कविता र जिन्दगी उस्तै – Online Khabar


१ फागुन, काठमाडौं । उमेरले जसराज किराती ७७ कटे । तर, उनको ठाँट बेग्लै छ । अहिले पनि ढिँडो, च्याँख्ला, मोही र कोदोको रक्सी खान पाए खुसी हुन्छन् । तर, काठमाडौं जोरपाटीमा यी खानेकुरा त्यति सजिलै कहाँ पाउनु ? सहरप्रति जसराजको मोहभङ्ग दिनदिन बढ्दैछ ।

उसो त जसराज सहर बस्न थालेको जम्मा दुई वर्ष मात्र भयो । नत्र जीवनका ७५ वर्ष गाउँकै सेरोफेरोमा कटाए । आज पनि गाउँ सम्झायो भने उनी फुरूङ्ग भइहाल्छन् । उनको कवि मन प्राणभन्दा प्यारोे जन्मभूमि खोटाङ बुईपातिर बहकिन्छ ।

जीवनका सबै हिउँद–बर्खा खोटाङकै सेरोफेरोमा बिताएका जसराजले साहित्यकर्म पनि त्यहीँ गरे । जीवनका उकाली–ओराली काट्दै सुख–दुःखका कविता खोटाङमै बसेर लेखे । त्यसक्रममा उनका तीन कवितासंग्रह प्रकाशित भइसकेका छन् । खोटाङका जनतामाझ जसराज एक प्रतिवद्ध सामाजिक अभियन्ता र नेताका रूपमा सम्मानित छन् । खोटाङबाहिरका मानिसका लागि कवि जसराज किरातीको नामले  परिचित छन् ।

भर्खरै उनले ५५ हजार रूपैयाँ राशीको ‘प्रेम साहित्य सम्मान’ पाए । यद्यपि, उनको कवि परिचय अझैसम्म लुकेको छ । काठमाडौंको साहित्यिक संसारले अझै जसराजको अग्लो कद देखेको छैन । उनको मूल्यांकन गरेको छैन ।

खोटाङ बुईपाका चाम्लिङ राईका सन्तान हुन् जसराज । गाउँमा क्षत्री–बाह्म्रण परिवार पनि नभएका होइनन् । तर, अधिकांश बस्ती राईको थियो । त्यही राई बस्तीमा २००१ साल श्रावण १७ गते बुबा धनहर्क राई र आमा धर्मलक्ष्मी राईका एक्लो छोरा भएर जन्मिएका हुन् उनी ।

आफ्नो परिवार गरिबीको भुवँरीमा रहेको बताउँदै उनी सम्झिन्छन्, ‘जन्मेको नौ वर्षमा हजुरबुबा बितेका र १८ महिनाको हुँदा आमा पोइला गएका कारण मेरा आप्पा साँच्चैको टुहुरो हुनुहुन्थ्यो ।’

आप्पा (बुबा) को दुःख जसराजको भागमा पनि प¥यो । त्यसैले आप्पासँग भाँडाको भारी बोकेर बेच्न गाउँगाउँ जानुपर्यो उनले ।  किशोरावस्थासम्म पढ्ने लेख्ने अवसर पाएनन् । १४ वर्षको उमेरमा जसराजले बल्ल क ख लेख्न सिके । त्यति नै बेला गाउँमा विद्यालय खुल्यो र उनले पढन् पाए ।

विद्यालय पढ्न पाएको कुरालाई ठूलो सौभाग्य मान्छन् जसराज । विद्यालय जीवन सम्झिँदै सुनाउँछन्, ‘आप्पा मलाई पढाउन नचाहने, तर मेरो आमाको इच्छाले म विद्यालय जान पाएँ । त्यो पनि आठ कक्षापछि स्कुल छोडेर भाँडा बेच्न जानुपर्यो ।’

स्कुल छाडे पनि प्राइभेटबाट २०२१ सालमा एसएलसी दिए उनले । पहिलोपटक अंगेजीमा फेल भए । फेरि दिएर २०२२ मा पास भए । प्राइभेटमै आइए पढे । फेरि अंग्रेजीमै फेल भए । अंग्रेजीको तगारोसँग जुध्दै २०२४ सालमा मा आइए कटाए । अंग्रेजी कमजोर भए पनि नेपाली, सामाजिक तथा राजनीतिका कुरामा आफ्नो दख्खल रहेको जसराज सुनाउँछन् ।

