ब्रह्मचारीले भक्तिनीलाई करणी गर्नुभो ! त्यसपछि ? – Online Khabar


कलीयुगमा लुटेरा र साधु बस्त्रले मात्र छुट्टिन्छ – श्रीमद्भागवत ।

बराहक्षेत्र, सुनसरीका कथित आबाल ब्रह्मचारी सिद्धबाबासँग जोडिएको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ पढ्दा धेरैवटा प्रश्न उब्जन्छन् । ‘आबाल ब्रह्मचारीले गरेको करणी’बारे अदालतको व्याख्याले केही विधिशास्त्रीय प्रश्न जन्माएको छ, जसमाथि सैद्धान्तिक विवेचना गर्नु शायदै ‘मिडिया ट्रायल’ ठहरिएला ।

पालकले कमजोर महिलाको शरीरमाथि गरेको खेलवाडलाई हाम्रो कानूनले बलात्कार नै मान्छ । तर, महिलालाई संरक्षण प्रदान गर्न बनेको मुलुकी संहिता सिद्धबाबाको हकमा लागू भएको देखिएन । कथित महापुरुषलाई निर्दोष देखाइयो । अबला नारीलाई नैतिकरुपमा दोषी देखाइयो ।

सबैभन्दा पहिले सुनसरी जिल्ला अदालतको फैसलाको सार पढौं ।

जिल्ला अदालतका न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इकल इजलासले गरेको ७५ पृष्ठ लामो फैसलामा भनिएको छ- ‘जाहेरवाली (महिला) लाई भेटेको समयमा जाहेरवाली प्रतिवादी -बाबाजी) सँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरूका बीच सहमतिमा भएको भन्ने देखियो ।’

फैसलामा करणी भएको स्वीकार गरिएता पनि जबरजस्ती करणी नभएको र बाबाजीले सफाइ (उन्मुक्ति) पाउने बताउँदै भनिएको छ, ‘अतः यस्तो सहमतिबाट भएको करणीलाई जबरजस्ती करणी मान्न नसकिने हुँदा प्रतिवादी (बाबाजी) उपरको अभियोग दाबी स्थापित हुन आएन । तसर्थ प्रतिवादी सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ ।’

न्यायाधीशले बाबाजीलाई सफाइ दिएपछि उनलाई थुनामुक्त गर्न र यसअघि राखिएको तीन लाख रुपैयाँ धरौटी फिर्ता गरिदिनसमेत आदेश दिएका छन् । तर, पीडित भनिएकी महिलाका बारेमा फैसलाले थप केही पनि सम्वोधन गरेको छैन । महिलाकै गल्तीका कारण ब्रह्मचारी सिद्धबाबाले करणी गरेको अदालतको ठहर छ ।

बाबाजीको नैतिक स्खलन !

आफूलाई ‘सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास’ भन्ने कृष्णबहादुर गिरीले आफू स्त्री र अग्निबाट टाढै रहेको आबाल ब्रह्मचारी भएको बताउँदै आएका थिए । अदालतले उनको ब्रह्मचर्य तोडिदिएको छ । कलियुगका कथित ब्रह्मचारी बाबाजी अन्ततः यौनपिपासु रहेछन् भन्ने पोल सुनसरी जिल्ला अदालतले खोलिदिएको छ । यसले गर्दा अब यी बाबाजी नांगेझार बनेका छन् । यस्ता व्यक्तिलाई अब कसैले सिद्धबाबा मान्ने अवस्था रहेन ।

जिल्ला अदालतको फैसलाबाट सिद्धबाबा नैतिकरुपमा स्खलित त भए नै, उनी ढाँटसमेत साबित भएका छन् । जिल्ला अदालतलाई दिएको वयानमा बाबाजीले यसो भनेका थिए-

‘जाहेरवालीलाई डर त्रास, धाकधम्की दिई बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको भनी म उपर परेको जाहेरी दरखास्त व्यहोरा सम्पूर्ण झुठ्ठा हो ।….जबरजस्ती करणीको कुरा त अकाल्पनिक र असम्भव छ । मेरो मिसनलाई तुहाउन ममाथि षड्यन्त्र भएको हो । मेरो आस्था, धर्म, इमान्दारिता र प्रतिष्ठामाथि बलात्कार भएको छ । मेरो बदनामी भएको छ । म राष्ट्र हितको काम गर्दागर्दै मलाई सजायँ भयो भने धर्मको नाश हुन्छ । मैले करणी नगरेकाले मलाई सजायँ हुनुपर्ने होइन ।…. यस्तो हर्कत गर्ने आरोप लगाउने जाहेरवाली भनिएकी महिलालाई कानून अनुसार कारवाही गरी उदाहरणीय काम होस् ।’

अन्ततः आफ्नो ‘आस्था, धर्म, इमान्दारिता र प्रतिष्ठामाथि बलात्कार भएको’ बताउँदै उल्टै महिलामाथि नै कारवाहीको माग गर्ने ब्रह्मचरी बाबाजीलाई अन्ततः अदालतले भनिदियो- तिमीले करणी गरेकै हो ।

