बिहानै सत्ताको सभा, दिउँसो जनताको मार्च – Online Khabar


७ फागुन, काठमाडौं । शुक्रबार दिउँसो टुँडिखेल मार्चलाई टुँडिखेल प्रवेश गर्न नदिइएपछि महाँकाल मन्दिर अगाडि उभिएर लेखक खगेन्द्र संग्रौलाले भने, ‘आज यो सभामा जति नागरिक सहभागी छन्, त्योभन्दा बढी सहभागिता प्रहरी भाइबहिनीको छ । जब तानाशाह डराउँछ, नागरिकका अगाडि आफूसँग भएको सबै शक्ति पठाउँछ । प्रहरी पठाउँछ, सेना पठाउँछ, तोप पठाउँछ ।’

लेखक संग्रौलाले २०६२/६३ को नागरिक आन्दोलनमा रत्नपार्क हाम्रो हो भनेर जनताले आफ्नो भूमि दाबी गरेको स्मरण गरे । उनले थपे, ‘जनताको भूमि कब्जा गरेर बसेको सेना सहरको असभ्यता र शासकको बर्बरताको प्रतीक हो । हामी त्यही भूमि फिर्ता हुनुपर्छ भन्दै प्रतिगमनको विरोध गरिरहेका छौं ।’

दिउँसो नागरिकहरूको आन्दोलन भएको टुँडिखेलमा शुक्रबार बिहानै भने विगतका वर्षहरूमा जस्तै तामझामका साथ प्रजातन्त्र दिवस मनाइएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहभागीतामा आयोजना गरिएको समारोहमा साँस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको थियो भने यसैगरी नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०७७’ लेखिएको ब्यानर फहराइएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोकतन्त्रको बाटोलाई नबिराउने र संविधान पनि नमिच्ने बताए ।

सैनिक मञ्च टुँडिखेलमा राजकीय शैलीमा प्रजातन्त्र दिवस मनाएको भूमिलाई नागरिक समाजले भने जनताको भूमि रहेको दाबी गरेका छन् । र, टुँडिखेल मार्चसहित  बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ जारी गरेको छ ।

दिउँसो २ बजे रत्नपार्कस्थित शंखधर साखः चोक (शान्ति-बाटिका) मा भेला भएका नागरिक अभियन्ताहरूले टुँडिखेल घेर्दै मार्च गरे । उनीहरूले  ‘टुँडिखेल हाम्रो हो’, ‘जनताको टुँडिखेल फिर्ता गर !’ भन्नेजस्ता नारा लगाउँदै टुँडिखेललाई एक फन्को लगाए ।

भद्रकाली, सहीदगेट हुँदै अगाडि बढेको मार्च टुँडिखेलको पश्चिम गेटबाट भित्र प्रवेश गर्न खोजेको थियो । तर, बाक्लो संख्यामा रहेका प्रहरी खटाइएको थियो । टुँडिखेल बारभित्र सैनिक तैनाथ गरिएका थिए ।

यसपछि प्रहरी दमनको विरोध गर्दै नागरिक मार्च महांकाल मन्दिर छेउ आएर सभामा परिणत भयो । अभियन्ता तथा मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले अवधी र उर्दू भाषामा कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

लगत्तै जेबी विश्वकर्माले नागरिक आन्दोलनको इतिहासमै पहिलोपटक लेखिएको ‘बहृत् नागरिक आन्दोलन घोषणापत्र २०७७’ पढेर सार्वजनिक गरे ।’मेरो समुदायले आज पनि लोकतन्त्र आएको मनन गर्न सकेको छैन’ घोषणापत्र जारी गर्नुअघि अभियन्ता विश्वकर्माले भने, ‘यस्तो संकटको अवस्थामा हामीले थप प्रतिगमनको सामना गर्नुपरेको छ ।’

घोषणापत्रमा सबैखाले प्रतिगमनको विरोध गर्दै लोकतन्त्रमाथि भएका प्रहार अन्त्य हुनुपर्ने विचार समेटिएको छ ।

घोषणापत्र सार्वजनिक भएसँगै सभामा नेपाल चेपाङ संघका तर्फबाट जितेन्द्र चेपाङले मन्तव्य राखे । उनले चितवनको माडीमा बिहान-बेलुका घामापानी छेक्न बनाएको चेपाङको झुपडी समाप्त पारेको स्मरण गर्दै सरकारी बर्बरताको भर्त्सना गरे । उनले भने, ‘चेपाङले राष्ट्रपति बन्न खोजेको होइन, प्रधानमन्त्री बन्न खोजेको होइन । हामीले स्वतन्त्र जीवन बाँच्न देउ भनेको पनि यो सत्ताले नसुन्ने भयो ।’

यता खोकना बचाउ अभियन्ताका नेपाल डंगोलले पनि टुँडिखेलजस्तै खोकनालाई कब्जा गर्न खोजेको बताए । ‘राणा शासनमा राम्रा-राम्रा जग्गा कब्जा गरेको इतिहास सुनेका थियौं’ डंगोलले भने, ‘आज जनताको भूमि पैसाका लागि कब्जा गर्ने नेपाली सेनालाई खोकनाले कहिल्यै आफ्नो भन्न सक्दैन ।’

