प्रहरी हस्तक्षेपका बीच ‘शैक्षिक प्रतिगमनविरूद्ध टियू मार्च’ – Online Khabar


३ फागुन, काठमाडौं । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालय परिसरमा इञ्जिनियरिङका विद्यार्थी प्राक्टिकल विषयको फिल्ड–वर्कमा व्यस्त थिए ।

उनीहरू चौरमै प्राविधिक विषयको तालिम लिइरहेका थिए । यही समय कीर्तिपुर पाँगा दोबाटोबाट युवा विद्यार्थीहरूको जुलुस उपकुलपति कार्यालयतर्फ लम्किरहेको थियो ।

चौरमा पढिरहेका विद्यार्थी र जुलुसमा आएका टोलीको जम्काभेट भयो । पढिरहेका विद्यार्थीहरुले जुलुसतिर हेरे र मौन समर्थन देखाए । ‘शैक्षिक प्रतिगमनविरूद्धको टियू मार्च’मा अधिकांश विद्यार्थी त्रिविमै अध्ययनरत थिए भने नागरिक आन्दोलनको तर्फबाट आएका धेरै व्यक्ति पनि त्रिभुवन विश्वविद्यालयकै उत्पादन थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘शिक्षाको क्षयीकरण बन्द गर’, ‘विश्वविद्यालय बेरोजगार उत्पादनको कारखाना कहिलेसम्म ?’, ‘शैक्षिक प्रतिगमन मुर्दावाद’, ‘शिक्षाको निजीकरण बन्द गर’ लगायतका नारा लगाए ।

रोचक त के भने, त्रिभुवन विश्वविद्यालयमै २५ वर्ष पढाएका प्राध्यापक सञ्चीव उप्रेती, पूर्वराजदूत एवं प्राध्यापक विजयकान्त कर्ण, सहप्राध्यापक विमल अर्याल, बिन्दु शर्मालगायत पनि यही जुलुसमा थिए । शिक्षा क्षेत्रमा भएका सम्पूर्ण प्रतिगमन सच्चिनुपर्ने मागसहित बृहत नागरिक आन्दोलनको संयोजनमा यो मार्च गरिएको थियो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार उपकुलपति कार्यालय घेराउ गरी त्रिवि स्मृति भवनअगाडि नाटक देखाउन खोज्दा प्रहरीले रोक्यो र नाटकका सामग्री खोस्यो । सहभागीहरूले प्रहरीविरूद्ध नै नाराबाजी गर्न थाले ।

‘प्रहरीले सिर्जनात्मक कला बुझेन !’ भन्ने नारा लगाउँदै उनीहरूले त्यहीँ सडकमा बसेर भर्ना गरे । आधा घण्टाको नाराबाजीपछि प्रहरीले ‘माथिको आदेश आयो, तपाईंहरू नाटक गर्नुस्’ भन्यो ।

यसपछि मूल सडकमै कोणसभा भयो । कृष्ण सेन इच्छुकको ‘प्रतिबन्ध’ कविता वाचनसँगै सुरु भयो सभामा युवा विद्यार्थीका मन्तव्य, नाटक, गायन र कविता वाचन । सभाको मध्यतिर देखाइएको नाटकमा शैक्षिक माफिया लेखिएको बुख्याँचा प्रयोग गरिएको थियो, जसलाई प्रहरीले पुत्ला ठानेर नियन्त्रणमा लिएको थियो ।

शिल्पी थिएटरको संयोजन र त्रिविकै विद्यार्थीहरूले अभिनय गरेको नाटकले शिक्षा क्षेत्रका विकृतिमाथि व्यंग्य गरेको थियो । नाटकमा ‘ए फर अरब भनेर पढ्न लगाइएको थियो भने आईए, बिए, एमएका सर्टिफिकेट बोकेका कलाकार लहरै उभिएका थिए । उनीहरूले जुन मन लाग्छ त्यही सर्टिफिकेट लिएको दृश्य देखाइयो ।

नाटकमा शैक्षिक क्षेत्रमाथि भएका प्रतिगमन देखाउन बुख्याँचा र सर्टिफिकेट प्रयोग गरिएको बताउँछन् निर्देशक घिमिरे युवराज । नाटकमा संयोजकको भूमिका निर्वाह गरेका युवराज भन्छन्, ‘राजनीतिक नियुक्ति, भष्ट्राचार र निजीकरणका कारण ध्वस्त बनेको शैक्षिक क्षेत्रको वर्तमान अवस्था नाटकमा देखाएका छौं ।’

सभामा १२ माघको वालुवाटार आन्दोलनमा गम्भीर घाइते भएका निर्ग नवीन पनि उपस्थित थिए । टाउकोमा गम्भीर चोट बोकेका उनले सभालाई सम्बोधन गर्दै अन्तिम अवस्थासम्म प्रतिगमनविरूद्ध लडिरहने उद्घोष गरे । केपी ओली सरकारको कार्यकालमा शैक्षिक विकृति उत्कर्षमा पुगेको बताउँदै उनले भने, ‘पार्टीका कार्यकर्ता भर्ति गरेर प्राज्ञिक निकाय ध्वस्त बनाउने काम सरकारबाट भएको छ । त्यस्ता प्राध्यापकले सत्ताको चाकरीमात्र गर्छ ।’

त्रिविमै अध्ययनरत विद्यार्थी सरोज यादवले मातृभाषा भोजपुरीमा आफ्नो मन्तव्य राख्दै विद्यार्थीले महंगो शिक्षा लिन बाध्य बनाइएको प्रसंग उठाए । यादवले प्रश्न गरे ‘त्रिविको कुनै पनि विषयको सेमेस्टर शुल्क १५ हजारभन्दा बढी छ । के सबै नागरिकको त्यति पैसा तिर्ने क्षमता छ ?’