आइए पढेपछि भने उनी भाँडा बेच्न हिँडेनन् । बरू आफू पढेको स्कुलमा पढाउँदै, सामाजिक गतिविधिमा संलग्न हुँदै समय बिताए । बिस्तारै कविता लेखनमा पनि उनको मन लहसिएको थियो ।

बुईपास्थित गाउँ बस्ने क्रममा तीनपटक उपप्रधानपञ्च भए उनी । आफू पढेको विद्यालयलाई माध्यमिक हुँदै उच्च माध्यमिक विद्यालय बनाए । अनि हेपिएका, दबिएका गाउँलेहरूका सहारा भए । पञ्चायती स्थानीय सरकारमा पदासीन भए पनि विचारमा कम्युनिष्ट थिए जसराज ।

‘२०३६ को जनमत संग्रहमा खुसुक्क बहुदलमा भोट हालेँ’ कसैलाई नखोलेको पोल खुलाउँदै उनी भन्छन्,  ‘पञ्चायतको पदमा भए पनि जनताको पक्षमा कविता लेखेँ । जाबो गाउँको पदमा के मोह !’

गाउँका खाँटी कवि

आफू पढेको विद्यालयका शिक्षक गोरखबहादुर श्रेष्ठले साहित्यिक पुस्तक पढ्न दिएसँगै जसराजको मन साहित्यतिर मोडियो । गोरखबहादुर चर्चित जनगायक रामेशका दाजु थिए । उनैको प्रेरणामा साहित्यका किताब पढेको जसराज सुनाउँछन् ।

यद्यपि कविता लेख्ने उत्प्रेरणा कहाँबाट आयो, स्वयं जसराजलाई थाहा छैन । कविता लेखनको बीजारोपणबारे उनी स्वयं घोत्लिँदै निष्कर्ष निकाल्दै भन्छन्, ‘आफूलाई कतै न कतै अभिव्यक्त गर्नुपर्छ भन्ने अस्तित्वबोधले कविता लेखेकोजस्तो लाग्छ मलाई !’

२०२२ सालदेखि निरन्तर कविता लेखिरहेका छन् उनी । ग्रामीण परिवेश, जीवनका सुख–दुःख र राजनीति नै जसराजका कविताका मूल विषय हुन् । यसबाहेक प्राकृतिक सौन्दर्यलाई मानवीकिकरण गर्दै कविताका बिम्ब बनाउनु उनको सीप हो ।

तीन दशकसम्म त गाउँमा बस्दै, कविता लेख्दै उनको युवाकाल बित्यो । त्यतिबेला उनले आफ्ना कविता कतै छाप्न पठाएनन् । यसैले ‘जसराजले कविता लेख्छ’ भनेर चिनिन नै एक दशक लाग्यो उनलाई ।

विसं.२०३७ मा परशु प्रधान सिडियो भएर खोटाङ आएको मौकामा मात्रै उनको पहिलो कवितासंग्रह ‘उज्यालो खोज्ने आँखाहरू’ प्रकाशित भयो ।

परशु प्रधान र वासु शशीको त्यो गुण जसराज कहिल्यै बिर्सिंदैनन् । भन्छन्, ‘परशु दाइले काठमाडौंमा रहेका कवि वासु शशीलाई मेरो किताब छापिदिन भनेका रहेछन् । त्यही कारणले वासु दाइको संयोजनमा मेरो पहिलो किताब छापियो ।’

पहिलो संग्रह त छापियो, तर अझै आफू कवि हुँ भन्ने पत्यार लागेन उनलाई । फेरि लेख्दै रहे । नजिकका साथीभाइलाई सुनाए । तर, छाप्न पठाएनन् ।

खोटाङका कार्यक्रमहरूमा उनले कविता सुनाउन पाए । त्यहाँ आफ्नै सक्रियतामा ‘आक्रोेश’, ‘हलेशी कुञ्ज’जस्ता साहित्यिक पत्रिका प्रकाशन गरे ।

