तुलसी दिवसको जीवनको त्यो रातो फूल ! – Online Khabar


२ फागुन, काठमाडौं । कुरा वि.सं २०१९ सालको हो, जतिबेला तुलसी दिवस २१ वर्षका लक्का जवान थिए । बिए पढ्दै गरेको उनी कविका रूपमा चिनिन थालेका थिए भने लोकगीत, लोकनाचप्रति रुचि थियो ।

त्यहीबेला काठमाडौंमा देशव्यापी लोकगीत, लोकनाच प्रतियोगिता हुने भयो । तुलसी दिवस पनि विभिन्न जातजाति, भाषाभाषीका कलाकारसहित ७० जनाको पूर्वाञ्चल टोलीको नेता बनेर प्रतियोगितामा भाग लिन काठमाडौं आए ।

उनको टोलीमा तत्कालीन ग्राम विकास कार्यालयमा जागीर गर्ने महिला कलाकारहरु पनि थिए । कार्यक्रमको समय लम्बिएपछि कलाकारहरुको बिदा मिलाउन टोली नेता तुलसी दिवस सिंहदरबारस्थित सम्बन्धित कर्मचारीको केन्द्रीय कार्यालय पुगे ।

त्यही क्रममा कलाकारको बिदा स्वीकृत गर्ने शाखा अधिकृत महिलासँग भेट भयो । कुराकानीका क्रममा ती महिला अधिकृतले दिवसलाई पहिला चिनेको बताइन् । दिवस सुनाउँछन्, ‘म त कवि भनेर परिचित भइसकेको रहेछु । जुन कुरा ती सुन्दर युवतीले भनेपछि पो आफैंलाई महसुस भयो ।’

कलाकारहरुले थप बिदा पाए । फेरि भेट्ने कुरा गर्दै उनीहरू त्यो दिन छुट्टिए । भोलिपल्टबाटै साँझ चिया खाने क्रममा भेट हुन थाल्यो । प्रत्येक भेटमा युवतीले रातो गुलाफको फूल दिन थालिन् । दिवस भन्छन्, ‘मन परेर फूल दिएको होला भन्नेमात्र सोचेँ, त्यसभन्दा गम्भीर रूपमा लिएको थिइनँ ।’

एक सातासम्म निरन्तर भेटेकी युवतीले दिवसलाई उटा प्रेम कविता लेखिदिन आग्रह गरिन् । प्रतिउत्तरमा दिवसले ‘म त आफूलाई केही नभई कविता लेख्दिनँ । फेरि बिएको परीक्षा आएकाले निकै व्यस्त छु’ भनेर टारिदिए । काठमाडौंको कार्यक्रम पनि सकियो । दिवस पनि गृहजिल्ला धनकुटा फर्किए ।

त्यसको चार–पाँच महिनापछि काठमाडौंमा भेटेकी युवती निकै बिरामी परेको खबर उनीसम्म आइपुग्यो । अप्रत्याशित खबरले दिवस निकै संवेदनशील भए । लाग्यो, ‘एउटा कविता लेखिदिएको भए पनि हुनेरहेछ, बिनासित्ति चित्त दुखाएछु !’

यतिकैमा केही महिना बित्यो । एकदिन काठमाडौंबाट अर्को खबर आयो, युवतीको मृत्यु ।

यसपछि भने दिवसले आफूलाई सम्हाल्न सकेनन् । एउटा कविता लेखिदिन गरेको आग्रह लत्याएर ठूलो अपराध गरेको महसुस भयो । दिवसको कवि–हृदय छियाछिया भयो । जताततै तिनै युवतीको रूप देख्न थाले । रातो फूल, रातो लुगा, रातो रंग, साँझको आकाश जे देख्दा पनि उनलाई तिनै युवतीको झझल्को आउन थाल्यो ।

दिवस सुनाउँछन्, ‘म झण्डैझण्डै आफूलाई सम्हाल्न नसक्ने गरी विछिप्त भएको थिएँ ।’

झण्डै एक महिनाको बेचैनीपछि दिवसले ‘रातो फूल’ शीर्षकको प्रेम कविता लेखे । त्यो चिसो दिन २०२० को मंसिर ६ गते थियो ।

कविता लेखेपछि उनले केही राहत महसुस गरे । जीवनलाई सम्हाल्नुपर्छ भन्ने सोचका साथ काठमाडौं आए । घटना सुनाउँदै त्रिचन्द्र क्याम्पसको सरस्वती–सदनमा भएको कवि गोष्ठीमा त्यही रातो फूल कविता सुनाए । सुन्नेहरू सबै मुग्ध बने ।

अर्को वर्ष ‘तुँवालो’ भन्ने पत्रिकामा त्यो कविता छापियो । कविता सुनाएर उनी रत्नपार्कको बाटो हिँडिरहेका थिए । अचानक उनको नजर एउटा महिलामा ठोकियो । नजानिकनै उनी त्यस युवतीलाई पछ्याउँदै गए । केही मिनेटपछि युवतीले दिवसतिर प्रष्ट नजरले हेरिन् । युवतीको मुहार चिनेसँगै दिवस झण्डै बेहोश भएनन् । किनभने ती तिनै युवती थिइन्, जसको मृत्युको खबरले दिवस पागलजस्तै भएका थिए । उनलाई निकै ठूलो चोट परेको थियो ।

