भुईंमान्छेका प्रिय नेता – Online Khabar


माघ २१ गते राति मेरो आँखा एक्कासी सर्लाहीका एक विद्यार्थी नेता श्रीकृष्ण उप्रेतीको स्टाटसमाथि परेपछि म थरर कापें । ‘ डाचाराज वाग्ले दाइका बारेमा सुनिएको अप्रिय समाचार असत्य भइदियोस्’ भन्ने उनको लेखाई देख्नसाथ म स्तब्ध भएँ ।

हिजोआज कसैको अस्वाभाविक र अप्रत्याशित निधन भयो भने एक्कासी मृत्यु लेख्न नसकेर शुरुमा यस्तै लेखिन्छ भन्ने अनुमान गर्न कुनै गाह्रो थिएन ।

अनेरास्ववियूका सर्लाही जिल्ला अध्यक्ष विवेक मैनालीलाई तत्काल फोन गरें । मैले केही भन्न नपाउँदै अत्यन्तै हड्बडाउँदै उनले भने- ‘दाइ डाचा दाइ रहनुभएन । दुर्घटनामा भन्ने छ । तर, हामीलाई हत्याको गम्भीर आशंका छ ।’

राति पौने ९ बजेतिर उहाँ बरहथवाबाट एक्लै नयाँरोडतर्फ आउँदै गर्दा कर्मैयास्थित जंगलको मुखमा मोटरसाइकल ‘दुर्घटना’ मा पर्नुभएको उनले बताए । यति भनेपछि अब समाचार असत्य हुने झिनो आशा पनि समाप्त भयो । किनकी उनी डाचा दाइको शव नजिकैबाट मसँग बोलिरहेका थिए ।

सोचें, एउटा अग्लो, जुझारु, हक्की, निर्भीक, चर्चित र लोकप्रिय युवा नेता हामीले गुमाइसक्यौं । अब त्यो निर्मम सत्य स्वीकार गर्नुको विकल्पै रहेन । घटनास्थलमा कुदेर जान मन थियो । तर, त्यो पनि सम्भव थिएन । रातभर आँखाले निदाउन मानेन । घटना सर्लाहीमा थियो । यता हामी काठमाडौंमा थियौं । फेरि भोलिपल्ट प्रतिगमनका विरुद्ध आन्दोलनरत नेकपाले आकस्मिकरुपमा राष्ट्रब्यापी आमहडताल राखिसकेको थियो । हाम्रा जिम्मेवारीहरु पनि तोकिइसकिएका थिए ।

आफ्नो जमानामा डाचाराज वाग्ले निकै चर्चित विद्यार्थी नेता हुनुहुन्थ्यो । हक्की स्वाभाव, जुझारु ब्यक्तित्व, प्रखर वक्तृत्वकला र सदैव आन्दोलनकारी छवि उहाँको मूल विशेषता थियो । राष्ट्रियता, जनतन्त्र, जनजिविका र विद्यार्थी हकहितको मुद्दामा संयुक्त विद्यार्थी आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने एक अग्रणी विद्यार्थी नेता हुनुहुन्थ्यो ।

डाचा दाइ हामीबाट सदाका लागि विदा हुनु हप्तादिन अघि मात्र नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा रञ्जित तामाङ र मेरो उहाँसँग भेट भएको थियो। थाहा थिएन, त्यो भेट नै उहाँसँगको अन्तिम भेट हुन्छ भन्ने कुरा । त्यतिबेला उहाँले नेपाली विद्यार्थी आन्दोलनका पूर्व अध्यक्ष र नेताहरुको भेला राख्ने कुरा गर्नुभएको थियो । उहाँको त्यस पवित्र अभियानमा वर्तमान टिमले पूर्णरुपमा साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका थियौं ।

तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी ) को केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएका डाचा दाइले त्यसखालको भेला राखेर प्रतिगमनका विरुद्ध प्रहार केन्द्रित गर्ने योजना बनाउनुभएको थियो । उहाँले एकचोटि सर्लाही पुगेर म तत्काल फर्कन्छु अनि लगत्तै उक्त भेला राख्ने भन्नुभएको थियो । तर, विडम्बना उहाँ आफ्नो कर्मथलो सर्लाहीबाट कहिल्यै नफर्कंने गरी सदाका लागि विदा हुनुभयो । पूर्व विद्यार्थी नेताहरुको भेला हुन नपाउँदै पुर्व विद्यार्थी नेताहरुले नै स्वयं उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेर श्रद्धाञ्जली विज्ञप्ति निकाल्नुपर्यो ।

डाचा दाइ प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्ध असाध्यै सक्रियता साथ शुरुबाटै खटिरहनुभएको थियो। माघ २२ गतेको राष्ट्रब्यापी आम हडतालको ठीक अघिल्लो दिन सर्लाहीमा मसाल जुलुसपछिको कोणसभालाई सम्बोधन गरेर मोटरसाइकलमा घर फर्कंदै हुनुहुन्थ्यो । रातको समयमा जंगलको बाटोमा मोटरसाइकल दुर्घटनामा उहाँको अकल्पनीय निधन भएको अप्रत्याशित र रहस्यमय समाचारहरु क्षणभरमै सार्वजनिक भए । पार्टीले यो घटना शंकास्पद रहेको भन्दै छानविन समितिसमेत बनाइसकेको छ । जंगलमा कसरी मोटरसाइकल दुर्घटना भयो, घटना शंकास्पद रहेको जिल्लाका साथीहरू बताउँछन् ।