अर्की विद्यार्थी एलिजा ढकालले पनि वैदेशिक रोजगारीको भूमरीमा नेपालको शिक्षा प्रणाली फसेको तथ्य उठाइन् । ढकालका अनुसार सर्टिफिकेटको भारीमात्र दिएको नेपाली शिक्षा प्रणालीले जीवनयापनको आधार दिन सकेको छैन ।

अर्का विद्यार्थी जगत विकले शिक्षामा समानताको कुरा जति पढाए पनि दलितहरूमाथि निरन्तर अपमान भइरहेको बताए । मानिसको व्यवहार परिवर्तन गराउन नसक्ने बुर्जुवा शिक्षा निष्प्रभावी  बन्दै गएको भन्दै विकले थपे, ‘आजकै नाटक प्रदर्शन गर्न नदिनु पनि प्रतिगमन हो किनभने सिर्जना र कलालाई रोक्नु शिक्षाको विपरीत कर्म हो ।’

विद्यार्थीहरूको मन्तव्यपछि गायक प्रदीप देवानले ‘रक्त क्रान्तिको ज्‍वालामुखीमा गीत’ संगीतसहित प्रस्तुत गरे भने गायक अञ्जन बाबुले आहुतिको शब्द–रचना रहेको ‘तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ’ गीत प्रस्तुत गरे ।

दलित मुक्तिसम्बन्धी भाव रहेको गीतमा युवा विद्यार्थीहरूले पनि साथ दिए । यसपछि कविता वाचन गर्न आएका कवि विनोदविक्रम केसीले बन्दुक, बम र हतियार हुँदा पनि जनतासँग सत्ता डराएको प्रसङ्ग निकाल्दै सरकारमाथि व्यंग्य गरे ।

केसीले ‘आज सरको क्लास लिन्छ विद्यार्थी’ शीर्षकको कविता वाचन गरे । विद्यार्थीले भोग्नुपरेको तीतो यथार्थ उठाइएको कविता यस्तो छ :

बेन्चमै बसिराख्नुस्, उभिनुपर्दैन

खोल्नुपर्दैन किताब

बुझाउनुपर्दैन होमवर्क

बनाउँदिनँ तपाईंलाई मुर्गा म

गराउँदिनँ उठ्बस

 

बस्, आज म तपाईंको क्लास लिन्छु सर

 

सोध्दिनँ म वाहियात प्रश्नहरू

कसले गर्यो आधुनिक नेपालको एकीकरण ?

पहिलोचोटि कसले फत्ते गर्यो सगरमाथा ?

कसरी भयो श्री ३ जङ्गबहादुरको उदय ?

पाइथागोरसको साध्यले के भन्छ ?

जलस्रोतमा कतिऔं धनी मुलुक हो नेपाल ?

हाइड्रोजन र अक्सिजन मिलेर के बन्छ ?

बुद्धलाई किन भनिन्छ एसियाको प्रकाश ?

ह्वाट डु यू वान्ट टू बी इन द फ्युचर ?

 

गर्दिन म यस्ता अर्थ न बर्थका सवालहरू

तर बताउनेछु तपाईंलाई मेरा आफ्ना

नितान्त आफ्ना केही कुरा

ध्यान दिएर सुन्नुहोला सर

(यो स्कुलको इतिहासमा

आज केही अनौठो भइरहेको छ)

 

भारी बोक्दाबोक्दै रगत छादेर बितेका थिए मेरा बा

र, तपाईं मलाई घोकाइरहनुभएको छ

कालिजको हाड अड्किएर

श्री ३ के जातिको मृत्यु भयो

 

आङ खसेकी मेरी आमा

हरेक दिन भीर–बेसी गरिरहेकी छिन्

र, तपाईं मलाई रटाइरहनुभएको छ

महारानी के जाति राजपाठमा

खोइ कुन्नि के नमिलेर काशी गइन्

 

मेरा साना भाइबहिनी बुढीऔला चुसिरहेछन्

मरुभूमि पल्टिएका तिनका आँखामा

म दुःखका ऊँटहरू लस्करै हिँडिरहेको देख्छु

र, तपाईं मलाई कण्ठ गराइरहनुभएको छ

इन्द्रेनी पर्दा नाच्ने मुजुरका गीतहरू

 

म बहिष्कार गर्छु तपाईंका कक्षाहरू

जबसम्म यो कक्षाकोठामा प्रवेश गर्नेछैनन्

बाढीले खाने खेत र पहिरोले लाने बारीको ज्यामिती

झुपडीको अर्थशास्त्र

दुःखको समाजशास्त्र

पीडाको वास्तुशास्त्र

आँशुको रसायनशास्त्र

 

तबसम्म म बहिष्कार गर्छु तपाईंका कक्षाहरू

चूक घोप्टिएजस्तो अँध्यारो जिन्दगीमा

तपाईंको शिक्षा

जुनकिरीले पिँधमा बोक्ने

लुसिफेरिन जति पनि उज्यालो नभएपछि

मलाई

अपठित या अशिक्षित या औंठाछाप नै रहनुमा

आपत्ति छैन

दुःख छैन

पछुतो त झन् छँदै छैन

 

ल अब घर जानुस सर

क्लास सकियो

सदाका निम्ति ।

थप तस्वीरहरु हेर्नुहोस्

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0