बिस्तारै उनी इटहरी, बिराटनगरतिर हुने साहित्यिक कार्यक्रममा झर्न थाले ।  त्यो २०५० सालको समय थियो । त्यसपछि मात्र उनलाई कविका रूपमा मानिसहरूले चिन्न थाले । २०५७ मा दोस्रो कविता संग्रह ‘जसराज किरातिका कविता’ प्रकाशन गरे ।  तर, त्यतिबेलासम्म उनले काठमाडौंका पत्रिकामा कविता पठाएका थिएनन् ।

२०६३ को लोकतन्त्रपछि गृहजिल्लामा जसराज नेताका रूपमा चिनिन थाले । नेकपा माओवादीले उनको नाम समानुपातिक सांसदको सूचीमा राख्यो । जसराज अब काठमाडौं आइरहन थाले । यद्यपि, आफ्नो क्षेत्रबाट २४ हजार मत पाएका उनलाई सांसद बनाइएन । त्यहीबेलादेखि राजनीतिसँगको उनको साइनो सकियो  ।

तर, त्यसपछि उनले काठमाडौंका  मञ्चमा कविता सुनाउन थाले । उनका कविता ‘मधुपर्क’, ‘गरिमा’, ‘रचना’, ‘अभिव्यक्ति’जस्ता साहित्यिक पत्रिकामा छापिन थाले । जसराज भन्छन्, ‘सुन्नेहरूले मेरा कविता मन पराइदिए । अनि पो मभित्र कवित्व रहेछ भन्ने ज्ञात भयो ।’

२०६५ मा उनको तेस्रो कवितासंग्रह ‘जसराज किरातिका प्रतिनिधि कविता’ छापियो । त्यसबेलादेखि अब जाग्नुपर्छ भन्ने सोचका साथ उनले आफ्नै खर्चमा ‘जसराज किराती प्रतिभा पुरस्कार’ स्थापना गरे । अहिलेसम्म देशका चर्चित युवा कविहरूलाई  प्रोत्साहन गर्न यो पुरस्कारको तीन संस्करण दिइसकेका छन् उनले ।

साहित्यकार परशु प्रधान जसराजलाई सशक्त, सचेत एवं सबल गाउँका कवि मान्छन् । प्रधानले लेखेका छन्– ‘जिन्दगीको अर्थ खोजेर जिन्दगीकै कविता लेख्ने हार्दिक कविको नाम जसराज हो ।’

कवि मञ्जुलको शब्दमा जसराज लेकाली एकान्तको अग्लो रुखमा लर्किएर फुलेको रहरलाग्दो सुनाखरी हुन् ।

सन्तान थरिथरिका

जसराजमात्र होइन, उनका बाबु, हजुरबुबासहित पाँचपुस्ता नै परिवारका एक्लो छोरा थिए ।  तर, जसराजको भागमा भने सन्तानको बरदान रहेछ । अहिले उनका दुई श्रीमतीसहित आठ छोरा र सात छोरी छन् । सबैको बिहाबारी भइसकेर नाति–नातिना भइसकेका छन् । सबैको संख्या जोड्दा चार दर्जन नाघ्ने उनी बताउँछन् । बिवाह नै तीनवटा गरेका गरेका जसराजका छोराछोरा धेरै हुनु नौलो होइन ।

पहिलो विवाह १४ वर्षकै उमेरमा गरेका थिए । २०२० सालमा छोरी जन्माएर उनकी पहिली श्रीमतीको निधन भयो ।

जसराजले दोस्रो बिहे गरे । परिवारको सल्लाहमा सालीको बिहे पनि जसराजसँगै गराइयो । अनि त उनका नाममा तीन श्रीमती दर्ज भए । अहिले दुई श्रीमती र छोराहरूसँग खुसीसाथ बसिरहेका छन् जसराज । कुनै छोराको घर धरानमा छ, कुनैको इटहरीमा । अहिले कान्छो छोरा अनिल किरातीको घर जोरपाटी, काठमाडौंमा छ ।