आधुनिक समाजमा कुनै वयस्क पुरुष र महिलावीच सहमतिमा यौन सम्बन्ध भयो र त्यो सामाजिक मूल्य मान्यतालाई असर गर्नेखालको रहेन छ भने त्यसलाई स्वाभाविक मान्न सकिएला । कम से कम त्यो जबरजस्तीको कोटीमा पर्दैन । तर, स्त्रीलाई छुँदै नछुने बताउने ब्रह्मचरी भनिएको बाबाजीले महिलाको शरीरमाथि खेलवाड गर्नु हिन्दू धर्मशास्त्रमा नैतिक पतन र ढोंग हो, पापकर्म नै हो । जिल्ला अदालतले कथित सिद्धबाबाको पापकर्मलाई प्रमाणित गरिदिएको छ ।

कानूनको नजरमा बलात्कार हो कि हैन ?

हिन्दुशास्त्र एवं नैतिकताको कसीमा हेर्दाखेरि बाबाजीको स्खलन स्वतः प्रमाणित हुन्छ नै, अब कानूनको नजरमा विश्लेषण गरौं ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (२) मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।’

मुलुकी अपराध संहिताले यो पनि भनेको छ कि कुनै अवस्थामा महिलाको मञ्जुरी लिएरै करणी गरिएको भएता पनि त्यो जबरजस्ती करणी नै ठहरिने छ । जस्तो कि उपदफा (२) को (ख) मा भनिएको छ, ‘होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।’

अब बाबाजीले गरेको करणीको अवस्थाबारे अदालतको तर्क हेरौं-

अदालतले भनेको छ, ‘जाहेरवाली (महिला) प्रतिवादी (बाबाजी) सँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरूका बीच सहमतिमा भएको भन्ने देखियो ।’

आखिर ‘बाबाजीसँग मोहित भई आˆनो शरीर समर्पण गरी’ भनेको के हो ? मोहित भनेको के हो ? कुनै पुरुषसँग मोहित भएकी महिलाको विवेक -होस) ले काम गरेको हुन्छ या आवेगले ?

कुनै पनि विबाहित महिला धर्मात्मा वा बाबाजीकहाँ ‘सेक्सको अपील’ लिएर जान्छन् या मोक्ष प्राप्तिका लागि पुग्छन् ? यदि कुनै महिलाले बाबाजीसँग यौन सम्बन्धकै लागि आग्रह गरे भने पनि कथित ब्रह्मचरी भनिएको व्यक्तिले गर्नुपर्ने कर्तव्य के हो ? ती महिलालाई संयुमित होऊ, कामुक नबन, आफ्नो घर गृहस्थी सम्झ भनेर सम्झाएर पठाउनुपर्ने हो कि करणी गरेर पठाउनुपर्ने हो ? यी प्रश्नहरुको जवाफ खोज्नेतिर सुनसरी जिल्ला अदालत लागेको देखिएन ।

कुनै पनि अभिभावकजस्तो व्यक्तिले ‘मोहित भई आफ्नो शरीर समर्पण गरी’ भन्दैमा करणी गर्ने हो भने त्यो आफ्नो प्रभावमा पारेर गरिएको बलात्कार हो कि हैन ? यसको विस्तृत विधिशास्त्रीय विश्लेषण गर्नुपर्ने देखिएको छ । कुनै शिक्षकले विद्यार्थीलाई मोहित बनाएर करणी गर्‍यो भने त्यसलाई उपदफा (२) को (ख) अनुसारको अपराध मान्ने कि नमान्ने ?

‘जाहेरवाली (महिला) प्रतिवादी -बाबाजी) सँग मोहित भई आˆनो शरीर समर्पण गरी भएको करणी निजहरूका बीच सहमतिमा भएको भन्ने देखियो ।’ भन्ने पुरुषवादी निश्कर्षमात्रै सुनाएर अदालतले फुर्सद लिन मिल्दैन । धर्मको आशमा बाबाजीसमक्ष पुगेकी एक अबला नारीमाथि बाबाजीले गरेको करणीका कारण उनको पारिवारिक-सामाजिक जीवनमा जुन क्षति भएको छ, त्यसको शोधभर्ना कसले गर्ने ? ती कथित ब्रह्मचरीले गर्नुपर्छ कि पर्दैन ? के यसमा बाबाजीले सहमतिमै करणी गरेको देखियो भनेर न्यायालयले उम्किन मिल्छ ? यो निकै नै गम्भीर प्रश्न हो ।

ब्रह्मचारी बाबाजीले आफ्नी भक्तिनीलाई मोहित बनाएर करणी त गर्नुभो ! त्यसपछि के ? अब ती महिलालाई न्याय चाहिँदैन ? कि यौन पिपासु पुरुषले अवला र कमजोर महिलामाथि जति नै खेलवाड गर्दा पनि हुन्छ ? प्रश्नहरु अधुरै छन् । अब माथिल्लो अदालतले बाबाजीको करणीको थप व्याख्या गर्ने आशा गरौं ।






यो पनि पढ्नुहोस
‘महिलाले शरीर सुम्पेपछि सिद्धबाबाले करणी गरे’



Source link