डाचाराज वाग्लेले ८/९ कक्षा पढ्दादेखि नै कम्युनिष्ट पार्टीको झण्डा उठाउनुभएको थियो । किशोरावस्थादेखि नै पार्टीमा सक्रिय हुँदै जाँदा पार्टीको सेल कमिटी, गाउँ कमिटी, जिल्ला कमिटी हुँदै केन्द्रीय कमिटीमा पुग्नुभएको थियो । उहाँले सानैदेखि गरिव, दु:खी र निमुखा जनताका पक्षमा आफूलाई खह्रो रुपमा उतार्दै लानुभएको थियो । तल्लो वर्गका जनताको सुख-दुःखको साथी बन्ने संकल्प गर्नुभएको थियो । ग्रामीण वर्गसंघर्षको दौरानमा उहाँ सधैँभरि गरी खाने वर्गको पक्षमा सतिसाल भएर ठिङ्ग उभिनुहुन्थ्यो ।

उहाँ कहिले जनता चुस्ने सुदखोरहरुका विरुद्ध लड्नुहुन्थ्यो त कहिले उखु किसानका पक्षमा उत्रनुहुन्थ्यो । उहाँको सिङ्गो जीवन नै सङ्घर्षमय रह्यो । जीवनको इहलिला समाप्त हुनुभन्दा केही घण्टा अघिसम्म पनि उहाँ विद्रोहको मसाल बोकेर सङ्घर्षको मैदानमा डटिरहनुभएको थियो।

उहाँ ०५२ देखि ०५६ सालसम्म अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनको नेतृत्व तहमा रहँदा उहाँले निर्वाह गरेको भुमिका नेपाली विद्यार्थी आन्दोलनमा सदा स्मरणीय रहनेछ । ०६२ /०६३ को जनआन्दोलनमा पनि उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो । सबैभन्दा पछिल्लो कालखण्डमा उहाँ नेकपाको केन्द्रीय सदस्य र पार्टीको सर्लाही जिल्ला इन्चार्जको रुपमा प्रतिगमन विरुद्धको आन्दोलनमा अग्रभागको भुमिकामा हुनुहुन्थ्यो ।

डाचाराज वाग्ले सङ्घर्षशील योद्धा मात्र हैन, राजनीतिक र विचारधारात्मकरुपमा पनि उत्तिकै अब्बल हुनुहुन्थ्यो । काठमाडौंवाट नै प्रकाशित हुने एक अनलाइन न्युजपोर्टलमा मृत्यु हुनुभन्दा केही दिन अगाडि मात्र प्रकाशित एउटा लेखमा उहाँले लेख्नुभएको छ, ‘ राजनीति भनेको जनताले नबुझ्ने र जनताको प्रत्यक्ष जीवनसँग नजोडिने अमूर्त विषय होइन। राजनीति जनताको दैनिक जीवनसँग सरोकार राख्ने र जनताको समग्र अप्ठेरा भोगाइहरुको सुविचारित बैकल्पिक संम्श्लेशण हो ।’

उहाँले सो लेखमा प्रतिगमन विरोधी राजनीतिक आन्दोलनले केही सीमित टाठाबाठालाई मात्र होइन, आम दुःखी नेपाली जनसमुदायको जीवनस्तर सुन्दर बनाउनेछ भन्ने ठोस विश्वास जनतालाई दिलाउन सक्नुपर्छ भनेर उल्लेख गर्नुभएको थियो।

सिङ्गो जीवन जनसङ्घर्षमा खर्चिएका सादगी नेता वाग्ले आफ्नो छोटो जीवनमा न त सांसद बन्नुभयो, न मन्त्री बन्नुभयो । न त मेयर नै बन्नुभयो । स्थानीय जनतावीच उहाँ लोकप्रिय हुनुहुन्थ्यो । आवाजविहीन जनताको पक्षमा निरन्तर आवाज वुलन्द गर्ने र अन्याय र अत्याचारका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने एउटा भरपर्दो नेता हुनुहुन्थ्यो । गाउँमा जाली फटाहा, सुदखोर र मिटरब्याजीहरुको शोषणको भण्डाफोर गर्ने आन्दोलनलाई उहाँले काठमाडौंसम्म पुर्याउनुभएको थियो । उहाँ साँच्चिकै भुईंमान्छेहरुको प्रतिनिधि हुनुहुन्थ्यो । आधारभूत तहका जनताका वीचमा उहाँ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुरा उहाँको शवयात्रामा उर्लिएको जनसागरले नै बताउँछ ।

उहाँको दाहसंस्कारमा विशाल मानवसागर नै उत्रिएको थियो । यसले राजनीतिमा पदभन्दा कद ठूलो हो भन्ने कुरा देखाउँछ । तल्लो वर्गीय पक्षधरतामा दृढ, इमानका सगरमाथा र जनसङ्घर्षका एक अग्लो सतिसाल डाचाराज वाग्लेप्रति भावपूर्ण श्रद्धाञ्जली ! अलविदा डाचा दाइ ! भुईंमान्छेका प्रिय नेता !!!

( बस्नेत अनेरास्ववियूका नेता हुन् )



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0