परिवारमा जसराज आफूमात्र कवि होइनन् । उनका दुई छोरा पनि नामी कवि भइसकेका छन् । माहिला छोरा देवान किराती युवा कविका रूपमा चिनिएका छन् । इटहरी निवासी देवान दुई दशकदेखि कविता लेखनमा सक्रिय छन् । यता काठमाडौंमा रहेका कान्छा छोरा अनिल किराती पनि कवि हुन् । छोरी कोपिला राई कथा लेख्छिन् । अर्की छोरी बबिना किरातीले गायनमा नाम कमाएकी छिन् । अरु छोराछोरी आ–आफ्नै घर–व्यवहारमा भए पनि साहित्य, संगीत, कलासँग नजिक छन् ।

रसिक व्यक्तित्व

खोटाङबासी र देशका साहित्यप्रेमीहरू जसराजको हँसिलो अनुहारसँग परिचित छन् । यसो त जीवनकालमा जिल्ला बाहिरका थोरै साथीमात्र बनाए उनले । जति बनाए, हृदयदेखि न बनाएको जसराज खुलाउँछन् । भन्छन्, ‘सम्बन्धमा खेलाँची गरेको मलाई मन पर्दैन । झन् स्वार्थले जोडिएको त कोही मन पर्दैन ।’

केही समय बिराटनगरका कवि कृष्णभूषण बलसँग पनि नजिक रहे जसराज । बिम्ब–विधानका उस्ताद कवि बलले जसराजमाथि समर्पण गरेर एउटा कविता नै लेखेका छन् । यता मञ्जुल, रामेश, रायनहरू पनि उनका पुराना साथी हुन् ।  गिरिराजमणि पोखरेल, हरि रोका उनका विद्यार्थी हुन् ।

अहिलेको राजनीतिसँग भने सन्तुष्ट छैनन् जसराज । राजनीतिप्रति वितृष्णा रहेको बताउने उनी भन्छन्, ‘ऋषिमन गर्नुपर्नेमा लुट्नेमन गरेका छन्, जुन हामीलाई ठूलो धोका हो ।’

यद्यपि संघर्षलाई नै जीवनको मान्छन् जसराज । आफ्नो सम्पूर्ण जीवनमा गाउँ र जिल्लाका लागि संघर्ष गरे उनले । छोराछोरी हुर्काउन र पढाउन पनि संघर्ष गरे ।

अहिले पनि जसराजलाई आफनो गाउँ नै फर्किन मन छ । अनि गाउँजस्तै निच्छल र हार्दिक भावका कविता लेख्ने धोको छ ।

अन्त्यमा, किरातीको एउटा कविता : मेरो जीवन

बेदनाको बटुकोमा

थोपा–थोपा आँशु घोलेर पिउनुपर्छ

मात्छ–

हो, त्यो मातेको क्षणजति

मेरो जीवनको भागमा पर्छ ।

 

धेरै घाउ– धेरै चोट र धेरै पीडाहरु

भेला भएपछि

छातीमा आर्तनादले रोदन शुरु गर्छ

हाय, गरीब भाषा !

निरीह अक्षर हाय, मेरो सहारा !!

म रुन्छु

रुँदा जुन आँशु झर्छ

त्यो झरेको आँशुको बोली

मेरो जीवनको आवाज हुन्छ ।

 

सपनाको आगोमा

रहरका झिक्राझिक्री बालेर ताप्नुपर्छ

त्यसकोे रात

घरि धिपधिप्

घरि फुस्स फुस्स

आखिर खरानीको फुङ्ग उडेको रंग

र त्यो

उडानको सानो कोण

मेरो जीवनको  क्षितिज बन्छ ।

 

एक क्षण पछाडि रोकिने हो कि

आफैंमा ठोकिएर

मुटुमा सानो ढुक्ढुकीले म कति चल्मलाउँ ?

म उभिउँ कि हिडूँ ?

यो संदिग्ध मनस्थितिको आकृति

मेरो जीवनको स्वरुप हुन्छ ।

(तस्वीरहरू  : शंकर गिरी/अनलाइनखबर)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0