राज्यसँग सयौं असन्तुष्टि भएका खोकनाबासीले सेनाको ब्यारेक भत्काउनसमेत बाध्य हुने मत डंगोलले राखे ।

अभियन्ता रीता साहले ३० वर्षअगाडि गजेन्द्र नारायण सिंहमाथि टुँडिखेलमा ढुंगामुढा प्रहार गरिएको घटना सम्झिइन् । उनले मधेसी भएर ३० वर्षपछि पनि टुँडिखेलमा आफ्नो कुरा नपाएकोमा चिन्ता व्यक्त गर्दै भनिन्, ‘राज्यले मधेसी भनेर त्यहाँका नागरिक र जनताको मुद्दालाई दमन गरेको छ ।’

साहले माघ ३० गते भएको महिला मार्चमा सहभागी आफुसहित अन्य अभियन्तालाई शारीरिक आक्रमणसहित ज्यान मार्ने धम्की आएको सार्वजनिक गरिन् ।

यस्तै लेखक सरीता तिवारीले पनि महिला मार्चले सत्ताको चेतना हल्लाइदिएको स्मरण गरिन् । चितवनबाट टुँडिखेल मार्चकै लागि आइपुगेकी उनले अनुहार देखाउन मात्र नभएर जनताको पक्षमा उभिनुपर्छ भन्ने बोध भएर आन्दोलनमा आएको बताइन् ।तिवारीले भनिन्, ‘यहाँका प्रहरीसँग हेल्मेट छ, लाठी छ । तर, हामीसँग आवाज छ, मुठ्ठी छ । यही मुठ्ठीको बलले हामी ओलीतन्त्र परास्त गर्नेछौं ।’

सभाको अन्तिममा बोल्न आएका अभियन्ता नारायण वाग्लेले टुँडिखेलको गौरवमय इतिहास सुनाए । वाग्लेका अनुसार लिच्छवीकालमा विशाल उखु-चौर रहेको टुँडिखेल अहिलेको माइतीघरदेखि लैनचौरसम्म फैलिएको थियो ।

जनताको यही विशाल भूमि निरन्तर कब्जा गरिएको बताउँदै वाग्लेले भने, ‘यो भूमि मासेर नारायणहिटी बनाइयो, लालदरबार, केशरमहल बनाइयो । सानो टुँडिखेललाई रंगशालामात्र होइन, पार्टी प्यालेस बनाइयो ।’

उपत्यका बाहिरबाट आएका जनताको शीतलताप्ने चौतारो मासेर बस्न पनि पैसा तिनुपर्ने रत्नपार्क बनाएकोमा उनले विरोध गरे । वाग्लेले थपे, ‘विशाल उखुचौर मासेर कवाज खेल्ने मैदान बनाएपछि काठमाडौं काकाकुल बनेको हो । राजकुलो काटेर परिश्रमी जनतालाई खेती नगर भनिएको हो ।’

सभामा राजभाइ जकःमीले नेवारी भाषामा कविता सुनाउँदै वर्तमान सत्ताले जनताको भूमि, संस्कृति र पहिचान मेटाउन खोजेको बताए । कवि केवल विनाबीको ‘फेरि एक आँधी’ शीर्षकको कविताले पनि नयाँ जनलहर सृजना हुने संकेत गरेको थियो । नाट्यकर्मी संगीता उरावले कुडुख भाषामा क्रान्तिकारी भावको कविता सुनाइन् ।

कवि सपना सञ्जीवनीले ‘तोहर समाज बहिष्कार गरेछि’ शीर्षकको कविता वाचन गरिन् । मैथिली भाषाको उक्त कविताले लैंगीकताको आधारमै महिला जातिमाथि चरम विभेद हुने कुराको विरोध गरेको थियो । यस्तै राजु स्याङ्तानले तामाङहरूले काठमाडौंलाई ‘याम्बु’ भन्ने गरेको बताउँदै ‘पीपाको हुंकार’ कविता वाचन गरे ।

प्रतिगमनको विरोधमा बृहत् नागरिक आन्दोलनले पुष ७ गतेदेखि निरन्तर विरोध कार्यक्रम गर्दै आएको छ । आन्दोलनलाई विभिन्न अधिकार-समूह, कवि, लेखक, पेशाकर्मीहरूले ऐक्यवद्धता जनाएका छन् । आन्दोलनले सिंहदरबार महिला मार्च, टीयू मार्च, शीतल निवास मार्च, बालवाटार मार्च सम्पन्न गरिसकेको छ ।

टुँडिखेल मार्चमा युवा विद्यार्थी, अधिकारकर्मी, टुँडिखेल बचाउ अभियन्ताहरूको उपस्थिति थियो ।

तस्वीरहरूः विकास श्रेष्ठ/आर्यन धिमाल



Source link