीत रेकर्ड गराउन पनि समय लागेन । दोहोरी साँझमा गायक खड्ग गर्बुजा आउजाउ गरिरहन्थे । नयाँ एल्बमको तयारीमा थिए, उनी । दोहोरी साँझमा गाउँदै गरेकी देवीको आवाज खड्गलाई मनपर्‍यो । देवीलाई गीत गाउन अफर गरे । देवीलाई के चाहियो, उनले पनि हुन्छ भनिदिइन् ।

खड्गले नै घरमा लगेर हार्मोनियममा भाका सिकाए । देवीले पहिलो गीत रेकर्ड गरिन्, ‘बतासले रुमाल फरर’ । त्यो समय चलेका कलाकारलाई ‘ए’ साइटमा गाउन दिइन्थ्यो, नयाँलाई ‘बि’ साइटमा । ‘मेरो गाउँ’ एल्बमको ‘बि’ साइटमा रहेको गीतले औसत प्रतिक्रिया पायो ।

अब त देवीलाई लाग्यो- मेरो गीत चक्कामा आउँछ, रेडियोमा बज्छ । केही गीत गाइन् । दशैंमा घर जाँदा धेरैले गीत रेडियोमा बसेको सुनाए । देवी खुःसी भइन् ।

देवीले गान्धर्व संगीत पाठशालामा एक वर्ष संगीत सिकिन् । त्यसपश्चात् झरना संगीतका केही गीत गाइन् । संगीत संयोजक जुजु गुरुङसँग भेटेपछि देवीले थप गीतहरू गाउने अवसर पाइन् ।

अनि, चर्चा ? उनी सुनाउँछिन्, ‘त्यतिबेलासम्म अधिकांश ‘बि’ साइटका गीतहरू गाएकी थिएँ । चर्चा पनि सामान्य थियो ।’

एकैदिन आठवटा गीत रेकर्ड ?

अशोक बस्नेतसँग गाएको ‘सल्यान राम्रो सल्लैको पाखैले’ गीतले भने राम्रो चर्चा पाएको देवी बताउँछिन् । २०६२/६३ को जनआन्दोलनमा आन्दोलनको गीत गाइन्, ‘आयो बरै लोकतन्त्र’ । त्यो गीत पनि राम्रो चल्यो । क्रमश म्युजिक भिडियोहरू बन्न थाले ।

रेशम सापकोटासँग गाएको तीज गीत ‘पल्के भेना बाई’ बोलको तीज गीत अडियो, भिडियोको समयमा राम्रो चल्यो । मिलन लामासँग गाएको ‘झल्को लाली ओठको’को गीतले पनि देवीलाई थप चिनायो । एकपछि अर्को गीत चलेको समयमा देवीले एकै दिनमा ८ वटासम्म गीत रेकर्ड गराइन् ।

‘बिर्सियौ कि कुन्नी’, ‘मायाले मन छुन्छ’, ‘चरी मधुवनभरि’, ‘गण्डकी पौडेर’ होस् वा ‘पानी इनारमा’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘हाँस्न सिकायौं’ होस् । सीआरबीटीको समयमा देवीका गीतले श्रोता/दर्शकको उत्तिकै मन जिते ।

देवीका एकपछि अर्को गीत स्रोता-दर्शकले रुचाउँदै गए । रोइला गीत ‘म त आउने थिइन’, ‘जिम्मल बा’को आँगनीमा’ गीतहरू समेत उत्तिकै रुचाइयो ।

गाडी लाग्नाले

देवीका एकपछि अर्को गीत चले । जिल्लामा मेला/महोत्सवहरू हुन थालेका थिए । मेला महोत्सवमा चलेका गायक-गायिकाको खोजी हुन्छ । देवीको खोजी भयो । धेरै ठाउँबाट देवीलाई अफर गरियो । तर, देवी धेरै कार्यक्रममा गइनन् । कारण, देवी गाडीमा हिँडनै गाह्रो मान्ने । उनी गाडी चढ्यो कि वान्ता गरिहाल्छिन् । त्यसपछि त्यो समय उनलाई स्टेज चढ्ेर बोल्न लाज लाग्थ्यो । यी दुई कारण गर्दा देवी माग हुँदासमेत स्टेजमा नगएको बताउँछिन् ।

उनी सुनाउँछिन्, ‘दोहोरी साँझमा त केही नबोली गीत गाउने हो । तर, मेला-महोत्सवमा चढेर स्रोता दर्शकको अगाडि गीत गाउँदा केही बोल्नुपर्‍यो । मलाई भिडभाडमा बोल्न एकदमै डर लाग्ने । त्यसमाथि गाडीमा जाँदा बान्ता हुने ।’

