गाउँगाउँमै कम्प्युटर शिक्षा

कम्प्युटर शिक्षा पढाइ हुन थालेपछि दुर्गमका विद्यार्थी सहर जाने क्रम घटेको छ । यसले अभिभावकमाथिको आर्थिक बोझसमेत हटेको छ ।

गाउँगाउँमै कम्प्युटर शिक्षा

 

मुगु — गत वर्ष एसईई उत्तीर्ण गरेकी जेरागाउँकी राज्यश्वरी शाही कम्प्युटर सिक्नकै लागि सुर्खेत वा नेपालगन्ज जाने योजनामा थिइन् तर खत्याडस्थित सर्वोदय माविमा कम्प्युटर इन्जिनियरिङ पढाइ हुन्छ भन्ने थाहा पाएपछि उनको सहरतिरको यात्रा रोकियो । ‘घर नजिकै पढाइ हुने भएपछि किन महँगो खर्च गरेर सहर जाने भन्ने लाग्यो,’ उनले भनिन्, ‘अहिले गाउँमै कम्प्युटर पढिरहेकी छु ।’

सर्वोदयमा १८ महिने कम्प्युटर इन्जिनियरिङको पढाइ हुन थालेपछि राज्यश्वरीजस्ता धेरै विद्यार्थीको कम्प्युटर पढ्ने धोको पूरा भएको छ । यसले अभिभावकमाथि अनावश्यक आर्थिक बोझसमेत हटेको छ । ‘पोहोरसम्म कम्प्युटर पढ्न नेपालगन्ज जानुपर्थ्यो । अहिले घरकै खाना खाएर नजिकैको विद्यालयमा पढ्न पाइएको छ,’ संगीता रोकाया भन्छिन्, ‘बुबाआमालाई समेत पैसा जुगाड गर्न परिरहेको छैन ।’

यो वर्ष १८ विद्यार्थी कम्प्युटर इन्जिनियरिङमा भर्ना भएका छन् । गत वर्ष भर्ना भएका ३२ जना पढाइ सक्ने तयारीमा छन् । विद्यालयले आफ्नै स्रोतमा १० वाटको सोलार र ३० वटा कम्प्युटर खरिद गरी पठनपाठन गराइरहेको छ । प्रधानाध्यापक लोकेन्द्र कार्कीले कम्प्युटरको पढाइ हुन थालेपछि विद्यार्थीको चाप पनि बढिरहेको बताउँछन् ।

छायानाथ–रारा नगरपालिकाको रोवास्थित प्रभात माविमा पनि कम्प्युटर विषय पठनपाठन भइरहेको छ । कक्षा ६ देखि नै कम्प्युटर विषय पढाइरहेको प्रधानाध्यापक प्रकाश बडुवालले बताए । उनका अनुसार यो वर्ष ६, ७ र ८ कक्षाका ६५ विद्यार्थीले कम्प्युटर विषय पढिरहेका छन् । ‘प्राविधिक शिक्षामा विद्यार्थीको उत्साह पनि बढेको छ,’ उनले भने, ‘विद्यार्थीले दैनिक एक घण्टा कम्प्युटरको प्रयोगात्मक ज्ञान लिइरहेका छन् ।’ दूरसञ्चार प्राधिकरणको सहयोगमा विद्यालयमा ४० वटा कम्प्युटर जडान गरिएको छ । ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर पढ्ने छात्रभन्दा छात्राको संख्या धेरै छ । सर्वोदयमा अध्ययनरत ५० जनामध्ये ३० छात्रा र २० छात्र छन् । प्रभातमा पनि ३५ छात्रा र ३० छात्र अध्ययनरत छन् । ‘चुलोचौको र घरधन्दामा व्यस्त रहने छोरीहरू अहिले कम्प्युटर पढाइमा रमाउन थालेका छन्,’ प्रधानाध्यापक कार्कीले भने । अधिकांश विद्यार्थीले जागिर र स्वरोजगार बन्न कम्प्युटर पढिरहेको बताउने गरेका उनले सुनाए । विद्यालयमा कम्प्युटर पढाउन थालेपछि गाउँमा मोबाइल र इन्टरनेटको प्रयोग पनि बढेको उनले बताए ।

कम्प्युटर पढ्दै इन्टरनेटमा विभिन्न शैक्षिक सामग्री खोज्ने गरेको सर्वोदय माविकी कक्षा ११ की छात्रा रोकायाले बताइन् । ‘अब विभिन्न सुविधा खोज्दै सहर जानुपर्ने बाध्यताको अन्त्य भयो,’ उनले भनिन्, ‘हाम्रा अभिभावकसमेत इन्टरनेटमा रमाउन थाल्नुभएको छ ।’ गाउँमै प्राविधिक शिक्षा पढाइ हुँदा अभिभावकलाई आर्थिक राहत मात्रै मिलेको छैन, छोराछोरी यसबारे जानकार बनेकामा उनीहरू खुसी पनि छन् । ‘छोराछोरीलाई बाहिर पढाउन सक्ने अवस्था थिएन,’ अभिभावक राजबहादुर कार्कीले भने, ‘यहीं पढेरै हाम्रा छोराछोरीले जागिर पाउने भए ।’

कम शुल्कमा गुणस्तरीय कम्प्युटर शिक्षा पढाइरहेको विद्यालय दाबी गर्छन् । सर्वोदयले ६० हजार रुपैयाँमा १८ महिने कम्प्युटर इन्जिनियरिङ पढाइरहेको छ । सहरी क्षेत्रमा यही कोर्स पूरा गर्न कम्तीमा ३ लाख रुपैयाँ खर्च हुने गरेको सुकाढिकका विद्यार्थी पूर्ण विक बताउँछन् ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सूर्य खत्रीका अनुसार जिल्लाका झन्डै एक दर्जन सामुदायिक विद्यालयले प्राविधिक विषय पठनपाठन गरिरहेका छन् । ‘सहरमुखी प्राविधिक शिक्षा बिस्तारै गाउँमा पुगेको छ,’ उनले भने, ‘पढ्नकै लागि सदरमुकाम आउनुपर्ने बाध्यताबाट गाउँका विद्यार्थीले मुक्ति पाए ।’