‘मेरो प्रेममा प्रलयकारी भुइँचालो आएजस्तै भयो’ त्यो क्षण सम्झिँदै दिवस भन्छन्, ‘उसलाई देखेपछि ठूलो सीसालाई ढुंगाले हानेजस्तो भएर म हजार–हजारमा टुक्रिएँ ।’

कथा यतिमै सकिएन । २०२० पछि दिवस काठामाडौं बस्न थाले । युवतीको घरमा पनि पुगे । तर मृत्युको खबरले आफूले कविता लेखेको कुरा दिवसले कहिल्यै सुनाएनन् । किनभने ती युवतीले आफ्नो निधनको खबर पठाएकी थिइनन् । कुनै अमुक मानिसले सुनाइदिएको झुटो खबर थियो त्यो ।

बीस वर्षपछि भने उक्त खबर साँचो भयो । दिवसले आफूलाई प्रेम गर्ने ती युवतीको वास्तविक मृत्युको खबर उनकै श्रीमान्बाट पाए । उनै युवतीको कारण रचना गरिएको ‘रातो फूल’ कविता पढ्दा अहिले पनि एकाएक गम्भीर हुन्छन् उनी ।

आज दिवस ८० वर्षका भए । अहिलेसम्म उनी अविवाहित छन् । उनका हजारौं पाठक र प्रशंसकले यो कविता मन पराएका छन् । उनी आफैंले सयभन्दा बढी स्थानमा यो कविता सुनाइसकेका छन् । थोरै कविता लेख्ने दिवसका प्रेम कविता चार–पाँच वटामात्र छन्, जसमध्ये रातो फूल धेरैले रूचाएको उनको अनुभव छ ।

प्रणय दिवसको माहोलमा उनी भन्छन्, ‘मेरो रातो फूल त असफल थियो, तर अरू कसैलाई त्यस्तो नपरोस् भन्ने कामना गर्छु ।’
उक्त चर्चित प्रेम कविता यहाँ प्रस्तुत गरिएको छ–

रातो फूल

मरिसकेको छु म बाँचेर पनि
चिसो एक लाश उसको लागि,
तर बाँचेकी छ ऊ मरेर पनि
मेरो–खाली मेरो–जीवनको लागि !

प्रत्येक झोका आउँछ वसन्तको
सुवास बोकेर केही चिमोट्ने याद उसैको
कोट्याउँदै बिउँझाएर सुसुप्त बीउलाई
(बिउँझाइदिन्छ घाम–पानी–हावाले सुतेको बीउलाई)

र खाटा बसिसकेको मुटुको रगतमा,
फूल फुल्छ फूल अनि रातो रातो–
हरेक बिहान मेरो कोटको कलरमा उदाउने सूर्य–फूल
हरेक साँझ उसको कपालमा उदाउने चन्द्र–फूल !

लालुपातेको पातैपात सजिएको आकाश
प्रत्येक बिहान दोहोरिन्छ प्रत्येक साँझमा
सूर्य ढल्किसकेको धमिलो साँझमा !

कालीमाटीको पत्र परेको एक चोक्टा शरीरको
छर्दै नछरी उम्रने गमलाको यो फूल,
प्रत्येक वियोगको रातमा गुम्सिई
बिहानै पनि शीतबिन्दुले चुसिएर
अलिनो साँझ बन्ने यो फूल !

पातपातमा रातो–रातो लाली
उसैको गालाको पाएर
आँखा समाती मेरो मन तान्ने यो फूल !
जब सुँघ्छु र सुँघिरहेको हुन्छु म–
उसैको गति पाएर लच्किरहेको यो फूल
उसैको रूप पाएर धप्किरहेको यो फूल
उसैको यौवन पाएर मस्किरहेको यो फूल !
अनि पाउँदछु र पाइरहेको हुन्छु म–
बास ! बास !! नसा उफ नसा !
उसैको कपालको तेलले सुभाषित यो फूल !

रातो सारी र रातो ब्लाउजमा
अतृप्त प्यास एक दुलही उसैको प्रतिरूप
सम्झनाको समाधि चिसो उसको चिहानबाट
फुलेको लाजले आरक्त रातो रातो यो फूल !

बिम्झन्छ सधैं बलेर मध्यरातमा पानस
किच्कन्नी पर सरेकी मसानबाट जब यो फूल
लागु गन्ध घोलिएर नसिलो वातावरणमा
चुमिरहेको हुन्छु म अधर उसैको
रातो–रातो लिपिस्टिक पोतिएको यो फूल
अँगालिरहेको हुन्छु म शरीर उसैको
कोमल–कोमल मसलाको रुख यो फूल !

प्रत्येक झोंका आउँछ वसन्तको
सुवास बोकेर केही चिमोट्ने याद उसैको
उफ ! मरिसकेको छु म बाँचेर पनि
चिसो एक लाश उसको लागि
तर बाँचेकी छ ऊ मरेर पनि
मेरो–खाली मेरो–जीवनको लागि ।
(तुलसी दिवसका कविता, २०४० बाट)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0