कतिसम्म भने त्यो समय आयोजकले फोन गरेर कार्यक्रममा आमन्त्रण गर्छन् भनेर फोन अफ गरेर राखेको समेत देवीले सुनाइन् । उनी भन्छिन् ‘धेरै कार्यक्रममा नगएपछि त देवीलाई बोलाए पनि आउँदिन भन्नुहुन्थ्यो र पछि बोलाउनै छाड्नुभयो ।’

…त्यो माया

बिस्तारै अन्य कलाकारहरूले सम्झाउन थाले । अनि बल्ल देवी स्टेजतिर देखिन थालिन् । उनी सम्झिन्छिन्, ‘काठमाडौं बाहिरको माहोल नै बुझेकी थिइनँ । स्टेज कार्यक्रममा जान थालेपछि श्रोता/दर्शकको माया देखेर साँच्चिकै छुट्टै खालको खुःसी मिल्यो । स्रोता-दर्शकबाट पाएको त्यो माया मैले सोच्दै नसोचेको थियो ।’

उनी देशका आधाभन्दा बढी जिल्लामा पुगिन् । अन्य थुप्रै देशमा पटक-पटक पुगेकी छन् । अहिले कोरोनाका कारण मेला महोत्सव हुन सकेका छैनन् । मेला महोत्सव हुन्थे त सायद यतिबेला देवी काठमाडौंमा नभेटिन सक्थिन् ।

अहिले पनि देवीलाई गाडीको यात्रा कष्टकर लाग्छ । उसैगरी बान्ता गर्छिन् । त्यसैले सम्भव भएका कार्यक्रममा जहाजमा यात्रा गर्छिन् ।

काठमाडौंका धेरै ठाउँमा हिँडेर पुग्ने गरेको देवीले बताइन् । ‘अहिलेपनि सामाखुसीदेखि बबरमहलसम्म हिँडेरै पुग्छु । हिँड्दा छुट्टै मज्जा लाग्छ’- उनले सुनाइन् ।

उसो त देवी ‘लो प्रोफाइल’मा बस्न रुचाउने गायिका हुन् । हजारौं गीत गाए पनि देवीको खुट्टाले कहिल्यै जमिन छोडेका छैनन् । उनी हिजो जस्तो थिइन्, आज पनि त्यस्तै छिन् । उनको अर्को विशेषता हो, उनी स्टेजमा टिपिकल ड्रेसमा प्रस्तुत हुन्छिन् ।

श्रीमान्-श्रीमती नै संगीतमा, रेस्टुरेन्ट व्यवसाय सञ्चालन

देवीले १२ वर्षअघि २०६५ सालमा गायक राजु ढकालसँग विवाह गरेकी हुन् । तनहुँबाट काठमाडौं आएर संघर्ष गरिरहेका राजु लाइभ दोहोरीमा सक्रिय थिए ।

गण्डकी दोहोरी साँझमा काम गर्दै गर्दा आफूहरू नजिक भएपछि विवाह गरेको देवीले बताइन् । राजुले हालसम्म २ सय बढी गीत गाइसकेका छन् । लोकदोहोरी क्षेत्रमा देवी र राजुको जोडीलाई उदाहरणीय जोडीका रूपमा लिइन्छ ।

श्रीमान्-श्रीमतीले एक दर्जन बढी गीतमा सहकार्य गरेका छन् । ‘वर्षदिन भो’, ‘बिहे गरेर हो’, ‘लौरी हरायो’, ‘दुई बिसेले छोयो’ लगायतका गीतमा यो सांगीतिक जोडीको सहकार्य छ । देश तथा विदेशका कार्यक्रममा पुगेर समेत यो जोडीले प्रस्तुति दिइरहेका हुन्छन् ।  उनीहरुका ९ वषर्ीय छोरा छन् ।

आफूहरुको अन्तरजातीय विवाहमा दुवैको परिवार खुःसी रहेको देवी सुनाउँछिन् । बुढानीलकण्ठमा बस्दै आएका उनीहरूले सामाखुसीमा रेस्टुरेन्ट व्यवसाय समेत सुरु गरेका छन् । दुई वर्ष अगाडिदेखि सोच बनाएपनि लकडाउन अगाडिदेखि व्यवसाय सुरु गरेको देवीले बताइन् ।

देवी प्रायः रेकर्डिङ र मेला महोत्सवमै व्यस्त हुन्छिन् । व्यस्त त राजु पनि हुन्छन् । तर देवीको भन्दा उनको व्यस्तता अलि कम हुन्छ । फुर्सदमा के गर्ने त ? दुवैले रेस्टुरेन्टको योजना बुने र सञ्चालन गरे । अहिले फुर्सद् मिल्दा दुवैजना रेस्टुरेन्टमा समय दिन्छन् । प्रायः राजुले बढी समय दिइरहेका हुन्छन् । उसो त उनीहरुले रेस्टुरेन्टमा केही कर्मचारी पनि राखेका छन् ।



Source link